कुमार पाण्डे
मंगलबार, चैत्र ११, २०७६
932

 
चीनबाट उत्पन्न भई संसारभरि नै महमारी फैलिरहँदा नेपालीहरूको जीवन र नेपालभित्रका व्यवसायहरू पनि प्रभाावित हुनु कुनै अनौठो कुरा भएन ।


केही हप्तायता संसारको सामाजिक, आर्थिक एवं राजनीतिक व्यवस्थालाई कोरोना भनिने अदृश्य जीवले अस्त व्यस्त पारेको छ । संसारभर लाखौं मान्छे संक्रमित भएका छन् भने करिब १३ हजार व्यक्ति मरिसकेका छन् । लाखौंले आफ्नै घरमा बन्दी जीवन बिताउनु परिरहेको छ । संसारका कुनै पनि देश यो रोगको प्रभावबाट मुक्त हुन सकेका छैनन्, बरु राष्ट्र–राष्ट्रबीच आवतजावत बन्द गर्ने र सम्पर्क टुटाउने अभ्यास बढेको छ । कतिपय ठाउँमा यसैलाई आधार मानी निश्चित देश वा मुलका व्यक्तिहरू माथि भेदभाव र दोष थोपर्ने काम पनि भएको देखियो ।

यसरी चीनबाट उत्पन्न भई संसारभरि नै महमारी फैलिरहँदा नेपालीहरूको जीवन र नेपालभित्रका व्यवसायहरू पनि प्रभाावित हुनु कुनै अनौठो कुरा भएन । अन्यत्र जस्तै, नेपालको पर्यटन व्यवसायलाई नराम्रो धक्का लागेको छ । विदेश जाने वा उतै रही काम गर्ने नेपालीहरू रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । देशका उद्योगहरू कच्चा पदार्थ, मेसिनरी सामान र विदेशी तथा स्वदेशी कामदारहरूको अभावबाट समस्यामा परिरहेका छन् । कृषिलाई आवश्यक मलखाद, तथा बीउबिजनको अभाव पक्का भइसकेको छ । समग्रमा देशको उत्पादकत्व तथा आर्थिक अवस्था ठूलो संकटतर्फ उन्मुख छ ।
नेपालको जलविद्युत् उद्योग पनि यो महामारीको चपेटामा परेको छ । जलविद्युत्को निर्माणमा ढिलाइ, उपकरणको आपूर्तिमा ढिलाइ, विदेशी ठेकेदारले आफ्ना विशेषज्ञ तथा कामदार आवश्यकताअनुसार परिचालन गर्न नसक्नु जस्ता कारणले निर्माणाधीन आयोजनाहरू प्रभावित भएका छन् । यसैगरी नेपाल सरकार स्वयंले मानिसहरूको हुल कम गराउनु, अत्यावश्यकबाहेक अन्य कामका लागि नागरिकलाई घरबाहिर ननिस्कनु भन्ने सूचना जारी गर्दा अन्य अरू व्यवसाय र कामदारजस्तै जलविद्युत् व्यवसायी तथा कामदारहरू यो महामारीबाट बच्न तथा आफ्ना परिवारजनको नजिक रहन कार्य क्षेत्र छाड्न थालेका छन् । वर्षायामको सुरुको समयमा काम छाडेका कामदार आउँदो कात्तिक अगाडि फर्काउन नसकिने हाम्रो अनुभव छ भने कार्यक्षेत्रमा रहेका पनि सामान आपूर्तिको कमी तथा स्वास्थ्यसेवाको अभावमा दक्षताका साथ काम गर्न सकिरहेका छैनन् । आयोजना सम्पन्न गर्न ढिलाइ हुने निश्चित छ ।
यसैगरी जलविद्युत् उत्पादन केन्द्रहरूलाई आवश्यक प्रसारणलाइन तथा सबस्टेसनहरूको निर्माणमा पनि ढिलाइ भइरहेको छ । यस्तो अवस्थामा जलविद्युत् उत्पादन केन्द्रहरू मात्र समयमा सम्पन्न गर्नुको कुनै अर्थ रहँदैन ।
जलविद्युत् आयोजनाहरू सम्पन्न गर्नमा ढिलाइ हुनु भनेको यी आयोजनाहरूको लागत बढ्नु हो । हाल निर्माणमा रहेका करिब ३ हजार मेगावाट क्षमताका आयोजनाहरूको लागत वृद्धिको कारणले धराशायी बन्दा सयौं उद्यमीलगायत सम्पूर्ण देशको बैंकिङ क्षेत्र प्रभावित हुन्छ नै । त्यसैसँग समग्र राष्ट्रिय अर्थतन्त्र नै तहसनहस हुन जान्छ । यी आयोजनाहरूले बैंकहरूसँग करिब २ खर्ब ४० अर्ब रुपैयाँको ऋण लिएका छन् । आजको ब्याजदरलाई नै मान्दा पनि यी आयोजनाहरू ६ महिना ढिलो हुँदा कम्तीमा पनि १५ अर्ब रुपैयाँ थप ब्याज मात्र भुक्तानी गर्नुपर्ने हुन्छ ।
विद्युत् आयोजनाहरूको निर्माण आफैं महँगो भइरहेको छ । उत्पादित बिजुलीको मूल्य १० वर्ष अगाडिदेखि स्थिर छ । यस अवस्थामा यो महामारीका कारणले अर्बाैंको ब्याजको भार थपिँदा यी व्यवसायीहरू थला पर्ने निश्चय छ र उनीहरूसँगै देशको बैंकिङ तथा आर्थिक क्षेत्र पनि गम्भीर रूपमा प्रभावित हुने निश्चित छ ।
नेपालले जलविद्युत्को विकासमार्फत एक समृद्ध राष्ट्र बन्ने सपना बोकेको छ । यी ३ हजार मेगावाटका आयोजनाहरू बनिसक्दा देश विद्युत् आपूर्तिमा करिब बाह्रै महिना आत्मानिर्भर हुन सक्छ । यी आयोजनाहरूले करिब रु. १ सय अर्बको विद्युत् उत्पादन गर्न सक्छन् । यो १ सय अर्बको बिजुलीले झन्डै १५ गुणा बढी योगदान समग्र अर्थतन्त्रमा पर्ने अध्ययनहरूले देखाएका छन् । नेपालमा थप उत्पादन हुने विद्युत्बाट हाल भइरहेको अर्बाैंको विद्युत् आयात रोकिने, देशको कुनाकाप्चामा विद्युत् आपूर्ति गर्न सहज हुने, नेपाली उद्योग तथा व्यवसायीहरूले देशमै उत्पादित ऊर्जाको खपत गरी व्यवसाय विस्तार गर्न पाउने र त्यति गरेर पनि बढी भएको बिजुली निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसरी हाल निर्माणमा रहेका यी आयोजनाहरूले विद्युत् उत्पादन सुरु गरेपछि देशको अर्थतन्त्रमा ठोस योगदान पु-याउनेछन् । स्मरण रहोस्, नेपालले २०७५÷७६ मा रु. १ सय अर्बभन्दा कमको माल वस्तु निर्यात गरेको थियो । यस सन्दर्भमा यी निर्माणाधीन ३ हजार मेगावाट आयोजनाहरूबाट अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेमा शङ्का छैन ।
देशको अर्थतन्त्र, पर्यावरण, तथा देशवासीको दैनिकीमा प्रत्यक्ष सकारात्मक योगदान पु-याउन सक्ने उद्योगलाई पहिला राज्यले बचाइदिनु आवश्यक छ । यी निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई ब्याज तिर्न सक्षम गराउन सहुलियत ब्याजदर आवश्यक छ । यसैगरी कोरोनाका कारण गुम्न गएको समय थप गरिदिने र अन्य हर्जनाबाट मुक्त गरिनुपर्छ । राष्ट्रले बनाइदिनुपर्ने पूर्वाधारहरू अविलम्ब निर्माण गरी यी आयोजनाहरूमार्फत राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सरकारले नै सहयोग गर्नुपर्छ ।
हाल निर्माणाधीन आयोजनाहरू अन्तर्राष्ट्रिय महामारीका कारणले थलिई केही सहयोगको पर्खाइमा रहेता पनि यो महामारीले नेपालको सबभन्दा लगानी योग्यक्षेत्र भनेको जलविद्युत् क्षेत्र नै हो भन्ने पनि प्रमाणित गरेको छ । यसको पुष्ट्याइँ निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूले गरिरहेका छन् । यस्तो अन्तर्राष्ट्रिय सङ्कटमा पनि यी आयोजनाहरूले निर्वाध रूपमा विद्युत् उत्पादन गरिरहेका छन् । आफ्नो देशका खोलाको पानीबाट विद्युत् उत्पादन गरिने हुँदा व्यवसाय सञ्चालन गर्न अन्यत्रबाट कच्चा पदार्थ नआउला भन्ने पिर छैन । त्यसैगरी उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा समाहित गराई देशभरि नै आपूर्ति गरिने भएकाले बजारसम्म कसरी पु-याऊँ भन्ने चिन्ता छैन । यो उपभोग्य वस्तुमा व्यापारीले मूल्यवृद्धि गरी सङ्कटको अनुचित फाइदा लिएका छैनन् । यी आयोजनाहरूले आफ्नो उत्पादन जारी राखी आय आर्जन गर्दैछन् ः बैंकको सावाँ–ब्याज तिर्दैछन्, थप लगानी गरी रोजगारी सिर्जना गर्दैछन् ।
कोरोनाको संकट फैलेर सरकार, बैंक तथा लगानीकर्ताहरूको अर्बाैंको लगानी रहेका हवाई उद्योग, होटल व्यवसाय तथा अन्य अरु उद्योगहरू वर्षौंसम्म उठ्नै नसक्ने गरी थला पर्ने अवस्था आइसकेको छ । तर, यही अवस्थामा ऊर्जा उद्यमीहरूले देशमा विद्युत्को आयात घटाई अर्थ तन्त्रलाई टेवा पु-याइरहेका छन् । थप ३ हजार मेगावाटका आयोजनाबाट पकाउने इन्धनमा आत्मा निर्भरता प्राप्त गर्न सकिन्छ, विद्युतीय सवारीको प्रयोग बढाई डिजेल तथा पेट्रोलको पनि आयात रोक्न सकिन्छ, इन्धनका लागि रूख दाउरालाई विद्युत्ले प्रतिस्थापन गरी वातावरण र पर्यावरण सुधारमा ठोस योगदान पु-याउन सकिन्छ । हाल राष्ट्रले चरम सङ्कट बेहोरिरहँदा पनि जलविद्युत् व्यवसायीहरू निर्वाध रूपमा विद्युत् उत्पादन गरी जनता तथा राष्ट्रको सेवामा समर्पित छन् ।
यो सङ्कटको समयले नेपालमा विद्युत् अब आवश्यक छैन, यस क्षेत्रमा लगानी बन्द गरौं भन्ने कुतर्क गरिरहेकाहरूलाई पनि राष्ट्रले कुन क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने पाठ सिकाएको हुनुपर्छ । ऊर्जा हाम्रो आधारभूत आवश्यकता भइसकेको छ र जलविद्युत् नै नेपालको एकमात्र दिगो ऊर्जाको विकल्प हो भन्नेमा अब कसैमा पनि शङ्का नरहला । यो चुनौतीपूर्ण समयले हामीलाई सिकाउनुपर्ने पाठ भनेको ः आफ्नो स्रोतमा आधारित उद्योग सञ्चालन गर्नु र तिनीहरूको संवद्र्धन गर्नु हो । यो भनेको जलविद्युत् उद्योगको थप विस्तार गर्नु नै हो । यसमा नै नेपाल र नेपालीको भविष्य सुनिश्चित रहन सक्छ, समृद्धि सम्भव छ ।