कारोबार संवाददाता
बुधवार, माघ १५, २०७६
570

टोकियो : २०२० टोकियो ओलम्पिक सुरु हुन अब ६ महिना बाँकी छ । विश्व खेलकुदको महाकुम्भ सुरु हुने समय नजिकिंदै गर्दा विश्व खेलकुदको नजर आयोजनास्थल टोकियोतिर सोझिन थालेको छ ।
मुख्य रंगशालासहित अधिकांश खेल स्थल पूर्ण रूपमा तयार पारिसकेको टोकियो भने खेलस्थलपछि सुरक्षा, सवारी व्यवस्थापन, खेलाडी र पर्यटकमैत्री अन्य व्यवस्थापनमा लागेको छ । विश्व ओलम्पिक पदकमा पहिलो र दोस्रो स्थान कब्जा जनाउँदै आएका चीन र अमेरिकाले २०२० टोकियो ओलम्पिक पदकमा छलाङ मार्न विशेष तयारी गरिरहेको खबर सार्वजनिक हुन थालेका छन् ।

पदक तालिकाकै शीर्ष स्थानमा रहँदै आएका बेलायत, रसिया, जर्मनी, नर्वे, क्यानडालगायतका देशहरूले समेत ओलम्पिकलाई केन्द्रमा राखेर देशभित्र खेलकुदका गतिविधिलाई तीव्र बनाएको खबर जापानी सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन् । यद्यपि रसियाको हकमा भने खेलाडीहरू लगातार प्रतिबन्धित औषधि सेवनमा सहभागी प्रमाणित पछि चार वर्षका लागि ओलम्पिक प्रतिबन्ध खेपिरहेको छ । प्रतिबन्धविरुद्ध रसियाले आवेदन दिए पनि त्यसको टुंगो भने अझै लागिसकेको छैन ।
आफ्नै देशमा हुने ओलम्पिकमा पदक तालिकामा रेकर्ड राख्ने लक्ष्यसहित जापानले ओलम्पिक आयोजनाको जिम्मेवारी पाएदेखि नै विशेष तयारी गरिरहेको छ । यद्यपि जापानी सञ्चारमाध्यमहरू पदक तालिकामा पहिलो र दोस्रो स्थानका लागि चीन र अमेरिकाबीच नै प्रतिस्पर्धा हुने बताउँछन् । २०२० टोकियो ओलम्पिक आगामी जुलाई २२ तारिखमा सुरु भई अगस्ट ९ तारिख समापन हुनेछ । २ सय ६ राष्ट्र सहभागी हुने ओलम्पिकमा करिब ११ हजार खेलाडी सहभागी हुँदैछन् । ५ हजार पदकका लागि हुने खेल भिडन्तमा नेपालले पौडी, आर्चरीलगायत आधा दर्जन खेलमा प्रतिस्पर्धा गर्दैछ ।
गर्मी र सुरक्षा मुख्य चुनौती ः गर्मी मौसममा हुन लागेको ओलम्पिकमा गर्मीसँग जुध्ने उपायसहित सवारी व्यवस्थापन, सुरक्षा लगायतलाई दोस्रो पटक ओलम्पिक आयोजना गर्न लागेको टोकियोले मुख्य चुनौती ठानेको छ । गर्मीबाट खेलाडी र पर्यटकलाई राहत प्रदान गर्न सार्वजनिक स्थानहरूमा चिसो पानीको हावा फाल्ने कृत्रिम फोहरा, रेल स्टेसनलगायत मुख्य सार्वजनिक स्थानहरूमा तापक्रम कम गर्ने प्रविधि जडानसहित कृत्रिम हिउँ पार्ने प्रविधिसमेत जापानले तयार पारिसकेको छ । सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले यस वर्षको ओलम्पिक सुरक्षाका लागि मात्रै ८० करोड खर्च छुट्याएको छ ।
हजारौं स्वयंसेवीसहित निजी कम्पनीमार्फत सुरक्षाकर्मी राखिने ओलम्पिकमा सैनिक स्वयंसेवक, तटरक्षक बलसहित आपत्कालीन सुरक्षा दलका सुरक्षाकर्मीसमेत परिचालन गरिने भएको छ । २०२० टोकियो ओलम्पिकमा ५० हजार ८ सय ५० प्रहरी सुरक्षामा खटिंदा पारा ओलम्पिकमा पनि सोहीअनुसार सुरक्षाकर्मी खटिने बताइएको छ । २०२० टोकियो पारा ओलम्पिक अगस्ट २५ मा सुरु भई सेप्टेम्बर ६ तारिखमा समापन हुनेछ ।
जापानले विश्व खेलकुदको कुम्भ मानिने ओलम्पिक खेलबाट फाइभ–जी इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ । यसका लागि टोकियो महानगरले २०२० ओलम्पिक र पारा ओलम्पिक खेल स्थलमा फाइभ–जी नेटवर्क जडान गरिने घोषणा गरेको छ । नयाँ पुस्ताको इन्टरनेट सञ्चालन स्थानका रूपमा समेत चित्रित हुने गरी ओलम्पिक र पारा ओलम्पिक खेल स्थलमा फाइभ–जी नेटवर्क सेवा सुरु गरिन लागिएको टोकियो महानगरको भनाइ छ । यसै वर्षको अन्तिमसम्ममा जापानका सबै नेटवर्क सेवामा उपलब्ध गराइने तयारी भएको फाइभ–जी नेटवर्क सेवाबाट दु्रत गति र उच्च क्षमताको सञ्चार गर्न सकिनेछ ।
खेल आयोजकका तर्फबाट टोकियो महानगरले प्रमुख मोबाइल सेवाप्रदायक कम्पनीलाई ओलम्पिक र पारा ओलम्पिक खेल स्थलमा फाइभ–जी नेटवर्कको ऐन्टेना राख्न अनुरोध गरिसकेको जनाएको छ । टोकियो महानगर अधिकारीहरूका अनुसार प्रतियोगिता हुने स्थल तथा मुख्य रेल स्टेसन क्षेत्रमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना छ, जसमा फाइभ–जी नेटवर्क सेवा उपलब्ध हुनेछ र यसबाट उच्चगतिको सूचना प्रवाह हुने विश्वास गरिएको छ ।
टोकियो महानगर प्रमुख युरिको कोईकेले गत वर्ष खेल आयोजना स्थलबारे स्मरण गर्दै सन् १९६४ मा भएको टोकियो ओलम्पिक तथा पारा ओलम्पिकमा तीव्रगतिको शिनकानसेन रेलसहित महानगरिय द्रुतमार्गको निर्माण भएको स्मरण गरेका थिए, जसको कारणले टोकियोले उच्च आर्थिक विकासको गति समात्न सकेको भन्दै कोइकेले २०२० ओलम्पिकमा पनि त्यस्तै नयाँ र आधुनिक जापानको परिचय झल्काउने सुरुवात हुने बताएका थिए ।
टोकियो महानगर प्रमुख कोइकेले ओलम्पिक खेलमा फाइभ–जी नेटवर्क सेवाको सुरुवातसँगै यसले एक परिपक्व सहरको विरासतका रूपमा टोकियोलाई स्थापित गराउने सो अवसरमा बताएका थिए ।
—गोकर्ण अधिकारी, टोकियो, जापान