प्रा.डा. कमलराज ढुंगेल
शुक्रवार, चैत्र २, २०७४
1801

सन् १९९६ देखि ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार धारणीय सूचकको प्रतिवेदन प्रकाशित गर्दै आइरहेको छ । संसारका सबै मुलुकमा भ्रष्टाचारको गहिराइ कति छ भन्ने कुराको खोज गर्ने कार्य यसले गरिरहेको छ । कुनै एउटा विशेष मुलुकको भ्रष्टाचारको गहिराइ कति छ भनेर पत्ता लगाउन ट्रान्सपरेन्सी इन्टरनेसनलले विभिन्न सूचक वा चरहरूको छनोट गरेको छ । छनोटमा परेका चरहरूको आँकडाका आधारमा कुनै पनि देशको भ्रष्टाचार धारणीय सूचकको तयारी गर्छ । यो सूचकको तयारी गर्दा समावेश गरिएका सूचक वा चरहरूमा १. घूस लेनदेन, २. निजी फाइदाका लागि सरकारी कार्यालयको प्रयोग, ३. मुलुकको प्रशासनमा नातावाद र कृपावाद, ४. राज्यको हस्तक्षेपकारी भूमिका, ५. भ्रष्टाचार नियन्त्रणमा सरकारी संयन्त्रको असक्षमता ६. भ्रष्टाचारविरुद्ध सरकारी कदम, ७. रेड टेप, ८. प्रशासनिक झमेला, ९. वित्तीय पारदर्शिताका लागि कानुनी पर्याप्तता, १०. भ्रष्टाचार नियन्त्रणका लागि द्वन्द्वात्मक स्वार्थ, ११. सूचनाको पहुँचता र १२. पत्रकार र अनुसन्धानकर्ताको सुरक्षाका निमित्त कानुनी प्रावधान । कुनै पनि मुलुकको उल्लिखित चरहरूको औसत अंक उक्त देशको भ्रष्टाचार धारणीय सूचक हो । यो सूचकको मान शून्य र १ सयको बीचमा रहने गर्छ । कुनै विशेष मुलुकको भ्रष्टाचार धारणीय सूचकको मान शून्य हुँदा अति भ्रष्टाचारयुक्त मुलुक भनेर चिनिन्छ भने १ सय हुँदा भ्रष्टाचार नभएको मुलुक भनेर चिनिन्छ । जुन देशको भ्रष्टाचार धारणीय सूचकको मान ४० भन्दा कम हुन्छ उक्त देश भ्रष्टाचारयुक्त देश भनेर चिनिन्छ ।

सन् २०१७ को प्रतिवेदन
ट्रान्सपरेन्सी इन्टरनेसनलले हालसालै सन् २०१७ को भ्रष्टाचार धारणीय सूचकको प्रतिवेदन सार्वजनिक गर्यो । यो प्रतिवेदनले विश्वका १ सय ८० मुलुक समेटेको छ । सन् २०१७ मा न्युजिल्यान्डलाई भ्रष्टाचारमुक्त देशका रूपमा प्रस्तुत गरेको छ; अर्थात् न्युजिल्यान्डको भ्रष्टाचार धारणीय सूचकको मान ८९ रहेको छ, जुन १ सयको नजिक छ । भ्रष्टाचारमुक्त देशको क्रमांक प्रथम स्थानमा रहने गर्छ । यसको विपरित क्रमांकको सबैभन्दा अन्तिममा रहने देश अति भ्रष्ट भनेर चिनिने गर्छ । सोमालियाको क्रमांक १ सय ८० र भ्रष्टाचार धारणीय सूचकको मान ९ रहेको छ । यसबाट के प्रस्ट हुन्छ भने सन् २०१७ मा न्युजिल्यान्ड र सोमालियालाई क्रमशः भ्रष्टाचाररहित र अतिभ्रष्ट देश भनेर किटान गरिएको छ ।

चीन र दक्षिण एसियाका मुलुकहरूको स्थिति
नेपाल दक्षिण एसियामा अवस्थित छ भने चीन नेपालको छिमेकी मुलुक हो । दक्षिण एसियाली मुलुकहरू र चीनको सन् २०१७ मा भ्रष्टाचार धारणीय सूचकको अवस्थाको चित्रण यो परिच्छेदमा गर्ने जमर्को गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको २०१७ को भ्रष्टाचार सूचकको आँकडा अनुसार चीन (७७) कम भ्रष्टाचार भएको मुलुक हो, जसको भ्रष्टाचार धारणीय सूचकको मान ४१ छ । दक्षिण एसियाली मुलुकहरूमा अति भ्रष्ट देशका रूपमा अफगानिस्तान (१७७) छ भने कम भ्रष्टाचार भएको मुलुकमा भारत (८१) छ । अफगानिस्तान र भारतको भ्रष्टाचार धारणीय सूचकको मान क्रमशः १५ र ४० छ । यसबाट के प्रस्ट हुन्छ भने दक्षिण एसियाका मुलुकहरूमा भारत कम भ्रष्टाचार भएको मुलुक भनेर चिनिन्छ भने अफगानिस्तान बढी । बंगलादेश र नेपालले अफगानिस्तानलाई पछ्याइरहेका छन्, जसअनुसार बंगलादेश (१४३) र नेपाल (१२२) दोस्रो र तेस्रो भ्रष्ट मुलुकका रूपमा रहेका छन् । यिनको भ्रष्टाचार धारणीय सूचकको मान क्रमशः २८ र ३१ छ । त्यस्तै गरेर ३२ र ३८ भ्रष्टाचार धारणीय सूचकको मानका साथ पाकिस्तान (११७) र श्रीलंका (९१) क्रमशः चौथो र पाचौँ भ्रष्ट मुलुकका रूपमा रहेका छन् ।

नेपाल र भ्रष्टाचार धारणीय सूचक
नेपालमा भ्रष्टाचारको नियन्त्रण हुन सकेको देखिँदैन । नेपालका अनगिन्ती प्रधानमन्त्रीहरूले नेपाललाई भ्रष्टाचार मुक्त देश बनाउने घोषणा गर्ने गरेका छन् । तर, भ्रष्टाचारको जालो कसैले पनि चिर्न सकिरहेका छैनन् । विगत ६ वर्षको ट्रान्सपरेन्सी इन्टरनेसनलले तयार पारेको भ्रष्टाचार धारणीय सूचकको स्थिति निम्नानुसार छ ः विगत ६ वर्षको अवधिमा भ्रष्टाचारमा सुधार हुन सकेको देखिँदैन । भ्रष्टाचार धारणीय सूचकको स्थितिमा झिनो अन्तरले कहिले वृद्धि भएको छ भने कहिले ह्रास । जुन देशको भ्रष्टाचार सूचकको अंक ४० भन्दा कम हुन्छ उक्त देश अति भ्रष्ट भनेर चिनिन्छ । नेपालको सन्दर्भमा भ्रष्टाचार सूचकको मान ३० को हाराहरीमा रहेको तथ्य प्रतिवेदनबाट प्रस्ट हुन्छ । यसले नेपाल अति भ्रष्ट देश हो भन्ने कुरालाई प्रमाणित गर्छ, अर्थात् नेपालमा भ्रष्टाचार मौलाइरहेको छ ।

भ्रष्टाचार मौलाउनुका कारणहरू
ट्रान्सपरेन्सी इन्टरनेसनलले छनोट गरेका भ्रष्टाचार मापनका सबै सूचकमा नेपालले सुधार गर्न सकेको देखिँदैन । भ्रष्टाचारको सूचकका चरहरूमध्य ३० नम्बरमा उल्लेख भएको चरको क्रियाशीलता अधिक छ भन्दा अत्युक्ति नहोला । यी सूचकहरूमध्य भागबन्डाका कारण राम्रा, क्षमतावान् र स्वच्छलाई भन्दा हाम्रालाई भन्ने मान्यताका कारण नातावाद, आफन्तवाद, कृपावाद र चाकडीवादले जरो गाड्दै गयो । यसले जानी वा नजानी भ्रष्टहरूलाई नै पुरस्कृत गर्दै गयो भने स्वच्छहरूलाई तिरस्कृत । नेपालले भ्रष्टाचार न्यूनीकरण गर्ने प्रयास धेरै अगाडिदेखि गर्दै आइरहेको छ । कतिपय कानुनका साथै भ्रष्टाचार निवारण गर्ने निकायहरू पनि स्थापित भएका छन् । कानुनमा परिमार्जन गर्दै त्यसको दह्रो कार्यान्वयन हुन सकिरहेको छैन । भ्रष्टाचार निवारण गर्ने जति निकायहरू (अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग) छन्, तिनीहरूको कार्यकुशलतामा फितलोपन देखिने गरेको छ । नेपालमा भ्रष्टाचारका काण्डहरूको पर्दाफास नै हुँदैन । कथम्कदाचित भइहाले पनि भ्रष्टाचारीहरू दण्डित हुने गरेका छैनन् । कानुनको फितलो कार्यान्वयनका कारण एउटा निकायले भ्रष्ट भनेर किटान गरेको व्यक्तिलाई अदालतले सहजै छुट्कारा दिएका धेरै नजिर छन् । यसो हुनुको पछाडि दुईवटा कारण हुन सक्छन् । पहिलो, अनुसन्धान नगरी व्यक्तिविरुद्धमा मुद्दा दायर गर्नु र दोस्रो, भ्रष्टाचारकै कारण प्रलोभनमा फसेर कानुनको कार्यान्वयनलाई फितलो बनाउनु । नेपालको प्रशासनिक क्षेत्रमा रेडटेपिजमले जरो गाडिसकेको छ । कुनै काममा विभिन्न प्रकारका बाहानाबाजी हुने गर्छ ।

भ्रष्टाचारविरुद्धको घोषणा
विगत २७ वर्षको अवधिमा करिब–करिब २६ प्रधानमन्त्री नेपालले पाउने सौभाग्य पाएको कुरा कसैबाट छिपेको छैन । प्रत्येक प्रधानमन्त्रीले उद्घोष गरेको सुनिन्छ— भ्रष्टाचारीहरूलाई कारबाही । तर, घोषणाअनुसार कार्य हुन सकिरहेको देखिँदैन । सरकारी निकायमा जिम्मेवारी बहन गर्ने चाहे त्यो राजनीतिज्ञ होस्, कर्मचारी होस्, आयुक्त होस् वा सरोकारवाला व्यक्ति नै किन नहोस्, सबै कमिसनमा रमाउने गरेको तथ्य कसैबाट छिपेको छैन । उल्लिखित व्यक्तित्वहरू जसले यो देशलाई भ्रष्टाचारमय बनाउन सफल भएका छन्, आज पनि उनीहरू पुरस्कृत हुने प्रवृत्तिले निरन्तरता पाएकै छ । नयाँ संविधानअनुसार बनेका नयाँ प्रधानमन्त्रीको घोषणा पनि भ्रष्टाचारमुक्त समाजको सिर्जना गर्ने कुराले नेपालीहरूलाई खुसी तुल्याएको छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । प्रत्येक प्रधानमन्त्रीको घोषणा यसै गरी हुने गरेको कुरा सर्वविदितै छ । तर, फेरि नातावाद, चाकडीवाद, आफन्तवाद, कृपावाद र पैसावादका कारण मुलुकमा भ्रष्टाचार बढेको तथ्यलाई भने लुकाउन सकिँदैन । यसैका कारण नेपाल अझ भ्रष्ट हुँदै गइरहेको कुरा कसैबाट छिपेको छैन । भ्रष्ट र कमिसनखोरहरूको पुनरावृत्ति भयो भने नेपालमा भ्रष्टाचार सुकेर जाँदैन, मौलाउनेछ । यदि नेपाललाई समृद्ध बनाउने हो भने भ्रष्टाचारी र कमिसनखोरहरूको पुनरावृत्तिमा रोक लगाई भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा परिमार्जन गर्दै भ्रष्टाचार निवारण गर्ने सरकारी निकयहरूलाई दह्रो बनाउन जरुरी हुन्छ । यसो गर्नका निमित दह्रो प्रतिबद्धता र लगनशीलताको आवश्यकता पर्छ । आशा गरौं, हालका प्रधानमन्त्रीले भ्रष्ट मुलुकलाई नयाँ जन्म दिने कार्य गर्नेछन् ।