भगवान खनाल
बुधवार, मंसिर ४, २०७६
478

 

देश बनाउन एउटै व्यक्ति काफी हुन्छ जसले सपना देख्नैपर्छ, योजनाबद्ध भएर समयसापेक्ष रूपमा काम गर्नैपर्छ ।

देश विकास गर्न नेता र कर्मचारीमा को बुद्धिमान चाहिएला ? पक्ष–विपक्षमा विश्वमा गतिला–अगतिला उदाहरणहरू भेटिएलान् । त्यसको खोजी यस लेखले किन गर्दैन भने मेरा नेता न कर्मचारी विश्वका नेता, कर्मचारीका कार्य कौशल र नेतृत्व गुण अनुकरण गरेर बनेकै होइनन् । कसैको देवत्करण र दानवीकरण गर्ने विल्कुलै मनसाय होइन । नेपालको विकासका असली सूत्राधार को हुन् ? हिजोको राणाकाल र पञ्चायतकालमा मूल नेतृत्व एउटा हुन्थ्यो । शासक नै सबै थोक थियो, विकासमा पनि उसकै भूमिका हुन्थ्यो । उसको आदेश शिरोपर गर्नु कारिन्दा र अनुयायीको एकमात्र उद्देश्य बन्थ्यो ।
तर, बहुदलीय प्रजातन्त्रपछि अघिल्ला दुई कालमा भन्दा शासन प्रणालीमा भिन्नता आयो । प्रजातान्त्रिक शैली, गुण र चरित्र अपनायौं । यसरी हेर्दा नेतृत्व र कारिन्दाहरू सबै पदमा पुगे । कुर्सी र कुर्सीको वरपर पुगे । यसले शासन र राजनीतिमा साझा शक्तिको प्रयोग भयो । अघिल्ला शासन–व्यवस्थाको तुलनामा प्याराडाइम सिफ्ट भयो । प्रजातन्त्रकालमा विकासको रामनाम जति जपेपनि जनताको अपेक्षा बमोजिमको विकास भएन । धेरैलाई अप्रिय लागे पनि अहिलेको विकासको जग राजा महेन्द्रकालीन हो भन्नेहरू पनि नभएका होइनन् ।

प्रधानमन्त्रीले भनेको मन्त्री, सचिवले नमान्ने र लक्ष्यभेदन नहुने, मन्त्रीले भनेको सचिव र अन्य कर्मचारीले नमान्दा मन्त्रालय, विभाग, कार्यालयहरू अस्तव्यस्त बन्ने गरेका धेरै उदाहरण छन् । यो पुष्टि पछिल्लो समय लक्ष्यभेदनका लागि भन्दै गरिएको कार्यसम्पादन करारले पनि गर्छ । यसर्थ संघीय शासन व्यवस्थाको सुरुमै राजनीति गर्नेको आदर्शलाई कर्मचारीले ध्वस्त गर्ने प्रवृत्ति देखियो । उता स्थानीय तहमा कर्मचारी जनप्रतिनिधिसँग ज्ञान, बुद्धि भएन भन्छन् भने जनप्रतिनिधि कर्मचारीले गर्दा काम भएन भने द्वन्द्व छ । उता जनता भने नेता न कर्मचारी कसैका पनि बुद्धि नहुँदा दुःख पाइएको बताउँछन् ।
करिब ३ करोड जनसंख्यामा नेताको संख्या कति छ भन्ने यकिन तथ्यांक पनि छैन । नेता र कर्मचारीसँग को बुद्धिमान हो ? कोसँग कति बुद्धि छ ? त्यसको मापन कसले गर्ने ? देश विकासका लागि बुद्धिमान नेता कि कर्मचारी भन्नेचाहिँ परस्परमा द्वन्द्वजस्तो देखिँदै आएको छ । विकासमा शासककै भूमिका बढी हुने हो वा स्थिर सरकारका रूपमा चिनिने कर्मचारीको भूमिका बढी हुने हो भन्ने नेपालमा स्पष्ट हुन सकेको छैन । नेता वा कर्मचारीको बुद्धिको परख कसरी गर्ने ? देश विकासका लागि नेता र कर्मचारी कसको बुद्धिले बढी काम गर्ला ? कोसँग बढी बुद्धि चाहिएला ? प्रश्नहरु अनुत्तरित छन् ।
खासमा सबैसँग बुद्धि हुन्छ, किनकि जन्मदा कोही पनि रित्तो वा खाली दिमाग लिएर जन्मन्न । यो धुव्रसत्य हो । बुद्धि जन्मजात र वंशाणुगत तŒव भए पनि यसको विस्तार वातावरण हुने भएकाले बुद्धि वंशाणुगत र वातावरणीय तŒव हो । यसैले किसान, गरिबका सन्तानले प्रगति गरेको पनि पाइन्छ भने धनी, अमिरका सन्तानले प्रगति गर्न नसकेको पनि उदाहरण पाइन्छ । बुद्धिलाई अनफोल्ड (विस्तार) गर्नुपर्छ । जुनसुकै पेसा, व्यवसाय, कार्यका लागि बुद्धि जहिले पनि नतिजाउन्मुख रहन्छ । राजनीति, अध्ययन, पेसा, व्यवसाय सबैतिर बुद्धिको मुख्य कार्य नै अपेक्षित नतिजा दिनु हो । क्षमतापूर्वक र फरक क्षमताका साथ कार्य गर्नु बुद्धिमानी हो । सामान्यतया जोसँग काम गर्ने क्षमता छ, अरूसँग भन्दा फरक क्षमता छ, निर्णय गर्ने क्षमता छ भने त्यो नै बुद्धिमानी हो ।
ज्ञान, विज्ञानको दुनियाँमा सबैसँग बुद्धि छ । कोही तेजिलो होला, कोही कम तेजिलो । कम उमेरमा बढी उमेरका मानिसले गर्ने काम गर्ने क्षमता राख्छ, त्यसरी कार्य सम्पादन गर्न सक्छ भने त्यो बढी तेजिलो हो भने उमेर भइकन पनि कम उमेरका मानिसले झैं व्यवहार देखाउनु कम बुद्धि हुनु हो । धेरै पढ्नेसँग उत्पात बुद्धि हुने र पढ्दै नपढ्नेसँग बुद्धि नहुने भन्ने छैन । वातावरणले बुद्धिको उजागरमा भूमिका खेल्छ । समस्या बनाउने, लुकाउने, बनाउने भन्दा समस्याको समाधान गर्ने, निकास दिने चाहिँ बुद्धिमान हो । अनुभवले मानिस खारिने पनि हो ।
अझ राजनीतिमा बुद्धिको सम्बन्ध पद, शक्ति, संगठनात्मक व्यवहारसँग जोडिन्छ । कम कक्षा पढेका र पिएचडीसम्म गरेका नेता प्रधानमन्त्री, मन्त्री भए । औपचारिक शिक्षा कम भए पनि अनौपचारिक शिक्षा प्राप्त गरी बुद्धिको आयतन फैलाएकाहरू पनि नेता, मन्त्री भए । तर, देशको विकासमा जादुको छडी भने कसैसँग पनि देखिएन । यद्यपि विगतदेखि नै हेर्ने हो भने जहानियाँ शासन व्यवस्था, एकात्मक शासनको ध्वंस गरेर संघात्मक शासन व्यवस्था आयो । यो युगीन परिवर्तन हो, तर यतिले मात्रै विकास र परिवर्तनको परख गर्न सकिँदो रहेनछ यस युगमा । माग पूर्वाधार, प्रविधि, धन र काममा धेरै परिवर्तनको छ, तर आपूर्ति भने अपेक्षाभन्दा कम भइरहेकाले जनताले सबै नेता र कर्मचारीलाई एकै डालोमा राखेर असन्तुष्टि जनाइरहेका छन् । चाहेर पनि गतिलो भन्न पाएका छैनन् । केही भएन भन्ने आम निराशा र मनोविज्ञान छ । नेताले आफ्नै पार्टी सपाट हाँकेका, संगठन चुस्तदुरुस्त बनाएका कमै देखिन्छ ।
पार्टीहरू जुट र फुट भइरहे पनि तिलस्मी र मृगतृष्णाले भरिएको राजनीतिक नेतृत्व स्थापित हुन सकेको छैन । नेकपाको गठजोड मात्र नेताको बुद्धिलाई परख गर्ने आधार मान्ने अवस्था छैन, किनकि त्यसको स्थायित्वको आधार बनिसकेको छैन । राजनीतिक नेतृत्वले सपना देख्नै पर्छ । कर्मचारी त पढेलेखेका नै हुन्छन् । तर उनीहरू घुस्याहा र भ्रष्ट आचरणका छन् । नेताले पढ्न नपाए पनि अनेक संघर्ष गरेर पढेकै हुन्छन् । औपचारिक रूपमा पढ्ने वातावरण नपाएका हाम्रा नेताहरूले जेलमा बसेर, संघर्षका मैदानमै पढेका उदाहरण धेरै छन् ।
एउटा अन्तर्वार्ताका क्रममा एक पूर्वप्रशासकले कर्मचारीमा दुई खाले प्रवृत्ति विद्यमान हुने बताएका थिए । तिनका अनुसार पहिलो खालका कर्मचारीहरू विगतमा जस्तो थियो त्यसैमा चल्ने स्वभावका हुन्छन् । जसले कुनै संस्थागत विकास, परिवर्तन र सुधारमा कुनै पनि जोखिम वा खतरा मोल्न चाहन्नन् । उनीहरू परम्परागत र जागिरे मात्रै हुन्छन् । सुशासनमा भन्दा पनि विगतमा जे थियो, त्यसैमा रमाउने खालका हुन्छन् । कम प्रजातान्त्रिक रवैया देखाउँछन् । अर्कोचाहिँ संस्थागत परिवर्तन र सुधारका लागि जोखिम मोल्न चाहने कर्मचारी, जसले संस्थाको हितलाई सर्वोपरी राख्छन् । गतिशील, सिर्जनात्मक र नागरिकलाई सुशासन दिन लालायित हुन्छन् । हामीलाई चाहिएको दोस्रो खालका कर्मचारी हुन् । सुशासनका लागि जोखिम पनि मोलिदिने । नेपाली सेनाका प्रमुखले संगठन सुधारका लागि एक वर्षयता जोखिम मोलेको सार्वजनिक गरे । विगतका सेनापतिहरूले विगतकै परम्परालाई शिरोपर गरे, आफू बने तर सेनामा लागेको दाग मेटाउने, धमिरा हटाउने, कुचक्र, कुशासन हटाउने कुनै जोखिम नमोलेको देखियो । भित्र हुने भ्रष्टाचार, अन्याय, मनपरीतन्त्रलाई पूर्वसेनापतिहरूले निर्मूल गर्न कुनै योजना बनाएनन् वा त्यस किसिमको जोखिम मोल्नै चाहेनन् भन्ने पुष्टि भयो ।
कुनै पनि उद्योग, कलकारखाना, कार्यालय, संस्थाको प्रगतिका सूत्रधार त्यसका साहूहरूभन्दा खासमा त्यहाँका कारिन्दा हुन । कारिन्दाले संस्थालाई चम्काउने काम गर्छन् । सञ्चारमाध्यममा दिनहुँ प्रवाह हुने विचारले पनि देश बन्दैन । देश चलाउने राजनीतिले नै हो र कर्मचारी चाहिँ नेतृत्वका सारथि हुन् । तर नेपालमा यी दुवैको गति, यति र लय मिल्न सकेको पाइन्न । देश बनाउन एउटै व्यक्ति काफी हुन्छ जसले सपना देख्नैपर्छ, योजनाबद्ध भएर समयसापेक्ष रूपमा काम गर्नैपर्छ ।