दिलीपकुमार मुनकर्मी
आइतवार, फाल्गुन ४, २०७६
2339

निरन्तरको मर्ज र प्राप्तिले बैंकहरूको वास्तविक अवस्था अनुमान गर्न गाह्रो भइरहेको समयमा अन्यौलपूर्ण वित्तीय विवरणले लगानी निर्णय झन् कठिन बनाएको छ ।

 आर्थिक वर्ष २०७६-७७ को अर्धवार्षिक समाप्तिसँगै बैंकहरूले पनिदोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । पारदर्शिता र सुशासनको पर्याय मानिने बैंकहरू मध्ये केहीले स्वीकृत लाभांससमेत समायोजन नगरी प्रकाशित विवरणलाई सत्यतथ्यपूर्ण भनेर उद्घोष गरेका छन् । आमलगानीकर्ताहरू यस्ता अविश्वसनीय, अन्यौलपूर्णर अपर्याप्त विवरणको आधारमा लगानी निर्णय गर्न बाध्य छन् । सेञ्चुरी बैंक बाहेकले आव ७५-७६ को वार्षिक साधारणसभा सम्पन्न गर्दादशकौं पछि सबै बाणिज्य बैंकहरूले संचित नोक्सानी पूर्ति गर्दै धेरथोर लाभांस दिन सफल भएका छन् । बिग मर्जको दवाव मात्र होइन, पुँजीगत क्षमताको भोक तथा व्यवसाय विस्तारको बाध्यताले बैंकहरू मर्ज वा प्राप्तिलाई निरन्तरतामा छन् । चालू आवमा एनएमबिले ओम विकास बैंक तथा ग्लोवलआईएमईले जनता बैंकलाई मर्ज गरेका छन्, परिणामतः बाणिज्य बैंक २७ मा झरेको छ । अझै प्राइमले कैलास, मेगाले गण्डकी, कुमारीले देव, तथा एनएमबिले कञ्चन विकास बैंकलाई प्राप्ति प्रक्रियामा हुँदा बैंकहरूको वास्तविक अवस्था पूर्वानुमान गर्न कठिन र असम्भव देखिन्छ ।

 चुक्ता पुँजी तथा जगेडा कोष

आव ७५-७६ को स्वीकृत बोनस सेयरसमेत समायोजन गर्दा २७ बैंकहरूको कुल चुक्तापुँजी रु. २७०.३७ अर्ब र औसतमा करिव रु. १०.०१ अर्ब पुगेको छ । सबैभन्दा बढी ग्लोवलआईएमईको रु. १८.९८ अर्ब र कममा सिभिलको ८ अर्ब रहेको छ । अझै सेञ्चुरीकोघोषित २ प्रतिशत बोनस सेयरस्वीकृत हुनै बाँकी छ । बैंकहरूले पुँजीकोष भन्दा चुक्ता पुँजीमा ध्यान दिँदा, आधारभूत सूचकहरूमा नकारात्मक असर समेत देखिन
थालेको छ ।

लेखांकनमा परिवर्तनसँगैविवरणमा सेयरप्रिमियम, संचित कोष र जगेडा कोषदेखिएका छन् । उल्लेख्य सेयर प्रिमियम देखिएका एनएमबि र   नेपाल बैंकको रकम समेत बोनस सेयरमार्फत पुँजीकरण हुँदा यस शीर्षकमा नगन्य रकम मात्र रहनेछ । संचित कोषमा कृषिसँग सबैभन्दा बढी ४.४६ अर्ब र सिभिलसँग ०.३२ अर्ब रुपैयाँ देखिन्छ । प्रकाशित विवरण अनुसार बैंकहरूसँग औसतमा रु. ५.१८ अर्ब साधारण जगेडा कोषमा
रहँदा सबैभन्दा बढी नेपाल बैंकसँग १३.५४ अर्ब, राष्ट्रिय बाणिज्यसँग १२.४८ अर्ब, नविलसँग ११.६७ अर्ब, कृषिसँग १०.४२ अर्ब, र नेपाल इन्भेष्टमेन्टसँग १०.१० अर्ब तथा सेञ्चुरीसँग सबैभन्दा कम रु. १.३८ अर्ब मात्र रहेको छ । जगेडाबाट बाँडिएको लाभांसले प्रस्तुत तथ्यांकमा केही फरक पर्नेछ ।

निक्षेप र कर्जा
ग्राहकहरूको बैंक निक्षेप बढेर कुल २९ खर्ब ४६ अर्ब तथा औसतमा प्रति बैंक १०९.१२ अर्ब रुपैयाँ पुगेको देखिन्छ । जनता मर्ज गर्दै १९७.४१ अर्ब रुपैयाँसहित पहिलो बनेको ग्लोवलआईएमई सहित १३ बैंकहरूले १ खर्बभन्दा बढी र सिभिलले केवल ४७.७५ अर्बमात्र निक्षेप संकलन गरेका छन् । ग्राहकलाई प्रवाहित कर्जा तथा सापट पनि बढेर कुल २६ खर्ब १४ अर्ब रुपैयाँ तथा औसतमा ९६.८२ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । व्यवसाय विस्तारको मानक कर्जा विस्तार भने सुस्त देखिएको छ । यसमा पनि १९०.५३ अर्ब रुपैयाँ सहित ग्लोवलआईएमई पहिलो तथा ४७.७६ अर्ब सहित सिभिल बैंक अन्तिममा रहेको छ ।

 खुद मुनाफा, प्रतिसेयर आय र नेटवर्थ
यस अवधिमाबैंकहरूले कमाएको करिव रु. ३३.२१ अर्ब खुद मुनाफा मध्ये राष्ट्रिय वाणिज्यले रु. २.२१ अर्ब सहित अरुलाई उछिन्दा सूचीकृतमध्ये ग्लोवलआईएमईले रु. २.१४ अर्बर औसतमा रु. १.२३ अर्ब तथा सिभिलले केवल ३२ करोड रुपैयाँमात्र कमायो ।वित्तीय विश्लेषण र लगानी निर्णयको प्रमुख सूचक प्रतिसेयर आय (ईपीएस) मा भने वार्षिक ४१.५० रुपैयाँ सहित एनआईसी एसियाले सबैलाई उछिन्दा सिभिल ७.९० सहित कमजोर देखिएको छ । नविलले गलत गणना गरेर रु ४५.३२ तथा नेपाल बैंक, प्राइम, एनसिसि, हिमालयन र नेपाल एसविआईले पुँजी समायोजन नगरी ईपिएस बढी देखाएका छन्, भने एनएमबीले पुँजी समायोजन नगर्नुका साथै मर्जबाट प्राप्त करिव ६२ करोडलाई गैरव्यवसायिक मुनाफामा जोडेर ईपिएस थप बढाएको छ । तर वास्तविक वितरणयोग्य मुनाफा तर्फ भने प्रतिसेयर रु. २८.९० सहित नविल पहिलो र रु. २५.७३ सहित चार्टर दोस्रो र एनआइसी एसिया तेस्रो देखिएको छ ।प्रकाशित विवरणमा केही बैंकको ७५-७६को लाभांस समायोजन नहुँदा सेयरको किताबी मूल्य वा वर्तमान सम्पत्तिको अवस्था जनाउने प्रतिसेयर नेटवर्थको अन्यौलपूर्ण छ । विवरण अनुसार २९७.५५ सहित नेपाल बैंक पहिलो देखिए पनिसमायोजन पछि नेटवर्थ करिव रु. २५० मात्र कायम हुनेछ । हाल १२४.२२ सहित कमजोर सिभिल लाभांसपछि नेटवर्थमा सेञ्चुरीभन्दा बलियो पनि हुनसक्छ ।

 पुँजीकोषको अवस्था

हाल बैंकहरूले न्यूनतम ११ प्रतिशत र थप २ प्रतिशतसम्मको थप पुँजीकोष कायम गर्नुपर्ने अवस्था छ । केही बैंकहरूले बोनस सेयरसमायोजन नगर्दा समेत कायम औसत १३.८३ प्रतिशतको पुँजीकोषलाई सन्तुलित र पर्याप्त मान्नुपर्छ । मर्ज, डिबेन्चर र बोनस सेयरबाट पुँजी जुटाउँदा समेत केवल ११.४७को पुँजीकोष सहित ग्लोबलआईएमई कमजोर देखिँदा २०.३९ प्रतिशतको पुँजीकोषले कृषि विकास पुँजीभारले थिचिनेआभास
दिन्छ । प्राथमिक पुँजीको कम्तिमा २५ प्रतिशत डिबेन्चरको बाध्यात्मकप्रावधानले अहिले नै पुँजीभारबाट थेचारिएका बैंकहरूलाई थप संकटबाट बचाउन पनि पुँजीकोष १३ प्रतिशतभन्दा कम भएका बैंकलाई मात्र डिबेन्चर अनिवार्य र अरुलाई स्वेच्छिक गरिनुपर्छ ।

 मूल्य आम्दानी अनुपात (पीई)

लगानीकर्ताहरूको विश्वास र मनोविज्ञानसँगै जोखिमलाई मूल्यमा व्यक्त गर्ने र प्रत्येक कारोबारको मूल्यसँगै परिवर्तन हुने पीई अनुपात धेरैले कम भएको कम्पनी लगानीको प्राथमिकतामा राख्दछन् । तर सदैव कम पीईका सेयरमा बढी लाभको ग्यारेन्टी हुन्न । पीइले कम्पनी प्रति लगानीकर्ताहरूको आश र त्राससँगै सेयरको माग र आपूर्तिको अवस्थालाई पनि इंगित गर्दछ । २०७६ माघ मसान्तको बजार मूल्य र समायोजित
ईपिएसका आधारमा बैंकहरूको औसत पीई १३.७८ देखिन्छ । सबैभन्दा कम १०.२३ को पीईले नेपाल बंगलादेशसस्तो र १९.९५ सहित स्ट्यान्डर्ड चार्टर महंगो देखिन्छ । पीई१५ सम्मलाई लगानीयोग्य मान्दा २० बैंकहरू अझै लगानीयोग्य र चार्टर, सिभिल, नेपाल एसबिआई, एभरेष्ट, नविल, एनएमबि र एनआइबी केही महँगा देखिएका छन् ।

 निचोड

मर्जर प्राप्तिको लहर चलिरहेको अवस्थामा तत्कालको विवरणकै आधारमा लगानी निर्णय थप जोखिमपूर्ण हुनेछ । सार्वजनिक तथ्यांकले ईपिएसमा एनआईसी एसिया; पिईमा नेपाल बंगलादेश; नेटवर्थ र पुँजीकोषमा कृषि विकास;चुक्तापुँजी, ग्राहक निक्षेप र कर्जा तथा सापटीमा ग्लोवलआईएमई बलियो देखिँदा सिभिल प्रायः सबै सूचकमा कमजोर छ ।अहिलेको विवरणले केवल विगतको अवस्था र सम्भावना देखाएको छ, तर लगानी निर्णयवा व्यवस्थापन गर्दा ईपिएस, पिई, नेटवर्थ र पुँजीकोषसँगै लाभांस प्रतिफल दर (डिभिडेण्ड यिल्ड),इक्विटिमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), ब्याजदर अन्तर (स्प्रेड), निष्क्रिय कर्जा र तरलताको अवस्था, व्यवसायको वृद्धि, लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन-व्यवथापन क्षमता भर्खर मर्ज तथा प्राप्ति गरेका र प्रकृयामा रहेकाहरूको सम्भावित अवस्थालाई पनि ध्यान दिनुपर्छ ।