प्रा. डा. हरि शर्मा
शुक्रवार, माघ १०, २०७६
410

 
अभूतपूर्व जाँगरका साथ मन, वचन र कर्मले वर्ष दिनभरि भ्रमण वर्षलाई सफल तुल्याउन व्यस्त रहेका कुरा स्मृतिपटलबाट विस्मृतितिर कदापि जान दिनु हुँदैन ।

नेपालले पहिलो नेपाल भ्रमण वर्ष सन् १९९८ मा सम्पन्न ग-यो । सन् २०११ मा नेपाल पर्यटन वर्ष र अहिले हामी नेपाल भ्रमण वर्ष २०२० को दौरानमा छौँ । सन् १९९८ मा मुलुक द्वन्द्वग्रस्त थियो । उद्योगहरू समस्याग्रस्त भइ रुग्णताको शिखरतिर लम्किरहेका थिए । पर्यटन उद्योग पनि बिस्तारै त्यसतर्फ उन्मुख भइरहेको सबैले अनुभूति गरिरहेका थिए । त्यस्तो बेलामा नेपालका पर्यटन शिरोमणि कर्ण शाक्यले नेपाल भ्रमण वर्षको परियोजनालाई लिपिबद्ध गरी तत्कालीन सरकार प्रमुखबाट अनुमोदित गराई स्वयं राष्ट्रिय संयोजकको पदभार सम्हाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कोठा हासिल गरी त्यहाँ नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गर्दै संयुक्त राष्ट्र संघीय कार्यक्रमअन्तर्गत दुई जना दक्ष कर्मचारी (जसमध्ये लेखक कार्यक्रम संयोजकका रूपमा खटिएको थियो) प्राप्त गरेको जस्ता अत्यावश्यकीय कामहरू भ्रमण वर्षको पूर्व सन्ध्यासम्म भइसकेका थिए । भ्रमण वर्ष शुभारम्भका दिनको कार्यक्रम तमाम नेपालीहरूलाई स्मरण नै छ ।
स्व. राजा वीरेन्द्र, स्व. रानी ऐश्वर्यालगायत देश विदेशका महामहिमज्यूहरूको भव्य समुपस्थितिले समारोहको महत्वलाई ऐतिहासिक तुल्याएको थियो ।

राजधानीको दरबारमार्ग बेहुली जस्तै श्रृंगारमा सजिएको भान हुन्थ्यो र लगभग दिनभरि नेपालका अनेकन् पर्यटकीय र विविध सांस्कृतिक झाँकीहरूको प्रदर्शन जारी नै रहेको थियो । समारोहस्थलसम्म राजपरिवार हिँडेरै आउनुभएको दृष्टान्त जगसामु छ । गैर–सरकारी र सरकारी दुवै निकायहरू आ–आफ्नो दायित्वबोध गर्दै सच्चा स्वयंसेवीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ व्यस्त देखिन्थे । देशभक्ति र राजभक्ति प्रत्येक देशवासीका हृदयमा स्वतःस्फूर्त रूपले छचल्किएको आभास हुन्थ्यो । राजधानीबाहिर पनि नेपाल भ्रमण वर्ष १९९८ को शुभारम्भ विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ उल्लेखनीय रूपमा सम्पन्न भएको नेपाल टेलिभिजन र अन्य विभिन्न सञ्चारमाध्यमहरूले प्रचार–प्रसार गरेका थिए ।
पर्यटन प्रवद्र्धनका लागि सम्पूर्ण नेपाली मनहरू एकताको सूत्रमा गाँसिएर अभूतपूर्व जाँगरका साथ मन, वचन र कर्मले वर्ष दिनभरि भ्रमण वर्षलाई सफल तुल्याउन व्यस्त रहेका कुरा स्मृतिपटलबाट विस्मृतितिर कदापि जान दिनु हुँदैन । त्यसै बेला माओवादी आन्दोलनका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले एउटा खुल्ला पत्र लेख्दै नेपाल आउन चाहने विदेशी पाहुनाहरूका लागि मुलुकको आन्तरिक राजनीतिक द्वन्द्वले कुनै असर नपु-याउने आश्वासन दिँदै भ्रमण वर्षका पाहुनाहरूमा आफू र आफ्नो पार्टीका तर्फबाट स्वागत अभिवादन रहेको प्रस्ट्याउनु भएको पनि एउटा स्मरणीय विषय हो । द्वन्द्वरत शक्तिले पनि त्यस बेला विदेशीहरूका लागि यस्तो आदरभावसहित खुला पत्र लेखी पाहुना हाम्रा निम्ति देवतासरह हुन भन्ने सन्निहित नेपालको सांस्कृतिक परिचय दिइनु अर्काे महत्वपूर्ण विषय बनेको थियो । स्मरण रहोस्, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण पनि त्यसै दिन एकसाथ जन्मन पुगेका थिए ।
नेपालको सर्वथा पहिलो पर्यटन प्रवद्र्धन अभियान नेपाल भ्रमण वर्ष १९९८ को समापन पनि बडो स्मरणीय ढंगले सम्पन्न भएको थियो । वसन्तपुर दरबार चोकमा आयोजित सो कार्यक्रमा स्व. अधिराजकुमार धीरेन्द्रको समुपस्थिति थियो र त्यहाँ विविध कार्यक्रमहरूसहित विदेशबाट आउनुभएका नेपालका मित्रहरू (फ्रेन्ड्स अफ नेपाल) को भव्य सम्मान गरिएको थियो । त्यस समयमा सांस्कृतिक सहर भक्तपुरमा उहाँहरूलाई बहुमूल्य उपहारसहित थप सम्मानित गर्ने काम पनि भयो । तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाद्वरा हस्ताक्षरित प्रमाणपत्र पनि नेपाल आउने प्रत्येक आगन्तुकलाई विमानस्थलबाटै प्रदान गरिने व्यवस्थासमेत मिलाइएको प्रशंसनीय रह्यो ।
विश्वको पर्यटकीय मानचित्रमा नेपाल सदैव सर्वोत्कृष्ट गन्तव्य मुलुकका रूपमा चिनिंदै आइरहेको इतिहास छँदाछँदै पनि नेपालले अन्य विभिन्न भौतिक र राजनीतिक कारणहरूले गर्दा पर्यटकहरूको वार्षिक आगमन दरमा उल्लेख्य वृद्धि गर्न नसकेको निष्कर्ष निकाल्दै सन् २००९ तिर सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारीका साथ सम्पूर्ण निजी क्षेत्रले आफ्नो ध्यान त्यता केन्द्रित ग-यो । मुलुकले आन्तरिक द्वन्द्वको अवस्थालाई पनि छिचोलिसकेको थियो र एउटा नयाँ नेपालको मार्गचित्र निर्माणमा लागि परिरहेकै बेला टँुडिखेलको खुल्ला आकाशमुनि नेपालको झन्डा बोकेका दसौं लाखको जनसागरसमक्ष मुलुकमा शान्ति–सुरक्षाको प्रत्याभूतिसहित सम्पूर्ण राजनीतिक दलका शीर्षस्थ नेताहरूद्वारा बन्दलाई सदाका लागि बन्द गर्ने र आपसी सहयोग र समझदारीका आधारमा देश निर्माणमा जुट्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भयो ।
‘पर्यटनका लागि सँगसँगै’को मूलमन्त्रका साथ नेपालको पर्यटन प्रवद्र्धनको अभियानले भ्रमण वर्षको दोस्रो संस्करणलाई अघि बढायो । देखासिकी गर्दै पोखरा र लुम्बिनीजस्ता लोकप्रिय गन्तव्यहरूमा पनि भ्रमण वर्षहरू घोषित भए, यथेष्ट कामहरू पनि भए । पर्यटन उद्योगले अब एउटा दिगो विकासको बाटोमा बढ्दै जानुपर्छ भन्ने जनअपेक्षा प्रबल हुँदै जाँदा अकस्मात् सन् २०१५ अप्रिल २५ का दिन मुलुकलाई ८.१ रेक्टर स्केलको भूकम्पले थिलोथिलो तुल्यायो, जसका कारण झन्डै ९ हजार मानिसको ज्यान गयो भने करिब २३ हजार मानिस घाइते भए । महाभूकम्पपछिका पराकम्पनहरूले हाम्रो विकास गतिमा एक प्रकारको पूर्णविराम ल्याएको जस्तो अनुभुति प्रदान ग-यो, जसबाट उठ्न फेरि हामीलाई निकै समय लाग्नु नै थियो ।
धन्य नेपाली जनताको धैर्य, मनोबल र सहनशीलता सन् २०१७ सम्म आई पुग्दा हाम्रो गुमेको अर्थतन्त्र पुनः सुध्रँदै नयाँ नयाँ विकास योजनाका कार्यहरू सम्पन्न हुँदै गए । पूर्वाधारका धेरै जगले द्रुत रूपले पूर्णता पाउँदै गए । नेपाल भ्रमणमा आउने पर्यटकहरूको बसाइ अवधि छोटिए पनि संख्यात्मक रूपले पर्यटकहरूको संख्यामा वृद्धि हुँदै गयोे र पर्यटन क्षेत्रले र साथसाथै नेपाल सरकारले निर्माण गरेको भिजन २०२० लाई चरितार्थ गर्ने अवसर यही हो भन्दै सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय भयो । र, तयारीका लागि एकदमै थोरै समय रहेको भए तापनि सम्पुर्ण सरकारी संयन्त्र, संघीय एवं प्रदेश सरकार एवं सबै ७ सय ५३ वटै स्थानीय सरकारको सहमतिमा यसै वर्ष गत जनवरी १ का दिन दशरथ रंगशालामा राष्ट्रपतिद्वारा शान्तिको दीप प्रज्ज्वलन गरी उपस्थित असंख्य जनसागर बीच नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएको विधिवत् घोषणा भयो ।
विविध थरीका सांस्कृतिक बाजागाजा र झाँकीहरूका साथ प्रारम्भ गरिएको नेपाल भ्रमण वर्षले गति लिन नसकिरहेको हो अथवा कहीँ हामीले यसलाई अपेक्षित गति प्रदान गर्न नसकिरहेका हौँ कि जस्तो पनि पर्यटनमा संलग्न व्यक्तिहरूको सशंकित मन बोलिरहेकोे हामी सुन्छौँ । रंगशालाको उद्घाटन समारोहमा पनि सन् २०११ मा जस्तै राजनीतिक दलका प्रमुखहरू एवं प्रदेश प्रमुखहरूले यस राष्ट्रिय अभियानको सफलताका निम्ति आफूहरू एकजुट भइ जुट्ने र पर्यटनका माध्यमबाट मुलुकमा आर्थिक क्रान्तिका लागि सहकार्य गर्ने कटिबद्धता आ–आफ्नो प्रदेशमा खिचिएको भिडियो मार्फत समारोह स्थलमा अभिव्यक्त गर्नु भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले आफ्नो धन्यवाद मन्तव्यमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमलाई २०२० मा नै सीमित नराखी यसलाई दशक लामो बनाइने र यस अवधिभित्र पर्यटन क्षेत्रको सघन विस्तारका लागि कार्यक्रमहरू तयार पारी कार्यान्वयन गरिँदै जाने सराहनीय विचार व्यक्त गर्नुभएको थियो । तर, अस्टे«लिया महाद्वीपमा लागेको डढेलोले त्यहाँको मानव सम्पदाको नाशलगायत लाखौँ वन्यजन्तुको विनाश र पर्यावरणको फैलिँदो प्रदूषणका कारण सम्पूर्ण महादेश आँसुमा डुबिरहेका बेला उहाँले सिड्नी पुगी नेपाल भ्रमण वर्ष–२०२० को -यालीमा स्वयं सहभागी हुने जुन तत्परता देखाउनुभयो, त्यो सरासर गलत कदम रहेको स्थानीय नेपालीहरूले पनि औँल्लाएका छन् । त्यसलाई सच्याउन छिट्टै हामीले हाम्रो राष्ट्रिय ध्वजावाहकलाई सिड्नीको विमानस्थलमा अवतरण गराउनुपर्छ र नेपाल–अस्टे«लियाबीच रहेका अन्य अर्थपूर्ण आर्थिक कूटनीतिलाई सशक्त र फलदायी बनाउँदै लैजानुु अनिवार्य छ ।