कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६
294

 
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गएको तीन वर्षमा सुदूरपश्चिममा दुर्घटना बढेसँगै मृत्यु हुनेको संख्यामा समेत बढोत्तरी देखिएको छ ।

महेन्द्रनगर - सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न नीति अवलम्बन गरे पनि दुर्घटना न्यूनीकरणमा कमी आएको छैन ।
पछिल्लो तीन वर्षयताको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दो रूपमा रहेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गएको तीन वर्षमा सुदूरपश्चिममा दुर्घटना बढेसँगै मृत्यु हुनेको संख्यामा समेत बढोत्तरी देखिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा १ सय ८४ जना दुर्घटनामा परेकोमा १ सय ३२ जनाको मृत्यु भएको छ । यसैगरी आर्थिक वर्ष २०७४-०७५ मा १ सय ६४ जना दुर्घटनामा परे भने १ सय ६६ जनाले ज्यान गुमाउनुप¥यो ।
त्यसैगरि २०७५-०७६ मा हालसम्म दुर्घटना हुनेको संख्या २ सय ३४ पुगेको छ, जसमध्ये २ सय २३ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु ओसार्ने र नाजुक सडकका कारण दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रमुख लोकेन्द्र श्रेष्ठले बताए । उनले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि प्रयासरत रहे पनि शतप्रतिशत न्यूनीकरण गर्न नसकेको बताए ।
“पहिलेको भन्दा तुलनात्मक रूपमा कम भएको पाइन्छ ।” प्रमुख क्षेष्ठले भने, “दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रु पनि सचेत हुन आवश्यक छ ।”
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य गरेको बताए ।
“अहिलेसम्मको स्थिती हेर्दा चालकको लापरवाही, मापसे र दक्ष चालक नहुनु नै हो,” उनले भने, “चालकको व्यवहारमा परिवर्तन र दक्ष चालक भए केही हदसम्म न्यूनीकरण हुन्छ ।”
उनले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीको दायरामा ल्याएको बताए । ट्राफिक प्रहरीको तथांकअनुसार सुदूरपश्चिम प्रदेशको कैलालीमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ ।
कार्यालयका अनुसार कैलालीमा गएको ३ वर्षमा २ सय ८८ जनाको मृत्यु भएको छ । त्यसैगरी पहाडी जिल्ला अछाममा सबैभन्दा कम दसर्घटना हुने गरेको प्रहरीले जनाएको छ । गएको ३ वर्षमा दुर्घटनामा परी अछाममा ९ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकेन्द्र श्रेष्ठले बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरी विभिन्न कार्ययोजनाका साथ अघि बढेको बताए ।
—चन्द्रकान्त जोशी