कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६
295

मेयर र उपमेयरबीच कुरा नमिल्दा रौतहटको एक स्थानीय तहको नगरसभाको बन्दसत्र ओझेलमा परेको छ । प्रमुख र उपप्रमुखबीच रहेको विवादका कारण रौतहटको देवाही गोनाही नगरपालिकाको नगरसभा सम्पन्न भएको ६ महिना बितिसक्दा पनि अझै हुन सकेको छैन ।
चालू आर्थिक वर्ष २०७६-७७ का लागि गत असारमै नगरसभा सम्पन्न भए पनि अझै बन्दसत्रको काम अगाडि बढ्न सकेको छैन । नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उपमेयर परनियादेवी पटेलबीच रहेको आरोपप्रत्यारोपका कारण बन्दसत्र ओझेलमा परेको देखिएको छ ।

उपप्रमुख परनियादेवीले मेयर पटेल बन्दसत्र गर्न नचाहेको आरोप लगाएकी छिन् । मेयर पटेल करोडौं रकम घोटाला गर्ने दाउमा रहेका कारण नगरसभा गर्न नमानेको उपमेयर पटेलले बताएकी छन् ।
आफूलगायत नगरपालिकाको नवै वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरू बन्दसत्र गर्न मेयर पटेललाई पटक पटक लिखित र मौखिक ताकेता गर्दा पनि मेयर पटेल बन्दसत्र गर्न नमानेको उपमेयर परनियादेवी पटेलको आरोप छ ।
देवाही गोनाही नगरपालिकाको गत वर्ष पनि नगरसभा भए पनि बन्दसत्र हुन नसक्दा नगरपालिकाको करोडौं बजेट कामै नलागी फ्रिज भएको थियो । त्यस्तै यस वर्ष पनि यही पारा रह्यो भन्ने नगरसभाको बन्दसत्र नभई करोडौं रकम फ्रिज हुने निश्चित रहेको देखिएको छ ।
नगरपालिकाकी उपमेयर परनियादेवी पटेलले गत वर्ष बन्दसत्र नभएकै कारण मेयर धर्मेन्द्र पटेल तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज झासँग मिलोमतो गरी १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएकी छिन् ।
मेयर धर्मेन्द्र पटेल गत वर्ष नगरपालिकाका लागि प्राप्त भएको ८ करोड ससर्त अनुदान, ३ करोड पुँजीगत र १ करोड अन्य गरी कुल १२ करोड रुपैयाँ केही कामै नगरी हिनामिना गरेको उपमेयर परनियादेवी पटेलले बताएकी छिन् ।
नगरको समग्र विकास–निर्माणका लागि प्राप्त भएको १२ करोड रुपैयाँ मेयर पटेल आफूलाई कुनै जानकारी नै नदिई कागजमै काम गरेर हिनामिना गरेको उपमेयर पटेलको दाबी छ ।
मेयर पटेलले उक्त १२ करोड रकम करुनिया र लक्षमिनियामा मदर्शाको वाल निर्माण, नगरभित्रका सडक मर्मत, ग्रेभल, शिक्षा, स्वास्थ्य, यातायातलगायतको क्षेत्रमा खर्च गरेको बताए पनि ती काम कागजमा मात्रै सीमित रहेको र कुनै पनि काम नभएको उपमेयर पटेलले बताइन् ।
गत वर्ष करोडौं रकम हिनामिना गरेका मेयर पटेल यस वर्ष पनि गत वर्ष जस्तै करोडौं रकम घोटाला गर्ने नियत राखेर बन्दसत्र गर्नबाट भाग्दै हिँडेको उपमेयर पटेलले बताइन् ।
मेयर पटेलले गत वर्ष गरेको कामको हिसाब–किताब माग्दा आफूले गरेको घोटालाको पोल खुल्ने डरले नगरसभाको बन्द सत्र गर्नबाट भाग्दै हिँडेको उनले बताइन् । गत वर्ष नगरसभा नभए पनि बिना नगरसभाको मेयर पटेल एकलौटी रूपमा आफूलाई बाइपास गरी यति ठूलो रकम खर्च गरेको उनले बताइन् ।
त्यस्तै मेयर धर्मेन्द्र पटेलले उपमेयर पटेलकै कारण अहिलेसम्म बन्दसत्र हुन नसकेको बताए । कार्यपालिका बैठकमा सहमति भएको रकममा ५० लाख अझै थप गरेपछि मात्रै नगरसभा हुन दिने भन्ने उपमेयरको अडानका कारण बन्दसत्र हुन ढिलाइ भएको मेयर पटेलको भनाइ छ ।
मेयर पटेलले एकलौटी रूपमा रकम खर्च गरेको र हिनामिना गरेको उपमेयर पटेलले आरोप लगाए पनि मेयर धर्मेन्द्र पटेलले आफूले एक रुपैयाँ पनि हिनामिना नगरेको बताएका छन् ।
गत वर्ष प्राप्त भएको ससर्त र पुँजीगत रकम १२ करोडबाट नै शिक्षक र स्वास्थ्यकर्मीहरूलाई तलब खुवाएको र दिवा खाजाका लागि पनि रकम वितरण गरेको मेयर पटेलले बताएका छन् ।
त्यस्तै बाँकी रकम जयकिसान उच्च मावि, धरहरीको नमुना विद्यालयका लागि ५० लाख विद्यालयको खातामा पठाएको, देवाही स्कुलका लागि १६ लाख रुपैयाँ विनियोजन गर्नुका साथै नगरको अन्य विकास निर्माणको काममा खर्च गरेको मेयर पटेलले बताए । असार मसान्तमै नगरसभा सम्पन्न भए पनि मेयर र उपमेयरबीचको आरोप प्रत्यारोपका कारण बन्दसत्रको काम अगाडि बढ्न नसक्दा नगरका विकास–निर्माणको कामकाज प्रभावित भएको छ ।
—ओमप्रकाश यादव