दिलीपकुमार मुनंकर्मी
आइतवार, चैत्र १६, २०७६
956

 
केही व्यक्तिको बदनीयतपूर्ण कार्यले बजारलाई आक्रान्त बनाउँदासमेत कतैबाट समाधानको ठोस पहल नहुनु झन् दुःखद छ ।केही व्यक्तिको बदनीयतपूर्ण कार्यले बजारलाई आक्रान्त बनाउँदासमेत कतैबाट समाधानको ठोस पहल नहुनु झन् दुःखद छ ।

विश्व कोरोना भाइरसबाट आतंकित हुँदा कोरोनाकै बहानामा सेयर मूल्य घटबढ मानिएको नेपाली सेयर (धितोपत्र) बजार फागुनको अन्तिमतिर क्लोजआउट र सर्टसेल नामक भाइरस बल्झिएर तरंगित भयो । खातामा नभएको धितोपत्र (सेयर, म्युचुअल फन्ड, डिबेन्चर) बेचेर अनैतिक र गैरजिम्मेवारीपूर्वक पुँजीगत लाभका लिन पल्केका टाठाबाठाहरूको मूल्यान्तरको खेलमा सम्भवतः कसैबाट झेल भएर विवाद सतहमा पोखिएको लाग्ने क्लोजआउट बल्झनु र बजार अल्पकालीन उच्च बिन्दुबाट क्रमशः ओरालो लाग्नु संयोग मात्र हुन सक्दैन । अनलाइन समाचारअनुसार करिब तीन वर्षमा पुनः बल्झिएको यस समस्यालाई सामाजिक सञ्जालमा केही नेतृ लगानीकर्ताको टिप्पणीले आगोमा घ्यू थप्ने काम ग-यो ।
क्लोजआउट र आंशिक क्लोजआउट

‘धितोपत्र बजारका लगानीकर्ताले कारोबार राफसाफ तथा फछ्र्योटबारे जान्नुपर्ने कुराहरू’ पुस्तिका अनुसार क्लोजआउट भन्नाले ‘खरिदकर्ताले र बिक्रीकर्ताले बुझाउनु पर्ने रकम तथा धितोपत्र फछ्र्योट अवधिभित्र हस्तान्तरण नगरेमा सो बापत लिनु÷दिनुपर्ने रकम तथा धितोपत्र हिसाब मिलान गर्ने कार्य हो ।’ यस्तै, ‘ग्राहकको खाताबाट धितोपत्र बिक्री गर्दा बिक्री गरेको परिमाणभन्दा कम संख्यामा धितोपत्र उपलब्ध भएमा सो बराबरको धितोपत्र राफसाफ तथा फछ्र्योट गरी नपुग संख्या बराबरको धितोपत्र क्लोजआउट गर्नुपर्छ’, जसलाई आंशिक क्लोजआउट भनिन्छ । क्लोजआउटमा राफसाफ सदस्यले क्लोजआउट भएका कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी बुझाउनुपर्छ ।‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९’ को विनियम १९ मा समयमा राफसाफसम्बन्धी कार्य सम्पन्न नगरेमा क्लोजआउट गर्न सक्ने, २० मा आंशिक मौज्दात भएमा क्लोजआउट गर्नुपर्ने, २१ मा क्लोजआउटसम्बन्धी व्यवस्था सीडीएससीले निर्धारण गर्न सक्ने र क्लोजआउट गर्दा राफसाफ सदस्यले क्लोजआउट भएको कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी सीडीएससीमा बुझाउनुपर्ने र २३ मा ग्राहकले राफसाफ गर्न नसकेमा राफसाफ सदस्यले सोको जानकारी सीडीएससीलाई गराउनुपर्नेछ ।कानुनतः क्लोजआउट व्यवस्थापनको जिम्मा राफसाफ सदस्यको भए पनि उल्लिखित पुस्तिकाअनुसार “बिक्रीकर्ताले खातामा धितोपत्रको मौज्दात नभई कारोबार गर्नु हुँदैन र यस्तो कारोबारको राफसाफ तथा फछ्र्योट कार्य राफसाफ सदस्यले पनि गर्नु हुँदैन । यदि राफसाफ प्रक्रिया अगाडि बढाएमा सीडीएससीले त्यस्तो राफसाफ सदस्यलाई कारवाही गर्न सक्छ ।”प्रचलित कारोबार विधिमा धितोपत्र बेचेपछि भौतिक डीआईएस (डेबिट इन्स्ट्रक्सन स्लिप) मार्फत भोलिपल्ट (टी प्लस वान) र विद्युतीय डीआईएसबाट पर्सिपल्ट (टी प्लस वान टु) सम्ममा बेचिएको धितोपत्र ब्रोकरलाई हस्तान्तरण गर्नैपर्छ ।
तर, केही अल्पकालीन लगानीकर्ता र सट्टेबाज (कारोबारी) हरूले समयमै धितोपत्र हस्तान्तरण नगरेको वा गर्न नसकेको भन्दै क्लोजआउटको व्यापक चर्चापछि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले लगानीकर्तालाई पर्सिपल्ट (टी प्लस टु) भित्र निर्देशन पुर्जी बुझाउन २०७६ फागुन २२ गते सूचना जारी गरी सम्झायो । 
यसरी कानुनतः वर्जित र स्वस्थ कारोबार पद्धतिविपरीत केही सट्टेबाज (कारोबारी) हरूले आफूसँग भएको भन्दा बढी कित्ता र डिम्याट खाता (हितग्राही खाता) मा नआइसकेको सेयर मात्र होइन, पछि किनेर दिने आधारमा हुँदै नभएको धितोपत्र समेत बेचेको चर्चा भयो । प्रकाशित समाचारहरूअनुसार निर्धारित समयमा सेयर दिन नसक्दा क्लोजआउटको २० प्रतिशत जरिवानास्वरूप चालू आर्थिक वर्षको आठ महिनामै लगानीकर्ताले १३ हजार ३ सय ४४ वटा कारोबारमा १७ लाख ६७ हजार ३ सय ८६ कित्ता सेयर बिक्री गर्दा ११ करोड ८२ लाख ७४ हजार १ सय ५६ रुपैयाँ क्लोजआउट जरिवाना तिरेका छन् । जुन गत आवको तुलनामा १७ प्रतिशत बढी हो (मेरो लगानी, ३ फागुन २०७६) ।एक लगानीकर्ताले सामाजिक सञ्जालमा ‘केही ठूलो पर्दापछाडिका समूहहरू मिलेर आफूसँग नभएको सेयर पनि नेप्से १६५० माथि पुगेको बेला लाखौं कित्ता बेचेर अहिले बजारलाई जतिसक्दो तल झार्दै किन्दै गरेको, .... सेटलमेन्टको मिति सार्ने काम गरेको, .... अनि सीमित समूहलाई मात्र ‘सर्टसेल’ सुबिधा किन ?’ भन्दै आक्रोश पोखिन् । यसले विगतदेखि अनैतिक रूपमा मौलाइरहेको भाइरसरूपी क्लोजआउट र सर्टसेललाई लगानीकर्ता र कारोबारीमाझ व्यापक बहसमा ल्यायो । 
हुन त भौतिक कारोबारको समयमा केही कारोबारीहरूले ब्ल्यांक ट्रान्सफरका रूपमा आफ्नो नाममा पूरै हस्तान्तरण नभएको सेयर किनबेच गर्ने प्रचलन भए पनि अभौतिक कारोबार र प्रविधिको प्रयोगसँगै छोटो समयमा अधिक कारोबारबाट पुँजीगत लाभको लोभमा सट्टेबाजहरूले खातामा नभएको सेयर बेच्ने अनैतिक र गैरजिम्मेवारपूर्ण कार्यले व्यापकता पाएको देखिन्छ । विश्व धितोपत्र बजारमा प्रचलित अप्सन ट्रेडिङ, इन्ट्रा–डे ट्रेडिङ, फ्युचर ट्रेडिङजस्ता अल्पकालीन लगानीका विकल्प नहुँदा अत्यधिक जोखिम मोल्ने सट्टेबाजहरूले हिजो किनेको सेयर आजै बेच्ने गैरकानुनी सर्टसेलको विधि अपनाए । अनलाइन कारोबार प्रणाली, बहुडिम्याट खाता र भौतिक वा अभौतिक रूपमा धितोपत्र हस्तान्तरणको छनोट सुविधाले अनैतिक बिक्रीलाई थप सहजता मिल्यो ।सीडीएससीको पुस्तिकाअनुसार सर्ट सेल भनिने आफूसँग उपलब्ध नभएको धितोपत्र बिक्री गर्ने कार्य र कारोबार अवैधानिक हुन्छ ।जानाजान वा भूलवश खातामा नभएको धितोपत्र बिक्री सिर्जित क्लोजआउट वा सर्टसेलको समस्या समाधानका लागि केही समयदेखि अक्सन कारोबारको चर्चा भए पनि हालसम्म त्यसलाई व्यावहारिक रूपमा सञ्चालनमा ल्याइएको छैन । ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को परिच्छेद ६ मा अक्सन कारोबार सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ ।
विनियम ३४ (१) मा ‘नेप्सेले कारोबार सदस्यको उपस्थितिमा बोलकबोलको माध्यमबाट वा कारोबार प्रणालीमार्फत अक्सन कारोबार सञ्चाल गर्न’ र (२) मा ‘अदालत वा नेपाल सरकार वा नियामक निकाय वा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न अधिकार प्राप्त निकायको आदेश वा कारोबार र राफसाफ प्रणालीमा हुनसक्ने प्राविधिक त्रुटि वा त्यस्तै अन्य कारणले धितोपत्र बिक्रीकर्ताको मौज्दातमा धितोपत्र उपलब्ध हुन नसकेमा नेप्सेले सञ्चालन गर्ने अक्सन कारोबारमार्फत धितोपत्र खरिद गरी राफसाफ गर्न’ सक्ने उल्लेख छ । यसै विनियम ३५ मा समय तोकेर अक्सन कारोबार सञ्चालन गर्न सक्ने, नियमित राफसाफ समय भित्र विक्रेताले आवश्यक संख्यामा धितोपत्र उपलब्ध गराउन नसकेमा सीडीएसले सोको जानकारी नेप्से र सम्बद्ध कारोबार सदस्यलाई तत्काल उपलब्ध गराउनुपर्ने, जानकारीका आधारमा नियमित राफसाफ समयपश्चात्को कार्यालय खुलेको दिन अक्सन कारोबार सञ्चालन हुने, उक्त अक्सन कारोबारको राफसाफ त्यस्तो कारोबार भएको भोलिपल्ट गर्नुपर्ने, अक्सन कारोबारमा आवश्यक संख्यामा धितोपत्र उपलब्ध नभएमा उपलब्ध भएजतिको धितोपत्र राफसाफ गर्नुपर्ने र बाँकी राफसाफ विनियमावली बमोजिम हुने उल्लेख छ । विनियमअनुसार धितोपत्रको सुरु कारोबार हुँदा कायम मूल्यभन्दा कम मूल्यमा अक्सन कारोबार धितोपत्र उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम कारोबार सदस्यले कारोबार राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) मा जम्मा गर्नुपर्ने, तर सुरुवाती मूल्यभन्दा बढीमा कारोबार भएमा फरक हुन आउने रकम कारोबार सदस्यले सम्बन्धित ग्राहकबाट असुलउपर गरी लिने उल्लेख छ ।
विनियमअनुसार अक्सन कारोबारमा कायम मूल्यलाई अन्तिम मूल्य वा बजार परिसूचक गणनामा समावेश हुनेछैन ।तर सर्टसेल पनि नरोकिएको र अक्सन कारोबार सुरु नभएको अवस्थामा राफसाफ व्यवस्थापनको छिद्र प्रयोग गर्दै केही ब्रोकरले समझदारीको नाममा सेयर किन्नेलाई आर्थिक क्षतिपूर्ति पनि नदिने बरु आफूसँग भएको पुल एकाउन्ट दुरुपयोग गरी मिलेमतोमा गैरजिम्मेवार विक्रेताको पक्ष र नाजायज फाइदाका लागि लागेको देखिन्छ ।
व्यावहारिक समस्या र समाधान
१. क्रेता र विक्रेताको धितोपत्र व्यवस्थापन क्षमता बढाउने, आचारसंहिता जारी गर्ने, क्लोजआउट वा सर्टसेलसम्बन्धी कानुनी व्यवस्थाको स्पष्ट जानकारी दिने र चुस्त नियमन गर्ने ।
२. क्रेता र विक्रेतालाई कानुनतः जिम्मेवार बनाउने र बदनियपूर्वक खातामा नभएको सेयर बेचेर क्लोजआउट गर्ने कार्यलाई गैरकानुनी र आपराधिक कार्यका रुपमा परिभाषित गरी हालको २० प्रतिशत जरिवाना बढाएर कम्तीमा ५० प्रतिशत पु-याउँदै समयमा राफसाफ नगर्नेलाई निश्चित दिन कुनै पनि ब्रोकरबाट कुनै पनि धितोपत्र कारोबार गर्न नपाउने प्रतिबन्धसहित कालोसूचीमा राख्न कानुन तयार गर्ने ।
३. विक्रेताको गैरजिम्मेवारी र लापरवाही सिर्जित क्लोजआउटबाट क्रेतालाई पुग्न गएको हानिका लागि अनिवार्य आर्थिक क्षतिपूर्तिको व्यवस्था र कार्यान्वयन गर्ने ।४. सुविधाको दुरुपयोग गरी हुनसक्ने सर्टसेल नियन्त्रणका लागि क) अनलाइनबाट बिक्री आदेश राख्दा नै स्वचालित रूपमा तत्काल डिम्याट खातामा बिक्रीयोग्य धितोपत्र भेरिफाइ गरी (रियल टाइम डिम्याट चेक) सोही संख्यासम्म मात्र बिक्री आदेश दिन सकिने व्यवस्था गर्ने, र ख) कसैले अर्को खाताबाट समेत हस्तान्तरण हुने गरी उक्त धितोपत्र बेच्न चाहेमा ब्रोकरको जानकारीमा (अफलाइन) मात्र बिक्रीको व्यवस्था गर्ने । 
५. बहुडिम्याट खाता र भौतिक वा अभौतिक निर्देशन पुर्जीको विकल्पलाई निश्चित समयभित्र एकद्वार हस्तान्तरण प्रणालीमा ल्याउन ‘एक लगानीकर्ता एक डिम्याट’ कायम गर्दै बहुडिम्याट खाता बन्द गराउन अनलाइन नै निःशुल्क वा न्यून शुल्कमा सहजै एक डिपीबाट अर्कोमा डिम्याट खाता सार्ने र खाता सार्दा फ्राक्सन सेयर (पूर्ण किताभन्दा कम) समेत सर्ने व्यवस्था गर्ने । कागजी डीआईएसलाई निरुत्साहित गर्न ‘मेरो सेयर’ सेवालाई केही वर्ष निःशुल्क र अनिवार्य गर्दै एप र अनलाइनबाट सहज सेवा उपलब्ध गराउँदै एक वर्षभित्र भौतिक डीआईएस र बहुडिम्याटको विकल्प हटाउने ।ठाटाबाठा र पहुँचवाला कारोबारीको पुँजीगत लाभ, ब्रोकर र नेप्सेको कमिसन तथा सरकारको लाभकरको लालसाले बजारको दीर्घरोग क्लोजआउट वा सर्टसेल समस्याको समाधान जटिल र कठिन देखिएको छ । केही व्यक्तिको बदनियतपूर्ण कार्यले बजारलाई आक्रान्त बनाउँदा समेत कतैबाट समाधानको ठोस पहल नहुनु झन् दुःखद छ । तत्काल निमिट्यान्न र नियमन नगर्ने हो भने थप लगानीकर्ताहरू बदमास कारोबारी बन्नेछन्, जसले क्लोजआउटको समस्या झन् विकराल बन्नेछ । अक्सन कारोबार कार्यान्वयनमा ल्याउँदै गर्दा विक्रेतालाई दण्ड र जरिवानासँगै नभएको सेयर बिक्रीमा रोकथाम र क्रेतालाई यथोचित क्षतिपूर्तिमा ध्यान जानैपर्छ ।