समीर रेग्मी
मंगलबार, माघ ७, २०७६
309

पछिल्लो समयमा अमेरिका चीनबीचको सम्बन्धमा व्यापारयुद्धका कारण तनावको अवस्था सिर्जना भएको थियो । हुवावेले आपूmलाई विश्वकै ठूलो स्मार्टफोन कम्पनीको रूपमा उभ्याउने प्रयास गरिरहँदा अमेरिकाले उसको बाटोमा रोकावट पैदा गर्ने प्रयास गरिरहेको छ । यसैको प्रतिक्रियास्वरूप अमेरिकाको अनुरोधमा क्यानडाले मेङलाई पक्राउ गरेको थियो । हाल उनको प्रत्यर्पणका लागि क्यानडेली अदालतमा सुनुवाइ सुरु भएको छ । चीनले यसको विरोध गरेको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्त राज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको संकेत गरेको छ ।
क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले बेइजिङलाई चकित पारेको थियो ।

सूचना प्रविधिका क्षेत्रमा महान् शक्ति बन्ने चीनको महŒवाकांक्षालाई हुवावेले प्रतिनिधित्व गरिरहेको छ, तर हुवावे वर्षौंदेखि अमेरिकाको सुरक्षा चिन्ताको विषय बनेको छ । बेइजिङले मेङको मामिलालाई चीनको उदयलाई रोक्ने अमेरिकी कदमका रूपमा हेर्छ ।”
“यो चिनियाँ सरकारको सर्वोच्च प्राथमिकताको मुद्दा हो । तिनीहरू असाध्यै मूर्ख छन् । उनीहरूले यो मुद्दालाई नजिकबाट नियालिरहेका छन्,” ब्रिटिस कोलम्बिया विश्वविद्यालयको एसियाली अनुसन्धान संस्थानका अनुसन्धाता वेनरान जियाङले बताए ।
वासिङ्टनले हुवावेमाथि अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरी इरानमा हङकङको एक बैंकमार्फत हुवावेका उपकरणहरू बिक्री गरेको आरोप लगाएको छ । इरानसँगको व्यापारिक कारोबारमा हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङले एचएसबीसी बैंकलाई भ्रमित पारेर धोका दिएको अमेरिकी आरोप छ ।
क्यानडाको एक अदालतबाट देश छाड्न नपाउने गरी जमानतमा मुक्त भएकी मेङ भ्यानकुभरमा आफ्नै स्वामित्वमा रहेका घरमा बस्दै आएकी छन् । उनले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेकी छन् । मेङको प्रतिरक्षा गरिरहेका वकिलहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका टिप्पणीहरूबाट यो मुद्दा राजनीतिक प्रेरित रहेको पुष्टि भएको दाबी गरेका छन् ।
हवाई उडान परिवर्तन गर्ने क्रममा डिसेम्बर २०१८ मा भ्यानकुभरमा क्यानडाली अधिकारीहरूले मेङलाई गिरफ्तार गरेका थिए । यसै दिन ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार वार्ताका सन्दर्भमा भेटघाट पनि भएको थियो ।
अभियोजकहरूले मेङको मामला व्यापार विवादबाट अलग रहेको जनाएका छन् । तर, ट्रम्पले व्यापार वार्तामा मद्दत पुग्ने अवस्था देखिए आफूले मुद्दा सुल्झाउन हस्तक्षेप गर्ने बताएर यो मुद्दा राजनीतिक प्रेरित रहेको संकेत गरेका थिए ।
गत हप्ता चीन र अमेरिकाबीच पहिलो चरणको व्यापार सम्झौता भएको थियो, तर धेरै विश्लेषकहरूको विचारमा अमेरिकाको मुख्य चासोको सूचना प्रविधिको विषयलाई सम्बोधन गर्न वर्षौं लाग्नेछ ।
ट्रम्पले हुवावेको भाग्य व्यापार वार्तामा मोलतोलको रूपमा प्रयोग गर्ने सम्भावना देखाएका भए पनि बुधबार घोषणा गरिएको सम्झौतामा कम्पनीका विषयमा केही उल्लेख गरिएको छैन ।
मोबाइल फोनसेट र इन्टरनेट कम्पनीहरूका लागि हुवावे नेटवर्क गियरको सबभन्दा ठूलो विश्वव्यापी आपूर्तिकर्ता हो । वासिङ्टनले हुवावेका प्रविधिको प्रयोग सीमित गर्न अरू देशहरूलाई दबाब दिएको छ । हुवावेका उपकरणहरु देशको सुरक्षाका दृष्टिबाट निकै जोखिमपूर्ण रहेको अमेरिकी आरोप छ ।
“मेरो विचारमा यो वैचारिक मोर्चासँगै प्राविधिक युद्धको सुरुवात हो,” टोरोन्टो विश्वविद्यालयका प्राध्यापक लिनेट ओङले बताए । “तपाईंले अबको विश्व दुई भागमा विभाजित भएको देख्नुहुनेछ । एउटा पक्षले चिनियाँ कम्पनीहरूका उपकरण प्रयोग गर्नेछन् भने अर्को पक्षले चिनियाँ कम्पनीहरूका सामान बहिस्कार गर्नेछन् ।”
वासिङ्टनस्थित रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका जेम्स लेविसले अमेरिकाले मेङलाई पक्राउ गर्दा हुवावेले जानाजान प्रतिबन्धहरू उल्लंघन गरेका आफूसँग बलिया प्रमाणहरु रहेको दाबी गरेको बताएका छन् ।
“अब चीन विकासशील मुलुक मात्र हो भन्ने छैन, चीन अब विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको बलियो मुलुक भइसक्यो । अब चीनले जिम्मेबार भएर प्रस्तुत हुनुबाहेक अर्को विकल्प छैन,” लेविसले बताए ।
मेङको प्रत्यर्पण सुनुवाइका क्रममा उनले अमेरिकी र क्यानडाली कानुनको उल्लंघन गरे नगरेको बारेमा बहस हुनेछ । मेङका वकीलहरूले शुक्रबार एउटा प्रस्ताव पेस गरेका छन् जसमा मेङमाथि धोखाधडीको मुद्दा नभई अमेरिकी प्रतिबन्धहरूका बारेमा मात्र हो भनिएको छ । क्यानडाले इरानमाथि समान प्रतिबन्ध लगाएको छैन ।
यो प्रत्यर्पण मामला समाधान गर्न केही वर्ष लाग्न सक्छ । वास्तवमा क्यानडाबाट संयुक्त राज्य अमेरिकामा हुने सबै प्रत्यर्पण अनुरोधलाई क्यानडाली न्यायाधीशले अनुमोदन गर्नुपर्छ ।