ज्योति खतिवडा
मंगलबार, कार्तिक १९, २०७६
315

दुर्घटना हुन नदिन सवारी धनीले पनि आफ्नो सवारी साधनको अवस्था कस्तो छ भनी नियमित चेक–जाँच गर्नु अति आवश्यक छ ।
नेपालमा भइरहेको सडक दुर्घटनाले अकालमै सयौं मानिसको ज्यान गइरहेका समाचारहरू दिनहुँजसो सुनिरहेका छौं । सयौंको संख्यामा घाइते भई जीवनभरि अपाङ्ग भएर बाँचिरहेको पनि हामीले देखिरहेका छौं । यसरी दिनदिनै किन यति धेरै दुर्घटना भइरहन्छ ? नेपालको भौगोलिक विकटता पनि दुर्घनाको प्रमुख कारण हो भन्न सकिन्छ ।

त्यस्तै, दुर्घटना हुने अरू कारणहरूमा पुराना सवारी साधनहरूको प्रयोग, दक्ष जनशक्तिको अभाव, क्षमताभन्दा बढी यात्रु चढाउनु तथा ट्राफिक व्यवस्थापनको अभावलाई लिन सकिन्छ ।
हरेक दिनजसो ठूलठूला सडक दुर्घटना हुँदा पनि यसबारे सम्बन्धित निकाय किन मूकदर्शक भएर बसिरहेको अवस्था छ । कहिलेसम्म यात्रा गर्दा डराई–डराई यात्रा गर्ने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु कहिलेसम्म बोक्ने, पुराना भई सकेका सवारी साधन निर्वाध रूपमा कहिलेसम्म राजमार्गमा गुड्न पाउने, त्यस्तै राजमार्गको क्षमता मापन नै नगरी यात्रु बोक्ने सवारी चलाउन दिने कि नदिने ? विभिन्न समयमा आउने नीति–नियम फेरबदलहरू कागजी पानामा मात्रै सीमित राख्ने कि लागू पनि गर्ने जस्ता कैयौं प्रश्नको सम्बन्धित निकायले आमनागरिकलाई जवाफ दिने बेला आएको छ ।
यसरी हरेक दिन हुने दुर्घटनाले आमनागरिक पनि सचेत भएर हिँडडुल गर्ने बेला आएको छ । आफू चढ्ने सवारी साधन कस्तो छ, नियमित चेकजाँच भइरहेको छ कि छैन । सवारी साधन चलाउने व्यक्ति कस्तो छ, मापसे गरेर सवारी चलाइरहेको छ कि ? त्यस्तै सडकको अवस्था कस्तो छ, क्षमताअनुसार यात्रु बोकेको छ कि छैन ? यी सामान्य जानकारी यात्रा गर्ने यात्रुले यात्रा गर्दा सधैं सम्झिनुपर्छ । यदि त्यस्तो पाइएमा सम्बन्धित निकाय अथवा नजिकै रहेको ट्राफिक कार्यालयमा सम्पर्क गर्नुपर्छ ।
दुर्घटना हुन नदिन सवारी धनीले पनि आफ्नो सवारी साधनको अवस्था कस्तो छ भनी नियमित चेक–जाँच गर्नु अति आवश्यक छ । सवारी चालकले पनि सडकको अवस्था हेरेर गन्तव्यसम्म पुग्न आफूले चलाएको सवारी साधनको गति निर्धारण गरेर चलाउनुपर्छ । त्यस्तै सडक व्यवस्थापन गर्न खटिएका ट्राफिक प्रहरीहरूले सडकमा चेक प्वाइन्ट खाडा गरी सवारी साधनको नियमित चेक जाँच गर्नु अनिवार्य भएको छ । त्यस्तै दुर्घटना न्यूनीकरणका लागि समय–समयमा जनचेतनामूलक कार्यक्रमहरू जस्तै— सडक नाटक, ट्राफिक नियमसम्बन्धी सन्देश आदि) विभिन्न ठाउँमा सञ्चालन गर्नुपर्छ ।
हरेक वर्ष सवारी साधनहरू दिन–प्रतिदिन बढ्दै गइरहेको अवस्थामा राजमार्गमा सवारी साधनको चाप उच्च भई दिनदिनै हुने दुर्घटना नियन्त्रणमा सरकार तथा सम्बन्धित निकायले सक्रिय भएर के–के कारणले दुर्घटना वृद्धि भइरहेको छ, सोको सूक्ष्म अध्ययन गरी छिटोभन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ’ भनेजस्तै सबै आ–आफ्नो ठाउँमा सचेत र सभ्य भई ट्राफिक नियमहरूको सदैव पालना गर्न सके थोरै भए पनि दुर्घटना नियन्त्रणमा सहयोग पुग्न सक्छ । अकाल मृत्यु हुनबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊँ ।