कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६
386

गत जनवरी अन्तिमदेखि विश्वलाई नै भाइरस नामक रोगका कारण त्राहिमाम–त्राहिमाम ! बनाएको छ । सो संक्रामका रोगको भाइरसलाई ‘नोबेल कोरोना भाइरस (कोभिड–१९)’ नाम दिइएको छ । सो रोग पहिले लगभग २९ देशमा फैलिएको थियो भने, लगभग २८ सय जनाको ज्यान लिएको थियो । तर, पछिल्लो पटक आएको ताजा तथ्यांकअनुसार ‘नोबेल कोरोना भाइरस (कोभिड–१९)’ ६० भन्दा बढी देशमा फैलिएको र विश्वभर लगभग ३१ सय जनाको ज्यान गई सकेको छ
। उता ९० हजारभन्दा बढी नागरिकहरूमा यो रोगको संक्रमण देखिएको छ । सन् २०१९ डिसेम्बर २६ मा चीनको चीनको मध्य–दक्षिण–पूर्वी भागमा पर्ने हुबेई प्रान्तको बुहान सहर (जुन चीनकै छैटौं ठूलो सहर पनि हो) बाट नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण फैलन सुरु भएको थियो । सो रोगका कारण विश्य पर्यटन बजारलाई नै ठूलो असर पु-याएको देखिन्छ । र, यसले विश्व पर्यटन बजारमा मात्रै नभएर विश्व अर्थतन्त्रमै अझ ठूलो संकट ननिम्त्याउला भन्न सकिन्न ।

सुरुमा चीनबाट फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) कै कारण नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संंख्या गत वर्षको दोस्रो महिनाको तुलनामा यस वर्षको दोस्रो महिनामा धेरै नै कम रहेको देखिएको छ । जस्तो कि गत वर्षको फेबु्रअरीमा १४ हजार १ सय ६१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यो वर्षको सोही महिनामा केवल ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । यो भनेको झन्डै ४ चौथाइ कम हो । जबकि नेपाल सरकारले घोषणा गरेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को क्रममा विश्वव्यापी प्रचारप्रसार र गत वर्ष चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको नेपाल भ्रमणको सकारात्मक सन्देशका कारण अपेक्षा गरेभन्दा धेरै चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्लान् भन्ने आशा गरिएको थियो ।
हुन पनि नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण फैलिएको रोग पूर्ण रूपमा अन्त्य हुनेबित्तिकैै चीन सरकारले चिनियाँ नागरिकलाई नेपालको भ्रमणमा जाओ वा नेपाललाई प्राथमिकता देऊ ! भनेमा सन् २०२० मा भ्रमण वर्ष मनाई रहेकाले (हाल स्थगित) निश्चय नै नेपालमा १०-१२ लाख चिनियाँ पर्यटकहरू सजिलै आउने थिए-आउँछन् । त्यसमा कुनै शंका नगरे हुन्छ । तर, त्यसका लागि हामीसँग पूर्वधारहरू जस्तै सडक यातायात, हवाई यातायात, होटल, लज आदि भने यथेस्ट रुपमा हुनु प-यो । अर्को कुरो के पनि साँचो हो भने, सन् २०१३-०१४ देखि चिनियाँ नागरिकहरू विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा घुमिरहेका छन्, त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आउँदा भने किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपाल भ्रमण गर्दा किन कम खर्च गर्छन् ? यस विषयमा हामी नेपालीले बेलैमा सोच्ने हो कि ? त्यस्तै नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । हुन त चिनियाँ पर्यटकहरू एउटै भ्रमणमा ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय पर्यटकहरूभन्दा चिनियाँ पर्यटकहरूबाट फाइदै फाइदा देखिन्छ ।
जे भए तापनि नेपाल सरकारले घोषणा गरेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण कार्यक्रम स्थगित गरेर सन् २०२२ का लागि फेरि ‘नेपाल भ्रमण वर्ष–२०२२’ मनाउने तयारी गर्ने घोषण गरेको छ । नेपाल सरकारको सो निर्यणलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
–निनाम कुलुङ ‘मंगले’