विनोद न्यौपाने
बिहिवार, चैत्र १३, २०७६
1621

 
नेपालमा स्थापित प्रजातान्त्रिक प्रक्रियामा प्रजातान्त्रिक निर्णयहरूको वैधताले आर्थिक, सामाजिक र राजनीतिक विकासका खुड्किलोमा प्रतिभाको र योग्यताले अहम् भूमिका खेल्छ ।


प्रतिभा (मेरिटोक्रेसी) सामाजिकीकरण गर्दा सामाजिक स्तरीकरणको प्रणाली हो, अर्थात् यो एक सामाजिक प्रणाली हो । मानवीय जीवनमा सफलता, स्थिति अनि मुख्य रूपमा व्यक्तिगत प्रतिभा, क्षमता र प्रयासमा निर्भर हुन्छ । यो कुलीनतन्त्रसँग विरोधाभास छ । प्रतिभाको सुरुवात चीनबाट हुँदै बेलायत, भारत अनि अमेरिकातिर पुग्यो ।

प्रतिभा र प्रतिभावान् सोझै शैक्षिक क्षेत्रसँग सम्बन्ध राख्छ, साहस र कल्पनाका साथ राष्ट्रमा नीतिहरू, विकास योजनाहरूको बनाउने, कार्यान्वयन गराउने र नियमन र मूल्याङ्कन गर्ने कार्य बहुप्रतिभाशाली, सृजनशीलबाट भए राष्ट्रले लामो दूरी तय गर्छ । यहाँ प्रतिभाले ऊर्जा र न्यायका साथ कार्यान्वयन गर्छ । नेपालमा स्थापित प्रजातान्त्रिक प्रक्रियामा प्रजातान्त्रिक निर्णयहरूको वैधताले आर्थिक, सामाजिक र राजनीतिक विकासका खुड्किलोमा प्रतिभाको र योग्यताले अहम् भूमिका खेल्छ । निर्णयहरू एक प्रजातान्त्रिक पद्धतिद्वारा उत्पादित निष्पक्ष र सत्य हुनुपर्छ ।
अनि त्यहाँ प्रतिभा उदाउँछ, दिन सक्ने नवीनता र सृजनशीलता दिन्छ जसले समाज र राष्ट्र डो-याउँछ । यो आधारभूत भूमिमाथि रहेर प्रतिभाको अध्ययन गर्ने उद्देश्य यो लेखको हो, अन्य अगाडि अध्ययन युवा पुस्ताको जिम्मेदारी हो । प्रतिभा सोझै, मानव कल्याणलाई वृद्धि गर्न, प्रजातन्त्रको प्रवृत्ति सुधार गर्न, सार्वजनिक कार्यान्वयनका लागि जिम्मेवार संस्थाहरूको गुणस्तर नीतिहरू बनाउन, स्थानीय भ्रष्टाचारविरुद्ध एक सुरक्षित उपचार दिन र लोकतन्त्रमा निष्पक्षताको स्तर र सत्यताको स्तर कायम राख्न सक्षम हुन सक्छ । यो विकसित मुलुकहरूमा प्रस्टसँग देखिन्छ ।
शैक्षिक प्रणाली यहाँ महत्वपूर्ण हुन्छ, श्रम, ज्ञान र सीप त्यहीं उत्पादन हुन्छ जसले देशको भावी मार्ग चित्रलाई ठूलो हदसम्म बदल्न सक्छ । प्रतिभा सधैँ असमानतासँग जोडिएर आउँछ, यो ख्याल गर्नुपर्छ । असमानता विचारधाराको एक महत्वपूर्ण पाटो हो । जातिवाद र जातीय श्रेष्ठताको गलत धारणामा प्रतिभा लगेर जोड्न हुँदैन । प्रतिभा र योग्यताको आँखाबाट हेर्दा असमानता उचित देखिन्छ । किनकि सबैसँग सफल हुनका लागि बराबर, कमसेकम पर्याप्त मौका हुन्छ । नेपालमा नातावाद, कृपावाद, आफ्नो मान्छे श्रम बजारमा चलिरहेको हिजोको प्रचलनमा प्रतिभा र योग्यता अगाडि आएपछि गरिब, जेहेनदार र कुना काप्चामा बसोबास गर्नेहरूले शैक्षिक क्षेत्रमा, रोजगारीमा, छात्रवृत्तिमा मौका पाएको देखिन्छ । प्रतिभाको मूल्याङ्कन हुन थालेपछि खानदानी, इलाइट्स, ठूलाबडाले मात्रै अवसरहरू पाउने घटेर गएको सन् १९५० पछिको नेपालमा देखिन्छ । सफलता व्यक्तिगत योग्यताद्वारा निधारित हुन्छ । कडा मिहिनेती, सबैभन्दा सद्गुण प्राप्त र समग्र समाजका लागि राम्रो छ भने प्रतिभाशाली बन्न पुग्छ । प्रतिभा (मेरिटोक्रेसी) सामाजिक धरातलमा उभिएको शब्द हो । सामान्य मानवमा न्यूनतम मापनका आधार राखिएका एकै तह (शैक्षिक, धारणा, ऊर्जा, सृजनशीलता र एट्टिच्युड) भन्दा बढी त्यही तहमा जोडिएको मानवीय क्षमता, प्रयास सीप, ज्ञान, ऊर्जा, एट्टिच्युड रहेको साथै कुनै दिएको कार्यलाई फरक ढङ्गले र सहज तरिकाले गर्न सक्ने सामथ्र्य रहेको व्यक्ति ‘प्रतिभा’ देखिएको वा प्रतिभावान् व्यक्ति भनेर भन्ने गरिन्छ ।
यहाँ भुल्न नहुने विषयमा योग्यता र प्रतिभा फरक विषयहरू हुन् । योग्यता हुँदैमा प्रतिभा छ भन्न सकिँदैन । योग्यता व्यक्तिको चरित्र हो । प्रतिभाले सम्पूर्ण सामाजिक प्रणालीलाई जनाउँछ । व्यक्तिगत प्रयास र क्षमताहरूको प्रत्यक्ष उपज प्रतिभा हो । मेरिटोक्रेसी शब्द कुद्ने प्रथम व्यक्ति ब्रिटिस समाजशास्त्री माइकल यंगले आफ्नो व्यंग्यात्मक उपन्यास ‘द राइज अफ द मेरिटोक्रेसी, एक एस्से अन एजुकेसन एन्ड इक्वालिटी’ मा अमेरिकी सपना जोडेर लेखेका छन् । बुद्धिमत्ता र सीपलाई विशेष जोड दिएका छन् ।
सामाजिक वर्ग र सामाजिक न्यायबीचको सम्बन्ध वर्तमान अवस्थामा सार्वजनिक विषयको साथसाथै शैक्षिक विवाद हो । केही विज्ञहरू सामाजिक गतिशीलताको अवस्थित ढाँचालाई अवसरको असमानताको प्रमाणको रूपमा हेर्छन् भने केही अरूले प्रतिभाको रूपमा हेर्छन् । प्रतिभाले जनसंख्याबीच क्षमता, सृजनशीलता र प्रेरणाको वितरण प्रतिविम्बित गर्छ ।
एकै योग्यता (डिग्री बोकेका) भएकाहरूलाई समान रनिङ ट्र्याकमा कुदाएर प्रतिभा छान्ने हो । राज्यले समान योग्यता (शैक्षिक डिग्री) मा ल्याउन राज्यभित्र बसोबास गर्ने प्रत्येक जातजातिलाई आधारभूत आधार तयार गर्न समान अवसर दिनुपर्छ; अर्थात् मानवीय आधारभूत आधारमा लगानी गर्नुपर्छ । नेपालको आरक्षण असन्तुलन देखिनुको कारण त्यही हो । यहाँ दौडको अन्तिम रनिङ–ट्याकमा ल्याउनुअघि नै राज्यको लगानी पछाडि परेको जातजातिमाथि कार्यक्रम बनाएर खर्च गर्नुपर्ने आवश्यकता छ । हाल भइरहेको अवस्थाले विभिन्न जातजातिका प्रतिभाशाली समेट्न सक्ने देखिँदैन, किनकि मानवीय भूगोलको आधारभूत आधार यस भूमिमा अध्ययन र अनुसन्धान गरी खोजिएको देखिँदैन । इलाइट्सहरूकै स्वार्थअनुकूल प्रतिफल प्राप्त उनीहरूले नै गर्ने गरी आरक्षणमा जोड बल गरिएको देखिन्छ । त्यहाँ प्रतिभा वानको मूल्य र मान्यता देखिँदैन । यसलाई राजनीतिकरण गरी आफ्नो दुनो सोझ्याउने कार्य केही स्वार्थी तत्वले गरेको देखिन्छ । जबकि राजनीतिक पार्टीको कुरा गर्दा पीएपी, सिंगापुरको पार्टीले उत्कृष्ट, प्रतिभावानहरूलाई लियो, साथै राम्रो तलब दियो, यसले गर्दा भ्रष्टाचार नभएको मुलुकमा गनिन्छ । प्रतिभाले सांस्कृतिक उद्योगहरूको राजनीतिमा खतरा उत्पन्न गर्छ, साथै रचनात्मक असमानताहरूलाई बाहिर ल्याउँछ । यसले सबै जातजातिलाई आधारभूत आधारमा उसका जीवन दैनिकी समाधान गर्न र शिक्षा दिनुपर्छ भन्ने राज्यलाई निर्देशित गर्छ भने संस्कार र संस्कृतिको राजनीति गरेर पेट भर्नेहरूलाई कायल काबु पार्छ । यहाँ सबै नागरिकले प्राप्त गरेको योग्यता र व्यक्तिको प्रतिभाको विषय उठ्छ ।
प्रतिभाका धनी कोलम्बसले आफ्ना छिमेकीहरू, राजा फर्डिनान्ड र रानी इसा बेलालाई आदिवासी मानिसहरूको बसोबासको थलो पत्तो लगाएर ‘भारतीयहरू’ बारे बताए । त्यस समयमा कोलम्बस धनको स्रोत : बहुमूल्य धातुहरू, रेसम र मसलाहरू खोजिरहेका थिए । कोलम्बसको यो कामले नयाँ विश्व र पुरानो विश्वबीच व्यापारका साथै उपनिवेशको बाटो खुलेको देखिन्छ । यहाँ एकै व्यक्ति कोलम्बसको प्रतिभाको कुरो उठाउँदै गरेको हो, जसको प्रतिभाले ब्रिटिस साम्राज्यदेखि पूरै उपनिवेशको बाटो खुल्यो । अहिले मानिसहरू सफ्टवेयर, मानव मस्तिष्क शक्ति, उन्नत (प्रविधि, सीप, प्रसारण प्रोटोकलहरू, नवोदित उद्यमशीलता, अप्टिकल इन्जिनियरिङ खोज्दै छ, जुन सम्पत्तिको स्रोत हो । त्यस समयका कोलम्बस हुन् वा अहिलेका सृजनशील र प्रतिभाका धनी व्यक्ति यी सबै सम्पत्तिका स्रोत हुन् । प्रतिभाकै कुरो गर्दा अहिले विश्व नवउदारवादमै नचाउने, फ्रेडेरिक ह्यायेक र मिल्टन फ्रायड म्यान हुन् । यहाँ अचम्म छ, दुई व्यक्तिको गिदीकै वरिपरि नाचिरहेको आर्थिक क्षेत्रको विश्व ? अर्को आश्चर्य हेरौँ, माक्र्सकै कुरो गर्दा, उनकै बिचार धारामा झिना–झपटीमा छ अहिलेको विश्वको भूगोल । त्यसैले अनौठो छ, प्रतिभा अर्थात् मेरिटोक्रेसी ।
प्रतिभाका लागि विश्वव्यापी युद्धको उदय र एक नयाँ वैश्विक योग्यताको उदयको कुरा मानव संसाधन प्रबन्धनको व्यवस्थापन व्यवस्थित आप्रवासन र आप्रवासन सुधारमा राष्ट्र–राज्यको आर्थिक र सामाजिक विकाससँग फैलिएको छ । यो मूलत शिक्षा नीतिमा, रोजगारीमा (श्रम), आर्थिक उन्नति अनि जनताको सेवा र सुविधाको विश्वव्यापी युद्धमा प्रभाव, परिणाम र प्रभावकारिता मापन गर्न सक्षम छ । अहिलेको अवस्थामा प्रतिभार योग्यता विकसित मुलुकहरूले आफूतिर आकर्षित गर्ने युद्ध गरिरहेको अवस्था छ भने यसलाई धेरैले नवउदारवादको उपज हो भनेर लिएको पनि पाइन्छ । धेरैले प्रतिभावान् र प्रतिभाशाली आकर्षित गर्नु नयाँ नवउदारवादी लडाइँ नै हो भनेर भनेका छन् । यसले प्रतिभाको मूल्य र मान्यता दर्साउँछ जुन सहजै आफ्ना नीति र कार्यक्रम सुधार्न चीनले प्रोफेसरहरू अमरेत्य सेन, हार्बे प्रयोग गरेको देखिन्छ ।
मूलतः सामाजिक, आर्थिक र शैक्षिक क्षेत्र, पदोन्नति गर्ने, कौशलता, बजारमा आधारित अवधारणा अनि पुँजी र वस्तुहरूको व्यवस्थापनमा सीप श्रममा विशेष जोड दिन्छ । प्रतिभा सँगसँगै समानता, समावेशीकरण र निष्पक्षताको विषयहरू उठेको हाम्रै मुलुकसहित अल्पविकसित मुलुकहरूमा देखिन्छ । यहाँ प्रतिभाको विषयहरू आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक र विस्तृत खोजी गर्नुभन्दा मूलतः श्रमबजार र शैक्षिक क्षेत्रको विषयहरूलाई लिएर लेख्ने कार्य गरिएको छ । विगत दशकदेखि नै हामी द्वन्द्व, राजनीतिक अस्थिरता र अवसरको अभावका कारण आर्थिक रूपले कमजोर अवस्थामा रहेकाले यस मुलुकका उच्च शिक्षित, सीपवान् र प्रतिभा शाली व्यक्तिहरू विकसित देशहरूमा बसाइँ सर्ने क्रम बढ्दो छ । ब्रेन ड्रेन र मस्तिष्क सञ्चारको अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोज्नु, गुणात्मक जीवनका आधार पहिल्याउनु र बढी तिर्ने रोजगारहरू दाताहरू खोज्नु हाम्रो आवश्यकता भएको छ ।
ब्रेन ड्रेनलाई हामी तान्ने (प्रतिभा तान्ने–रोजगारी दिने) र धकेल्ने ( बेरोजगारी, राज्यबाट हेपाहा नीति) आधारमा पनि वर्गीकरण गरेर अध्ययन गर्न सक्छांै । देशभित्र राजनीतिक अस्थिरता, अराजक राजनीतिक अवस्था, उचित कार्य मूल्याङ्कनको कमी र अपराधीकरण, पारिश्रमिक, नातावाद र पार्टीवादले गर्दा दैनिक प्रतिभावान् अर्थात् प्रतिभा भएकाहरूले देश छोडी रहेको देखिन्छ । ब्रेन गेन (लिने) सन्दर्भ आउँदा विश्वमा छरिएर रहेका बौद्धिक नेपालीले देशलाई माया गर्छन्, उनीहरूको मातृत्वको गाँठो प्रयोग गर्नुपर्छ भनेर केही प्रयास परराष्ट्र मन्त्रालयले सुरु गरेको छ, जसमा के गर्न सकिन्छ भनेर सल्लाहको लागि बोलाइएको विज्ञहरूको छलफलमा यो लेखक पनि थियो । त्यहाँ ब्रेन गेन गर्न संस्थागत संरचना र पद्धतिका विषयहरू बारे सुझाव परराष्ट्रमन्त्रीलाई दिइएको छ !
देशको अहिलेको अवस्थामा सत्य, तथ्य र समग्र देश सोचेर बोल्ने राजनीतिक व्यक्तित्वहरू पार्टीहरूबाट पन्छिएको र पाखा पारिएको अवस्था देखिन्छ । शैक्षिक क्षेत्रको सर्वोकृष्ट उत्पादन देशमा देखिँदैन । यो अवस्थामा हाम्रो संस्कारले प्रतिभालाई धन–सम्पत्ति कमाउनेसँग तुलना गरेर हेर्ने प्रचलन रहेको देखिन्छ । त्यसैले यहाँ धेरै व्यक्तिहरू सजिलै प्रश्न गर्छन्, तपाईं यति प्रतिभा शाली हुनुहुन्छ तर तपाईं धनी किन हुनुहुन्न ? यो प्रश्नमा बौद्धिकताभन्दा मौद्रिक सफलताको कुरो आइरहेको छ । यहाँ दुवैलाई मापन गर्न सकिन्छ ।
जब दोस्रो विश्वयुद्ध सकियो, अमेरिकालाई ठूलो शक्तिका रूपमा यसले स्थापित ग-यो । यही समयमा अब अमेरिका कसरी बनाउने भनेर ४ फेब्रुअरी, १९४५ मा बसेर सोचिरहेका हेनरी चौउनसेले नै प्रतिभा मापन गर्ने अनि प्रतिभाहरू अमेरिकाका युनिभर्सिटीहरूमा तान्ने सोच निकालेको देखिन्छ । प्रतिभा छान्न आइक्यु परीक्षण हुँदै स्याट (स्कोलास्टिक एसेसमेन्ट टेस्ट) को विकास हुन पुग्यो । विकसित मुलुकहरूको अहिले पनि प्रतिभावान् तान्न हारालुछ नै देखिन्छ, तर हामी उल्टो बाटो दौडिरहेको ब्रेन ड्रेन र बेरोजगारीले देखाइरहेको प्रस्ट छ । २१ आंै शताब्दीको यो प्रविधि, ज्ञान, सिप र सञ्चारले मिचेको यो युगमा हाम्रा शासकहरूको वैयक्तिक विवरण सङ्गठनको सदस्य भएको बाहेक कुनै योग्यता र प्रतिभा देखिँदैन । धेरै राजनीतिक नेतृत्वको र जनप्रतिनिधिहरूको सोच राज्यसँग भएको सीमित स्रोत र साधन प्रयोग गरेर महाराज बन्ने अभिलाषा पहिलो प्राथमिकतामा देखिन्छ । विगत ३० वर्षका भ्रष्टाचार र कमिसनका पाना कोट्याउने हो भने महाभारत बन्न जान्छ । यसले विकास, आर्थिक समृद्धि होइन उल्टो उपभोक्तावादी बनाएको प्रस्ट छ, अझै ब्रेन ड्रेन र प्रतिभा भएकाहरू देश छोडेर हिँड्नुपर्ने अवस्था देखिन्छ । (क्रमशः)
(लेखक ‘नेपालमा सङ्घीयता र राजनीतिक–आर्थिक बहाव’ पुस्तकका लेखक हुन् ।)