कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
341

‘नेपाल भ्रमण वर्ष–२०२०’ सुरु भएको दुई हप्ता बितिसकेको छ । स्मरणीय छ, ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को औपचारिक उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयक्त रूपमा काठमाडौं स्थित दशरथ रंगशालामा भव्य रूपमा गर्नुभएको थियो । सो क्रममा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकीको प्रदर्शनी पनि गरिएको थियो ।
नेपालको समग्र पर्यटनका बारेमा भन्नुपर्दा हालसम्म बर्सेनि कति जना विदेशी पर्यटकले नेपाल भ्रमण गर्छन् ? भन्ने पनि उल्लेख गर्नैपर्ने हुन्छ । त्यसैले यहाँ नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले सन् २०१८ मा प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’ नामक किताबमा उल्लिखित तथ्यांकमा उल्लेख गरिएको छ । सो तथ्यांकमा उल्लेख भएअनुसार सन् १९६४ मा ९ हजार ५ सय २६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको उल्लेख गरिएको छ । स्मरणीय छ, सो वर्ष नेपाल भ्रमण गर्ने ९ हजार ५ सय २६ जना विदेशी पर्यटकमध्ये ८ हजार ४ सय ३५ जनाले हवाई जहाजमार्फत नेपाल भ्रमण गरेका थिए भने १ हजार ९१ जनाले सडकको माध्यमबाट नेपाल भ्रमण गरेका थिए ।

तर, सन् १९६५ मा भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या १.४ प्रतिशतले घटेको थियो । सो वर्ष ९ हजार ३ सय ८८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । तर, सन् १९६६ देखि सन् १९८० सम्म भने लगातार रूपमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या बढेको देखिन्छ । सन् १९८१ मा भने, फेरि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ०.८ प्रतिशतले घटेको थियो । यसरी हेर्दा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या अपवादका रूपमा केही वर्ष बाहेक लगातार बढिरहेको देखिन्छ । भलै देशमा द्वन्द्वकाल चरम अवस्थामा पुगेको समय (सन् २०००, सन् २००१, सन् २००२, सन् २००३, सन् २००४) मा भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या आधा वा ४०–४५ प्रतिशतसम्म पनि घटेको अवस्था थियो । त्यसपछि सन् २००६ मा आएको राजनीतिक परिवर्तनपछि छाएको शान्ति र राजनीतिक स्थिरताका कारण नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या फेरि लगातार रूपमा बढ्यो । तर, सो क्रम सन् २०१५ मा आएको भूकम्प र अघोषित भारतीय नाकाबन्दीका कारण फेरि एकैचोटि ३२ प्रतिशतले घटेको थियो ।
होस्, जे सन् २०१५ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या एकैचोटि ३२ प्रतिशतले घटे तापनि त्यस यता अर्थात् सन् २०१६, सन् २०१७ र सन् २०१८ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढी रहेको थियो । तर, यो क्रममा फेरि सन् २०१९ मा आएर ब्रेक लाग्यो । किनभने, हालै आएको तथ्यांकअनुसार सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या १.७ प्रतिशत घटेको छ । सो तथ्यांकअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा ११ लाख ५२ हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । यसरी हेर्दा सन् २०२० मा २० लाख विदेशी पर्यटकको संख्या पु-याउन धेरै कठिन देखिन्छ । किनभने, यो वर्ष अर्थात् सन् २०२० को एकै वर्षको अवधिमा एकैचोटि ८ लाख ४९ हजार चानचुन विदेशी पर्यटक भित्र्याउनु भनेको ख्याल–ठट्टा हुँदै होइन । किनभने, सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउनका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या लगभग ८० प्रतिशतले बढोत्तरी गर्नुपर्ने देखिन्छ ।
किनभने यसका लागि छिमेकी देशहरू भारत र चीनलाई विशेष आग्रह गरेर ‘उनीहरूका देशका नागरिकलाई सहुलियत दिएर नेपाल भ्रमणमा पठाउन आग्रह गर्नुपर्ने हुन्छ, अन्यथा नियमित ढंगले आउने विदेशी पर्यटककै संख्यालाई आधार मानेर हेर्दा सन् २०२० मा कुनै पनि हालतमा २० लाखको संख्या नपुग्ने पक्का छ ।
–निनाम कुलुङ ‘मंंगले’