गोविन्द चापागाईं
शुक्रवार, मंसिर २०, २०७६
2350

भनिन्छ, पर्यटक भनेका पाहुना हुन् । पाहुनाको आदरसत्कार गर्नु तपाईं–हामी सबैको जिम्मेवारी हो । पर्यटकको आगमनबाट नै पर्यटकीय उद्योगमा सकारात्मक प्रभाव हुनु नै देशको अर्थतन्त्रमा केही सुधार ल्याउन सकिन्छ । जुन देशमा पर्यटक अत्यधिक वृद्धि हुन्छ त्यस देशको अर्थतन्त्र पनि धेरै राम्रो हुन्छ । विश्वको यस्ता देशहरू छन् जुन आत्याधिक पर्यटकहरू भित्रिने गर्छन् ।
सिङ्गापुर, हङकङ, दुबई, मलेसिया, थाइल्यान्ड, युरोपमा फ्रान्स, रोम, जर्मनी, स्विट्जरल्यान्ड, लन्डनलगायत ठाउँहरूमा पर्यटकहरू अत्यधिक जाने गर्छन्, ब्राजिल, अमेरिका, क्यानडा मात्र होइन, विश्वका कुनाकन्दराबाट पनि हाम्रो प्यारो देश नेपाल घुम्न विदेशी पर्यटकहरू विभिन्न मौसम मिलाएर बर्सेनि आउने–जाने गर्छन् । त्यस्तै गरी हाम्रो देश नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षको राम्रो सम्भावना भएकाले गर्दा पनि हजारौं पर्यटक आउने गर्छन् ।

यहाँको प्राकृतिक स्रोत जस्तै हिमाल, पहाड, तालतलैया अवलोकन गर्छन् भने रक क्लाइम्बिङ, ¥याफ्टिङ, क्यानोनिङ ट्रेकिङ गर्छन् । यिनीहरूसँगै रमाउने पर्यटक प्रकृतिप्रेमी हुन्छन् । यहाँको सुन्दर तस्बिर खिच्न मन पराउँछन् भने पाटीपौवा, मठमन्दिर अनि यहाँको संस्कृति, रीतिरिवाज, हस्तकलाबाट बनेका सामानहरूबाट पनि पर्यटकहरू धेरै आकर्षित हुने गर्छन् । यिनैको सेरोफेरोमा नेपाल पर्यटन भ्रमण वर्ष–२०२० नजिकिँदै आउँदैछ । नेपाल सरकारले पनि पर्यटन भ्रमण वर्ष– २०२० लाई सफल बनाउन पनि सबै क्षेत्रलाई आह्वान गरेको छ भने यसपालि २० लाख पर्यटकलाई समेत नेपाल भित्र्याउने लक्ष्य राखेको छ ।
सरकार तथा पर्यटक व्यवसायीहरूले अबको दिनदेखि नै मठमन्दिर पुनः निर्माण सम्पन्न गर्दै छन्, प्राकृतिक ठाउँहरूको अवलोकनका लागि सुरक्षा व्यवस्थाको पनि विशेष ध्यान दिइरहेका छन् । तालतलैयामा सुविधासम्पन्न होटल तथा लजहरू बन्ने क्रम जारी छ भने पर्यटकीय क्षेत्र सफाइका लागि पनि धमाधम अगाडि कामहरू बढिरहेको अवस्था छ । हाम्रो देशमा सबै ठाउँमा पर्यटन क्षेत्र आवागमनका लागि अत्यधिक राम्रो भएको ठाउँ हो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रो देश पर्यटकीय क्षेत्रमा अगाडि बढिरहेको अवस्था छ । जङ्गल सफारीका लागि चितवनको सौराह, तालतलैयाको लागि पोखरा, सुन्दर हिमशृंखलाका लागि मनाङ्ग, मुस्ताङ्ग तथा पूर्वी खण्ड, मठ मन्दिर तथा धार्मिक तथा एतिहासिक अवलोकन राजधानीको हनुमान ढोका पशुपति भक्तपुर दरबार ललितपुरको ऐतिहासिक मल्लकालीन तस्बिरहरू परम्परागत नाचगान तथा थुप्रै अवलोकन स्थानहरू छन् ।
धेरैले हाम्रो देशको मनमोहक एवं प्राकृतिक तथा ऐतिहासिक शैलीले नै पर्यटकहरूलाइ लोभ्याइरहेको हुन्छ । यति धेरै सम्भावना बोकेको हाम्रो देश २० लाख मात्र पर्यटक होइन, त्योभन्दा धेरै पर्यटक आउने निश्चिति छ । तर यसका लागि धेरै गृहकार्य गर्नु जरुरी पनि छ । पर्यटकहरूको आदार सत्कारदेखि स्वदेश नफर्कुन्जेलसम्म उचित व्यवस्थापन गर्नुपर्छ भने पर्यटकीय क्षेत्रहरूलाई संवेदनशील भएर सुरक्षा प्रवद्र्धनमा पनि विशेष ध्यान दिनु जरुरी छ । जति पनि पर्यटक हिँड्ने पदमार्ग, जलमार्गलगायत ठाउँमा राम्रो सुरक्षा तथा होटल, लजहरूको पनि राम्रो प्रबन्ध हुनुपर्छ ।
जति धेरै पर्यटक भित्रिन्छन् त्यति धेरै देशको अर्थतन्त्र पनि सुधार हुँदै जान्छ । मुलुकको अर्थतन्त्र सुधारमा पनि पर्यटकको विशेष भूमिका रहेको हुन्छ । जति पनि देशहरू विकशित छन्, प्रायः सबै आन्तरिक तथा बाह्य पर्यटकको आगमनले विकास भएको हो । त्यसैले कुनै पनि मुलुकको अर्थतन्त्र सुधार गर्नु छ भने पर्यटक आगमनलाई सहज रूपमा वृद्धि–विकास गर्दै लानुपर्छ । प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गरी स्वदेशमनै आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउँदै लानु आजको आवश्यकता पनि हो ।