कारोबार संवाददाता
शुक्रवार, चैत्र ७, २०७६
367

यो हप्ता नेपालको संसद् भवनमा अचम्मको विषयले चर्चा पायो, ‘सेयर बजार राज्यले बन्द गर्नुपर्छ’ । उक्त महान् कोटेसनका जन्मदाता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल हुनुहुन्छ । विश्व २१ औं शताब्दीमा हिंडिरहेको र चन्द्रमामा आलुको खेती गर्न र पृथ्वीका मानिसलाई चन्द्रमामा लगेर बसोबास गराउने अभियानमा सफलता पाउन लागिसकेको अवस्थामा हाम्रा सासदहरू कति विवेकशील, कति विकसित र कति समाजवादी हुनुहुँदो रहेछ भन्ने कुराको विश्वलाई परिचय गराएर नेपालको आर्थिक अवस्थाका बारेमा विश्वले र बाँकी नेपालीले बुझ्ने मौका पाएका छन् ।
उक्त महान् उद्गारले मजस्ता सेयर बजारमा आफ्नो श्रीसम्पत्ति लगाएर स्वरोजगारी गरिरहेको यसमै भविष्य देख्ने जो–कोही नेपालीका छोराछोरीलाई यति छटपटी भयो कि भोक न निद्राको अवस्थामा ल्याइदिनुभयो र अन्त्यमा निर्णय गरें— श्रीमान् प्रेम सुवाल सांसदज्यू, आफूले जे जान्नुभएको थियो त्यही त बोल्नुभयो होला । पार्टीले विधेयकका बारेमा बोल्नैपर्ने र प्रतिपक्ष भएको नाताले विधेयकको समर्थन गर्न नहुने, विरोध नै गर्नुपर्ने बरु सेयर बजार बन्द गर्नुपर्छ भन्दियो टन्टै साफ ।

माननीय सांसद, यहाँले सेयर बजारलाई यति हलुका ढंगले प्रस्तुति गर्नुभयो कि जसले गर्दा हामी नेपालीको हैसियत विदेशीको अगाडि नराम्रोसँग गिरेको छ र विदेशीहरूले हामीलाई आर्थिक रूपमा हेर्ने दृष्टिकोण नकारात्मक हुनेछ र विशेष गरी विश्व बैंक, एसियाली विकास बैंक आदि । मैले अघिल्लो पंक्तिमा उल्लेख गरिसकें, तपाईंले जे बुझ्नुभयो त्यही बोल्नुभयो, तर तपाईंले बोलेको कुराले त्यससँग आबद्ध समूह र त्यसबाट नेपालको अर्थतन्त्रमा पर्न सक्ने क्षतिको असर आकलन गर्न सक्नुभएन । तपाईंले सेयर बजारलाई अल्छी र अनुत्पादक क्षेत्रका रूपमा चित्रित गर्नुभएको छ, जुन कुरा तपाईंको व्यक्तिगत धारणा र विरोधका लागि विरोध मात्र हो । सेयर बजार यस्तो क्षेत्र हो जहाँ अध्ययन अध्ययन र अध्ययनले मात्र त्यस्ता क्षेत्रमा हात हालेर सफलता पाउन सकिन्छ । पुँजीबजार यस्तो क्षेत्र हो जहाँबाट राज्य, समूह वा प्रतिष्ठानहरूले योजना बनाई कुनै पनि विकास–निर्माणका पुर्वाधारहरूमा जनतालाई सहभागी गराई देशको निर्माण गर्न सकिन्छ, जसको ज्वलन्त उदाहरण चिलिमे हाइड्रो पावर, नेपाल बैंक, माथिल्लो तामाकोसी, सान्जेन जलविद्युत्, रसुवागढी आदि–आदि । जनताका छरिएर रहेका स–साना पुँजी एकीकृत गरी परियोजना निर्माणमा जनतालाई सहभागि गराई त्यसको प्रतिफल जनतालाई वितरण गर्ने यस्तो जनमुखी प्रक्रियालाई बन्द गरेर तपाईंले कस्तो प्रकारको देश विकासको मोडल ल्याउन खोज्नु भएको हो त्यो जानकारी पाउन पाए आभारी हुने थिएँ ।
यहाँहरूको दायित्व कम्पनी, आयोजनाहरूमा अमितव्ययी र अपारदर्शी क्रियाकलाप भए भने चुस्त–दुरुस्त राख्न कानुन बनाई अनुगमन गरी जनताको लगानी नडुब्नेतर्फ वातावरण सिर्जना गरिदिने भूमिका हुनुपर्ने हो र सो आवश्यक छ पनि । कुनै पनि बैंकमा लगानी गर्नुपूर्व बैंकको पुँजी, बैंकले लगानी गरेको क्षेत्र, बैंकका सञ्चालक र सिईओ कस्ता छन् र कति प्रतिफल दिन सक्छन् जस्ता बुँदाहरूको व्यापक विश्लेषणपछि मात्र सो सेयरमा लगानी गर्नुपर्छ, जुन कुरा तपाईंले भनेजस्तो अल्छीले गर्न सक्छन् त ? यसमा गहन अध्ययनको आवश्यकता पर्छ जुन देशको अवस्था मात्र नभएर विश्व परिवेशको ज्ञान हुनु जरुरी छ । कोरोना भाइरस आयो, त्यसले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव, विश्व बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव त्यसबाट पर्न सक्ने आर्थिक प्रभाव, भारतले पाम आयलमा लिने नीति र त्यसले नेपालमा पार्न सक्ने प्रभावजस्ता कुराले सेयर बजारमा पर्न सक्ने प्रभावजस्ता कुरा हामी सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । यस्ता कुरा अल्छीले गर्छन् कि अध्ययनशील स्मार्ट व्यक्तित्वले गर्छन्, तपाईं आफंै विश्लेषण गर्नुहुनेछ । तपाईं सांसद सत्तापक्षलाई कसरी विरोध गर्ने भन्ने एउटै चिन्तन हुन्छ भने सेयर बजारमा लागेका अधिकांश व्यक्ति विश्व परिवेश, घटना, विश्व आर्थिक गतिविधिमा राजनीतिबाट पर्ने प्रभावजस्ता कुरामा अध्ययनरत हुन्छन् र त्यसैको विश्लेषण गरी सेयर खरिद–बिक्री गर्छन् । विश्वका धनाढ्य व्यक्ति वारेन वफेट, भारतीय सेयर लगानीकर्ता राकेश झुझुनवालाजस्ता व्यक्तिको जीवनी एकपटक अध्ययन गर्नुभएमा तपाईंलाई सेयर बजार अल्छीको होइन, अध्ययनशील र छरिता व्यक्तित्वहरूको लगानी गर्ने थलो रहेछ भन्ने जानकारी पाउनुहुन्थ्यो कि ?
अर्को कुरा, तपाईंले अनुत्पादक क्षेत्र भनेर सेयर बजारको ठूलो अवमूल्यन गर्नुभएको छ जसलाई उदाहरणका रूपमा प्रमाणसहित तपाईंको बुझाइलाई गलत प्रमाणित गर्न सकिन्छ । कुनै कम्पनी तब स्थापना हुन्छ जब केही व्यक्ति मिलेर आफ्नो रुपैयाँ त्यस कम्पनीमा लगानी गर्छन् । त्यसको प्रमाणका रूपमा सेयर प्रमाणपत्र पाउँछन्, त्यसलाई स्टक एक्सचेन्जमा लिस्टिङ गर्छन् र सेयर खरिद–बिक्री प्रक्रिया सुरु हुन्छ । दोस्रो बजारमा कम्पनीको प्रगति र उसले दिने प्रतिफलका आधारमा मूल्य निर्धारण हुन्छ । कुनै ‘क’ भन्ने कम्पनी स्थापना भएपछि त्यसले प्रत्यक्ष रूपमा दिने रोजगारी, स्थानीय क्षेत्रमा खपत हुने उत्पादन उत्पादन र त्यसमा उत्पादन गर्न लाग्ने मजदुर स्थानीय रोजगारीको रूपमा लाभान्वित हुने अवसर पाउँछन् भने कम्पनीमा उत्पादन गर्न लाग्ने दक्ष प्राविधिक, अदक्ष प्राविधिक, प्रशासनिक कामदार, पाले (चौकीदार), लेखापाल, प्रशासकजस्ता रोजगारको सिर्जना गर्नमा पुँजीबजारको अत्यन्त ठूलो भूमिका छ ।
—तारा फुलेल