ज्योति खतिवडा
बिहिवार, कार्तिक ७, २०७६
440

 

यसरी हरेक क्षेत्रमा हुने विकृति–विसंगति दिन–प्रतिदिन बढ्दै गइरहेको अवस्थामा जनताले कहिलेसम्म दुःख र सास्ती भोग्ने ?

असत्यमाथि सत्यको विजयस्वरूप प्राचीन कालदेखि मनाइँदै आएको नेपालीहरूको महान् चाड बडादसैं गए पनि मानिसको चहलपहल घटेको छैन । यो नेपालीहरूको सबैभन्दा महत्वपूर्ण तथा ठूलो चाड भए पनि अर्को महत्वपूर्ण चाड तिहार मुखैमा छ । सबैको घरघरमा खुसी, मेलमिलाप तथा भाइचारा झल्काउने चाड भनेर दसैंलाई लिइने गरिन्छ । बडादसैं आउँदै गर्दा देश तथा विदेशबाट दसैं मनाउन आउने मानिसहरूको क्रम दिन–प्रतिदिन बढ्दै गइरहेको हुन्छ । यस बेला देशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान स्थल, राष्ट्रिय राजमार्गहरू व्यस्त देखिन्छन् भने तिहारमा पनि कम चहलपहल हुँदैन ।
यसरी यो समय राजमार्गमा यात्रा गर्ने यात्रुहरूको समस्या धेरै हुने गरेको पाइन्छ । यात्रा गर्ने सवारी साधन, राष्ट्रिय राजमार्गहरूको दुरवस्था, ट्राफिक जामलगायत राजमार्गका होटलमा पाइने गुणस्तरहीन तथा अस्वस्थकर खानेकुरा यात्रुका प्रमुख समस्या हुन् । यस्ता समस्याहरू वर्षौंदेखि भोग्दै आउँदा आज पनि अवस्था किन जस्ताको तस्तै छ ? दैनिक लाखौं सवारी साधन गुड्ने राष्ट्रिय राजमार्गहरूमा घण्टौं जाममा बसेर कहिलेसम्म यात्रा गर्ने ?

त्यस्तै राजमार्गमा खोलिएका होटलहरूको लुटतन्त्र कहिलेसम्म यात्रुहरूले सामना गर्नुपर्ने हो । गुणस्तरहीन र अस्वस्थकर खानेकुराहरू यात्रुले कहिलेसम्म खाने ? बासी, सडेगलेका खानेकुराल खाँदा यात्रुको स्वास्थ्यमा कस्तो असर पर्ला ? यसबारे सरकार तथा सम्बन्धित निकायहरूबाट छिटोभन्दा छिटो अनुगमन तथा निरीक्षण हुन अति जरुरी छ । राजमार्ग सुरक्षाका लागि सरकारले यति बेला आवश्यक कदमहरू चाल्नुपर्ने देखिन्छ । हुन त एउटा उखान नै छ, ‘जुन जोगी आए पनि कानै चिरिएका’ भनेजस्तै जुन सरकार आए पनि (चाहे कांग्रेसको या वामपन्थीको होस्) जनताको आँखामा छारो हाल्ने काम मात्र भएको देखिन्छ । जनताको हितमा काम गर्ने सच्चा नेतृत्वको अभाव महसुस भएको आमजनताको बुझाइ छ ।
यसरी हरेक क्षेत्रमा हुने विकृति–विसंगति दिन–प्रतिदिन बढ्दै गइरहेको अवस्थामा जनताले कहिलेसम्म दुःख र सास्ती भोग्ने ? अब सरकारको मुख ताक्नुभन्दा यात्रा गर्ने यात्रु मानुभावहरूले पनि राजमार्गमा हुने विभिन्न किसिमका समस्यामा आफैं सचेत हुनु अति आवश्यक देखिन्छ । कोही यात्रा गर्ने सिलसिलामा समस्यामा पर्नुभयो भने तत्काल सम्बन्धित निकायमा खबर गर्ने बानीको पनि विकास गरौं । कोही बाटोमा अलपत्र वा समस्यामा परेको भेटिए आफूले सक्ने सहयोग सबैले गरौं । आफूले यात्रा गर्ने सवारी साधन कस्तो छ, त्यसको राम्रोसँग ख्याल गरौं । यात्रा गर्दा आपूmले खाना खाने होटल कस्तो छ, राम्रोसँग विचार गरेर खाने बानी बसालौं ।
यदि होटलहरूले चाडपर्वको मौका छोपी लापरबाही गरेको पाइए वा यात्रुहरूलाई ठगी गरेको देखिए त्यसको सबै यात्रुले हाम्रो साजा समस्या हो भन्ने ठानी प्रतिकार तथा नजिकको प्रहरी कार्यालयमा खबर गरौं । यसले गर्दा होटलहरूको अत्याचार, ठगी तथा लापरवाहीमा थोरै भए पनि कमी आउँछ । यसरी हाम्रो सानो आवाजले कतै अब आउने चाडपर्वमा यात्रा गर्दा दुःखबाट मुक्त भइ सहज रूपमा यात्रा गर्ने दिन कतै आइहाल्ने त होइन । अब हरेक क्षेत्रमा देखिने चरम लापरबाहीको सचेत तथा सभ्य नागरिकको हैसियतले विरोध गर्ने बानी बसालौं र राम्रो कामको खुलेर प्रसंसा पनि गरौं । नागरिकको हकहित तथा सुरक्षाका लागि सरकार तथा सम्बन्धित निकायले चाँडै आवश्यक कदम चाली सौहार्दपूर्ण तरिकाले सहजतापूर्वक आवतजावत गरी चाडपर्व मनाउने वातावरण हरेक नेपाली जनताले पाऊन् ।