सरस्वती ढुङ्गाना
बिहिवार, चैत्र १३, २०७६
247

आज विश्वभरि द्रुत गतिमा कोभिड–१९ भाइरस फैलिइरहेको छ । चीनको वुहानबाट सुरु भएर फैलिएको यो भाइरस विश्वका १८६ देशमा यसका संक्रमितहरू भेटिएका छन्, जसमध्ये ३ लाख कोरोनाबाट संक्रमित भएका छन् जसमध्ये ९३ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमणबाट ११ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ । चीनको वुहानबाट फैलिए पनि भारतमा भने इटाली, इरान र अन्य मुलुकबाट भित्रिइसकेको छ । ती मुलुकमध्ये इटालीको स्थिति ज्यादै जटिल देखिएको छ, जहाँ कोरोना मृत्युदर अकासिएको छ । विश्वलाई नै यसले आतङ्कित बनाइरहेको छ । यो भाइरस अहिले एउटा देशमा मात्र सीमित रहेको छैन, सिंगो विश्वका लागि नै साझा समस्या बन्न पुगेको छ ।
कोरोना महामारीका रूपमा फैलिएकाले पश्चिमा शक्तिशाली राष्ट्रलाई पनि ज्यादै चिन्तित तुल्याएको छ । कोरोना नियन्त्रणका लागि अहिले विश्वव्यापी रूपमा विभिन्न उपाय अपनाइएका छन् । सेल्फ आइसोलेसन, लक डाउन, आवतजावत बन्द वा सार्वजनिक कार्यक्रम स्थगित गर्नु नै महत्वपूर्ण उपाय रहेका छन् । कोरोनाको गम्भीरतालाई सहज ढंगमा समाजमा सबै जनतालाई बुझाउनु नै महत्वपूर्ण कार्य हो । सूचनालाई प्रभावकारी ढंगले जनमानसमा पु¥याएर मानिसको भीड कम गर्नु नै अहिलेको आवश्यकता हो । त्यसो भएमा मात्र यो भाइरसबाट टाढै रहन सकिन्छ । हामी जति एकअर्काबाट टाढा बस्छौँ, त्यति नै यो भाइरस निष्क्रिय बन्छ । त्यसैले यसका लागि व्यापक रूपमा जनचेतना फैलाउनु जरुरी छ ।

खासगरी कोभिड–१९ बाट संक्रमितको पहिचान गर्नु प्रथम कदम हो भने संक्रमित क्षेत्रबाट स्वदेश फर्कनेलाई स्वतःस्फूर्त रूपमा आइसोलेसनमा बस्नु दिनुपर्छ वा निगरानीमा राख्नुपर्छ । जति ठूलो क्षेत्रमा यो फैलन्छ, यसलाई नियन्त्रण गर्न त्यति नै गाह्रो हुन्छ । त्यसैले यसलाई समुदायमा फैलन नदिन अभियान सञ्चालन गर्नुपर्छ । सामान्य मौसमी रुघाखोकी लाग्दैमा डराइहाल्नु पर्दैन । विदेशबाट फर्केर स्वदेश फर्कनेहरू निर्वाध रूपमा घुमफिर नगरी स्वतःस्फूर्त रूपमा दुई हप्तासम्म सेल्फ आइसोलेसनमा रहने हो भने कोरोनाको मनोवैज्ञानिक त्रासबाट पनि बच्न सकिन्छ । चिकित्सकको परामर्शमा कोरोना परीक्षण गरेर ढुक्क रहनुपर्छ । तर, आफूलाई कुनै संक्रमण छैन भने पनि व्यक्ति वा भीडबाट टाढै रहनुपर्छ ।
जबकि अमेरिकाजस्तो स्रोत र साधनले सम्पन्न मुलुकमा पनि यसका २० हजार संक्रमित भेटिएका छन्, जहाँ ३ सयभन्दा बढीको ज्यान गइसकेको छ । चीन र युरोपेली देशमा यो भाइरसले महामारीका रूपमा त्रास फैलाएको छ भने जापान, दक्षिण कोरिया पनि यसबाट प्रभावित भएका छन् । छिमेकी मुलुक भारतमा पनि यो रोग देखा परिसकेको छ । त्यसैले नेपालमा पनि यो रोग सहजै नआउला भन्न सकिन्न । नेपाल र भारतबीच खुला सीमा भएका कारण पनि यसको प्रभाव बढेको देखिन्छ ।
अहिले मानिसहरू सुरक्षित स्थानको खोजीमा भौंतारिएका छन् । विश्वका ठूला–ठूला बजारहरू सुनसान छन् । होटल सपिङ मलमा त्यति चहलपहल देखिन्न । मानिसहरू त्रासैत्रासमा एकअर्काबाट टाढा भएका छन् । मुखमा मास्क लगाएर हिँडेका छन् । कोरोनाका कारण आफू र आफ्नाबाट नै सबै त्रसित देखिएका छन् । कसैको मुहारमा पनि चमक छैन । सबैतिर कोरोना त्रास बढेको छ । मानसिकता नै बदलिएको छ । अर्कातिर सामाजिक सञ्जालमा विभिन्न प्रकारका पोस्ट पढेर मानिसहरू झन् विचलित भएका छन् । सुरक्षित गन्तव्यका लागि उपत्यकाबाट करिब २ लाख जनता गाउँ फर्किएको खबर पत्रपत्रिकामा छापिएका छन् । आगामी दिनमा यो क्रम अझै बढ्न सक्ने देखिन्छ ।
त्यसैले यो बेला डराउने बेला होइन, सबै एक भएर आ–आफ्नो ठाउँबाट यसलाई न्यूनीकरण गर्न पहल गर्नुपर्छ । राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्नुपर्छ । कुनै पनि ठाउँमा समातेपछि वा छोएपछि सेनिटाइजरको प्रयोग गर्नुपर्छ वा साबुनपानीले रामोसँग हात धुनुुपर्छ । सफा रहनुपर्छ । पोसिलो र तागतिलो खानेकुरा खानुपर्छ । आराम गर्नुपर्छ । कुुनै पनि चिन्ता नलिईकन बस्नुपर्छ । विदेशबाट फर्केकाहरू पनि स्वतःस्फूर्त आइसोलेसनमा बस्ने हो भने पनि यसको संक्रमणबाट जनसमुदाय मुक्त रहन सक्छन् । त्यसैले अहिले फैलिएको मनौवैज्ञानिक त्रास कम गर्दै व्यापक रूपमा जनचेतना प्रवाह गर्नुपर्छ, व्यक्तिगत सरसफाइलाई बेवास्ता गर्नु हुँदैन । यो संयमित रहने बेला हो भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन ।
जनताको स्तरबाट अपनाइने सतर्कताले मात्र कोरोना नियन्त्रण रोक्न सकिन्न । त्यसैले राज्यले यसका लागि दु्रतगतिमा कदम चाल्नुपर्छ । कोरोना संक्रमण फैलिन नदिने, समयमै परीक्षण गर्ने, उपचार गर्नेलगायतका तीनवटा मोर्चामा यसको तयारी गर्नुपर्छ । यदि यो फितलो भयो भने नेपालले पनि इटाली र इरानको झैँ नियति भोग्नुपर्ने देखिन्छ । दक्षिण कोरियाले झैँ तीन तहमा हामीले पनि तयारी गरेको खण्डमा कोरानाको क्षति भोग्नु पर्दैन । अर्कातिर कोरोना कहरबाट मुक्त रहने हो भने राज्यले सही सूचनाको प्रवाह गर्नु आवश्यक छ । विश्वासको वातावरण निर्माण भएन भने पनि जनतामा मानसिक त्रास रहिरहन्छ र यसले जनतामा दूरगामी असर पार्छ । चीनमा कोरोना महामारी फैँलदा अमेरिकीहरू खिसी उडाइरहेका थिए, अहिले चीनमा कोरोना प्रभाव घटेको छ तर अमेरिकामा भने यसले ठूलो त्रास सिर्जना गरेको छ । त्यसैले आगो लागेपछि इनार खन्नुभन्दा पहिले नै विचार गर्नुपर्ने देखिन्छ । अरूका गल्तीबाट पाठ सिक्दै नेपालले पनि विभिन्न स्वास्थ्यसम्बन्धी विज्ञबाट सुझाव, सल्लाह, परामर्श लिँदै विश्वव्यापी महामारीको सामना गर्न उचित कदम चाल्नु आवश्यक छ ।