झलनाथ खतिवडा
मंगलबार, चैत्र २५, २०७६
485

मानिसले मानिस लगायत जीवजन्तुलाई पनि यस्ता किसिमका प्रकोप सिर्जना हुँदा ध्यान दिन जरूरी छ किनकी जीवजन्तुलाइ पनि यस धर्तीमा बाँच्न पाउने स्वतन्त्रता छ ।

आज सम्पूर्ण विश्व कोरोना भाइरसले जेलिएको छ । जसले विश्वका सबै देशका जनताहरू त्राहित्राहि बनाईरहेको अवस्थामा मानिस लगायत पशुपन्छीहरूको पनि हालत बेहाल बनाएको छ । दैनिक ज्यालादारी काम गर्ने जनताहरूलाई अहिले के खाउँ, भरे के खाउँ भइरहेको छ । यस्तै मध्यमस्तरका जनताहरूलाई भई पुगेसम्म खाद्यान्न जोहो गरौ ता कि अलिकदिन भोक भोकै परिने थिएन भन्ने भएको छ र उच्च स्तर जसलाई यस्ता लकडाउनले खासै फरक पारेको हुँदैन । तर ती अबोध पशुपन्छीहरूले के को जोहो गर्ने हो, के हो लकडाउन, के घाम त के पानी । बिचारा गाईवस्तु, मठमन्दिरका बादरहरूदेखि, परेवाहरूसम्म, सडकमा यत्रतत्र रहेका कुकुरहरूदेखि, गाई गोरूहरूसम्म लगायतका पशुहरू आजभोली भोकभोकै रहेका छन् ।
जीवजन्तु, पशुपन्छीहरूमा मानिसमा जस्तो चेतना नहुने भएकाले उनीहरूबाट विषम परिस्थितिको सृजना नहोला भन्न सकिन्न किनकि हामीलाई एकछिन खाना खान पाईएन, पानी पिउन पाईएन भने कति छटपटि हुन्छ कता जाउ के खाउ भनी खहरो हुन्छ त्यस्तै पशुपन्छी र जनावरको पनि भोक प्यास मानिसको जस्तै हुन्छ केवल उनिहरूले व्यक्त गर्न सक्दैनन् तर उनिहरूले देखाउने बानी व्यावहारबाट पनि हामीले अनुमान लगाउन भने सक्छौ । अस्ति भर्खर टेलिभिजन समाचारमा देखिएको दृश्यले मेरो ध्यान आकृस्ट गर्याे कि मानिस कोही कसैले झोलामा बजारबाट केही सामान झुन्डिएर ल्याउदै गर्दा सडकमा रहेका केही कुकुरहरूले झम्टिए र उक्त सामान खोसेर अलिक परसम्म पुर्याए र खोतलखातल बनाए र आफुहरूलाई खानमिल्ने केही नभेटेपछि ती कुकुरहरू निराश भएर आफ्नोे गन्तव्यतिर लागे । यी त दृश्यमा देखिएका प्रतिनिधि घटना मात्र हुन यस्ता घटना अदृश्यमा कति छन् होला ।

पशुपतिनाथ, स्वयम्भूनाथ क्षेत्रमा रहेका बाँदरहरूको पनि अवस्था नाजुक नै रहेका होलान । न त उनिहरूलाई वातावरण नै छ खोजेर आफ्नो पेट भर्ने न त मानिस कसैले नै सोच बिचार गरेकै छन् ती जीवजनावर र पशुपन्छीहरूका लागि । शहरी क्षेत्रमा बढ्दो शहरीकरणले घना जंगलहरू पनि नरहेको र बनजंगल मासेर बस्ति बिस्तार भएसंगै अहिले विश्व आक्रान्त बनाएको कोभिड–१९ को प्रकोपले ती पशुपन्छीको दुखदायी अवस्थाको सृजना भएको देख्दा र सुन्दा दुखित महसुश गरेको छौ । पशुपन्छीलाई हामीले ईतिहास देखिनै विभिन्न अवतार र भगवानको नामले पुजा अर्चना गर्दै पनि आएका छौ । जस्तै काग, कुकुर, गाई, गोरू ईत्यादिको पुजा । त्यसैले यस्तो विपत्तिमा पनि उनिहरूको खानाको उचित प्रवन्ध मिलाऔ र वास्तविक मानिस हुनमा गर्व गरौं ।
मानिसहरू प्राणीहरूमध्ये सर्वश्रेष्ठ प्राणी हो । मानिसले मानिसको मात्र सम्बोधन गर्नु मानवीय मुर्खता हो । मानिसले मानिस लगायत जीवजन्तुलाई पनि यस्ता किसिमका प्रकोप सिर्जना हुँदा ध्यान दिन जरूरी छ किनकि जीवजन्तुलाइ पनि यश धर्तीमा बाच्न पाउने स्वतन्त्रता रहेको छ । जीवजन्तु र मानिस बीच अन्योन्यास्रित सम्बन्ध रहेको छ । यी दुई एक अर्कोकने परिपुरक हुन त्यसैले आजको यश विषम परिस्थितिमा जीवजन्तु, पशुपन्छिहरूको रेखदेख गर्ने जिम्मा हाम्रै हो त्यसैले सबै जनसमुदायमा आग्रह गर्न चाहन्छु कि हामी मानिस जाति धर्तीका सर्वश्रेष्ठ र चेतनशिल प्राणी हौ त्यसैले सडकमा यत्रतत्र छरिएर रहेका जीवजन्तु र पशुपन्छीहरूलाई खानापिना सकेसम्म गराउन मद्दत गरौ र बिचराहरूलाई माहामनरी, प्राकृतिक विपत्तिको नाममा अकाल मृत्युवरर्ण गर्न र गराउनबाट बचांै र बचाऔं ।