रत्न प्रजापति
मंगलबार, चैत्र ११, २०७६
628

 

यसले मुलुको विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा नकारात्मक असर परी अर्थतन्त्रमा संकट उत्पन्न हुन सक्नेछ ।

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ८६ मुलुकमा फैलिएको, २ लाख ९४ हजार १ सय १० जना संक्रमित भएको र १२ हजार ९ सय ४४ जनाको मृत्यु (मार्च २२ सम्म) भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा त्यसको कहरले विश्वभरिका मानिसहरू शारीरिक रूपमा पीडित हुनुभन्दा पनि बढी मानसिक रूपमा आतंकित छन् । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन सक्दैन भनेर कसैले मानसिक रूपमा ढाडस दिन खोजे पनि मानिसहरू विश्वस्त हुन सकेका छैनन् र आतंकित हुन छोडेका छैनन् । कोरोनाको भाइरसको संक्रमण फैलिन नदिन चैत ९ देखि २१ गतेसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।
कोरोना भाइरसको संक्रमणले तत्काल मानिसको स्वास्थ्यमा पार्ने असरसँगसँगै अर्थतन्त्रमा पार्ने दीर्घकालीन असरले ठूलो क्षति पु¥याउने अर्थविद्हरूको विश्लेषण छ । कोरोना भाइरसको संक्रमणबाट विश्वअर्थतन्त्र गम्भीर रूपमा प्रभावित हुन थालेको छ । विश्वकै आर्थिक गतिविधिमा कोरोना भाइरस संक्रमणको असर देखिन थालिसकेको छ । उत्पादन, व्यापार र रोजगारीमा कोरोना भाइरस संक्रमणको असर देखिन थालेको छ । आर्थिक गतिविधिमा सुस्तता आउने क्रम जारी रहेसँगै उत्पादनमा कमी आई आपूर्ति व्यवस्थापनमै समस्या उत्पन्न हुन थालिसकेको छ । उत्पादनमा कमी आएसँगै आयात–निर्यात पनि प्रभावित हुन थालिसकेको छ । कोरोना भाइरस संक्रमण हुने भयले आयात–निर्यातमै संकुचन आएकाले पनि विश्वको व्यापार प्रभावित भएको छ ।

संयोग नै भन्नुपर्छ, यी पङ्क्ति लेख्दै गर्दासम्म नेपालमा एउटा मात्रै कोरोना संक्रमणको बिरामी भेटिएको छ तर फैलिसकेको छैन र यसैका कारण कसैको मृत्यु पनि भइसकेको छैन । छिमेकी मुलुक चीनबाट यो भाइरसको संक्रमण सुरु भएको र अर्को छिमेकी मुलुक भारतमा समेत सयौंको संख्यामा संक्रमित भइसक्दा पनि नेपालमा यो भाइरसको संक्रमण नफैलिनु हाम्रो भाग्यकै कुरा हो भन्नुपर्ला । तर विश्वभरि भयावह रूपमा फैलिइसकेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि नफैलेला भनेर ढुक्क भएर बस्ने स्थिति पक्कै छैन । त्यसैले सचेतना, सजगता, सतर्कता, संवेदनशीलता र गम्भीरतासँगसँगै यो भाइरसको संक्रमण फैलिन नदिने पूर्वतयारी र फैलिएको अवस्थामा क्वारेन्टाइन, आइसोलेसन र उपचार पद्धतिको पनि पूर्वतयारी अत्यन्तै आवश्यक भइसकेको छ । सरकारले केही पूर्वतयारी पनि गरिरहेको छ । तर, त्यो तयारी निकै सुस्त देखिएको छ । केन्द्र र स्थानीय स्तरमा पनि भरपर्दो पूर्वतयारी गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । अहिलेको अवस्था आँधी आउनुअघिको सन्नाटा पनि हुनसक्छ । सलाईका काँटीहरू जताततै फैलिसकेको र आगो लाग्न मात्रै बाँकीको अवस्था पनि हुन सक्छ । आगो लागिसकेपछि त्यसलाई नियन्त्रण गर्नमा लगाउने श्रम, समय र सीप अहिले नै यो भाइरस संक्रमणविरुद्धको सचेतना, सजगता, सतर्कता, संवेदनशीलता र गम्भीरता अनि त्यसको पूर्वतयारीमा लगाउने हो भने यसबाट हुने आर्थिक तथा सामाजिक क्षति न्यूनीकरण गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले फागुन २८ गते ११४ मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको भन्दै यसलाई ‘महामारी’ घोषणा ग¥यो । यो घोषणासँगसँगै यो कोरोना भाइरस संक्रमण रोक्न विश्वभरिका संघसंस्थाहरूले सहयोगको घोषणा पनि गर्न थालेका छन् । यसै क्रममा बिल तथा मेलिन्डा फाउन्डेसनले १० करोड अमेरिकी डलर, औषधि उत्पादक कम्पनी बेलकमले ५ करोड डलर तथा मास्टर कार्ड कम्पनीले साढे २ करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको छ । यस्तो सहयोगले कोरोना भाइरस परीक्षणका लागि आवश्यक उपकरण खरिद, खोप तथा औषधिसम्बन्धी अनुसन्धान तथा सचेतना बढाउन सहयोग पुग्नेछ । उता अमेरिकी राष्ट्रपतिले फागुन ३ गते नै आफ्नो देशमा कोरोना भाइरसको संक्रमणको रोकथामका लागि भनेर ५० करोड डलर छुट्याउँदै देशव्यापी संकटकाल घोषणा गरिसकेका छन् भने कोरोनाबाट प्रभावित हुनसक्ने आर्थिक उपार्जनको कामलाई व्यवस्थित गर्न ८ खर्ब ५० अर्ब अमेरिकी डलरको स्टिमुलस प्याकेजको घोषणा पनि भइसकेको छ ।
विश्व बैंकले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका सदस्य मुलुकहरूको सहायताका लागि आर्थिक प्याकेजको घोषणा गरेको छ । विश्व बैंक समूहले प्रारम्भिक सहयोगस्वरूप १४ अर्ब अमेरिकी डलर प्रारम्भिक सहायता घोषणा गरेको छ । यो सहायता प्याकेज फास्टट्र्याक माध्यमबाट विकासशील मुलुकका सहायत निकायलाई सघाउन, स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन र रोगको निगरानीलाई सुधार्न प्रयोग गरिने बैंकले जनाएको छ ।
उता इटाली सरकारले कोरोना भाइरसको प्रकोपले निम्त्याएको आर्थिक असरसँग जुझ्न ११ अर्ब डलर खर्च गर्दै विभिन्न कदमहरू चाल्ने जनाइसकेको छ । जापानले कोरोना भाइरस संक्रमणका कारण आइपरेको संकटका बेला अर्थतन्त्रमा ऊर्जा भर्न ४ करोड अमेरिकी डलर खर्च गर्ने भएको छ । साना व्यवसायलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने नीति जापान सरकारले ल्याएको छ ।
यता हाम्रो देशमा भने अहिलेसम्म स्कुल, कलेज तथा सिनेमाहलहरू बन्द गर्ने र कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि अहिलेसम्म कुनै आर्थिक तयारी हुन सकेको छैन । नाफामूलक सेवा र व्यापारमा संलग्न सबै व्यापारमै मस्त छन् । अझ संकटको घडीमा कालोबजारी गरी बढी नाफा आर्जन गर्नसमेत उद्यत बनेका उदाहरणहरू भेटिएका छन् । बजारमा अति आवश्यक वस्तुहरूको कृत्रिम अभाव देखिनु र अस्वाभाविक मूल्यवृद्धि हुनु व्यापारीहरूको चलखेलबाहेक अरू केही हुन सक्दैन ।
कोरोनाको कहरले विश्वअर्थतन्त्रमै असर पार्ने एसियाली विकास बैंकले जनाइसकेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्व अर्थतन्त्रमा ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुन सक्ने आकलन एसियाली विकास बैंक (एडीबी) ले गरेको छ । यो क्षति विश्वअर्थतन्त्रको ०.४ प्रतिशत हो । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि कोरोना भाइरसको संक्रमणको असरका कारण विश्वको आर्थिक वृद्धिदर ०.५ प्रतिशतले खुम्चिने आकलन गरेको छ । जसअनुसार विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशतबाट २.४ प्रतिशतमा खुम्चिनेछ ।
कोरोनाको असरले नेपालको अर्थतन्त्र पनि नराम्ररी प्रभावित हुने एडीबीले जनाएको छ । कोरोनाकै कारण नेपालको आर्थिक वृद्धिदरको लक्ष्य प्रभावित हुने विश्लेषण नेपाली अर्थविद्हरूले गरिसकेका छन् । आयात–निर्यात प्रभावित भई मुलुकको राजस्वको लक्ष्यसमेत गम्भीर रूपमा प्रभावित हुने देखिएको छ । नेपालमा कोरोना भाइरसको असर पर्यटन क्षेत्रमा सबैभन्दा बढी पर्ने एडीबीले उल्लेख गरेको छ । कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनको १.७५ प्रतिशत क्षति हुने आकलन गरिएको छ ।
कोरोना भाइरसकै संक्रमणका कारण सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरिसकेको छ भने पर्यटकका लागि प्रदान गरिने अनअराइभल भिसामा रोक लगाइसकेको छ । यसले पर्यटक आगमन करिब ठप्पै भइसकेको छ । यस्तो अवस्थामा मुलुकको एअरलाइन्स, होटल, रेस्टुराँ, ट्रेकिङ, टुर प्याकेज, हिमाल आरोहणलगायतका क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछन् । अहिले नेपालमा कतिपय ठूला होटेलहरूमा अकुपेन्सी १० प्रतिशत भन्दा पनि कममा झरिसकेको छ । पर्यटक आगमनमा कमी आउँदा मुलुकको विदेशी मुद्रा आर्जनमा प्रत्यक्ष असर पर्ने देखिएको छ । कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्रमा ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको पर्यटन व्यवसायीहरूले गठन गरेको संकट व्यवस्थापन समितिका अध्यक्ष सुमन पाण्डेले बताएका छन् । पर्यटन क्षेत्रबाट गत वर्ष करिब ८४ अर्ब रुपैयाँ आम्दानी भएको थियो भने सरकारले यो वर्ष १ खर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । अहिले पर्यटन गतिविधि शून्य हुन थालेपछि कतिपय पर्यटन व्यवसायीले कर्मचारी तथा तलबभत्तामा कटौती गर्ने निर्णय पनि गरिसकेका छन् । यसबाट धेरैको रोजगारी खोसिने र बेरोजगारी बढ्ने सङ्केत देखिएको छ । यसको सीधा असर मुलुकको अर्थतन्त्रमा पर्ने निश्चित छ ।
नेपालको अर्थतन्त्रमा महŒवपूर्ण हिस्सा ओगट्ने वैदशिक रोजगारीमा पनि कोरोनाको गम्भीर असर देखिन थालि नै सकेको छ । कोरोना भाइरसका कारण नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरूको संख्या ७५.० प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाइसकेको छ । यसको असर आगामी दिनमा नेपालको विप्रेषण आप्रवाहमा अवश्य पर्नेछ । विप्रेषणले नै धानेको नेपाली अर्थतन्त्रमा विप्रेषण आप्रवाहमा कमी आउनासाथ यहाँको अर्थतन्त्रमा पनि संकट देखिन सक्ने सम्भावनालाई नकार्न सकिन्न । आर्थिक वर्ष २०७५÷७६ मा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २५.४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ नामक पछिल्लो प्रतिवेदनले देखाएको छ । आगामी वर्ष यस्तो अनुपातमा उल्लेख्य कमी आउने निश्चित नै छ । यसले मुलुको विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा नकारात्मक असर परी अर्थतन्त्रमा संकट उत्पन्न हुन सक्नेछ ।
कोरोना भाइरस संक्रमणको आतंक बढ्दै जाँदा आर्थिक गतिविधि थप सुस्ताउने निश्चित छ । यसले गर्दा उद्योग तथा कलकारखानाहरूको क्षमता उपयोगमा ¥हास हुनेछ र उत्पादन घट्नेछ । यसको प्रत्यक्ष र अप्रत्यक्ष असर मुलुकको समग्र अर्थतन्त्रमा अवश्य पर्नेछ । त्यसैले अरू मुलुकले जस्तै नेपालले पनि कोरोना भाइरस संक्रमणबाट प्रभावित अर्थतन्त्रलाई ऊर्जा प्रदान गर्न र यसलाई पुनरुत्थान गर्न ठोस नीति र योजनासहितको आर्थिक प्याकेजको घोषणा गरिनु वान्छनीय हुनेछ । व्यवसायमा संकट आएको भन्दै पर्यटन व्यवसायीले राहत प्याकेजको माग गरि नै सकेका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्ने क्रममा कोरोना भाइरस संक्रमण महामारीविरुद्ध खर्च गरिने सार्क मुलुकहरुको संयुक्त कोषका लागि १० करोड रुपैयाँ दिने घोषणा गरे पनि देशको कोरोना प्रभावित आर्थिक क्षेत्रलाई ऊर्जा प्रदान गर्न र प्रभावित आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न कुनै आर्थिक प्याकेजको घोषणा नहुनु दुर्भाग्यपूर्ण छ । ‘लकडाउन’ को अवस्थामा बढी प्रभावित हुने वर्ग भनेका दैनिक ज्याला–मजदुरी गरी खाने वा सहरमा भारी बोक्ने मजदुर नै हुन् । यस्ता वर्गको दैनिक जीवननिर्वाहका लागि पनि सरकारले कुनै योजना नल्याउनु पनि दुर्भाग्यपूर्ण नै छ ।