एजेन्सी
मंगलबार, फाल्गुन ६, २०७६
448

संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनसहित विश्वका नेताहरूले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बेइजिङ : कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिन १ सय जना व्यक्तिको मृत्यु भएको छ । यद्यपि यो भाइरसका कारण चीनभर आइतबार १ सय ५ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरि २ हजार ४८ जना संक्रमित भएको समाचारमा जनाइएको छ । संक्रमितहरूको यो संख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ ।
गत डिसेम्बरबाट सुरु भएको यो कोरोना भाइरसको संक्रमणका कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १ सय ८२ जनालाई कोराना भाइरस संक्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट आजसम्म कम्तीमा पनि १ हजार ७ सय ७७ जनाको ज्यान गएको छ ।

यो भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यस संक्रमणबाट ६ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।
यो भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनसहित विश्वका नेताहरूले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करिब ६५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भाइरस सुरु भएको हुबेई प्रान्तमा यो भाइरसबाट सबैभन्दा बढी नागरिक प्रभावित भएका छन् ।

यसैबीच चिनियाँ अधिकारीहरूले नयाँ कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन (करिब ३ अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरिएको एक वित्त अधिकारीले बताएका छन् ।
अर्थ मन्त्रालयका सहायक मन्त्री ओउ वेनहानले बेइजिङमा गरेको एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । यो रकम स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरीद गर्न र चिकित्सा संस्थामा आवश्यकताअनुसार सुविधा बढाउन प्रयोग गरिने उनले बताए ।
सबै अग्रमोर्चामा काम गर्ने स्वास्थ्य तथा महामारी रोकथामका लागि खटिएका व्यक्तिले जोखिममा काम गरेबापत कामका आधारमा प्रतिदिन प्रतिव्यक्ति २ सय युआनदेखि ३ सय युआनसम्म थप भत्तास्वरूप प्रदान गरिने उनले बताए । बजेटलाई केन्द्रीय सरकारले नै उपलब्ध गराउने ओउको भनाइ थियो ।
कानुनी अधिकार र चिकित्साकर्मीहरूको हितको रक्षा गर्ने प्रयासलाई जोड दिँदै ओउले भने, “कोभिड–१९ को संक्रमणबाट हुने निमोनियाँबाट प्रभावित चिकित्सा कर्मचारीहरूले व्यावसायिक चोटपटकका लागिसमेत क्षतिपूर्ति पाउनेछन् ।”
“महामारीविरुद्धको लडाइँमा उल्लेखनीय योगदान पु-याउने चिकित्सा टोली र व्यक्तिहरूलाई प्रोत्साहन गरिनुपर्छ र तुरुन्तै सम्मान गर्नुपर्छ,” ओउको भनाइ थियो । अग्रमोर्चामा काम गर्ने चिकित्साकर्मीहरूलाई प्राप्त हुने आर्थिक सहायता र लाभांशलाई व्यक्तिगत आयकरमा छुट दिइनुपर्ने पनि उनले बताए ।