ज्ञानमणि नेपाल कालोटोपी
शुक्रवार, कार्तिक २२, २०७६
380

उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्कअनुसार उपत्यकामा मात्र प्रत्येक महिनामा करिब २ सयवटा सडक दुर्घटना हुने गरेका छन् ।

गत असोज २४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपामा बस दुर्घटना हुँदा १२ जना यात्रीको निधन भयो । ८० जनाभन्दा बढी घाइते भए । कात्तिक १५ गते पनि सिन्धुपाल्चोकबाट काठमाडौंका लागि छुटेको बस जर्सिङपौवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । कात्तिक १७ गते सिन्धुपाल्चोककै सुकुटेमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भयो भने ५२ जना घाइते भए । सोही दिन म्याग्दी र कैलालीमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो । कात्तिक १५ र १६ गते देशभर डेढ दर्जन बढी सवारी दुर्घटना भए, जसमा १८ जनाको मृत्यु भयो भने १ सय १३ जना घाइते भए । जसमा पूर्वसांसद रामलखन महतोको समेत निधन भयो ।
उल्लिखित घटना प्रतिनिधि घटना मात्र हुन् । नेपालको भौगोलिक अवस्था सडक निर्माणको बाधक रहँदारहँदै पनि यसमा पछिल्लो एक दशकयता केही उल्लेख्य कार्य भएका छन् । विकास–निर्माणका लागि पहिलो खुड्किलो भनेकै सडक यातायात हो भन्ने कुरालाई आत्मसात् गर्दै सरकारले यसका लागि प्रयास गरेकै हो । यसैक्रममा सन् २०१७ सम्ममा देशका सबै जिल्ला र सदरमुकामहरूमा सडकसञ्जाल जोड्ने सरकारको महत्वाकांक्षी योजना थियो, यद्यपि अहिलेसम्म पूरा हुन बाँकी नै छ । यतिखेरसम्म आइपुग्दा डोल्पा जिल्लाको दुने र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाहेक अरू ७५ जिल्ला सदरमुकामहरू सडक सञ्जालमा जोडिसकिएका छन् । ती जिल्लाहरूमा पनि सडकको ट्र्याक भने खोलिसकिएको र अबको केही महिनाभित्रैमा मोटर पु-याउने लक्ष्यसहित काम भइरहेको बताइएको छ । विगत पाँच वर्षदेखि काम हुदैँ आइरहेको डोल्पामा सडक पु-याउन ९३ किमि निर्माण सकिएको छ । यहाँ बस सञ्चालन गर्न सकिने अवस्था छ भने हुम्लाका लागि २ सय ३८ किमि सडकमध्ये ५८ किलोमिटर मात्रै बाँकी छ । यी दुवै क्षेत्रमा नेपाली सेनाले कामको जिम्मा लिएको छ ।

देशमा अहिलेसम्म भएका सडक निर्माणलाई सरसर्ती हेर्ने हो भने कुल ५२ हजार ८ सय ८३ किलोमिटर सडक निर्माण गरिएको छ । देशका साबिकका ४ सय १८ गाविसमा अहिलेसम्म मोटरबाटो पुगेको छैन । निर्माण गरिएको कुल सडकमध्ये ७३ प्रतिशत सडक अहिलेसम्म पनि धुलाम्मे सडककै रूपमा सञ्चालित छन्, जहाँ वर्षको पाँच महिना मात्र सवारी साधनहरू गुड्न सक्ने अवस्था छ । २४ प्रतिशत सडक ग्राभेल गरिएका छन् भने बाँकी ३ प्रतिशत सडक मात्र पक्की सडकका रूपमा निर्माण भएका छन् ।
अबको एक वर्षभित्रैमा सबै जिल्ला सदरमुकाममा सडक सञ्जाल जोडिने र सडक कालोपत्रे पनि गराउने सरकारको योजना छ । यसअघि निर्माण भइसकेका ७५ जिल्लामध्ये ६२ जिल्लामा वर्षैभरि गाडी चलाउन सकिन्छ भने १३ जिल्लामा मौसमी सडक सञ्चालनमा छ । वर्षायाममा चलाउन नसकिने जिल्लाहरूमा भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, मुस्ताङ, मनाङ, रुकुम, बाजुरा, जुम्ला, कालिकोट र मुगुलगायत छन् । तर, योजनाअनुरूप काम हुन सक्ने वा नसक्ने त्यो भने प्रतीक्षाकै विषय रहेको छ ।
हुन त सडक सञ्चालनमा रहेका धेरैजसो जिल्लामा पनि सन्तोषजनक अवस्था छैन । सडकहरू भरपर्दो नभएकै कारण दैनिक रूपमा दुर्घटनाहरू थपिंदा छन् । यसको जल्दो बल्दो उदाहरणका रूपमा भर्खरै मात्र भएका ठूला सडक दुर्घटनाहरूलाई लिन सकिन्छ ।
यस्तै दुर्घटनाकै हिसाबले हेर्दा धेरै दुर्घटना हुनेमध्ये कर्णाली राजमार्गलाई पनि लिन सकिन्छ । ०६२ सालदेखि निर्माण थालिएको यो राजमार्ग ०६६ सालमा सम्पन्न भएको र त्यसै वर्षदेखि बससेवा पनि सञ्चालनमा आएको थियो । बससेवा सुरु भए यता यस मार्गमा २ सय ९३ वटा सवारी दुर्घटना भइसकेका छन् भने २ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । २ सयभन्दा बढी मानिस अपाङ्ग भएका छन् । २ सय ३६ किलोमिटर लामो यस सडकमा ०७२ चैत्र २ गते पनि ठूलो दुर्घटना भयो । यसमा १८ जनाको निधन भएको थियो । अहिले जनता कर्णाली राजमार्गलाई मृत्युमार्गको नामले व्यङ्ग्य गर्न थालिसकेका छन् ।
सडक निर्माणमा भएको लापरवाही हो वा चालकहरूको बेवास्ता, यहाँ महिनैपिच्छे ठूला दुर्घटनाहरू भइ नै रहने गरेका छन् । यति मात्र होइन, राजधानीलाई बाहिरी जिल्लासँग सम्पर्क गराउने मुख्य पृथ्वी राजमार्गलाई पनि सरकारले समय अनुसार विस्तार गर्न सकेको छैन । घण्टौं जाममा पर्दै यहाँ पनि यात्रीहरूले सास्ती पाउने गरेका छन् भने सवारी दुर्घटना पनि उत्तिकै हुने गरेको छ । पछिल्लो केही वर्षयता मुग्लिन–नारायणघाट सडक मर्मत र विस्तारको क्रममा छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्कअनुसार उपत्यकामा मात्र प्रत्येक महिनामा करिब २ सयवटा सडक दुर्घटना हुने गरेका छन् । यसबाट झन्डै २० जनाको मृत्यु र ५ सयभन्दा बढी अपाङ्ग र घाइते हुने गरेका छन् । त्यस्तै उपत्यकाबाहिर पनि हिजोआज सडक दुर्घटनाको क्रम अकासिँदो छ । यसरी हेर्दा दैनिक सरदरमा ७ जनाको र वार्षिक २ हजार जनाको मृत्यु सवारी दुर्घटनाबाटै हुने गरेको छ । यो त प्रत्यक्ष देखिएका घट्नाहरू हुन् । नदेखिएका दुर्घटनाहरूको अवस्था त झन् भयावह छ । यसरी हुने गरेको सडक दुर्घटनाको मुख्य कारण चालकहरूको लापरवाही, साँघुरा र घुम्ती सडक, पुराना सवारी साधनहरूको समयमा मर्मत नहुनु र पैदल यात्रीहरूको हेलचेक्र्याइँ मुख्य रूपमा रहेका छन् ।
वर्ष २०७२ असोजदेखि मंसिरसम्मकै मात्र कुरा गर्ने हो भने सडक दुर्घटनाकै कारण यस अवधिमा करिब ३ सयभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए । ठूला दुर्घटनालाई सरसर्ती हेर्दा ०७२ असोज २० गते डोटीमा बस दुर्घटना भयो । यसमा ३० जना यात्रीको दुःखद निधन भएको थियो । असोज २३ गते नुवाकोटमा भएको बस दुर्घटनामा १८ जनाको ज्यान गयो ।
असोज २७ गते बबरमहलमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भयो । त्यस्तै ०७२ कै कात्तिक १० गते ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । कात्तिक १६ गते मकवानपुरको शान्तिपुरमा भएको बस दुर्घटनामा १० र १८ गते मकवानपुरमै ट्रक दुर्घटनामा ७ जनाको मृत्यु भयो । मंसिर ४ गते जाजरकोटमा भएको बस दुर्घटनामा पनि ठूलो मानवीय क्षति भयो । यहाँ करिब ५० जना मानिसको ज्यान गएको थियो । मंसिर ५ गते खोटाङमा भएको अर्को दुर्घटनामा ७ जनाको मृत्यु भयो । ०७३ साउन ३१ मा काभ्रे जिल्लाको बिर्तादेउरालीमा भएको बस दुर्घटनालाई पनि भुल्न सकिंदैन । सडकबाट १ सय ५० मिटर तल बस खसेर भएको यो दुर्घटनामा २७ जनाको निधन भएको थियो भने ४० भन्दा धेरै घाइते भएका थिए । सोही दिन बैतडीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । यी त मानवीय क्षति धेरै भएका केही बस दुर्घटनाका उदाहरण मात्र हुन् । यस्ता दुर्घटनाहरू हिजोआज दैनिकजसो हुने गरेका छन् । गएको दसैंको अवधिमा मात्र देशभर ९८ जनाको सवारी दुर्घटनामै मृत्यु भएको तथ्यांक ट्राफिक प्रहरीले दिएको छ ।
सरकारले सडक विस्तार कार्यक्रमलाई सजिलो र भरपर्दो बनाउने अभिप्रायका साथ एक दशकदेखि कृषिसडक र ग्रामीणसडक निर्माण कार्यलाई पनि प्राथमिकतामा राखेको छ । यसअनुरूप स्थानीय स्तरमा जनतालाई सडक हस्तान्तरण गराई उनीहरूकै रेखदेखमा मर्मत गराउने गरि कार्यक्रमहरू पनि अगाडि सारेको छ । बर्सेनि यस्ता सडकलाई बजेट पनि विनियोजन गर्दै आएको छ । थुप्रै सडक यस कार्यक्रमअन्र्तगत अहिले पनि निमार्णाधीन अवस्थामा छन् ।
यसै कार्यक्रमका कारण जिल्ला सदरमुकामसम्म गाउँहरूको सम्पर्क पनि जोडिएका छन् । यो एकदमै सकारात्मक र सराहनीय कार्य हो, तर यस्ता सडक निर्माण गर्दा हुने गरेका अनियमिताले गर्दा सीमित व्यक्तिहरूले मात्र यसको फाइदा लिएको र निर्माण हुनुपर्ने ठाउँमा काम राम्रो नहुँदा जनमानसमा सरकारी कार्यक्रमहरूले राम्रो छाप छोड्न नसकेको त छँदै छ, सरकारले सडकमा गरेको अर्बौंको लगानी पनि बालुवामा पानीजस्तै भएको छ, जसको परिणामस्वरूप अहिले यस्ता दुर्घटनाहरू बढ्ने गरेका छन् ।
देश निर्माणको मेरुदण्डका रूपमा रहेको सडक यातायातलाई समयअनुकूल र आवश्यकताअनुरूप निर्माण गराउँदै जाने हो भने यसले देश विकासको गतिलाई अग्रसरता दिलाउनेछ । जनताले पनि विकासको अनुभूति गर्न पाउनेछन् । सडक निर्माणको नाउँमा ठेकेदारहरूले काम गराएको जस्तो आँखामा छारो हाल्ने काम गर्ने र बजेटजति खल्तीमा भर्ने गराउने वर्तमान अवस्थाले सडक क्षेत्रमा सोचेअनुरुप काम हुन सकेको छैन । सरकारी प्रयास र सडकका लागि आउने गरेको वैदेशिक सहयोगको पनि सदुपयोग हुन नसकेको यथार्थको प्रत्यक्षदर्शी जनता स्वयं छन् । यसतिर सरकार र जिम्मा लिएको सम्बन्धित निकायले समयमै ध्यान पु-याउन जरुरी छ । अन्यथा सडक निर्माणमा अनियमितता बढ्दै जाने, सडकहरू बिग्रने, सवारी दुर्घटनाहरू बढ्ने क्रमले निरन्तरता पाउने र यसकै कारण थुप्रै जनधनको क्षति हुने निश्चित छ ।