कारोबार संवाददाता
बुधवार, माघ १५, २०७६
698

 नेपाल भ्रमण वर्ष– २०२०

हाम्रो उद्देश्य पर्यटकको संख्यात्मक वृद्धि मात्र नभई गुणात्मक वृद्धि तथा बसाइ अवधि लम्ब्याउनेतर्फ केन्द्रित हुनुपर्छ ।

सरकारलाई भ्रमण वर्ष सफल बनाउन नेतृत्वविहीन नेपाल पर्यटन बोर्ड तथा थला परेको नेपाल वायुसेवा निगममा तत्काल सक्षम तथा सबल कार्यकारी प्रमख नियुक्ति गर्ने चुनौती थपिएको छ । यसका अतिरिक्त छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरसका कारण पनि पर्यटकको आगमन घट्ने सम्भावना उत्तिकै छ ।

हामी भ्रमण वर्ष–२०२० मनाइरहेका छौं । कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले दुई वर्ष पहिले नै भ्रमण वर्षको घोषणा गरेको थियो । विगतमा पनि सन् १९९८ र २०११ मा भ्रमण वर्ष मनाइएको थियो । भ्रमण वर्ष सफल बनाउन सरकारले देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक शैलीमा सिँगार्ने, ४० वर्ष परानो धावनमार्ग तथा ट्याक्सी वेको पुनर्निर्माण सम्पन्न गर्नुका साथै निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गति प्रदान गरेको छ । साथै केही आन्तरिक विमानस्थलहको पनि धावनमार्ग पुनः निर्माण तथा स्तरोन्नति गरेको छ । भ्रमण वर्षलाई सफल बनाउन अन्तर्राष्ट्रिय स्तरमा बृहत् प्रचार–प्रसारको आवश्यकता छ । यसका लागि सरकारले भ्रमण वर्ष सचिवालयको पनि स्थापना गरेको छ, तर हालसम्म यसले प्रभावकारी भूमिका खेल्न सकेको छैन । हालै फोब्र्स पत्रिकाले विश्वका घुम्न लायक स्थानमध्ये नेपाललाई पहिलो नम्बरमा राखेको छ, जुन तथ्यलाई भ्रमण वर्ष सचिवालयले अन्तर्राष्ट्रिय स्तरका सञ्चारमाध्यममार्फत व्यापक प्रचार प्रसार गर्नु आवश्यक छ ।
नेपालमा पर्यटकहरू विशेष गरी साहसिक क्रियाकलापहरू जस्तै— हिमाल आरोहण, पदयात्रा, जलयात्रा, सम्पदा निरीक्षण, जंगल सफारी, सिकार खेल्न, धार्मिक तीर्थस्थलको दर्शन गर्न तथा प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्नका लागि आउने गर्छन् । हालसम्म भूकम्पले भत्किएका सम्पदाहरूको पुनर्निर्माण सकिएको छैन, भ्रमण वर्षमा नेपाल आउने पर्यटकलाई के देखाउने ? हवाई यात्रामार्फत काठमाडौं ओर्लने पर्यटकलाई सर्वप्रथम यहाँको धूलो, हिलो, प्रदूषण तथा अव्यवस्थित ट्राफिक जामले आजित पार्छ । हाम्रो उद्देश्य पर्यटकको संख्यात्मक वृद्धि मात्र नभई गुणात्मक वृद्धि तथा बसाइ अवधि लम्ब्याउनेतर्फ केन्द्रित हुनुपर्छ । पर्यटकको बसाइ लम्ब्याउन उनीहरूप्रतिको असल व्यवहार तथा अतिथि सत्कारमा उत्कृटता देखाउन सक्नुपर्छ, साथै गोरो छाला देख्नेबित्तिकै ठग्ने प्रवृत्ति त्याग्नुपर्छ । सो कारणले गर्दा पनि नेपालले हालसम्म पर्यटन क्षेत्रबाट अपेक्षाकृत लाभ हुन सकेको छैन, देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान करिब ५ प्रतिशत मात्र रहेको छ, जबकि भारतमा पर्यटन क्षेत्रको योगदान करिब १० प्रतिशतभन्दा बढी छ ।
देशमा पाँचतारे होटलको संख्या १५ पुगेको छ, विगतमा काठमाडौं मात्र पाँचतारे होटलहरू रहेकोमा हाल आएर भैरहवा तथा नेपालगन्जमा समेत यस्ता होटलहरू निमार्ण भई सञ्चालनमा आइसकेका छन्, साथै देशका अन्य स्थानमा समेत निर्माणाधीन अवस्थामा छन् । विदेशी चेन होटलहरू मेरिओट, अलफ्ट, डबल ट्री हिल्टन तथा शेराटनसमेत नेपाल प्रवेश गरिसकेका छन् । एकातिर देशमा स्तरीय होटल, रिसोर्ट तथा स्तरीय रेस्टुराँहरूको निर्माणमा निजी क्षेत्रले लगानी बढाउनु, अर्कातिर आशातित पर्यटकहरूको आगमनमा वृद्धि नहुँदा अकुपेन्सी दर दिनानुदिन घट्न गई आर्थिक रुपमा नोक्सानी बढ्दै गइरहेको अवस्था छ । निजी क्षेत्रले पर्यटन क्षेत्रमा अर्बाैं लगानी गरेको छ, साथै दिन–प्रतिदिन लगानी बढाउँदै गइरहेको छ । देशको पर्यटन क्षेत्रमा भएको लगानीलाई संरक्षण तथा प्रवद्र्धन गर्नका लागि सरकारी क्षेत्रबाट प्रशस्त संख्यामा पर्यटक भित्र्याउने रणनीति तर्जुमा गर्नु आजको आवश्यकता हो । कुनै पनि देशमा बढीभन्दा बढी पर्यटक भित्र्याउन देशको ध्वजावाहक सशक्त हुनुपर्छ । नेपाल विश्वमै महँगो हवाई गन्तव्यका रूपमा परिचित छ । आज बैंकक, सिंगापुर, दुबई तथा इस्तानबुललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउनुमा ती देशका ध्वजावाहकको अहम् भूमिका छ । देशको ध्वजावाहक नेपाल वायुसेवा निगम २०४६ पछिका सरकारको कहिल्यै प्राथमिकतामा परेन । राजनीतिक दलको भर्ती केन्द्र तथा कमाउ अड्डाका रूपमा मात्र परिचित हुन पुग्यो । करिब ६० वर्षपछि पनि निगमले दुईवटा न्यारोबडी तथा दुईवटा वाइडबडी विमानमार्फत जेनतेन नौवटा गन्तव्यमा मात्र उडान भरिरहेको छ । गत वर्ष मात्र निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानमार्फत बल्ल–बल्ल थप गरेको नयाँ गन्तव्य जापानको ओशाका उडान हालसालै स्वीकृत दुई थप गन्तव्य चीनको ग्वाङझाउ तथा जापानको टोकियो उडान सुरु भएपश्चात बजारीकरण तथा विमान अभावले गर्दा स्थगित हुने निश्चितजस्तै छ । आवश्यक विमानबिना गन्तव्य थप्दै जानु निगम व्यवस्थापनको मुर्खता हो, किनकि एउटा विमान मात्र ग्राउन्डेड भएमा उडान तालिका लथालिंग भई निगमको साख गिर्ने तथा नोक्सानी बढ्ने निश्चित छ ।
निगमलाई प्रतिस्पर्धी बनाउने हो भने सरकारले निगम व्यवस्थापनलाई चुस्त–दुरुस्त तथा प्रतिस्पर्धी बनाएर तत्काल ५० अर्ब रुपैयाँ पुँजी थप्न आवश्यक छ । मित्र राष्ट्र भारतले समेत एयर इन्डियामा हजारौं करोड लगानी गरिसकेको छ । भ्रमण वर्षलाई सार्थक बनाउन करिब १० अर्ब रुपैयाँमा २ वटा न्यारोबडी ए–३२० विमान, करिब २५ अर्ब रुपैयाँमा २ वटा वाइडबडी ए–३५० विमान तथा १५ अर्ब रुपैयाँमा आन्तरिक उडानका लागि ४ वटा भाइकिड. टुइनअटर तथा आवश्यक संख्यामा एटीआर विमान खरिद गर्नुपर्ने आवश्यकता छ । यदि एयरबसको वाइडबडी ए–३५० विमान निगमले खरिद गरेमा सो मोडलको विमान उडाउने दक्षिण एसियाकै पहिलो वायुसेवा हुनेछ । थप २ वटा न्यारोबडी ए–३२० विमानलाई भैरहवा विमानस्थल सञ्चालनपश्चात नयाँ गन्तव्य तथा हालकै गन्तव्यमा उडान थप गरी उडाउन सकिन्छ भने हालका २ वटा वाइडबडी विमानमार्फत जापान, कोरिया, साउदी अरेबिया तथा सिंगापुरले दिएको फिप्थ फ्रिडमअन्तर्गत हालै सम्पन्न हवाई सम्झौताबमोजिम नेपालबाट सिंगापुर हुँदै अस्ट्रेलिया उडान भर्न सकिन्छ । यसैगरी थप हुने २ वटा ए–३५० विमानमार्फत सीधा अस्ट्रेलिया उडान भर्न सकिन्छ भने युरोपियन युनियनको गम्भीर सुरक्षा चासोको प्रतिबन्ध सूचीबाट ६ महिनापछि नेपालका वायुसेवाहरू हटेमा लन्डन तथा पेरिससमेत उडान सुरु गर्न सकिन्छ । तर, हालै सम्पन्न पर्यटन मन्त्रीको अस्ट्रेलिया भ्रमणका बेला नेपाल वायुसेवा निगमको त्यहाँ सीधा उडान भर्नका लागि पहल गर्नुको सट्टा त्यहाँका वायुसेवाहरूलाई नेपाल उडान भर्न प्रोत्साहित गर्नुले आफ्नो आँगन बनाउन समेत छिमेकी गुहार्ने हाम्रो बानी चरितार्थ भएको छ । साथै सरकारलाई भ्रमण वर्ष सफल बनाउन नेतृत्वविहीन नेपाल पर्यटन बोर्ड तथा थला परेको नेपाल वायुसेवा निगममा तत्काल सक्षम तथा सबल कार्यकारी प्रमख नियुक्ति गर्ने चुनौती थपिएको छ । यसका अतिरिक्त छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरसका कारण पनि पर्यटकको आगमन घट्ने सम्भावना उत्तिकै छ ।
अन्त्यमा, वर्तमान सरकारले समेत भ्रमण वर्षलाई सफल बनाउन झिना–मसिना कुराहरू र सस्तो लोकप्रियतामा नअल्झी पारदर्शी रूपमा निगमलाई आवश्यक विमान खरिद गर्न नसकेमा निगमले फेरि नयाँ विमान पाउन दशकौं लाग्न सक्छ ।
(लेखक बैंकर हुन् ।)

 कुमार केसी