दिलबहादुर केसी
मंगलबार, पुष १, २०७६
659

दोलखा-मेलुङ गाउँपालिकामा २ महिनाको बीचमा २ वटा महोत्सव भएको छ । सुन्तला पकेट क्षेत्रको रूपमा परिचित मेलुङ गाउँपालिका– १ पवटीमा २ दिने सुन्तला महोत्सव आइतबार मात्र सकिएको छ । यो मेलुङको दोस्रो महोत्सव हो । गएको कात्तिक पहिलो साता वडा नं. ३ मा आलु महोत्सव गरेको थियो ।
पुस महिना सुन्तलाको सिजन भएकाले सुन्तला महोत्सव गरेको हो । महोत्सवमा गाउँका किसानहरूले उत्पादन गरेका सुन्तला स्टलमा राखिएको थियो । व्यापारीहरू आएका किसानकै बगैंचाबाट लैजाँदा एक सय रुपैयाँमा बिक्री भए तापनि महोत्सवमा किसान आफैंले त्यसको बजारभन्दा ५० प्रतिशत कम मूल्यमा बिक्रीमा राखे ।

सुन्तला महोत्सवको उद्घाटन गर्न आएका ३ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सुन्तलालाई लामो समयसम्म भण्डारण गरी राख्न एक वर्षभित्र पवटीमा चिस्यान केन्द्र बनाउने घोषणा गरे । मन्त्रीको घोषणाले किसानहरू उत्साहित देखिएका छन् । तर, कार्यान्वय पक्ष हेर्नुपर्नेमा किसानहरूको प्रतिक्रिया छ ।
महोत्सवको दोस्रो दिन सुन्तला खेती, रोग कीराबाट बच्ने उपायका बारेमा विज्ञले प्रस्तुत गरेका कार्यपत्रका बारेमा किसानहरूसँग छलफल भयो । किसानहरूले विज्ञ र गाउँपालिकाका पदाधिकारी र प्रदेश सांसद विशाल खड्कासँग रोगकिराले सुन्तला नष्ट हुन लागेकोमा ध्यानाकार्षण गरे । किसानहरूले अमिला जातका फलफूलमा केही वर्षदेखि बाहिर राम्रो देखिए तापनि भित्र कीरा पर्ने समस्याले सताएको किसानहरूले बताए ।
‘वर्षौंदेखिका रुख रोग किराले सतायो’ सुन्तला किसान बालकृष्ण ओलीले भने, “पहिलो रोक कीरा नियन्त्रण गरे सुन्तला उत्पादन बढाउन सकिन्छ ।” रोग कीराकै कारण वर्षौंदेखिका बोटसमेत मरेको छ भने किसानहरू पलायन हुन थालेका छन् । प्रदेश सभा सांसद विशाल खड्काले देशले समृद्धि हाँसिल गर्ने एक मात्र नारा अघि सारेकाले त्यसका लागि किसानहरू व्यवसायीकरण लगाउनु अहिलेको चुनौती रहेको बताए । उनले स्थानीय तह र प्रदेश सरकार कृषिलाई व्यवसायिकरण गर्न लाग्न आग्रह गरे ।
मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले कृषिको विकासलाई मुख्य ध्यान दिएर गाउँपालिकाले योजना तर्जुमा गरेको जानकारी दिए । फलफूल र तरकारी उत्पादनका हिसावले मेलुङ गाउँपालिका उत्कृष्ट रहेको बताए । सुन्तला वडा नं. १, २, ४ को तल्लो क्षेत्र र ६ र ७ मा समेत उत्पादन हुन्छ ।
पवटीका सुन्तलाका लागि तामाकोसी, चरिकोट र रामेछापका व्यापारीले बगानबाटै उठाउँदै आएका छन् । लामो समयदेखि फलफूल खेती गर्दै आएका नेपाली काँग्रेस दोलखाका पूर्वसभापति सरकारले किसानका समस्या पहिचान गरेर योजना बनाउन सरकारसँग माग गरे ।
मेलुङको पवटीबाट मात्र वार्षिक २ करोडभन्दा बढीको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको उत्पादन बढाउन पनि महोत्सवले भूमिका खेल्ने गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए । महोत्सवबाट आएको सुझाव र पृष्ठपोषणका आधारमा रोग किरा नियन्त्रण, बगैंचा बढाउन र चिस्यान केन्द्र तयार गर्न गाउँपालिकाले योजना बनाउने बताए ।
तस्बिरः महोत्सवमा राखिएको स्टलमा सुन्तला खरिद बिक्री हुँदै ।