गोविन्द चापागाईं
आइतवार, कार्तिक ३, २०७६
409

चीनका राष्ट्रपति सी चिनफिङ गत साता नेपालको दुईदिने राजकीय भ्रमण गरी स्वदेश फिर्ता भए । राजधानीको तीनकुनेदेखि माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै सोल्टी होटल र राष्ट्रपति शीतल निवाससम्म सडकको मुहार रातारात परिवर्तन भयो— सडक किनारामा ससाना गमलाले भरिएका फूलका गुच्छा तथा ऐतिहासिकता झल्कने ब्यानर र सडकका खम्बाहरूमा नेपाल–चीनको अङ्कित झन्डा अनि सडकमा रहेको ऐतिहासिक गेट र रङ्गरोगन ।
हेर्दा सा-है राम्रो अनि सफा । हुन पनि किन नहोस्, पाउना आउँदा घर सफा गर्ने हामी नेपालीको बानी नै हो । त्यसमाथि रातारात ब्रुमरको सफाइ, बोटबिरुवामा पानी अनि छिनछिनमा अनुगमन । यस्तो कार्य सधैंभरि भए हाम्रो राजधानी कति सफा हुन्थ्यो होला ? यो त भयो तीनकुने देखि सोल्टिमोडसम्मको सडकखण्ड । तर, राष्ट्रपति सी चिनफिङ आइतबार साँझ स्वदेश फिर्ता हुँदा त्यसको भोलिपल्ट धमाधम महानगरपालिकाले सडकमा राखिएका गमलाहरू निकाली गाडीमा राखेका थिए ।

बबरमहलस्थित अर्किड पुलमा सिँगारिएका ऐतिहासिक तस्बिर झल्कने ब्यानरहरू धमाधम निकालिरहेका थिए । अब तीनकुने परिसरमा लगाइएका बोटबिरुवा कुन दिन अलि–अलि गर्दै उखेलिने हो ? यसको संरक्षण कसले गर्छ ? त्यो भने हेर्न बाँकी छ । अबको कुरा गर्दा, राष्ट्रपति सी २५ वर्षपछि नेपालको दुईदिने राजकीय भ्रमणमा आएका थिए । नेपालसँग पारस्पारिक व्यापारिक सम्झौता, दर्जनौं विकास कार्ययोजनाहरूमा सहमति भएको थियो ।
केरुङदेखि लुम्बिनीसम्म रेलको सम्भाव्यता, व्यापार तथा विकासमा लगानी आर्थिक सहयोग, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी २० बुँदे सम्झौताहरू भएका थिए । योजनाहरूमा पारस्परिक सहयोग र सद्भावको धारणा राखेका थिए । यसले व्यावसायिक दुनियाँमा निजी क्षेत्र झन् उत्साहित भएको देखिन्छ । उद्योग–वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा भन्नुहुन्छ, “चीनबाट अहिलेसम्म साना लगानी आइरहे पनि राष्ट्रपतिको भ्रमणले ठूलो लगानीका लागि आधार तयार पारेको छ ।”
राणा ऐतिहासिक भ्रमण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै नयाँ अवसरका ढोकाहरू खुल्ने कुरा बताउनुहुन्छ । पूर्वाधार विकासबिना देशको समृद्धि सम्भव छैन, राष्ट्रपतिको भ्रमणमा कनेक्टिभिटी ऊर्जा र कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता भएका छन् । उहाँ भन्नुहुन्छ, “चीनको लगानी ससानो रूपमा आइरहेकै छ । अब भने नेपालको आवश्यकता ठूलो लगानी ल्याउनु हो, यो भ्रमणले लगानी ल्याउन सहयोग पु-याउनेछ ।” त्यस्तै गरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि चिनियाँ राष्ट्रपतिको भ्रमण फलदायी भएको छ र हामीले यसको उपयोग गर्नुपर्छ ।
पर्यटन भ्रमण वर्षलाई समेत केही ऊर्जा मिलेको विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायीहरू बताउँछन् । पर्यटन भ्रमण वर्ष, २०२० लाई सफल बनाउन र चिनियाँ पर्यटक भित्र्याउन उल्लेख्य सहयोग हुने राष्ट्रपति सीले नेपालको भ्रमण गरेसँगै पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आगमन बढ्ने सरकारवाला तथा स्थानीय व्यवसायीले आकलन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्री भोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने, “नेपाल भ्रमण वर्षलाई सहयोग गर्न २०२० को अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल जान अभिप्रेरित गर्छौं ।”
हातमा नेपाल र चीनको झन्डा बोकेर सी भ्रमणलाई स्वागत गर्न सर्वसाधारणको उल्लेख्य उपस्थित थियो भने निजामती तथा विभिन्न सरकारी गैरसरकारी कर्मचारीहरूको समेत उपस्थिति थियो ।