एजेन्सी
बिहिवार, कार्तिक २८, २०७६
292

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरूले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकाशको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिन पुगेको उनीहरूको भनाइ रहेको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदूषणको मात्रा अघिल्ला दिनहरूको तुलनामा बढेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्यूआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो । एक्यूआई ५०० पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराब रूपमा रहनु हो ।
हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तरप्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदूषणको मात्रा यति धेरै पुगेको ती समाचारहरूमा बताइएको छ । बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरूले जनाएका छन् । उक्त मापनअनुसार शून्यदेखि ५० सम्म एक्यूआईलाई राम्रो मानिन्छ भने ५० देखि १ सयलाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १ सयदेखि २ सयसम्मलाई मध्यम र २ सयदेखि ३ सय एक्यूआईलाई कमजोर मानिन्छ ।

त्यसैगरी ३ सयदेखि ४ सयसम्मको एक्यूआईलाई अति कमजोर र ४ सयदेखि ५ सयलाई कडा अर्थात् एकदमै खराब मानिन्छ । ५ सयभन्दा बढी एक्यूआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रूपमा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रहरूमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ । वायु प्रदूषणको यस्तो अवस्थाका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरू आइरहेका पनि समाचारमा जनाइएको छ । नयाँ दिल्ली र वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । विगत केही हप्तादेखि नै यहाँ सडक र वरपरको क्षेत्रका निर्माण कार्यहरू ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपूर्तिमा समेत अप्ठेरो परिरहेको छ ।
अघिल्ला वर्षहरूजस्तै यसपटक पनि चिसो मौसमको सुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो । यहाँकोे वायु प्रदूषित भएकाले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालयहरू पनि बन्द गरिएको बताइएको थियो । यसका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ । उनीहरूमा फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरू बन्द गरिएको हो । त्यसैगरी सबै नागरिकलाई पनि श्वास–प्रश्वासका साथै मुटुमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ ।
यस मौसममा नयाँ दिल्लीको आकाशमा सवारी साधनहरूको धूवाँ र धूलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगहरूबाट निस्किएको प्रदूषित मात्राका कारण यहाँको वायु प्रदूषित हुने गरेको बताइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै वायु प्रदूषण हटाउन आवश्यक पहल गरिएको बताएका छन् । दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा २० गुणासम्म बढी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकाशमा बढी मात्रामा वायु प्रदूषण हुन लागेको धेरै वर्ष भएको यहाँका अधिकारीहरूले जानकारी दिएका छन् । यहाँका मौसमविद्हरूले पनि प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताएका छन् । नयाँ दिल्लीको जनसंख्या ४ करोड ५० लाख छ । भारतीय राजधानी सहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ ।
नयाँ दिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । सवारी साधनबाट हुने प्रदूषणको मात्रा रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदूषण घट्न नसकिरहेको बताइएको छ । यातायातका साधनबाट निस्किने धूवाँ र अत्यधिक यातायातको चाप तथा आवागमनका कारण उडेको धूलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो ।