ज्योति खतिवडा
शुक्रवार, मंसिर ६, २०७६
931

 

सुविधासम्पन्न सहरका रूपमा नाम चलेको राजधानी नै अस्तव्यस्त भएको अवस्थामा झन् अरू ठाउँको अवस्था कस्तो होला ?

उपत्यकामा बढ्दो सवारी साधन व्यवस्थापन दिन–प्रतिदिन जटिल बन्दै गइरहेको छ । उपत्यकाको प्रमुख चोकहरूमा दैनिक घण्टौंसम्म जाम परेको हामीले देखिरहेका, भोगिरहेका छौं । दिनरात अहोरात्र सडकमा घामपानीको प्रवाह नगरी खटिएका सयौं ट्राफिक प्रहरी सवारी साधन व्यवस्थापनमा लागिरहेका हुन्छन् । सडक पहिलेभन्दा चौडा बनाउने काम पनि भइरहेको छ । सहायक मार्गहरू पनि खुलिरहेको अवस्थामा पनि किन सडकहरू अव्यवस्थित हुँदै गएका छन् । पाँच मिनेटमा पुग्ने ठाउँमा किन घण्टौ समय लाग्ने गर्छ ?
सवारी साधन निर्वाध रूपमा सञ्चालन गराउन उपत्यकाका प्रमुख चोकहरूमा २०–२५ वटा ट्राफिक लाइट जडान भएकामध्ये लगभग हातले गन्न सक्ने ४–५ ठाउँ मात्रै सञ्चालनमा रहेको पाइन्छ । अरू बाँकी रहेका लाइटहरू जीर्ण अवस्थामा देखिन्छन् । यसरी बढ्दै गइरहेका सवारी साधनले वातावरणमा पनि प्रतिकूल प्रभाव पारिरहेका छन् । सडक आसपासमा भएको धूलो, धूवाँ प्रदूषणले सहर दिनदिनै कुरूप बन्दै गइरहेको छ । सुन्दर तथा व्यवस्थित सहर बनाइराख्न कहिलेसम्म हात हल्लाई–हल्लाइ तथा सिट्ठी फुकेर ट्राफिक व्यवस्थापन गर्ने ? यसबारे सरकार तथा सम्बधित निकायले सोच्ने बेला आएको होइन ।

विश्व २१ औं शताब्दीमा पुगिसकेको अवस्थामा हामीले पनि विकसित राष्ट्रहरूको ट्राफिक व्यवस्थापन अनुसरण गर्दै परम्परागत पद्धतिलाई विस्थापित गरेर अगाडि बढ्ने बेला आइसकेको छ । सुन्दर, हराभरा तथा व्यवस्थित सहरमा परिणत गर्न सञ्चालनमा रहेका ट्राफिक लाइटहरू व्यवस्थित गर्दै बिग्रेर बसेका लाईटहरू पुनः निर्माण गर्दा थोरै भए पनि ट्राफिक व्यवस्थापनमा सहयोग पग्ने थियो कि ?
त्यस्तै अति व्यस्त चोकहरूमा सवारी साधन आवतजावतका लागि फ्लाईओभरहरू निर्माण गर्न सके अहिले भइरहेको ट्राफिक जाम व्यवस्थित तथा अन्त्य हुने थियो कि ? त्यस्तै मानिसहरूको बढी आवतजावत हुने ठाउँमा जेब्रा क्रस तथा आकाशे पुलहरूको निर्माण तथा भइरहेकालाई अझै व्यवस्थित गर्दा सहर सुुन्दर तथा सफा हुने थियो कि ?
यसरी बढ्दो सवारी साधन व्यवस्थापन तथा नियन्त्रण गर्न सरकार तथा ट्राफिक व्यवस्थापन विभागले बृहत् रूपमा अध्ययन तथा विज्ञहरूको राय–सुझाव लिएर अहिले भइरहेको ट्राफिक जामबाट मुक्ति पाउन तथा सवारी साधन सजिलो तरिकाले सञ्चालन गर्न नयाँ–नयाँ नीति–नियम तर्जुमा गर्नु अति आवश्यक भइसकेको देखिन्छ । सुविधासम्पन्न सहरका रूपमा नाम चलेको राजधानी नै अस्तव्यस्त भएको अवस्थामा झन् अरू ठाउँको अवस्था कस्तो होला ? दैनिक हजारौं विदेशी पर्यटक आउने–जाने उपत्यकाको ट्राफिक अवस्था देखेर उनीहरूले नेपालको कस्तो सन्देश लिएर जान्छन् होला, यसबारे पनि केही सोच्ने हो कि ? भ्रमण वर्षमा यतिउति पर्यटक भित्र्याउने भन्दै ठूल्ठूला कुरा गर्छौं । तर, ठूल्ठूला व्यक्तिहरूको भ्रमण हुँदा रातारात सडक चम्काउने प्रवृत्ति कहिलेसम्म गर्ने ?
कतै सडक निर्माण गर्न सुरु गरेर त्यत्तिकै अलपत्र छोडिन्छ । कतै सडक बन्छ, पुल बनेको हुँदैन । त्यस्तै अव्यवस्थित सहरीकारण, व्यवस्थित पर्किङको अभावले पनि ट्राफिक व्यवस्थापन झन्झटिलो भएको पाउँछौं । अब बोलीले मात्रै समृद्धिको कुरा नगरौं, कामले पनि गर्ने हो कि ? भएका संरचनाहरूलाई व्यवस्थित गर्दै विकासका नयाँ नयाँ पूर्वाधारहरूको तीव्र रूपमा अगाडि बढौं । अब पनि हाम्रा सडक संरचनाहरू व्यवस्थित तथा समयअनुकूल परिमार्जन गर्दै गएनौं भने अब आउने सन्ततिले हामीले भन्दा धेरै दुःखकष्ट भोग्नुपर्ने दिन नआउला भन्न सकिन्न ।