गोविन्द चापागाईं
बुधवार, मंसिर ४, २०७६
1216

 

वनजंगल र चराचुरुङ्गीको त कुरै नगरौँ, निकट भविष्यमा यी सब लोप हुने अवस्थामा पुगिसकेका छन् ।

पहिले राजधानीको जनसंख्या अत्यन्तै न्यून थियो । खेतीयोग्य जमिनहरू प्रशस्तै थिए । सबैतिर हरियाली उर्वर भूमिहरू देखिन्थे । चारैतिर मनमोहक पहाडहरूको दृश्य र चाँदीजस्तो टल्कने सेता हिमालहरूले त झन राजधानीको स्वरूप नै परिवर्तन भएको थियो । प्राकृतिक स्वरूपको परिवर्तनले राजधानीलाई झनै सुन्दर तुल्याएको अवस्था देखिन्थ्यो भने नदीनाला, रूख, पहाडका फेदीबाट निस्कने पानीका मुहान र ती गाउँबस्तीमा सुनिने कलकलाहटले त झनै आनन्दित तुल्याउँथ्यो ।
त्यतिबेला प्रत्येक राजधानीवासीको घरघरमा गाईपालन हुन्थ्यो भने आयस्रोत पनि राम्रै थियो । त्यति बेलाको आयस्रोत भनेकै विशेष बालीबाट उत्पादन भएका खाद्यान्न तथा गाईवस्तुबाट उत्पादित दूध–दही हुन्थ्यो । विभिन्न पेसागत रूपमा श्रम गरी आय आर्जन गर्थे । जीवनयापन पनि राम्रै थियो ।

तर, पछिल्लो समय राजधानी कङ्क्रिटै कङ्क्रिटले भरिएको छ । राजधानीको हरेक ठाउँ विकासका पूर्वाधारले भरिपूर्ण भएको छ । जनसंख्या वृद्धिले गर्दा जथाभावी जमिन मासी बस्ती बसिरहेको देखिन्छ । वनजंगल र चराचुरुङ्गीको त कुरै नगरौँ, अब त झन् निकट भविष्यमा यी सब लोप हुने अवस्थामा पुगिसकेका छन् ।
अहिले राजधानीको ग्रामीण भेगमा कहीँ–कतै मात्र गाई पालेको देखिन्छ । सहरी क्षेत्रमा भने झन् कहीँ पनि गाई पालेको देखिँदैन । बरु सबैका घरघरमा महँगा–महँगा कुकुर मात्र पालेका देखिन्छन् ।
अहिले राजधानीको वातावरण पूरै प्रदूषित भएको अवस्था छ । ढल निकासको व्यवस्था नहँुदा फोहोरहरू सीधै नदीमा मिसिरहेको अवस्था छ । बाग्मती त्यसै प्रदूषित छ, मनोहरा र धोबीखोलाको अवस्था पनि उस्तै छ ।
राजधानीमा धूलो–धूवाँले गर्ने प्रदूषण, कलकारखानाबाट निस्कने धूलो–धूवाँलगायतले गर्दा राजधानीको सौन्दर्यमाथि नै प्रश्न गर्ने बेला आएको छ । यो सबै तीव्र जनसंख्या वृद्धि र अव्यवस्थित सहरीकरणले हुने विज्ञहरू बताउँछन् ।
निकट भविस्यमा यसको समाधान नहुने हो भने यसले राजधानीको वातावरणीय पर्यावरणमा नराम्रो असर पुग्ने देखिन्छ । कहाँ गए ती सफा, हराभरा जमिनहरू ? कहाँ गए ती सफा नदीहरू ? कहाँ गए ती विभिन्न थरीका चरा–चुरुङ्गीहरू ? कहाँ गए ती हराभरा वनजंगलहरू ? अब यी सबै सम्झनामा मात्र सीमित हुने भए ।
असम्भव भन्ने कुरा केही छैन । गरे के हँुदैन । अहिले महानगरपालिकाले पनि वातावरण पर्यावरणलाई हराभरा बनाउन प्रत्येक घरघरमा एक घर एक रूख हुनुपर्ने प्रावधान निकालेको छ । स्वच्छ वातावरणमैत्री पार्क निर्माण भइरहेका छन् । विभिन्न ठाउँमा नदी सफाइ योजनाहरू तदारुकताको साथ अगाडि बढिरहेको छ ।
उदाहरणका लागि बाग्मतीको छेउमा करिडोर निर्माण भई वृक्षारोपण कार्य भएको छ भने धोबीखोलामा पनि करिडोर निर्माण भई खोलाको दायाँ–बायाँ रूखबिरुवा रोपिएका छन् । धेरै ठाउँमा महानगरपालिका राजधानीलाई सौन्दर्ययुक्त बनाउन विभिन्न योजनाबद्ध तरिकाले अगाडि बढिरहेको अवस्था छ ।
तर आजभोलि तीव्र जनसंख्या वृद्धि र आधुनिक सहरीकरणको चापले पहिलेको तुलनामा चाहीँ राजधानीमा गाईपालनमा भने निकै कमी आएको देखिन्छ । अझै यो अवस्था लम्बिने हो भने निकट भविष्यमा राजधानीमा गाईपालन नै लोप होला भन्न सकिन्न ।