प्रा.डा. विकाशराज सत्याल
बुधवार, माघ २९, २०७६
1484

 

अहिले कोरोनाको प्रकोपले पोखरालगायत अधिकांश क्षेत्र सुनसान छ । पोखरा लुम्बिनी र हिमाल पदयात्र अधिकांश बुकिङहरू रद्द भइसकेको छ ।


चीनमा उत्पन्न कोरोना भाइरसको प्रकोपले अहिले विश्व नै संत्रस्त छ । भनिन्छ, यो भइरस चमेरो या सर्पको मासु खानेहरूबाट सुरु भएको थियो । ब्रिटिस पत्रिका टेलेग्राफको अनुसार अहिलेसम्म अनियन्त्रित यो प्रकोपले सन् २००२ को सार्सको प्रकोपभन्दा तीनगुणा ठूलो विश्व आर्थिक संकट निम्त्याउन सक्छ । सार्सले एसियन बजारमा नै १२ देखि १८ अर्ब डलरको आर्थिक धक्का र विश्व अर्थतन्त्रमा झन्डै १ सय अर्बडलरको आर्थिक धक्का पारेको अनुमान गरिन्छ ।
सन् २००७ मा पनि विश्वव्यापी मन्दी आएको थियो जो मूलतः अमेरिकाबाट उत्पन्न भएको मन्दी थियो । घरजग्गामा व्यापक लगानी भएको अमेरिकी बजारमा दलालहरूले घरजग्गाको मोल कृत्रिम उचाइमा पु-याइसकेका थिए, जुन बजारभाउ अचानक स्थिर रहन सकेन । घरजग्गा व्यवसायीसहित तिनलाई ऋण दिने बैंकहरूको अत्यधिक नाफा कमाउने मनोवृत्तिले नै सायद यो दुर्दशा निम्त्याएको थियो भन्ने सोचाइ धेरैको छ, जसका लागि अमेरिकी केन्द्रयी बैंकको कमजोर नीति पनि जिम्मेदार भएको ठानिन्छ । अमेरिका विश्व व्यापारको केन्द्र भएकाले यो अमेरिकी बजारको मन्दीले संसारभरिको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको थियो । उत्तर अमेरिकादेखि दक्षिण अमेरिका युरोप र एसियाका ठूला अर्थतन्त्रहरूलाई यसले आक्रान्त परेको थियो । अमेरिकामा मात्रै यसको प्रभावले ८७ लाख बेरोजगारी बनेका थिए भने केन्द्रयी बैंकले बजार व्यवस्थापनका लागि १ सय ९० खर्ब डलर अतिरिक्त खर्च गरेको थियो । यसको अर्थ हो, ठूला व्यापारिक केन्द्र तथा उपभोक्ता बजारको आर्थिक संकट त्यही देशमा मात्र सीमित भएर बस्दैन, अधिकांश विश्व यसको सिकार हुनु स्वाभाविक हुन्छ । यस्तै अर्को विश्व आर्थिक संकट अहिले कोरोनाले गर्दा चीनबाट उत्पन्न हुने संकेत देखिएको छ ।
झन्डै एक महिनाअघि सुरु भएको कोरोनाको प्रकोपमा मर्नेको संख्या अहिलेसम्ममा ९ सय नाघेको छ भने ४० हजार संक्रमित भएको हङकङस्थित सिएनएनले बताएको छ र यो सीमावर्ती देशहरू जापान, हङकङ, फिलिपिन्ससम्ममा फैलिएको भेटिएको छ । चीनमा नयाँ वर्ष व्यापारका लागि ठूलो समय मानिन्छ, हाम्रो दसैँतिहारजस्तै । झन्डै चार हप्ता चल्ने चिनियाँ नयाँ वर्षको रमझम र किनमेलमा वर्षभरि हुने कुल व्यापारको ३० प्रतिशतसम्मको व्यापार हुन्छ । करिब १.४ अर्बको जनसंख्या भएको देशमा गत नववर्षमा झन्डै ३ अर्बले घुमफिर गर्न देश भित्र सार्वजनिक यात्रा गरेका थिए अर्थात्, प्रतिव्यक्ति औसत दुईपल्ट । तर, यसपल्ट बजारहरू, सिनेमा हल, यातायात सेवा, होटेल–रेस्टुराँ शून्य छन् । योपल्टको मुसा वर्षले चीनमा जनधनको सुनामी ल्याएको देखिन्छ । अक्सफोर्ड इकोनोमिक्स समूहको अनुमानअनुसार यसले चीनको आर्थिक वृद्धि ६.१ प्रतिशत बाट घटेर ५.६ प्रतिशत पुग्ने अनुमान गरेका छन् ।
चीन अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । विश्वको झन्डै ८ सय ८० खर्ब डलरको कुल जीडीपीमा चीनको हिस्सा १६ प्रतिशतको छ, अर्थात् १ सय ३६ खर्ब डलरको जीडीपीको आकार छ चीनको । तर, जीडीपीको आकारले मात्र चीनको मन्दीले विश्व प्रभावित हुने होइन । चीन अहिले ‘विश्व आपूर्ति सन्जाल’ को सबैभन्दा ठूलो केन्द्र हो । अधिकांश विश्वका कम्प्युटर र मोबाइलका चिप्स चीनमै बन्छन्, जसमा एप्पल र सामसङजस्ता कम्पनी पनि छन् । त्यसैगरी जापानको टोयोटा मोटर, कोरियाको हुन्डाई र अमेरिकाको जेनेरल मोटरसका अधिकांश मेसिन बन्ने थलो चीन नै हो । साथै चीन उत्पादक मात्र नभएर १ सय ४० करोडको आफ्नो विशाल जनसंख्या र आर्थिक रूपले सबल मध्यम वर्ग भएको संसारको प्रमुख उपभोक्ता बजार पनि हो । गत केही वर्षमा जेनेरल मोटरसका जति गाडी अमेरिकामा बिक्री भए त्योभन्दा बढी चीनमा बिक्री भए । हुवावेजस्तो चिनियाँ मोबाइल ब्रान्डले विश्व बजारमा आफ्नो आधिपत्य जमाइरहँदा अमेरिकी एप्पलको झन्डै ९ प्रतिशतको बजार चीन थियो । चिनियाँ अर्बपतिहरूमा फेसनेबल हुने चाहना अत्यधिक छ, जसले गर्दा महँगा विदेशी ब्रान्डहरू जस्तै– जारा, कन्भर्स, युनिक्लो, एडिडास, नाइकहरूको ठूलो बजार चीन बन्दै आएको छ । अमेरिकी वालमार्टका ४ सय ३० पसल र स्टारबकका अनगिन्ती आउटलेटहरू अहिले चीनमा छन् । कोरोनाको प्रकोपले यी सबैका व्यापार अहिले अस्थायी रूपले बन्द भएका छन् । आयातित वस्तु उपभोगका हिसाबले सन् २०१८ मा चीनले २१ खर्ब डलरको सामान आयात ग-यो, जसको आधाभन्दा बढी (५२ प्रतिशत) खरिद एसियाबाट र करिब १७ प्रतिशत युरोपबाट गरियो । पेट्रोलियम उत्पादक देशहरूमा समेत यो कोरोनाले असर पार्ने देखिन्छ । संसारको कुल पेट्रोलियम उत्पादनको ५ प्रतिशत आफैं उत्पादन गर्ने भए पनि चीन– कतार, साउदीलगायत ४५ उत्पादक देशहरूबाट पेट्रोलियम आयात गर्छ, जुन आयात गत वर्ष मात्र २ सय ३९ अर्बको डलरको थियो, कुल विश्व आयातको २० प्रतिशत ।
यसरी पहिले नै इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार संकट आदिले ओरालो लाग्न थालेको विश्व अर्थतन्त्रलाई कोरोनाको प्रभावले झनै आक्रान्त पार्ने देखिन्छ । चीनको केन्द्रयी बैंकले भखरै कोरोनाले उत्पन्न बजारको मन्दी हटाउन २२ अर्ब डलर बजारमा प्रेषित गरेको छ । कत्रो ठूलो मन्दी आउँछ, यो कुरा कहिले यो कोरोनाको दुष्प्रभाव सकिन्छ भन्नेमा भरपर्छ, जो अहिले नियन्त्रणमा आइसकेको देखिएको छैन । तर, जसरी सन् २०१० को अमेरिकी मन्दीपछि होस् या सार्सपछिको सुधारमा देखिएको होस्, सम्पूर्ण विश्व र चीन पनि यो सुनामीको प्रभावबाट चाँडै नै सकुशल अवतरण गर्ने आशा गरौं । यस्ता पुनरुत्थानमा चीनले अद्भुत उदाहरण नै दिएको छ, सन् २००२ मा भएको सार्सको आक्रमणपछि सन् २०१९ सम्ममा यसको अर्थतन्त्र ८ गुणाले बढेको थियो ।

कोरोनाको नेपालमा पर्ने प्रभाव
नेपाल सरकारले आफ्नो २०७६-७७ आवको बजेट भाषणमा ‘समृद्ध नेपाल खुसी नेपाली’को सपनालाई वैदेशिक लगानी, निर्यात व्यापार र पर्यटनबाट आर्थिक वृद्धि गरी औसत सम्पन्न राष्ट्रको दर्जामा उक्लिन खोजेको उल्लेख गरेको छ । नेपालका लागि वैदेशिक मुद्रा आर्जनको सहज र भरपर्दो बाटो पर्यटन थियो, जसका लागि सन् २०२० पर्यटन वर्ष नै घोषणा गरियो, २० लाख पर्यटक ल्याउने लक्ष्यसहित । गत वर्ष पर्यटकबाट नेपालले रु. ७७.८ अर्ब कमाएको थियो जो जीडीपीको २.२ प्रतिशत हुन्छ । नेपालमा चिनियाँ पर्यटकको आगमन लगातार बढ्दै गएको छ । पर्यटन मन्त्रलयको तथ्यांक हेर्दा २०७४ मा ११ लाख ७३ लाख पर्यटक भित्रिँदा १ लाख ५४ हजार चिनियाँ भित्रिएका थिए, जुन कुल पर्यटकको १३ प्रतिशत हुन्छ । गत वर्षको पर्यटक आगमन वृद्धिदर पनि कुलमा १८ प्रतिशत हुँदा चिनियाँ ३२ प्रतिशतले बढेको देखिन्छ । यसै कारण यो भ्रमण वर्षको प्रमुख आकर्षण चिनियाँ पर्यटक थिए । यसैका लागि नेपाल पर्यटन बोर्डले चीनमा राम्रै प्रचार गरेको पनि थियो । चिनियाँ अभिनेत्री एवम् मोडलसमेत बोलाएर चिनियाँ पर्यटक लक्षित प्रचार सामग्री बनाइएको थियो । नेपालमा मुख्य पर्यटन सिजन अक्टोबरदेखि डिसेम्बर हुँदै फरवरीसम्म मानिन्छ । तर, त्यही समय अन्नपूर्ण क्षेत्रमा आएको हिउँपहिरोमा कोरियाली र नेपाली पदयात्री हराए र धौलागिरि क्षेत्रमा आरोहीको मृत्यु भयो, जसले पर्यटक निकै सुकेको थियो । अहिले कोरोनाको प्रकोपले पोखरालगायत अधिकांश क्षेत्र सुनसान छ । पोखरा लुम्बिनी र हिमाल पदयात्र अधिकांश बुकिङहरू रद्द भइसकेको छ ।
राष्ट्रिय गौरवका धेरै जलविद्युत् योजनाहरू तथा मेलम्ची जसमा धेरै चिनियाँ प्राविधिक खटिएका थिए, नयाँ वर्ष मनाउन गएकाहरू कोरोनाले गर्दा नफर्किंदा अहिले निर्माण अबरुद्ध छ । त्यसै पनि विकास खर्च यो आवमा ज्यादै कम भएको छ । चालू आवको मध्यावधिसम्ममा पनि केवल १४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । पुँजीगत खर्च नहुँदा बजारमा तरलतामा संकुचन आएको छ, जसले मन्दी ल्याएको छ । भारतले पाम आयल र केही अन्य निर्यातमा लगाएको बन्देजले निर्यात लगातार घट्दै गएको छ, जसले व्यापारघाटा फेरि बढाएको छ । मूल्यवृद्धिले बजार सुस्त छ । प्याज, लसुनजस्ता आयातित दैनिक उपभोग वस्तुदेखि कुखुराको मासुमा अत्यधिक मूल्यवृद्धि भएको छ । नेपालको अर्थतन्त्र यी सबै घटनाले गम्भीर मोडमा पुगेको देखिन्छ ।
सरकारले बडो महत्वाकांक्षी भएर यो वर्षको आर्थिक वृद्धिको लक्ष्य ८.५ प्रतिशत राखेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषलगायतले मध्यकालीन समीक्षा गर्दै यो वृद्धि ६ प्रतिशत ननाघ्ने भन्दा सरकार क्रुद्ध भयो । तर, कोरोनाको कोप तथा अन्य विश्व संकटहरूले र आन्तरिक कारणहरूले देशको आर्थिक वृद्धि ज्यादै न्यून हुने र समृद्धिको सपना चकनाचुर हुने संकेत भने दिएको छ, जसको उपचारका लागि वैकल्पिक रणनीति तत्काल ल्याउन जरुरी देखिन्छ ।