नरेन्द्रमान श्रेष्ठ
आइतवार, कार्तिक ३, २०७६
466

 

सेयर बजार घटेपछि ढिलोचाँडो बढ्छ पनि । नेप्से घटबढ हुनु सेयर बजारको विशेषता नै हो ।

पछिल्लो समयमा सेयर बजार ओरालो लागेको छ । त्यसो त अहिले चाडबाडको पनि समय हो । कतिपय लगानीकर्ताले त दसैं होइन, दशा लागेको छ पनि भन्ने गरेका छन् । अहिले पनि सेयर बजारको अवस्था राम्रो हुन सकिरहेको छैन । सेयर बजारले गति लिन सकिरहेको छैन । अहिलेको सिजन भनेको सेयर बजार बढ्ने सिजन हो, अहिले सबैजसो कम्पनीले आआफ्नो लाभांश घोषणा गरिरहेको समयमा सेयर बजार बढ्नुपर्नेमा त्यसो हुन सकिरहेका छैन । त्यसो त अहिले चाडबाडको सिजन हो । अहिले दसैं सकिइसकेको छ भने तिहार हामीहरूको ढोकाअगाडि नै छ भन्दा पनि फरक नपर्ला । चाडबाडको समय भएकाले पनि सेयर बजारले गति लिन नसकेको हो भन्नेहरू पनि नभएका होइनन् । नेपालीहरूको महान् चाड दसैं भएकाले पनि सेयर बजार सुस्त देखिएको पनि हुन सक्छ । कतिपय लगानीकर्ता चाडबाडमा अलमलिएका पनि छन् । एक त सेयर बजार घटिरहेको छ भने अर्कातर्फ चाडबाडको बेला भएकाले ब्रोकरहरूकहाँ लगानीकर्ताहरू पनि पात लिदै गएको पनि देखिन्छ ।
अहिले देशमा नेकपाको एकमना स्थायी सरकार छ । तर पनि सेयर बजार भने बढ्न सकिरहेको छैन । कतिपयको भनाइमा वामपन्थीहरूको सरकार सेयर बजारका लागि अशुभ छ भन्ने पनि छ । त्यसो त गएको निर्वाचनका बेला वाम गठबन्धन गरेदेखि नै सेयर बजारमा नकारात्मक असर परेको थियो । त्यस बेला पनि वाम गठबन्धनलाई सेयर बजारले पत्याएन भनेर चर्चा पनि चलेको थियो । अहिले नेकपाको सरकारमा रहेका अर्थमन्त्री देशको अर्थतन्त्र बुझेका, जानेका सेयर बजारसम्बन्धी जानकार भएका कारण सेयर बजार सुधारको आशा गरेका थिए लगानीकर्ताहरूले, तर अर्थमन्त्री नै सेयर बजारप्रति नकारात्मक भएका कारणले सेयर बजारमा सुधार आउन सकेन । अर्थमन्त्री डा. खतिवडाले बेला–बेलामा सेयर बजारसम्बन्धमा दिने गरेको अभिव्यक्तिले सेयर बजारमा खतिमात्र हुने गरेको छ । विगतमा पनि वामपन्थीहरू नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाको संज्ञा दिँदा सेयर बजार नै क्र्यास हुन लागेको थियो । यदि वामपन्थीको सरकार सेयर बजारका लागि अशुभ भए अब पाँच वर्षसम्म सेयर बजारले यस्तै नियति भोग्नुपर्ने हो त । त्यसो त अर्थमन्त्री डा. खतिवडाले आफ्नो छवि सेयर बजारका लगानीकर्ताहरूमाझ नकारात्मक बनाएको छ । यस कारणले पनि होला, सेयर बजारका सेयर लगानीकर्ताहरूको कथित नेता भनिनेहरूले अर्थमन्त्रीको राजीनामा समेत मागेका । सेयर बजार पनि देशको अर्थतन्त्रको एउटा पाटो हो । सेयर बजारमा संकट आए यसले देशको अर्थतन्त्रलाई पनि नकारात्मक असर पार्ने गर्छ । देशका अर्थतन्त्र जाने बुझेका अर्थमन्त्रीले विवादास्पद अभिव्यक्तिहरू दिने भन्दा पनि सेयर बजारलाई सुधार गर्नका लागि के–कस्ता पाइलाहरू चाल्नुपर्ने हो, के–कस्तो नीति–नियम–निर्देशन अनि पूर्वाधार निर्माण गर्नुपर्ने हो, त्यसका लागि काम गर्न जरुरी भइसकेका छन् । नेप्से १८८१ अंक पुग्दा सेयर खरिद गरेका लगानीकर्ताहरूको घर खेत डुब्ने अवस्था आइसकेका छन् । यसले देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न सक्ने देखिन्छ ।

त्यसो त सेयर बजारमा सेयरको संख्या बढ्दै छ भने सेयरको भाउ घट्दै छ । टपका भनिने वाणिज्य बैंकहरूको सेयर नै रु. ४–५ सय प्रतिकित्तामा पाउन थोलेका छन् । पछिल्लो समयमा सेयर बजारमा सेयरको आपूर्ति बढेकाले नेप्से ओरालो लागेको पनि बताइन्छ । माग र आपूर्तिको सन्तुलन नमिलेका कारण भाउमा घटबढ हुन स्वाभाविक हो । अर्थशास्त्रको सिद्धान्तले पनि यस्तै भन्छ । पछिल्लो समयमा सेयर बजार ओरालो लाग्नुको कारण बजारमा सेयरको आपूर्ति बढेकाले नै हो भनेर भन्नुपर्ने हुन्छ । पछिल्लो समयमा सेयरधनी लगानीकर्ताहरूसँग सेयरको थुप्रो नै भइसकेको छ । बैंक तथा वित्त कम्पनीहरूले आफ्नो पुँजी ४ सय प्रतिशतले बढाउनुपरेका कारण धमाधम हकप्रद सेयर जारी गरेकाले सेयरधनीहरूसँग सेयरको थुप्रो नै भइसकेको छ । यसकारणले लगानीकर्ताहरू सेयर खरिद गर्नमा भन्दा पनि बिक्री गर्नपट्टि लागेका कारण बजारमा मागभन्दा आपूर्ति बढेकाले सेयरको भाउ घटेको सरोकारवालाहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको अदूरदर्शी नीति असक्षमताले गर्दा पनि सेयर बजार डावाँडोल भएको हो । नेप्से १८८१ अंकसम्म पुगेर ११ सय अंकको हाराहारीमा पुगेका कारण नेपाल राष्ट्र बैंको पुँजी वृद्धि नीतिका कारणले हो भन्दा पनि फरक नपर्ला । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई लगभग ४ प्रतिशतको पुँजी वृद्धि गर्ने नीति–नियम लाद्नुभन्दा पहिले आफ्ने तरिकाले चलिरहेको नेप्सेलाई सेयर बजारलाई पँुजी वृद्धिको नीतिले बेस्सरी हल्लाइदियो । कम्पनीहरूले पुँजी वृद्धि गर्नका लागि बोनस सेयर र ३–४ सयको प्रतिशतले हकप्रद सेयरहरू जारी गर्ने कुरालाई उचालेर केही सेयर बजारको माहिर खेलाडीहरूले यसबाट लाभ लिए । कतिपय लगानीकर्ताले हकप्रद सेयर पाउने आशले महँगोमा सेयरहरू खरिद गरेका कारणले नेप्से अस्वाभाविक रूपले नेप्से बढेर १८८१ अंकसम्म पुग्यो भने बजारमा सेयरको थुप्रो लाग्यो । यस कारणले सेयर बजारले अहिलेसम्म गति लिन सकिरहेका छैनन् । त्यसो त नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकालमा सेयर बजारलाई मात्र तरंगित बनाइरहे नेपाल राष्ट्र बैंकमा प्रवेशको समयमा पुँजीवृद्धिको नीति–निर्देशनहरू बैंक तथा वित्त कम्पनीहरूको टाउको बजारिदिए भने अहिले आफ्नो कार्यकाल समाप्त हुने बेलामा पनि बिग बैंकहरूलाई बिग मर्जरमा जानका लागि दबाब दिइरहेको बताउँछन् सरोकारवालाहरू । कतिपयको भनाइमा सेयर बजारका तीन जना डा. साहेबहरूले सेयर बजारलाई बिगारे भनेर पनि भन्ने गरेका छन् ।
१५ लाखभन्दा बढी लगानीकर्ताहरू भएको सेयर बजार र खर्बौं रुपैयाँ लगानी रहेको सेयर बजार देशको अर्थतन्त्रको एउटा पाटोका रूपमा रहेको सेयर बजार यस्तो अवस्थामा आउँदा लगानीकर्ताहरू र सेयर बजारसँग सरोकार राख्नेहरू चिन्तित हुने त स्वाभाविक नै हो नि । अहिले विभिन्न कम्पनीहरू हाइड्रोपावर माइक्रो फाइनान्स नयाँ–नयाँ सञ्चालनमा आएका बिमा कम्पनीहरूका साथै रियल सेक्टरका कम्पनीहरूको पनि नयाँ–नयाँ सेयरहरू बजारमा आउने अवस्थामा रहेका बेला सेयर बजार ओरालो लाग्नु सेयर बजारले गति लिन नसक्नु सेयर बजारका लागि राम्रो नभएको बताउँछन् सरोकारवालाहरू । त्यसो त पछिल्लो समयमा सेयर बजारले गति लिन नसकेको र सेयर बजार ओरालो लागेकोमा यसका धेरै कारण हुन सक्छन् । यसको जिम्मवार को, दोष कसको ? सरकारको, अर्थमन्त्रीको, नेपाल राष्ट्र बैंकका नियामक निकायहरूको वा स्वयम् लगानीकर्ताहरूको । सेयर बजारका लगानीकर्ताहरूले पनि बुझ्नुपर्छ, सेयर बजार भनेको जोखिमको व्यवसाय हो, सेयर बजारमा जोखिम पनि हुने गर्छ भने यसले राम्रो प्रतिफल पनि दिने गर्छ । सेयर बजारका लगानीकर्ताहरूले कहिले गुमाउँछन् त कहिले कमाउँछन् । यस कारणले पनि जोखिम मोल्न नचाहनेहरूले सेयर बजारमा प्रवेश नगरेकै जाती । जोखिम मोल्न नचाहनेहरूले बैंकमा रकम जम्मा गर्ने अनि नियमित ब्याज कमाइरहने नै जाती, सेयर बजारमा लाग्ने लगानीकर्ताहरूमा धैर्यता पनि हुन आवशयक छ भने होल्ड गर्न सक्ने क्षमता पनि हुन जरुरी छ । सेयरको भाउ घट्दै छ, भोलि फेरि घट्छ कि भनेर डराएर, आत्तिएर, घाटा खाएर सस्तोमा सेयर बेचेर बाहिरिने लगानीकर्ताहरू सेयर बजारमा प्रवेश नगरेकै जाती ।
पछिल्लो समयमा सेयर बजारमा देखा परिरहेको गतिविधिले लगानीकर्ताहरूको आत्मबल उकास्न सकिरहेका छैनन्, नेप्से घट्ने क्रमले गर्दा भोलि फेरि घट्छ कि भन्ने त्रासको मनोविज्ञानले काम गरिरहेको छ, यसले सेयर बजारमा प्रवेश गर्न चाहिरहेका लगानीकर्ताहरू पनि प्रवेश गर्न सकिरहेका छैनन् । यसकारणले पनि सेयर बजारले गति लिन नसकिरहेको हो भन्दा पनि फरक नपर्ला । सेयर बजारमा लगानीकर्ताहरूको ट्रेन्ड हेर्दा सेयरको भाउ घटेका बेला भोलि फेरि घट्छ कि भनेर डराएर बेच्ने गरेका हुन्छन् भने बढेको बेला भोलि फेरि बढ्छ कि भनेर किन्ने गर्ने गरेको पनि देखिन्छ ।
त्यसो त सेयर बजार उकालो÷ओरालो लाग्नेमा सेयर बजारमा केही ठूलाबडा लगानीकर्ताहरू सेयर बजारसम्बन्धी संघसंस्थामा आबद्ध ठूलाबडा सेयर बजारका खेलाडी भनिनेहरूले पनि बेला–बेलामा सेयर बजारलाई आफ्नो अनुकूल बनाउनका लागि चलखेल गर्ने गरेको सरोकारवालाहरू बताउने गरेका छन् । यसमा सेयर बजारका लगानीकर्ताहरू भने सेयर बजारप्रति सचेत र चनाखो हुनुपर्छ भने सेयर बजारप्रति सकारात्मक पनि हुनुपर्छ । सेयरको भाउ घटिरह्यो भन्दैमा सस्तोमा घाटा खाएर हतारमा सेयर बेचेर सेयर बजारबाट बाहिरिने गर्न भने हुँदैन । यसले सेयर बजार बढ्न होइन, झन् घट्नमा सहयोग हुन्छ । सेयर बजार घटेपछि ढिलोचाँडो बढ्छ पनि । नेप्से घटबढ हुनु सेयर बजारको विशेषता नै हो ।