सुनिता भण्डारी घिमिरे
बिहिवार, चैत्र १, २०७४
2724

एउटा प्रचलित उखान छ, घोडालाई नदीसम्म लैजान त सकिन्छ तर पानी पिलाउन सकिन्न । भन्नुको मतलब पानी पर्याप्त मात्रामा भए पनि पानी पिउनका निमित्त प्यास हुनु अति आवश्यक हुन्छ । त्यही प्यास जगाउने कामलाई नै उत्प्रेरणा भनिन्छ । प्यास दैनिकी गुजाराको हुन सक्छ, सुखी सम्पन्न परिवारको हुन सक्छ, राम्रो जागिरको हुन सक्छ, खाइलाग्दो व्यक्तित्वको हुन सक्छ, धनको हुन सक्छ, मानको हुन सक्छ, विकसित समाजको हुन सक्छ । यदि प्यास जाग्यो भने मानिसहरू प्यास बुझाउने स्रोतको जोहो गर्न तल्लीन हुनेछन् र प्यास जगाउनका निमित्त सशक्तीकरणले महत्वपूर्ण भूमिका खेल्छ ।
यस विषयमा धेरै मानिसले धेरै वर्षअघिदेखि सोच्दै, काम गर्दै र अनुसन्धान गर्दै आए । भएको स्रोतसाधन प्रयोग गरेर कसरी बढीभन्दा बढी प्रतिफल प्राप्त गर्ने अनि किन त्यही स्रोत र साधन प्रयोग गर्दा कतै धेरै प्रतिफल प्राप्त हुन्छ अनि कतै कम । कुनै रणनीतिले छोटो समयमा प्रतिफल दिन्छ तर लामो समयमा त्यही रणनीति असफल हुन पुग्छ । फेरि कुनै रणनीतिहरूले तुरुन्त प्रतिफल दिँदैनन्, तर लामो समयपश्चात् तिनै रणनीति सही सावित हुन पुग्छन् । धेरै मानिसलाई सोच्न बाध्य बनाएको विषय हो यो । तर, १९११ सम्म कसैले पनि यो कुराको ठोस रूपमा व्याख्या गरेको पाइँदैन ।

तर, १९११ मा टेलरले मानिसहरूलाई उनीहरूको कामका बारेमा तालिम दिएको खण्डमा उनीहरूको रुचि कामप्रति बढ्न जान्छ र उनीहरूले दिने प्रतिफल पनि बढी हुनेछ भनेर अनुसन्धानबाट पुष्टि गरे । यस्तो अवस्थालाई ‘उत्प्रेरित’ भएको अवस्था भनिन्छ । भन्नुको मतलब मानिस उत्प्रेरित भएको खण्डमा उसको उत्पादकत्व पनि बढी नै हुन्छ । मानिसहरूले आफ्नो कामका बारेमा र त्यसको उपयोगिताका बारेमा, साथसाथै त्यसलाई सम्पादन गर्ने तरिकाका बारेमा राम्रोसँग बुझे भने उनीहरूले मन लगाएर काम गर्नेछन् । यसको परिणाम थोरै मात्र स्रोतसाधनको प्रयोगले पनि बढीभन्दा बढी प्रतिफल आउने छ । धेरै अनुसन्धानले पुष्टि गरेका छन् कि सशक्तीकरण छोटो समयमै परिणाम दिनेभन्दा पनि दीर्घकालीन र प्रभावकारी उत्प्रेरक हुने गरेको छ ।
१९२० को दशकमा एल्टोन मावोले बल्भहरू बनाउने कारखानामा गरेको अनुसन्धानले के देखायो भने कामको प्रतिफल बढी वा घटी हुनुमा बाहिरी तत्व हरूभन्दा पनि मानिसको सोच र उनीहरूको कामप्रतिको अभिरुचि नै बढी जिम्मेवार हुने रहेछ । मास्लोले चाहिँ विभिन्न मानिसका विभिन्न अवश्यकता पत्ता लगाए अनि ती अवश्यकताहरू परिपूर्ति गर्न मानिस उत्प्रेरित हुने कुरा बताए । तर, त्यसपछि गरिएका अनुसन्धानहरूले के देखाएका छन् भने मानिस असन्तुष्ट छ भने ऊ कहिल्यै उत्प्रेरित हुन सक्दैन र मानिसहरूलाई मनोवैज्ञानिक सन्तुष्टिले बढी उत्प्रेरित बनाउँछ ।
कुनै कामप्रति रुचि जगाउन विभिन्न तत्व हरू जिम्मेवार रहेका हुन्छन् । बाह्य तत्व , आन्तरिक तत्व , मौद्रिक तत्व अनि गैरमौद्रिक तत्व , मुख्यतः यिनै चार तत्व लाई उत्प्रेरित गर्ने साधनका रूपमा लिने गरिएको पाइन्छ । अनुसन्धानहरूले यो देखाएको छ कि बाह्य र मौद्रिक तत्व हरूभन्दा गैरमौद्रिक तथा आन्तरिक तत्व हरू उत्प्रेरणाका लागि बढी प्रभावकारी हुने गरेका छन् ।
क्यान्टरका अनुसार कुनै पनि मानिसको सशक्तीकरणका निमित्त सही संरचनाको पनि महत्व पूर्ण भूमिका हुने गर्छ । सही संरचनाले सही साधनहरूको उपलब्धतालाई सुनिश्चित गर्ने मात्र नभई सही सूचना तथा सहयोगको पनि सुनिश्चितता गर्छ, जसले गर्दा कुनै पनि व्यक्तिको क्षमता तथा दक्षतामा वृद्धि हुन्छ । यसको परिणामस्वरूप सो व्यक्ति सक्षम बन्छ, फलस्वरूप ऊ पुनः उत्प्रेरित बन्न पुग्छ । सही संरचना भन्नाले यहाँ एउटा व्यक्तिलाई प्रत्यायोजन गरिएको अख्तियार र जिम्मेवारीको सम्बन्धलाई भन्न खोजिएको हो र संस्थाहरूमा मात्र यो प्रयोग हुने नभई एउटा सामान्य घर, समाज, संस्था सबैतिर प्रयोगमा आउने कुरा हो ।
संरचनागत रूपमा कुनै पनि व्यक्तिलाई सशक्तीकरणद्वारा उत्प्रेरित गर्नका निमित्त आवश्यक छवटा अवस्थाका बारेमा क्यान्टरले व्याख्या गरेकी छन् । काम गरेअनुसारको प्रगतिको अवसर, काम गर्नलाई आवश्यक पर्ने सूचनाहरूको पहुँच, काम गर्नलाई आवश्यक पर्ने सबै खालका सहयोगको पहुँच, आवश्यक स्रोत र साधनको पहुँच, औपचारिक तथा अनौपचारिक प्राधिकार (पावर) यस्ता छवटा अवस्था हुन्, जो एक व्यक्तिको सशक्तीकरणका निमित्त आवश्यक हुन्छन् । उनले औपचारिक तथा अनौपचारिक प्राधिकारका स्रोतहरूलाई पुरस्कारमा आधारित, शक्तिमा आधारित, सम्बन्धमा आधारित (रेफेरेन्ट पावर), कानुनी र विशेषज्ञताका आधारमा तथा सूचनाको पहुँचका आधारमा प्राप्त हुने प्राधिकार भनेर पहिचान समेत गरेकी छिन् ।
काम गरेअनुसारको प्रगतिको अवसर प्राप्त हुनेछ भन्ने कुरामा एउटा व्यक्ति विश्वस्त भएको खण्डमा ऊ आफूलाई उत्प्रेरित भएको महसुस गर्नेछ र उसले त्यहीअनुसार मेहनत पनि गर्नेछ । भिक्टर भ्रुमले १९६४ मा प्रतिपादन गरेको सिद्धान्तले यही कुरालाई पुष्टि गरेको छ । यो सिद्धान्तअनुसार व्यक्तिहरूका विभिन्न अपेक्षा हुन्छन् र काम गर्न उसले त्यहीअनुसारको मेहनत गर्नेछ, जुनअनुसारको प्रतिफलको अपेक्षा उसले राखेको हुन्छ र पूरा हुन्छ भन्ने कुरामा ऊ विश्वस्त हुन्छ । जति पनि सिद्धान्तहरू प्रतिपादन भएका छन्, ती सबैले एउटै कुरा देखाएका छन् कि उत्प्रेरित गर्ने प्रक्रिया व्यक्तिविशेषअनुसार फरक–फरक हुन सक्छ । यसबाट पनि के देखिन्छ भने व्यक्तिलाई उत्प्रेरित गर्नका निमित्त उसका कामहरूको निरन्तर निरीक्षण गरिनुपर्छ र अझ महत्व पूर्ण कुरा उसलाई नजिकबाट बुझ्ने प्रयास गरिनुपर्छ । कुनै पनि व्यक्तिका रुचि र खुबीहरूको अध्ययन गरेर सोही अनुसार कामको ढाँचा वा स्वरूपको विकास गर्न सकेको खण्डमा मानिसहरूले कामलाई कामका रूपमा भन्दा बढी मनोरञ्जनका रूपमा लिएर बढीभन्दा बढी प्रतिफल दिने थिए र काम नगर्नका निमित्त खोजिने बहानाबाजीहरूभन्दा कामलाई कसरी मनोरञ्जनात्मक बनाउने भन्ने उपायहरूका बारेमा बढी नै खोजी र अनुसन्धानहरू थिए ।
उत्प्रेरणा र सशक्तीकरणको सम्बन्धको चर्चा गर्दा अर्को छुटाउन नहुने महत्व पूर्ण कुरा पुरस्कार पनि हो । तर, त्यो पुरस्कार उसले गरेको अपेक्षाबमोजिम हुनु पनि आवश्यक छ । पुरस्कार र सजाय एउटै रेखाका दुई किनार हुन् र यी दुवैलाई उत्प्रेरणाको साधनका रूपमा प्रयोग गरिनुपर्छ । तर, यसका लागि निरन्तरको सुपरिवेक्षणको खाँचो हुन्छ । नेपाली समाज वा संस्थाहरूमा नजिकबाट निरन्तर गरिने सुपरिवेक्षणको अभाव देखिएको छ र यसै कारण उत्प्रेरित व्यक्तिहरू पनि नगन्य मात्रामा मात्र देख्न पाइन्छ ।
यसबाट स्पष्ट हुन आउँछ कि प्रभावकारी सुपरिवेक्षण तथा अनुगमनले समेत हरेक व्यक्तिलाई उत्प्रेरित गराउन प्रत्यक्ष रूपमा भूमिका निर्वाह गरिरहेको हुन्छ । अन्ततोगत्वा व्यक्तिमा विकसित हुने त्यही उत्प्रेरणा नै सशक्तीकरणका लागि बलियो हतियार बन्न पुग्छ । त्यसैले उत्प्रेरणा र सशक्तीकरणलाई एक–अर्काको परिपूरकका रूपमा लिने गरिन्छ ।