समीर रेग्मी
बुधवार, फाल्गुन ७, २०७६
629

सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जंगलीसमेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसले चीनलाई सताएको छ र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ ।
त्यस्ता जीवजन्तुको बेचबिखनमाथि लागेको प्रतिबन्ध पछि हटाइयो र जनावरहरू फेरि बजारमा देखा परे । अहिले अर्को कोरोना जीवाणु चीनमा फैलिएको छ र हालसम्म १ हजार ७ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ६५ हजारभन्दा बढी मानिस बिरामी परेका छन् । सार्सभन्दा यो अझ बढी खतरनाक देखिएको छ ।

आखिर यो जीवाणुको मूल स्रोत के हो ? अझै पनि शंकास्पद छ, तर कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जंगलीजनावरमाथि औंला तेर्सिएको छ ।
एक दर्जनभन्दा बढी चिनियाँ सहरका ६ करोडभन्दा बढी मानिस बन्दीझैं अवस्थामा छन् । यही कारण वन्यजन्तुको बिक्रीलाई स्थायी रूपमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । धेरैको विचारमा स्वादिष्ट मासुको नाममा वन्यजन्तुको खोजी गर्ने सीमित धनी मानिसका कारण यसको व्यापार फस्टाएको हो ।
टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालका इन्फ्लूएन्जा जीवाणु विज्ञ रोबर्ट वेब्स्टका अनुसार पशुपन्छीमा जीवाणुको संख्या अथाह छ, तर ती सबै मानिसमा संक्रमित हुन पाएको छैन । यी जीवाणुले कुनै पनि बखत मानिसलाई हानि गर्न सक्छन् ।
सार्स र हाल फैलिएको कोविड–१९ ले मानिसलाई दुःख दिएको र रोग सारेको उदाहरण पहिलो भने होइन । अफ्रिकामा बुसमिटका नाममा पशुपन्छीको सिकार र बिक्रीबाटै प्राणघातक इबोला फैलिएको मानिन्छ । बर्ड फ्लू सम्भवतः सन् १९९७ मा हङकङको बजारमा कुखुराबाट आएको थियो । दादुराको जीवाणु पनि गाईवस्तुबाट संक्रमण भएर मानिसमा आएको विश्वास गरिन्छ ।
वैज्ञानिकहरूले नयाँ कोरोना भाइरस पहिलो पटक कसरी संक्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् । प्रमाणहरूले चमेरोबाट कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने देखाएका छन् । यी चमेराले अरू पशुपन्छीलाई संक्रमित गरेको र यसले चीनको दक्षिणपूर्वी सहर वुहानको अवैध बजारमा मानिसहरूलाई संक्रमित गरेको आशंका छ । अहिले बन्द अवस्थामा रहेको हुनान सिफुड होलसेल मार्केट (हुनान समुद्री थोक बजार) ले दर्जनौं किसिमका वन्यजस्तुको मासु बिक्रीको विज्ञापन नै गरेको थियो, जसमा विशाल छेपारो, गोहीको बच्चा र जंगली कुकुरजस्ता दर्जनौं प्रजातिका जीवजन्तु समेटिएका थिए । यी जीवजन्तुको फर्ममा उत्पादन गरिए पनि यिनीहरूलाई अक्सर वन्यजन्तुकै श्रेणीमा राखिन्थ्यो ।
वुहान बजारबाट संकलित ३३ वटा नमुना परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् र तीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएका थिए । घरमा लामो समय पालिने कुखुरा र सुँगुरजस्ता पाल्तू पशुसँग तुलना गर्दै विज्ञहरूले जंगली जनावरहरूमा पाइने जीवाणुका बारेमा कमै जानकारी रहेको बताएका छन् ।
वुहानको पशुपन्छी बजार एसिया र अन्यत्रजस्तै थियो, जहाँ जनावरहरू बाँधिएका वा पिंजडामा राखिएका हुन्छन् । अधिकारकर्मीहरूका अनुसार कानुनी रूपमा पालिएका र अवैध रूपमा सिकार गरिएका जनावरबीचको भिन्नता छुट्याउन गाह्रो छ । प्रायः ताजा बेच्ने भन्दै बजारमा जताततै मारिन्छन् । विज्ञहरूले मानिसको सानो असावधानीले पनि समस्या निम्त्याउने र नयाँ जीवाणुहरू मानिसमा संक्रमित हुने खतरा औंल्याउँछन् ।
“तपाईंले जिउँदो जनावर देख्नुभयो भने त्यो पूरै मलमूत्रले ढाकिएको हुन्छ । जथाभावी काट्ने गरिएका कारण जताततै रगत पनि लागेको हुन्छ,” इकोहेल्थ एलायन्सका अध्यक्ष पिटर दासजाकले बताए । यो संस्थाले नयाँ रोगहरूबाट मानिसलाई जोगाउन तथा वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गरिरहेको छ ।
दासजाकले अधिक विश्वव्यापी यात्रा र व्यापारको सिलसिलामा मानिसको घुमफिर हुने भएपछि रोग फैलिने जोखिम बढ्नु स्वाभाविक रहेको बताए ।