बाबुकाजी कार्की
बिहिवार, चैत्र १३, २०७६
326

 

आत्तिनुभन्दा पनि संयमतापूर्वक सामना गर्दै अन्य देशहरूबाट पाठ सिकेर कोरोना प्रतिरोधका आक्रमक रणनीति बनाउनु बुद्धिमानी ठहर्छ ।

कोरोना भाइरसको संक्रमण नेपालमा अहिलेसम्म महामारीको रूपमा नेदेखिए तापनि आर्थिक क्षेत्रमा नकारात्मक संकेतहरू देखिन थालेका छन् । नेपालको अर्थतन्त्रमा यसको अल्पकालीन र दीर्घकालीन कस्तो असर पर्ला ? सबैको चिन्ता र चिन्तन विषय बन्नुपर्छ ।

विश्व अहिले कोरोना भाइरस (कोभिङ–१९) को आतंकले त्रसित छ । कोरोना संक्रमण विश्वभर तीव्र रूपमा सल्किँदै गएको कारणबाट विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा महामारी नै घोषणा गरेको थियो । रोग फैलिने तीव्रताका कारण नेपाललगायत दक्षिणपूर्वी एसियालाई उच्च जोखिम रहेको घोषणासमेत गरेको छ । कोरोना संक्रमणको जोखिम मानव स्वास्थ्यका साथसाथै आर्थिक क्षेत्र पनि गम्भीर असर पर्दै गएको छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा पहिरो जाने क्रम बढ्दो छ । यस प्रकोपको कारणबाट ठूलै आर्थिक र मानवीय मूल्य चुकाउनुपर्ने देखिन्छ । विश्वको अर्थव्यवस्था धराशायी हुँदै गएकोमा सर्वत्र चिन्ता र चासो सार्वजनिक भइराखेको छ ।
चीन, दक्षिण कोरिया, जापान, अमेरिका तथा युरोपलगायतका औद्योगिक देशहरूमा उद्योगधन्दामा आएको मन्दीका कारण तेलको मूल्यमा ६८ प्रतिशतले गिरावट आएको छ । विश्वका सेयर बजार निरन्तर ओरालो लागेको छ । पर्यटन व्यवसाय धराशायीको अवस्थामा पुग्दैछ । मुलुकहरूमा कोरोना नियन्त्रणका लागि लकडाउनको लहर नै चलेको छ । हवाई यातायात ठप्पको अवस्थामा पुग्दैछ । यात्रु आवागमनको अवस्था घटेको कारणबाट आर्थिक गतिविधिमा शिथिलता आउनु स्वाभाविकै हो, जसको कारणबाट कैयौं श्रमिकको रोजगारी गुम्दैछ । यसले व्यक्तिको दैनिक जीवनयापनका लागि खर्च जुटाउन पनि धौधौ पर्ने चुनौती थपिने नै छ । आर्थिक गतिविधिमा हुने मन्दीको कारण राज्यको ढुकुटीमा नकारात्मक असर नपर्ने कुरै भएन । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको सार्स संक्रमणको क्षतिभन्दा कैयौं गुणा बढी हुने अर्थविद्ले प्रक्षेपण गरिरहेका छन् । कोरोनाले अहिलेसम्म विश्व अर्थतन्त्रमा करिब ३ खर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुगेको अनुमान गरिएको छ । यो क्रमको तीव्रता आगामी दिनहरूमा अझ बढ्ने आकलन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नेपालमा अहिलेसम्म महामारीको रूपमा नेदेखिए तापनि आर्थिक क्षेत्रमा नकारात्मक संकेतहरू देखिन थालेका छन् । नेपालको अर्थतन्त्रमा यसको अल्पकालीन र दीर्घकालीन कस्तो असर पर्ला ? सबैको चिन्ता र चिन्तन विषय बन्नुपर्छ । आउँदो दिनहरूमा यसको नतिजा कस्तो होला ? अध्ययन र अनुसन्धानबाट निकास खोज्न विलम्ब गरिनु हुन्न । विश्वका उदीयमान अर्थतन्त्र भएका विशाल छिमेकी देशहरू चीन र भारतबाट कोरोना नियन्त्रण तथा अर्थव्यवस्थालाई सुदृढ पार्न आवश्यक सद्भाव र सहयोग जुटाउने कौशल सरकारले देखाउन चुक्नु हुन्न । नेपालको कुल गार्हस्थ्य उत्पादन ०.०४ प्रतिशत अर्थात् १२.१२ मिलियन अमेरिकी डलरमा खुम्चिने आकलन गरेको छ ।
नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारले धानेको छ । यी दुवै क्षेत्र कोरोना संक्रमणले धराशायी हुँदै गएको जगजाहेर नै छ । अन्य देशहरूसँग प्रत्यक्ष सरोकार र निर्भर रहने यी दुवै क्षेत्र अस्थिर र जोखिमपूर्ण मानिन्छन् । नेपालको पर्यटन र वैदेशिक रोजगार क्षेत्रमा कोरोनाको निर्मम प्रभाव पर्दै गएको छ । पर्यटन मन्दीको असर नाङ्ले पसलेदेखि, ठूला डिपार्टमेन्टल स्टोर, चिया पसलदेखि पाँचतारे होटल, ट्याक्सी चालकदेखि विमान कम्पनी, सारंगी रेटेर जीविका चलाउनेदेखि ठूलाठूला मनोरञ्जनका क्षेत्रहरू कोरोनाले बिस्तारै नकारात्मक असर पार्दै छ । यसको असर क्रमशः बढ्दै जाने निश्चित नै छ ।
नेपाल सरकारले अनअराइभल भिसा वैशाख १८ गतेसम्मका लागि बन्द गरिसकेको छ । नेपाल भ्रमण वर्ष, २०२० मा २० लाख पर्यटक भिœयाउने सपना पनि अधुरै रहयो । आन्तरिक तथा बाह्य पर्यटकको आवगमन ठप्प भएको छ । पर्यटन उद्योगसँग सम्बन्धित व्यवसाय होटल, रेस्टुराँ, यातायात, टुर गाइड आदिमा मन्दी आउने तीव्रता बढ्दै छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय उडानहरू विश्वभर रद्द तथा स्थगित हुँदैछन् । देशको अर्थतन्त्रलाई महŒवपूर्ण टेवा पु¥याउँदै आएको वैदेशिक रोजगारीमा पनि कटौती वा बन्द नै भइराखेको छ । कतिपय रोजगारदाता देशहरूले कामदारको संख्या कटौती या धमाधम फिर्ता पठाउँदै गरेका छन् ।
यसरी रोजगारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू नै पहिलो निसानामा परेका छन् । वैदेशिक रोजगारबाट आएको पैसामा सहर–बजारमा बसाइँ सरेका कतियपय परिवारको बिचल्ली नै नहोला भन्न सकिन्न ।
कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत जनसमुदाय नै पर्ने टड्कारो देखिन्छ । यस वर्गमा रहेका जनसमुदायमा पर्याप्त स्वास्थ्य जनचेतनाको अभाव मात्र नभएर आर्थिक रूपमा पनि कमजोर भएकाले संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न सक्दैनन् । सुरक्षित पेसाको अभावमा दिनभरि कमाएर बिहान–बेलुकाको छाक टार्ने श्रमिकका लागि यो महामारीले सबभन्दा बढी ग्रसित पारेको छ र पार्नेछ । सरकारले यस्ता विपन्न र निमुखा जनसमुदायको पहिचान गरी सरकारले राहतको सुविधा प्रदान गर्ने नीति लिनु लोककल्याणकारी राज्यको प्रमुख दायित्व हो । अन्यथा रोजिरोटीको गर्जो टार्न यो वा त्यो ठाउँमा भौंतारिन विवश यो वर्ग नै जान–अन्जानमा भाइरस फैलाउने प्रमुख एजेन्ट नबन्ला भन्न सकिन्न ।
पिछडिएका क्षेत्रमा बसोबास गर्ने अधिकांशको दिगो र सुरक्षित रोजगारी नभएका मानिसको स्वस्थ र स्वच्छ गाँस, बास र कपासको न्यूनतम व्यवस्था गर्न सकेदेखि कोरोना संक्रमण फैलिन केही हदसम्म रोक्न टेवा पुग्नेतर्फ हेक्का राख्न बिर्सनु भूल हुन सक्छ । राज्यले अभिभावकत्व लिएको महसुस सबै जनताले गर्न पाउने परिस्थिति सिर्जना गर्न सरकार चुक्नु हुन्न ।
कोरोेना भाइरसको महामारीले ल्याएको विषम परिस्थितिसँग सावधानीपूर्वक जुध्नुको विकल्प हाम्रो सामु छैन । आत्तिनुभन्दा पनि संयमतापूर्वक सामना गर्दै अन्य देशहरूबाट पाठ सिकेर कोरोना प्रतिरोधका आक्रमक रणनीति बनाउनु बुद्धिमानी ठहर्छ । साथसाथै देश आत्मनिर्भर बन्ने उपाय र क्षेत्रहरू पहिचान गरेर बिदेसिएका युवा जनशक्तिलाई स्वदेशमै पसिना बगाउने अवसर खोजिनुपर्छ । नेपाल कृषिप्रधान देश भनिए तापनि अहिले घट्दै गएर ६५ प्रतिशत जनसंख्या मात्र कृषिमा निर्भर छन् । त्यस्तै उद्योगधन्दाहरू धमाधम बन्द भएका छन् । सूचना र प्रविधिसँग सरोकार राख्ने पेसा–व्यवसाय त्यति फस्टाएका छैनन् । रोजगारी सिर्जना गर्ने खालका व्यवसायहरू सञ्चालनमा स्पष्ट र दिगो नीति नभएको सरोकार पक्षको गुनासाको रांैचिरा विश्लेषणबाट निष्कर्षमा पुग्न विलम्ब गरिनु हुन्न । जनता र सरकारको परस्पर सहकार्य भरपर्दो भएमा पक्कै पनि कोरोना आक्रमणलाई निस्तेज पार्न सकिने चीनको सफलताबाट हामीले पनि सिक्नुपर्छ ।