देवेन्द्र अर्याल ‘आँसु’
सोमवार, चैत्र १०, २०७६
433

 

रोजगारीका लागि प्रमुख आकर्षण बनेको कोरियामा करिब ४० हजार नेपाली रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।

कोरोना भाइरस फैलिएको थेगु इलाकामा करिब १ हजार नेपाली श्रमिक रहेको पाइन्छ । तर, हालसम्म नेपालीहरू संक्रमित नभएको बताइन्छ । चीनमा जस्तै कोरोना भाइरस कोरियामा फैलिने हो भने उद्धारका लागि सरकारले धेरै मेहनत गर्नुपर्छ ।

भाषा, कानुन, सीप र प्रविधिको अभावमा नेपालीले विदेशमा पाउने पीडा वा समस्या बेग्लै छ । त्यसमा पनि बेलाबेलामा त्यहाँ हुने हिंसा, युद्ध, आक्रमणले नेपाली श्रमिकलाई झनै अप्ठेरोमा पारेको देखिन्छ । पछिल्लो समयमा चीनमा देखा परेको कोरोना भाइरस कोभिड–१९ ले सबैमा त्रास उत्पन्न गरेको छ । रोजगारी, अध्ययन, भ्रमण र अन्य सिलसिलामा थुप्रै नेपाली विदेशका भूमिमा पुगेका छन् ।
नेपाली श्रमिकहरू विश्वका विभिन्न देशमा रोजगारीका लागि पुगेका छन् । उनीहरू विभिन्न देशमा आफ्नो श्रम र सीप पोख्न पुगेका छन्, जसमध्ये साउदी अरबमा पुग्ने नेपालीको संख्या अत्यधिक छ । गत माघ महिनासम्म मात्र ११ हजार १ सय १० नेपाली श्रमिकका रूपमा साउदी पुगेका छन् भने गत साल दोस्रो स्थानमा परेको साउदी यस वर्ष पहिलो स्थान बन्न पुगेको छ । गएको माघ महिनामा मात्र ८२ देशमा नेपालीहरू श्रमिकका रूपमा काम गर्न पुगेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार दोस्रो स्थानमा युएई परेको छ । यस अवधिमा युएईमा १० हजार ८९ जना काम गर्न गएका छन् । कतारमा १० हजार ७ सय ६४ जना र मलेसियामा ४ हजार १ सय ४५ जना पुगेका छन् । यस्तै कुवेतमा मात्र २ हजार २ सय ९८ कामका लागि पुगेका थिए ।
जब कि विभागले गएको माघसम्म मात्र ४८ हजारभन्दा बढी युवा बिदेसिएको जनाएको छ । संस्थागत, व्यक्तिगत र वैधानिकीकरण गरी गत महिनामा ४८ हजार ६ सय ७४ जना रोजगारीका लागि बिदेसिएका छन् । माघ महिनामा मात्र संस्थागत रुपमा वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत २५ हजार १ सय ७१ जना विदेश गएका छन् । व्यक्तिगत रि–इन्ट्रीमार्फत २२ हजार २ सय ४५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा १ हजार २ सय ३४ जना नेपाली श्रमिक विदेश गएका छन् । नयाँ सम्झौताअनुसार मलेसियासँगको नयाँ श्रम समझदारी एमओयू कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि २४ हजार नेपालीहरू त्यहाँ पुगेका हुन्, जसका कारण मलेसिया जाने नयाँ नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकार र मलेसिया सरकारबीच २०७५ कात्तिक १२ मा सम्झौता भएको एमओयू गएको भदौदेखि कार्यान्वयमा आएको हो । पछिल्लो समय वैधानिकीकरण भएर मलेसिया जाने श्रमिकको सङ्ख्या बढेको छ ।
विभागले चालू आर्थिक वर्षको माघसम्म २४ हजारभन्दा बढी नेपाली श्रमिकहरू नयाँ एमओयूअनुसार श्रमस्वीकृति लिएर मलेसिया गएको जनाएको छ । जबकि गत आर्थिक वर्षको माघ महिनासम्म २ हजार ७ सय ९३ जनामात्र नेपालीहरू नयाँ श्रमस्वीकृति लिएर मलेसिया पुगेका थिए । उक्त अवधिमा पुनःस्वीकृति लिएर जाने नेपालीहरूको संख्या १६ हजार बढी छ ।
जसअनुसार माघ महिनासम्म झन्डै १ हजार नेपाली श्रमिक त्यहाँ गएका देखिन्छन् । गत आर्थिक वर्षमा मलेसियामा कुल १७ हजार ८३० जना नेपाली श्रमिक गएका थिए । २०७५ कात्तिक १२ मा नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक मलेसिया लैजाने विषयमा एमओयू सम्झौता सम्पन्न भएको थियो ।
तर श्रम स्वीकृति लिएर जाने अधिकांश श्रमिक अदक्ष रहेको देखिन्छ । पुस महिनामा श्रम स्वीकृति लिएर विदेश जानेमा २७ हजार ४ सय १७ अदक्ष श्रमिक विदेश पुगेका छन् । सीपयुक्त जनशक्ति १६ हजार ७ सय १९ अर्धसीप भएका ४ हजार ४ सय ९१ जना, व्यावसायिक सीप भएका ४२ जना र विशिष्ट सीप भएका पाँच जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विश्वमा नेपालीहरू रोजगारीका लागि जाने क्रम दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । विदेशका थुप्रै मुलुकमा नेपाली कामदारहरू विभिन्न रूपमा कार्यरत् छन् । जोर्डनमा ८ हजार ६ सय ६३, कुबेतमा ८९ हजार ९ सय १९, इरानमा २४, ओमानमा २० हजार, साउदी अरबमा ४ लाख १९ हजार ७ सय ७८, इजरायलमा २ हजार ४ सय २९, टर्कीमा ४ हजार, कतारमा ६ लाख, युएईमा ४ लाख, बहराइनमा २८ हजार ९२३ , ओमानमा २० हजार नेपाली कामदार रहेका छन् ।
यसरी हेर्दा देशभित्र भित्रिने विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा खाडी क्षेत्रका मुलुकबाट नेपालमा आउने गरेको देखिन्छ । जबकि आर्थिक वर्ष २०७५÷७६ मा कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशतबराबरको विप्रेषण स्वदेश भित्रिएको थियो ।
कोरोना भाइरसका कारण विदेशमा रहेका श्रमिकमा पनि मानसिक त्रास बढेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस दक्षिण कोरियामा समेत फैलिएपछि नेपाली श्रमिकहरूमा त्रास बढेको हो । जबकि कोरियास्थित नेपाली राजदूतावासले फागुन ११ गते प्रेस विज्ञप्ति प्रकाशित गरी कोरियामा फैलिएको कोरोना भाइरसबाट बच्न प्रभावकारी रूपमा सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ । यदि कोरोना नियन्त्रणमा आउन सकेन भने कोरियामा रहेका नेपालीहरूलाई पनि चीनबाट जस्तै उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ ।
सियोलबाट ५ सय किलोमिटर टाढा रहेको थेगुमा कोरोनाले धेरै क्षति पु¥याएको छ । राम्रो पारिश्रमिक पाइने गन्तव्यका रूपमा रहेको कोरियामा बर्सेनि थुप्रै श्रमिक जाने गरेका छन् । सन् २००७ देखि रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई कोरिया लैजान थालेको हो । कोरियामा मासिक पारिश्रमिक न्यूनतम डेढ लाख रुपैयाँ तोकिएकाले बर्सेनि धेरै युवाले कोरियालाई वैदशिक रोजगारीको प्रमुख गन्तव्य बनेएका हुन् । जबकि रोजगारीका लागि प्रमुख आकर्षण बनेको कोरियामा करिब ४० हजार नेपाली रहेको इपिएस कोरिया शाखाले जनाएको छ । रोजगार अनुमति प्रणालीमार्फत कोरिया जानेले कोरियन भाषा उत्तीर्ण गर्नुपर्छ । उक्त भाषा पास गरेका मध्येबाट कोरियाली रोजगारदाताले छनोट गरेपछि युवाहरू कोरिया जान पाउँछन् । त्यसैले प्रत्येक वर्ष कोरिया जानका लागि भाषा परीक्षा दिनेको उच्च प्रतिस्पर्धा हुन्छ ।
कोरोना भाइरस फैलिएको थेगु इलाकामा करिब १ हजार नेपाली श्रमिक रहेको पाइन्छ । तर, हालसम्म नेपालीहरू संक्रमित नभएको बताइन्छ । चीनमा जस्तै कोरोना भाइरस कोरियामा फैलिने हो भने उद्धारका लागि सरकारले धेरै मेहनत गर्नुपर्छ । चीनमा रहेका १ सय ७५ जनालाई नेपाल फर्काउन सरकारले लामो कसरत गरेको थियो । जब कि कोरियामा यो भाइरसबाट संक्रमित हुनेको संख्या करिब ४ सय नाघिसकेको छ । हालसम्म चीनमा यस भाइरसबाट मर्नेको संख्या २ हजार ३ सय ४५ पुगिसकेको छ ।