घनेन्द्रबहादुर श्रेष्ठ
शुक्रवार, कार्तिक २२, २०७६
367

पर्यटनको विकास, प्रवद्र्धन तथा विस्तारमा पर्यटन व्यवसायीहरूलाई साथमा लिएर अगाडि नबढेसम्म हामीले परिकल्पना गरेको पर्यटकको संख्या भित्र्याउन कठिन हुन्छ ।

खास गरी पर्यटन व्यवसाय सेवा निर्यात गर्ने व्यवसायमा पर्ने उत्तम व्यवसाय हो । नेपालमा पर्यटनको माध्यमद्वारा आर्थिक समृद्धि ल्याउने विषयमा व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ तथा विशेषज्ञहरूका धारणा बाक्लै सुन्न–पढ्न पाइन्छ । तर, यस व्यवसायलाई राज्यले कसरी प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरामा केवल भ्रमण वर्ष घोषणा गरेर तथा इन्टरनेटमा साइट राखेर वा ब्रोसर र पम्फेल्ट बनाएर मात्र पर्यटनको प्रवद्र्धन हुन सक्ने कुरामा विश्वास कम छ । किनकि यस्ता प्रयासहरू विगत लामो समयदेखि नभएका होइनन् ।
पर्यटन प्रवद्र्धन गर्नलाई पर्यटकलाई कस्तो सुविधा उपलब्ध गराउनुपर्छ वा कस्ता सहुलियत राज्यले दिनुपर्छ, कस्ता खालका पर्यटकहरू नेपालजस्ता मुलुकमा भ्रमणमा आउने हुन्, यस्ता विषयमा विहंगम अध्ययन–अनुसन्धान हुन आवश्यक देखिएको छ । संसारभरका पर्यटकहरू एकै प्रकृतिका हँुदैनन्; घुम्ने, रम्ने तथा खोज गर्ने विषय भिन्न–भिन्न छन् । मानवनिर्मित सुन्दर संरचनाहरूको अवलोकन गर्न युरोप, अमेरिका साथै एसियाका कतिपय मुलुकमा प्रशस्त स्थान त छँदैछन्, तर नेपालमै पर्यटक किन आउने ? यो खुला र जानेबुझेको विषय हो कि नेपालको प्राकृतिक सौन्दर्यता नै पर्यटनका उत्पादनहरू हुन् । हाम्रा संस्कृति र मानव व्यवहार, खानपान, सत्कारहरू नै पर्यटकहरूको आकर्षणको विषय हो । जो सँग जे छ त्यही उचित मूल्यमा बेच्ने हो ।

मुलुकमा भएको साधनस्रोत र विकास–निर्माणका आधारमा हाम्रा पर्यटकीय गतिविधिहरूलाई प्रवद्र्धन गर्ने, प्रचार गर्ने हो, तर एकथरी मानिसहरू नेपालका भौतिक संरचनाहरूको कमजोरीका कारणले पर्यटकहरू आएनन् भन्ने गर्छन्, यस विषयमा सहमति राख्न सकिन्न । विगत वर्षहरूको पर्यटक आगमनको तथ्यांकहरू हेर्दा पर्यटकहरूको संख्यामा दिनानुदिन बढिरहेको पाइएको छ यो अर्गानिक ग्रोथ नै हो । मुलुकमा स्थायित्वको सम्भावना भएकाले हाल पर्यटनक्षेत्रमा लगानीको वातावरण बन्दै गएको र ठूला सहरहरूमा पर्यटकीय स्तरका होटलहरूको संख्या दिनानुुदिन वृद्धि हुनु अत्यन्तै सकारात्मक कुरा हो, तर पर्यटकको आगमनमा यसरी गरिएको लगानी धान्न सक्ने पर्यटकहरूको आगमनमा वृद्धि गर्न लामो कसरत गर्नुपर्ने नै छ ।
हामीले परिकल्पना गरेको पर्यटकहरूको आगमन द्रुत गतिमा हुनलाई केही समय लाग्न सक्छ, भ्रमण वर्ष घोषणा गर्नेबित्तिकै सोही वर्ष २० लाख पर्यटक आइहाल्छन् भनेर विश्वास गर्ने कुरा होइन, यो निरन्तर चलिरहने प्रक्रिया हो ।
पर्यटक संख्यामा वृद्धि गर्न सरकारी निकायबाट मात्र सम्भव हुने विषय होइन, यो व्यवसायीहरूको समेत कर्तव्यको विषय हो । व्यवसायीहरूले नेपालको पर्यटन विकास, प्रवद्र्धन तथा विस्तारमा खेलेको भूमिकालाई नकार्न सकिन्न । राज्यको कुनै पनि प्रत्यक्ष सहयोगबिना व्यक्तिको एक्लो प्रयासले मुलुकमा पर्यटकहरू भित्र्याएर रोजगारीका अवसरहरू सिर्जना गर्न सक्षम भएको निजी क्षेत्रका व्यवसायीहरू बताउँछन् । पर्यटनको विकास, प्रवद्र्धन तथा विस्तारमा पर्यटन व्यवसायीहरूलाई साथमा लिएर अगाडि नबढेसम्म हामीले परिकल्पना गरेको पर्यटकको संख्या भित्र्याउन कठिन हुन्छ । हालसम्मको पर्यटकको आगमन अध्ययन गर्दा विगतमा नेपाल भ्रमणमा आइसकेका पर्यटकहरूको सम्बन्ध तथा सञ्चारले उनीहरूका साथीभाइ, परिवार वा आफैं दोहो-याएर आउने प्रचलन रहेको देखिन्छ । नेपालको पर्यटनको विशेषताका बारेमा हामीले अझै राम्रोसँग विदेशीहरूलाई बुझाउन सकिराखेका छैनौं कि जस्तो लाग्छ ।
राज्यका विभिन्न निकाय पर्यटन प्रवद्र्धन गर्नलाई भूमिका राख्न सक्छन्, तर एक–अर्कामा समन्वय, सहकार्य र सहयोगी भावना रहेको पाइँदैन । एक निकायले गर्न खोजेको कार्यलाई अर्को निकायले भाँजो हाल्ने वा बेवास्ता गर्ने परिपाटी विद्यमान रहेकै छ । पर्यटन व्यवसायीहरूलाई आफ्नो ज्ञान, बुद्धि र विवेक लगाएर मुलुकमा पर्यटकहरू ल्याउन कोसिस गरिाखेका छन्, तर राज्यले हालसम्म पर्यटकहरूलाई सेवा गरेवापत व्यवसायी आफैंले नाफा गरेबाहेकको कुनै सहुलियत दिन सकेको छैन । यो व्यवसायमा लाग्ने व्यवसायीहरूले विगत वर्षहरूदेखि व्यवसायलाई दिगो बनाउने गरी राज्यले सहुलियत दिनुप-यो भनेर आवाज उठाउने गरेका छन्, तर यी आवाज मात्र उठाउँदा राज्यले ध्यान दिन सक्दैन । पर्यटन क्षेत्रमा रहेका व्यवसायीहरूले अन्य संगठनहरूले जस्तो आन्दोलन गर्ने हड्ताल गर्ने कुरा भएन, किनभने यो कार्य गरेमा आफ्नै रोजिरोटी जाने हुन्छ ।
विश्वमा पर्यटनलाई समेत सेवा निर्यात व्यवसायका रूपमा प्राथमिकताका साथ राखिएको छ । नेपालले कृषिजन्य उत्पादन तथा प्रशोधित कृषिजन्य उत्पादनका वस्तुहरूलाई निर्यात गरेबापत व्यवसायीहरूलाई प्रोत्साहनस्वरूप बिक्रीको मूल्यका आधारमा ३ देखि ५ प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था (निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५) गरी वस्तु निर्यातलाई प्राथमिकता दिएका छौं । यी वस्तुहरू जस्तै पर्यटन व्यवसायीहरूले विदेशीहरूलाई नेपालमा सेवा उपलब्ध गराएर विदेशी मुद्राको आयआर्जन गरी मुलुकको अर्थतन्त्रलाई सहयोग पु-याएकोमा व्यवसायीहरूलाई प्रोत्साहन रकम उपलब्ध किन नगराउने ? यो प्रश्न व्यवसायीहरूले गर्न थालेका छन् । पर्यटकहरूको संख्याको मात्र होइन, कस्तो पर्यटक भन्ने बहस र छलफल हुन आवश्यक छ, साथै यसरी विदेशी ल्याउने र नेपाल सरकारको खातामा विदेशी मुद्रा जम्मा गराउने गरी सेवा बिक्री गर्ने पर्यटन व्यवसायीहरूलाई प्रोत्साहनस्वरूप केही प्रतिशत रकम दिन आवश्यक छ र यो सान्दर्भिकसमेत देखिन्छ । व्यवसायीहरूले आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न विदेशमा जानका लागि खर्चको आवश्यकता हुन्छ, यसरी प्राप्त हुने रकमले व्यवसाय प्रवद्र्धनमा लगानी गर्न सकिन्छ ।
ठूला लगानी कर्ताहरूलाई व्यवसाय प्रवद्र्धन गर्नलाई सहजै हुन सक्ने हुन्छ, साथै अन्य मुलुकका कम्पनीहरूसँग उनीहरूको सहजै सम्पर्क र सहकार्य हुन सक्छ, तर न्यून पुँजी लगाएर व्यवसाय गर्नेहरूको प्रवद्र्धनको महत्वपूर्ण भूमिका राज्य नै हो, त्यसकारण प्रोत्साहन रकम दिइँदा केही प्रावधान राखी तोकिएको रकमभन्दा माथिको व्यवसाय गरी विदेशी मुद्रा ल्याउने व्यवसायी वा कम्पनीलाई सेवा निर्यात मान्ने भनि राज्यले व्यवसायीलाई उत्प्रेरित गराउन सकिन्छ ।
हुन त होटल व्यवसायीहरूले विगत लामो समयदेखि होटलहरू भनेको कुनै पनि कच्चा पदार्थ आयात नगरी नेपाली उत्पादनलाई नै प्रयोग गरी पर्यटकहरूलाई सेवा उपलब्ध गराई आयआर्जन गरिरहको उद्योग हो, त्यसकारण यो उद्योगलाई अन्य उद्योगसरह व्यवहार गरी विद्युत्मा सहुलियत गरियोस् भनेर माग राखेको राख्यै छ । होटल उद्योग मुलुकको सभ्यता र संस्कृतिलाई चिनाउने उद्योग हो । यसले वातावरणलाई खासै असर पार्दैन, साथै होटल रहेको क्षेत्रमा रोजगारीको र किसानहरूको उत्पादनलाई खपत गर्ने हुन्छ । त्यसैगरी होटल उद्योग व्यापार गरेजस्तो हुँदैन, आजको दिन व्यवसाय गर्न सकिएन भने त्यो दिन कहिल्यै आउँदैन । यस्तो संवेदनशील व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण व्यापार गरेजस्तो भएको छ व्यापारमा, आज नबिकेको सामान भोलि बेच्न सक्ने हुन्छ तर यो व्यवसायमा सम्भव छैन । साथै होटल कुनै सहरको सभ्यताको प्रतीकसमेत हो ।
त्यसकारण स्थानीय सरकार सञ्चालन ऐनले समेत नगरपालिका वा महानगरपालिकामा स्तरीय होटल सञ्चालन गर्न व्यवसायीहरूलाई प्रोत्साहन गरिनुपर्ने भन्ने प्रावधान राखिएको छ भने अर्कातिर विगतमा घरजग्गा तथा सम्पत्तिकरमा छुटको व्यवस्था हुँदै आएकोमा समेत हाल स्थानीय सरकार बनेपछि होटलहरूलाई सम्पत्ति कर लगाउने कानुन निर्माण भएका छन् । कुनै प्रतिष्ठानको स्वामित्वमा रहेको वा चर्चेको सम्पत्तिलाई पर्यटन व्यवसायमा लगाएको छ भने सम्पत्ति कर लगाइनु उचित होइन । यदि स्थानीय करको निर्धारण गर्ने हो भने त्यस्ता कम्पनीले गर्ने व्यवसायको आधारमा कर निर्धारण गरेमा वैज्ञानिक हुन सक्छ ।
पर्यटनक्षेत्रका विभिन्न विविधता रहेका छन्, जसमा व्यावसायिक चुनौतिहरू पनि छन् तथापि राज्यले व्यवसायको रक्षाका लागि गरिनुपर्ने कुनै राहतका कार्यक्रमहरू सञ्चालन गरेको छैन । जसरी कृषिक्षेत्रलाई अनुदान दिएर कृषकहरूको उत्साहलाई जाँगरमा परिणत गर्ने गरेको छ, त्यसैगरी पर्यटनलाई एउटा महत्वपूर्ण निर्यातको व्यवसायका रूपमा परिभाषित गरी निर्यातजन्य व्यवसायीहरूले प्राप्त गरेका अनुदान उपलब्ध गराइनु न्यायोचित हुन्छ र व्यवसायीहरूमा पर्यटन प्रवद्र्धन गर्नलाई जाँगर आउन सक्छ । पर्यटन भ्रमण वर्षको अवधारणालाई साकार पार्ने हो भने पर्यटनको विविध विषयमा व्यापक छलफल गरी व्यवसायीहरूको हक, अधिकार र कर्तव्य तथा दायित्वको विषयमा जानकारी हुने गरी निरन्तर बहस गर्न आवश्यक छ ।