रिसव गौतम
मंगलबार, कार्तिक ५, २०७६
581

राम्रो पर्यटकीय वातावरण हुने हो भने नेपालमा मनग्य पर्यटकहरू भित्रिन्छन् भन्ने आधार सिर्जना भएको छ ।


नेपालमा सन् २०१८ मा करिब १२ लाख पर्यटक भित्रिए । तथ्यांकीय हिसाबले सन् २०१८ पर्यटकीय रूपमा इतिहासमै सफल वर्ष बन्यो । यसअघि सन् २०११ मा नेपाल पर्यटन वर्ष मनाइएको थियो । सो सालमा करिब १० लाख पर्यटक भित्रिएका थिए । त्यसपछि नेपालमा गएको भूकम्प र नाकाबन्दीका कारण सो सङ्ख्या पनि घटेको अवस्था थियो, तर सन् २०१८ मा १२ लाख पर्यटक भित्रिएपछि यस क्षेत्रको सम्भावना थप उजागर भएको छ । राम्रो पर्यटकीय वातावरण हुने हो भने नेपालमा मनग्य पर्यटकहरू भित्रिन्छन् भन्ने आधार सिर्जना भएको छ ।

अंगे्रजी वर्ष सन् २०१९ अब दुई महिना मात्रै बाँकी छ ।
सन् २०१९ मा के–कति पर्यटक भित्रिएका तथ्याङ्क सार्वजनिक हुने हो त्यो हेर्नै बाँकी छ । आउँदो नयाँ वर्ष सन् २०२० लाई नेपाल सरकारले पर्यटन वर्ष मनाउने भनेर प्रचार पनि गरिरहेको छ । विगतको भन्दा अलिक पृथक् रूपमा सरकारले इन्टरनेट, सामाजिक सञ्जालको माध्यमबाट प्रचार पनि गरिरहेको छ । सामाजिक सञ्जालकै कारण यस पटकको प्रचारप्रचार तीव्र र प्रभावकारीसमेत बनेको देखिन्छ । रेडियो, टिभी, पत्रपत्रिका, अनलाइन लगायत सबै प्रकारका सन्निकट रहेको पर्यटन वर्ष २०२० को प्रचारमा सरकारलाई सघाइ पनि रहेका देखिन्छ । त्यसमा पर्यटनमन्त्री योगेश भट्टराईको अहम् भूमिका पनि छ ।
उनी आफैंमा अन्य मन्त्रीहरूभन्दा बढी पत्रकारमैत्री, उदार र मृदुभाषी भएकैले पनि सबैले सहयोग गरेका छन् । मन्त्रीले आमजनतालाई फेसबुकमा पर्यटन वर्षको लोगो राख्न अपिल गरेसँगै लाखौंले त्यो राखेर सहयोग गरेका छन् । विदशेमा बस्ने नेपालीहरूसँग उनले पर्यटन वर्ष सफल बनाउन प्रचारमा सहयोगसमेत मागे । प्रवासी नेपालीहरू मुक्तकण्ठले सहयोग पनि गरेका छन् । यस हिसाबले मन्त्रीले पर्यटन वर्ष सफल बनाउन र २० लाख पर्यटक भित्राउने लक्ष्य हासिल गर्न हरतरह लागेका देखिन्छन् । त्यसको प्रशंसा गर्न सकिन्छ । उनले मन्त्री भएयता विभिन्न देशसँग हवाई कनेक्सन बढाउन, एयरपोर्टको गुणस्तर बढाउन लागिपरेकै देखिन्छ । यही रफ्तारमा मन्त्री र जनस्तरबाट पनि पर्यटन वर्ष २०२० सफल बनाउने अभियान चलिरहने हो भने सफल नहुने कुरा हुँदैन पनि ।
खासगरी नेपाल आउने पर्यटकहरूमा सबैभन्दा धेरै क्रमश भारत, चीन, श्रीलङ्का, अमेरिका, बेलायत, थाइल्यान्ड, म्यानमार र युरोपका देशहरूबाट रहेका छन् । ती मुलुकहरू वास्तवमै नेपालको तुलनामा धेरै धनी मुलुकहरू हुन् । मुलुकमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा पनि पछिल्ला वर्षहरूमा पर्यटकहरूको जो वृद्धि देखिएको छ त्यो वास्तवमै आशालाग्दो छ । नेपाल आउने पर्यटकहरूको औसत बसाइ १२ देखि १४ दिन अवधिको छ भने औसत प्रतिदिन खर्च ७० देखि १ सय डलर रहेको तथ्याङ्क छ ।
यसरी संसारभर पर्यटन गतिविधि बढिरहेको र पर्यटन उद्योगहरूले आम्दानी गरिरहेका परिपे्रक्ष्यमा नेपालमा पनि पर्यटक आगमन वृद्धि हँदै जानु अत्यन्त सकारात्मक हो ।
नेपाल पर्यटकीय दृष्टिमा विभिन्न अध्ययन तथा अनुसन्धानहरूले प्रकाशित गरेका रिपोर्टहरूका अनुसार संसारकै टप १० आकर्षक देशहरूमा पर्दै आएको छ । सो भएकाले नेपालले पर्यटन उद्योगहरूबाट अत्यन्तै धेरै आर्थिक प्रगति गर्न सक्ने सम्भावनाहरू छन् । छिमेकी चीनमा वार्षिक २ करोडसम्म पर्यटक भित्रिने गरेका छन् । यदि नेपालले पर्यटकीय पूर्वाधार बढाएर धेरै भन्दा धेरै पर्यटक आउने र बसाइसमेत लम्याउने रणनीतिमा अघि बढ्ने हो भने विदेशी मुद्रा आर्जनका लागि अत्यन्त ठूलो अवसर हुने थियो ।
यसरी पर्यटन क्षेत्रमा नेपालमा अत्यधिक अवसरहरू रहेका देखिन्छन् । ती अवसरहरूलाई पक्रन सरकारले आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा भने जोड दिन जरुरी देखिन्छ । अहिले वार्षिक १०–१२ लाख पर्यटक भित्रिँदा जति पूर्वाधारले धानेको छ, अबका वर्षहरूमा पर्यटकको त्यो सङ्ख्या १० गुणाले बढ््यो भने पनि धान्न सक्ने पूर्वाधार निर्माण गर्न सरकार लागि पर्नुपर्छ । किनकि आजको आधुनिक जमानामा कुनै पनि देशका मानिसहरू एकै देशमा रहिरहन सक्दैनन् । उनीहरूमा संसार हेर्ने र बुझ्ने चाहना अचाक्ली बढेका छन् । त्यसकारण नेपाल जस्तो हरियो वन–जङ्गल, खोलानाला, सेता हिमाल र गगनचुम्बी पहाडैपहाडले घेरिएको सुन्दर देशमा पर्यटकीय सम्भावना अधिक छन् । पर्यटकहरू नै हाम्रा समृद्धिका दीर्घकालीन औजारहरू हुन् । जस्तो कि आजको माल्दिस, ग्रिस, इजिप्ट, सिङ्गापुर, फ्रान्स, अमेरिका, स्वीजरल्यान्ड पर्यटकहरूले भरिएका र पर्यटकीय आम्दानीमै बाँचेका मुलुकहरू हुन् । त्यसकारण पर्यटकीय उद्योगहरू भनेका अहिलेका सबैभन्दा सम्भावनाका उद्योगहरू हुन् । यी उद्योगहरूमा सरकारले लगानी बढाउन सक्दा र आवश्यक व्यवस्था मिलाउन सक्दा मात्रै मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुने देखिन्छ ।
नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रर्वद्धन गर्ने हो भने समृद्धिको ढोका सहजै खुल्ने सम्भावना छ । ‘वल्र्ड टुरिजम अर्गनाइजेसन’का अनुसार विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्ये नेपाल छैटौं आकर्षक गन्तव्यमा पर्छ । जबकि नेपालका कैयांै पर्यटकीय महत्वका स्थलहरू अझै गुमराहमा छन् । पर्यटकीय पूर्वाधारको अभाव उस्तै छ ।
अर्को अन्तर्राष्ट्रिय तथ्यअनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रको व्यापार अचाक्ली बढेको छ । त्यस्तै पर्यटन क्षेत्रकै लागि विश्वमा हाल ३ सय बिलियन डलर भन्दा बढी लगानी भइसकेको छ, जसमा आधा खर्च चीन र अमेरिकाले गरेको बताइन्छ । लगानी उच्च भएकै कारण हुन सक्छ, चीनमा अहिले औसत वार्षिक २ करोड मानिसले पर्यटक भएर भ्रमण गरिरहेको तथ्याङ्क छन् । चीनमा बढ्दै गएको पर्यटकीय व्यापारलाई राजनीतिक स्थायित्व र शान्ति, सुव्यवस्थालाई पनि जोडेर हेरिएको पाइन्छ । त्यस्तै भारतमा यतिखेर ५० लाखभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेका छन् । राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ ।
फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउने राष्ट्रमा पर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, युकेलगायतका मुलुकहरू पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् । पर्यटक आगमनको यस खालको तथ्याङ्कले प्रकृतिमात्रै सबैथोक होइन, पर्यटनमैत्री वातावरणको पनि खाँचो छ भन्ने प्रस्ट गर्छ । यसर्थ नेपालमा खाँचो भनेको दीर्घकालीन पर्यटन नीति र पर्यटनमैत्री वातावरणको हो ।
पर्यटनका लागि प्रविधिको विकास, बाटोघाटो एवं पुलपुलेसाको विकास, शान्ति–सुरक्षाको प्रत्याभूति, सम्मानजनक व्यवहारको विकास, पर्यटकअनुसारको भाषाको विकास, स्थान चिनारीमा सहजता, खाद्य सुरक्षा, सुविधाजनक होटल–रेस्टुराँको ग्यारेन्टी, यातायातको सहजता, हवाई सुविधाजस्ता थुप्रै कुरामा सरकारले ध्यान पु-याउनु जरुरी देखिन्छ । नेपालका लागि पर्यटन थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने क्षेत्र भए पनि बाँझो खेतसरह हुँदै आएको छ, जुन दुःखदायी छ ।
पर्यटन क्षेत्रको सामान्य प्रवद्र्धन हुँदा पर्यटन आय बढ्छ र पर्यटक आगमन बढ्छ भन्ने तथ्य त सन् २०११ मा मनाइएको पर्यटन वर्षमा भएको पर्यटकको वृद्धिले नै दिएको हो । सन् २००९ सम्ममा ५ लाखको हाराहारीमा पर्यटकहरू भित्रिरहेको परिपे्रक्ष्यमा सन् २०११ मा पर्यटन वर्ष मनाउँदा ३० प्रतिशतले वृद्धि भएर ७ लाख ५० हजारको सङ्ख्यामा पर्यटक भित्रिएका थिए । त्यसैको प्रभावस्वरूप सन् २०१८ सम्म आइपुग्दा पर्यटक आगमन १२ लाख नाग्यो । त्यसकारण अथाह पर्यटकीय सम्भावना रहेको नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटनमैत्री वातावरणको ठूलो खाँचो छ ।
अभूतपूर्व रूपमा सूचना र सञ्चारको क्षेत्रमा भएको प्रगतिले विश्व नै एउटा गाउँमा सीमित भएको परिदृश्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि सहजता पनि थपिएको छ । अहिलेको ई–कमर्स र इन्टरनेटको जमानामा पर्यटन प्रवद्र्धन धेरै सहज पनि छ । तर, अन्तर्राष्ट्रिय जगत्मा तथ्यवद्र्धक एवं विश्वसनीय रूपमा पर्यटन प्रर्वद्धन गर्न आवश्यक हुन्छ । यद्यपि सरकारले पर्यटन नीति–२०६५ जारी गरी पर्यटकीय सम्भावनालाई लिएर निकै प्रगतिशील नीति कार्यक्रमको व्यवस्था गरेको देखिन्छ । त्यस्तै पर्यटन क्षेत्रसँग सोझै जोडिएको अहम् महत्वको हवाई नीतिलाई पनि सरकारले परिमार्जित गर्दै ‘हवाइ ऐन–२०६३’ ल्याएको १२ वर्ष बितिसकेको छ । भौगोलिक अवस्थिति एवं भू–धरातलीय स्वरूपका कारण आन्तरिक एवं बाह्य सम्पर्कका लागि हवाई सेवाको निकै महत्व रहँदै आएको छ । त्यसले गर्दा हवाई नीति पर्यटकीय क्षेत्रको विकास एवं विस्तारका लागि ज्यादै महत्वपूर्ण रहेको देखिन्छ ।
नेपालमा योजनाबद्ध विकास कार्यक्रमअन्तर्गतको नवांै योजनाले ग्रामीण पर्यटन, महोत्सव पर्यटन, खेलकुद पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनलगायतको नयाँ अवधारणाको सुरुवात गरेको पाइन्छ । त्यसपछिका वर्षहरूमा पर्यटन क्षेत्रको विकास हुँदै आएको छ । आन्तरिक रोजगारी सिर्जनाको अब्बल माध्यमका रूपमा पर्यटन क्षेत्रलाई लिन थालिएको छ, तर वास्तवमा अझै पनि पर्यटकहरूलाई सोझै नेपालसम्म आउने भरपर्दो हवाईसेवा सञ्जाल विस्तार हुन सकेको छैन । निजगढ अन्र्तराष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रम चलिरहेको छ, तर हालसम्म तयार भएका छैनन् ।
अझै पनि सङ्ख्यात्मक एवं गुणात्मक रूपमा पर्यटन क्षेत्रको वृद्धि गर्न सकिएको छैन । हवाई, होटल, ट्राभल, टुरजस्ता गतिविधिहरूलाई व्यवस्थित गर्न सकिएको छैन । पर्यटन क्षेत्रमा सग्लन हुनेहरूबीच आपसी समन्वय हुन सकेको छैन । आन्तरिक पर्यटनलाई पर्यटन क्षेत्रको उपक्षेत्रका रूपमा लिइएको छ । तर, आन्तरिक पर्यटन बढाउन सकिएको छैन । यसरी आन्तरिक रूपमै पर्यटन गतिविधि बेवास्तामा परिरहँदा न पर्यटन क्षेत्रको महत्वबोध हुन सकेको छ, न पर्यटन व्यापार र प्रवद्र्धनमा नै वृद्धि गर्न सकिएको छ । भित्रिएका पर्यटकहरूको समेत बसाइ अवधि लम्ब्याउने तथा खर्च गर्ने इच्छा शक्ति जगाउन सकिएको छैन ।
नीतिमा निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा प्रोत्साहन गर्ने भनिएको छ । तर, उचित किसिमको कार्यक्रमसहितको सार्थक प्रोत्साहन हुन सकेको छैन । पर्यटन रणनीति, बजार, सम्भावना र वर्तमान अवस्थाबारे जुन खालको शोध तथा अध्ययन अनुसन्धान बढाउँदै लैजानुपर्ने हो त्यो झनै हुन सकेको देखिँदैन । ग्रामीण पर्यटनलाई गरिबी निवारणसँग जोड्ने भनिएको छ । तर, कसरी जोड्ने त भन्ने कुरामा सार्थक कार्यक्रमको कल्पनासम्म गरिएको छैन । एवंरीतका भनाइ र गराइमा अन्तर छन् । अनेकन समस्या एवं चुनौती छन् । तर पनि आउँदो सन् २०२० को पर्यटन वर्षले आशाको नवकिरणहरू ल्याउने देखिन्छ ।