मुकुन्द अर्याल
शुक्रवार, माघ १०, २०७६
429

 

देशकै दोस्रो पुरानो तथा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सीएसआरमा अलग पदचिह्न बनाएको छ ।

सार्वजनिक या निजी लगानीमा स्थापित हरेक व्यावसायिक संस्थाको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । मुनाफा तर्कसंगत, न्यायोचित हुनुपर्छ, संसाधनहरूको समुचित, मितव्ययी उपयोग गर्दा पर्न आउने उत्पादन लागतमा उचित प्रतिफल जोडेर आर्जन गरिने मुनाफा नै न्यायोचित मुनाफा हो । कम्पनीले आफ्ना ग्राहकलाई वस्तु वा सेवा बिक्री गरी मुनाफा आर्जन गर्ने भएकाले जुन समाजबाट मुनाफा आर्जन गरेको हो त्यसप्रति केही न केही दायित्व रहनु स्वाभाविक हुन्छ । यसै वस्तुसत्यलाई आत्मसात् गरेर नेपालमा कम्पनीहरूलाई आफ्नो मुनाफाको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा (सीएसआर) खर्च गर्नुपर्ने प्रावधान राखिएको छ । नेपालमा व्यवस्थित ढंगले चलेको उल्लेख्य क्षेत्र र मुनाफाका हिसाबले सर्वाधिक मुनाफा गर्ने क्षेत्र वित्तीय क्षेत्र नै भएको हुँदा सीएसआरमा महत्वपूर्ण योगदान पु-याउने क्षेत्र पनि वित्तीय क्षेत्र नै रहेको छ । यस लेखमा पत्रपत्रिकामा प्रकाशित सामग्रीको -यान्डम सर्भेबाट प्राप्त जानकारीका आधारमा यस वर्ष नेपालको वित्तीय क्षेत्रले सीएसआरमा पु-याएको योगदानबारे संक्षिप्त अध्ययन गर्ने प्रयास गरिएको छ ।

सीएसआरमा नेपालको वित्तीय क्षेत्रबाट भइरहेका प्रयास
नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले बाराको चैनपुरमा सञ्चालित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई रु. ५० लाख सहयोग गरेको छ भने स्याङ्जाको सदरमुकाममा सिसी क्यामरा जडान गर्न रु. ९० हजार सहयोग गरेको छ । कृषि विकास बैंकले मदनवाटिका पार्क महादेवस्थानलाई १० थान डस्टबिन प्रदान, जनकल्याण मा.वि., चन्द्रागिरीलाई शैक्षिक सामग्री हस्तान्तरणका साथै ललितपुर वडा नम्बर १५ मा वृक्षरोपण तथा वातावरण संरक्षणका लागि रु. १ लाख २० हजार नगद सहयोग गरेको छ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित जनता माविलाई ९ लाख ७५ हजार सहयोग गरेको कृषि विकास बैंकले नेपाली संस्कृति झल्कने रंगेली निर्माणसहित माइतीघर मण्डलाको संरक्षण कार्य गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माणका लागि रु. ५० लाख सहयोग गरेको छ । नेपाल बंगलादेश बैंकले पाँचथरस्थित गढी माध्यमिक विद्यालयमा ३० दृष्टिविहीन विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ साताको प्रशिक्षण प्रदान गर्नुका साथै निःसहाय सेवा सदन नयाँ बानेश्वरलाई ज्येष्ठ नागरिकका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ ।
नेपाल बंगलादेश बैंकले बनेपा नगरपालिका वडा नम्बर ४ स्थित ऐतिहासिक लक्ष्मी पोखरीको पुनर्निर्माणमा ९ लाख ७२ हजार सहयोगका साथै र नवकिरण अनाथ असहाय बाल उत्थान समाज धापाखेललाई ३१ थान ब्ल्यांकेट वितरण गरेको छ । हिमालय बैंकले मौलाकालिका अपांगसेवा संस्था कावासोती र ललितपुरस्थित नवकिरण अनाथ असहाय बालउत्थान समाजलाई अत्यावश्यक सामग्री हस्तान्तर, टिच फर नेपाललाई ५ लाख बराबरको आर्थिक सहायता गरेको छ । नबिल बैंकले कीर्तमान हिमाल आरोही निर्मल पुर्जालाई ७ लाख सहयोग गरेको छ । एभरेस्ट बैंकले मस्तिष्क पक्षघात भएका बालबालिका र युवालाई सहयोगी संस्था सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी नेपाललाई स्कुल भ्यान प्रदान, टिच फर नेपाललाई रु. ५ लाख सहयोग, मनिपाल अस्पताललाई १ थान हेमोडायलिस मेसिनलगायतका कार्य गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले कोटेश्वर–कलंकी चक्रपथ सडक किनारामा सौन्दर्यमूलक रूख रोप्ने कार्यमा सहभागिता जनाउनुका साथै नशारहित समाज नेपाललाई १ लाख १ हजारबराबरको सहयोग गरेको छ । सनराइज बैंकले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षरोपण, सुनवल नपास्थित महाकवि देवकोटा क्याम्पसलाई रु. ३२ हजारबराबरको शैक्षिक सामग्री सहयोग गरेको छ ।
ग्लोबल आईएमई बैंकले मेरुदण्डीय पक्षाघात समूहलाई रु. ३ लाख सहयोग, ब्यास नगरपालिकास्थित कुर्लुङ प्राविलाई २ थान कम्प्युटर र प्रिन्टर प्रदान गर्नुका साथै पानीपोखरीदेखि महाराजगन्जसम्म वृक्षरोपण कार्य गरेको छ । जनता बैंकले केन्द्रीय बहिरा क्याम्पस नक्साललाई १० लाख, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार र कैलालीका हावाहुरी पीडितलाई १ लाख ५० हजार सहयोग गरेको छ । सिद्धार्थ बैंकले बनेपास्थित अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई रु. १० लाख सहयोग गरेको छ । माछापुच्छ«े बैंकले पोखराको दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । सिभिल बैंकले नेपाल प्रहरीलाई जनचेतनामूलक सन्देश लिखित १ सय १५ थान ज्याकेट हस्तान्तर गरेको छ । सेन्चुरी कमर्सियल बैंकले मेलम्ची नगरपालिकास्थित शितला माविलाई १३ थान वाटर फिल्टर र नेपाल आँखादान समाजलाई अत्यावश्यक सामग्री प्रदानलगायतका सामाजिक कार्य गरेको छ । सानिमा बैंकले हिमालय आँखा अस्पताललाई वाटर प्युरिफिकेसन मेसिन, रक्तदानलगायतका कार्य गरेको छ । एनआईसी एसिया बैंकले रामबजारस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तर गरेको छ ।
विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले सनातन धर्म संस्कृति संरक्षणमा सघाउ पु-याउने उद्देश्यले वैद्यनाथ वेदविद्याश्रम अछामलाई रु. १ लाख ५० हजार, नन्दी मावि नक्साललाई खेलकुद सामग्री, खगेन्द्र नवजीवन माध्यमिक विद्यालयलाई अपांगमैत्री फर्निचर सहयोग, महाराजगन्जदेखि न्युरो अस्पतालसम्म वृक्षरोपण कार्य दुर्घटनामा सुनकोशी नदीबाट उद्धार गर्ने साहसी युवा सोनाम तामाङलाई नगद सहयोगलगायतका कार्यहरू गरेको छ । मुक्तिनाथ विकास बैंकले प्रहरी वृत्त कमलपोखरीलाई गार्डेन तयार गरी हस्तान्तर गरेको छ । लघुवित्तीय संस्थातर्फ डिप्रोक्सले इलामस्थित भानुभक्त माध्यमिक विद्यालयलाई १ सय ६० थान प्लास्टिकका कुर्सी सहयोग गरेको छ भने आरएमडीसीले वृद्धवृद्धालाई संरक्षण दिने आमाघरलाई रु. ५० हजारको सहयोग गरेको छ । यसैगरी मेरो माइक्रोफाइनान्स लघुवित्तीय संस्थाले सिराहको गोलबजारमा निःशुल्क होलबडी चेकअप कार्यक्रम गरेको छ भने मन्जुश्री फाइनान्सले निःसहाय सेवा सदन शान्तिनगरलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

सीएसआरमा राष्ट्रिय वाणिज्य बैंक
देशकै दोस्रो पुरानो तथा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सीएसआरमा अलग पदचिह्न बनाएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा गत साउनमा नेपाल युवा उद्यमशीलता सम्म्मेलन २०१९ को मुख्य प्रायोजन गरेर देशमा उद्यमशीलता विकासमा राष्ट्रिय वाणिज्य बैंकले देखाएको स्िरकयता आफैंमा प्रशंसनीय छ । यसैगरी रावा बैंकले नेपाल प्रहरी अस्पताल काठमाडौंमा रक्त संचार केन्द्र निर्माणार्थ रु. ४० लाख सहयोग प्रदान गर्नुका साथै काठमाडौं, गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकालाई न्यानो कपडा, गलैंचा र आवश्यक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा सर्वथा नौलो पहलका रूपमा रावाबैंकले आरबीबी इम्पावरमेन्ट एकेडमी स्थापना गरेको छ । वित्तीय क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूलाई प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक बैंकिङसम्बन्धी निःशुल्क प्रशिक्षण प्रदान गरिने यस कार्यक्रमअन्तर्गत बैंकले दुई चरणका कार्यक्रमहरू पूरा गरिसकेको छ । यसबाट सयौ आकांक्षी लाभान्वित भएका छन् । बैंकले मदन वाटिका कोटेश्वरको संरक्षणमार्फत वातावरणीय क्षृत्रमा सहयोग गर्दै आएको छ । खेलकुदको विकासमा पनि रावाबैंक सक्रिय रहेको पाइन्छ । रावाबैंक आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिताको चार वर्षका लागि मुख्य प्रायोजक बन्नुका साथै पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कार तथा सम्मान गरेको छ । रावा बैंकले सूचना प्रविधिमा बढीसे बढी विद्यार्थीको पहुँच बढाउन देशका विभिन्न विद्यालयलाई कम्प्युटर वितरणको कार्ययोजनासमेत अघि बढाइरहेको छ ।

सीएसआर प्रवृत्ति
मुलुकको आर्थिक–सामााजिक सुधारमा अहम् भूमिका खेल्ने वित्तीय क्षेत्रले संस्थागत सामजिक उत्तरदायित्वमा गरेको पहल मिश्रित प्रवृत्तिको छ । वित्तीय क्षेत्रको सीएसआर पहललाई तथ्यांकीय रूपमा अध्ययन गर्दा यसको हिस्सा विशुद्ध सामाजिक (असहाय अनाथ अपांग लक्षित) क्षेत्रमा ०.१८ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ०.१२ प्रतिशत, आध्यात्मिक क्षेत्रमा ०.०१ प्रतिशत, सांस्कृतिक क्षेत्रमा ०.०३९ प्रतिशत, शैक्षिक क्षेत्रमा ०.१८ प्रतिशत, खेलकुदमा ०.०१ प्रतिशत, प्राकृतिक विपत्मा ०.०१ प्रतिशत, वातावरणीय क्षेत्रमा ०.१३ प्रतिशत, जनशक्ति विकासमा ०.०१ प्रतिशत, उद्यमशीलता विकासमा ०.०१ प्रतिशत र नागरिक सचेतनामा ०.०३ प्रतिशत रहेको देखिन्छ ।
सार्वजनिक उत्तरदायित्व वहनका हिसाबले नेपालका वित्तीय संस्थाहरू अन्य क्षेत्रभन्दा अगाडि रहे तापनि यो विवादमुक्त भने रहन सकेको छैन । कतिपय वित्तीय संस्थाले सामान्य रक्तदान कार्य, आफ्नै संस्था परिसरको सरसफाइ अनि आफ्नै कर्मचारीलाई टिसर्ट बाँडेर पदयात्रा गरेको सामान्य कार्यक्रमलाई समेत संस्थागत समाजिक उत्तरदायित्व वित्तीय साक्षरता कार्यक्रममा गणना गर्दा सीएसआरप्रति अन्याय भएको पाइन्छ । अर्कातिर संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी प्रयासहरू टाठाबाठा सुकिलामुकिला मानिस बसोबास गर्ने सहरी क्षेत्रमा सीमित भएको भन्ने गुनासो पनि यदाकदा सुनिन्छ, जुन कुरा पूर्णतः असत्य पनि छैन । अर्कातर्फ नेपाली जनताले तिरेको करबाट संस्थापित भएका र सबै वर्ग र आस्थाका ग्राहकसँग कारोबार गर्ने सरकारी, संयुक्त लगानी वा निजी क्षेत्रका वित्तीय संस्थाहरूले सञ्चालन गर्ने सीएसआरका कार्यक्रमहरू कतिपय अवस्थामा राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रभावित भएको भन्ने गुनासोमा दम छैन भन्न सकिंदैन । हालका वर्षहरूमा मदनवाटिका संरक्षण गर्न धेरै वित्तीय संस्थाले तँछाडमछाड गर्ने तर बाँडेगाउँस्थित सन्त कृष्णप्रसाद आश्रमलाई कुनै वित्तीय संस्थाले नहेर्ने प्रवृत्ति संस्थागत सामाजिक उत्तरदायित्वको मर्यादाभित्र पर्दैन ।

उपसंहार
संस्थागत सामाजिक उत्तरदायित्व वहनमा वित्तीय संस्थाले पु-याउने योगदान यसको सामाजिक छवि निर्माणमा पक्कै पनि सहयोगी हुन्छ, त्यसैले सामाजिक क्षेत्रमा वित्तीय क्षेत्रले झारा टार्ने तरिकाले होइन, मन फुकाएर खर्च गर्नुपर्छ तर वित्तीय संस्थाको वास्तविक सफलता विफलताको मापन यसबाट मात्र हुन्छ भन्ने ठान्नु महाभुल हुन्छ । वित्तीय संस्थाहरूले पहिला आफ्नो जगका रूपमा रहेको उत्पादनशील आर्थिक क्रियाकलाप अभिवृद्धिमा नै बढी ध्यान दिनु आवश्यक हुन्छ, किनकि यसैबाट वित्तीय संस्थाको जीवन्तता र दिगो विकास सम्भव हुन्छ । देशमा बचतकर्तालाई न्यायोचित प्रतिफल दिएर पुंजी निर्माण गर्ने, उत्पादन तथा रोगगारीमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, देशमा उद्यमशीलता विकासमा उपलब्धिमूलक कार्ययोजनासहित अगाडि बढ्ने जनतामाझ फजुल खर्च कटौती, आय अभिवृद्धि, बचतको महत्व, उत्पादन अभिवृद्धि, बजार व्यवस्था, स्वदेशी वस्तुको प्रयोग आदिबारे जनचेतनामूलक कार्यलाई अघि बढाई अधिकांश नागरिकको वित्तीय स्वास्थ्य सबल गराउने र यी क्रियाकलापबाट आर्जित मुनाफामध्ये केही रकम समाजमा लाभबाट वञ्चित क्षेत्रलाई सहयोग गर्ने दिशामा नै वित्तीय क्षेत्रको सामाजिक उत्तरदायित्व परिलक्षित हुनु आवश्यक छ ।
(लेखक राष्ट्रिय वाणिज्य बैंकका पूर्व वरिष्ठ प्रबन्धक हुन् ।)