प्रा. डा. हरि शर्मा
शुक्रवार, कार्तिक १, २०७६
430

 
पर्यटकलाई गगनचुम्बी अट्टालिकाहरूले भन्दा मौलिक र सांस्कृतिक पहिचान अँगालेका उत्पादनहरूले बढी लालायित बनाउने अध्ययन–अनुसन्धानहरूले देखाएका छन् ।

 भ्रमण वर्ष अर्थात् पर्यटन वर्षहरूको आफ्नै महत्व छ, विशेष गरी दक्षिण र दक्षिण एसियाली मुलुकहरूमा । आफ्नो मुलुकमा विदेशी पर्यटकहरूलाई आकर्षित गर्दै मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउने उद्देश्यले नै हामीहरूले भ्रमण वर्षको अवधारणालाई अघि बढाउँदै आइरहेका छौँ । सन् १९९८, सन् २०११ र त्यसपछि सन् २०२० मा नेपालमा भ्रमण वर्ष मनाइँदैछ । सन् २०२० मा हाम्रो लक्ष्य २० लाख पर्यटक नेपाल भित्र्याउने रहेको छ । पश्चिमी विश्वका विकसित मुलुकहरूमा भ्रमण वर्ष मनाउने चलन छैन, किनभने त्यहाँ प्रत्येक वर्ष मुलुकको जनसंख्याभन्दा दोब्बर–तेब्बर पर्यटकहरू भ्रमणार्थ जाने गर्छन् ।
जस्तै : ४ करोड ६७ लाख २० हजार कुल जनसंख्या भएको स्पेनमा गत वर्ष सन् २०१८ मा ८ करोड २८ लाख पर्यटक आए । त्यसरी नै फ्रान्सको कुल जनसंख्या ६ करोड ६८ लाख ९० हजार छ भने त्यहाँ गत वर्ष भ्रमणमा आउने पर्यटकहरूको संख्या ९ करोड थियो । गत वर्ष स्विट्जरल्यान्ड भ्रमणमा जानेहरूको संख्या १ करोड ८४ लाख थियो । जब कि त्यहाँको जनसंख्या ८४ लाख २० हजार मात्र छ । भुटानजस्तो सानो भूपरिवेष्टित मुलुकमा सन् २०१७ मा १ लाख ८३ हजार क्षेत्रीय पर्यटक आएको तथ्यांक छ । श्रीलंकमा २० लाख ३० हजार, माल्दिभ्समा १३ लाख ८९ हजार र बंगालादेशमा २ लाख विदेशी पर्यटक बर्सेनि आउने गरेको उपलब्ध अभिलेखहरूले बताउँछन् ।

यसरी हेर्दा पूर्वीय मुलुकहरूले पर्यटन प्रवद्र्धनका लागि निश्चित रूपमा धेरै नै गर्नुपर्ने देखिन्छ । केही अपवाद त छन् नै, जस्तै थाइल्यान्डको पर्यटक आगमन ३ करोड २५ लाख ९० हजार (सन् २०१६), मलेसियामा २ करोड ५० लाख ८० हजार (सन् २०१८), मलेसियाले नेपालले झैँ सन् २०२० लाई मलेसिया भ्रमण वर्ष घोषणा गरिसकेको छ । त्यस्तै सिंगापुरमा १ करोड ७० लाख ४० हजार (सन् २०१७) विदेशी पर्यटकहरूले भ्रमण गरेका छन् । क्षेत्रीय मुलुकहरूको दाँजोमा पनि हामी निकै पछाडि परेको अनुमान गर्न सकिन्छ । बंगलादेशले पर्यटन उद्योगबाट भन्दा पनि अन्य उद्योगहरूबाट यथेष्ट राजस्व आर्जन गर्छ । गार्मेन्ट, कृषिजन्य उत्पादन, औषधी तथा कन्फेक्सनरी आदिको निर्यातले बंगालादेश आत्मनिर्भर छ । हाम्रो अवस्था त्यति राम्रो छैन र सुधारोन्मुख पनि देखिँदैन, नेपालको पर्यटनलाई आजसम्म बचाइराख्नका लागि निजी क्षेत्रले जे–जति गरेको छ, त्यसको तुलना छैन ।
दशक लामो द्वन्द्वकालको बेला होस्, प्राकृतिक आपद्–विपद्का बेला होस् अथवा नाकाबन्दीकै बेला किन नहोस्, निजी क्षेत्रले पर्यटन उद्योगलाई सधैँ जोगाइराख्यो । विदेशी मित्रहरूको नेपालप्रतिको आकर्षण थप ऊर्जाको सञ्चार गर्दै अतिथिहरूलाई नेपालको दिग्दर्शन गराउन चुकेन । जति नै नोक्सानी बेहोरे पनि व्यवसायीहरूले आफ्नो सटर बन्द गरेनन् । त्यसैले भनिन्छ, नेपालको पर्यटनलाई दिगो बनाउन निजी क्षेत्रकै महत्वपूर्ण योगदान छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले झन्डै चार वर्ष आफ्नो स्थापना कालको स्वर्ण जयन्ती मनाउँदा सार्वजनिक रूपमा घोषणा गरेको थियो “सन् २०३० सम्म नेपाल आउने विदेशी पर्यटकहरूको संख्या ५० लाख पु-याइनेछ ।” नाट्टाले आफ्नो प्रणलाई बिर्सेको छैन । कुनै सरकारी अनुदान बिना, संघका सदस्य कम्पनीहरूले सहयोगस्वरूप भुक्तानी गर्ने नगन्य वार्षिक सदस्यता शुल्क मात्रैका भरमा नेपाल पर्यटन बोर्ड जस्ता अन्य संघ–संस्था र व्यावसायिक संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै प्रवद्र्धनका प्याकेज लिएर सम्भावित पर्यटकहरूका बजारमा पुगेकै हुन्छ; तर दुर्भाग्य, हाम्रो राष्ट्रिय ध्वजावाहकको अवस्था अहिले नाजुक बन्दै गइरहेको देख्दा मुलुकको आर्थिक मेरुदण्ड भनिने पर्यटन उद्योगले कसरी फड्को मार्ला भन्ने सोच्न हामी बाध्य छौँ ।
जे होस्, निजी क्षेत्रका नाट्टा, टान, पाटा, हानजस्ता संस्थाहरूले जसोतसो बल जुटाएर अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटनको श्रीवृद्धिका लागि आफ्नो प्रभावकारी उपस्थिति प्रदर्शन गरिरहेका छन् । हालै नाट्टाले प्रत्येक दुई वर्षमा पर्यटनसँग सम्बन्धित बौद्धिक र प्राज्ञिक पक्षलाई उजागर गर्न आयोजना गर्ने अधिवेशनको २२ औँ संस्करण प्रस्तुत ग-यो ।
पर्यटन विकासमा डिजिटाइजेसनको महत्व र व्यवसायीहरूका लागि अध्यात्मिक चेतनाबारे बौद्धिक छलफलको मञ्चन गर्नुका साथै विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा नाट्टा विशेष कार्यक्रम पनि ग-यो । दुवै कार्यक्रम अत्यन्तै सफलताका साथ सम्पन्न गरिएकोमा नाट्टा कार्य समिति र सचिवालय परिवारलाई साधुवाद टक्य्राउनैपर्छ । नाट्टाले यसै वर्ष पनि नेपाल भ्रमण वर्ष २०२० को उद्देश्यलाई लक्षित गरी भारत, चीन र बंगलादेशमा प्रवद्र्धन टोली पठाई नेपालबारे प्रस्तुतीकरण गरेको छ । यसरी वर्षाैंदेखि नाट्टाले मुलुकको पर्यटन उद्योगलाई गतिशील बनाइराख्नका लागि अन्य अनेकौँ अन्तर्राष्ट्रिय गन्तव्य स्थलमा नेपालबारे विभिन्न कार्यक्रम गर्दै आएको परम्पराले आगामी दिनहरूमा समेत निरन्तरता पाइरहने कुरामा हामी विश्वस्त रहन सक्छौँ ।
नेपाल सरकारबाट पर्यटन प्रवद्र्धनमा जे–जति राशि खर्च भएको छ त्यो त मात्र बालुवामा पानी खन्याउनु जस्तो हो । त्यो खर्चको फाँटबारी हेरियो भने थाहा हुन्छ, जम्बो आकारका प्रतिनिधि मण्डलको विदेश सयरका लागि हवाई टिकट, होटेल, डी.ए. र टी.ए.को फेहरिस्त जहाँ ओनरसिप (आफ्नोपन) छैन, त्यहाँ तपाईं कतिसम्म इमानदारिताको अपेक्षा राख्न सक्नुहुन्छ । सरकारी प्रवद्र्धन टोलीमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूलाई सम्मिलित गराई हेरौँ त त्यसको प्रतिफल । हिजोका दिनमा पर्यटन बोर्डउपर यस्ता लाञ्छना नआएका होइनन् । उसले अविलम्ब गेम चेन्ज गरेर निजी क्षेत्रलाई आफ्ना हरेक बजारमा पु-याएको छ । उत्पादनहरूको प्रदर्शनी गरेको छ र नेपालबारे उत्कृष्ट प्रचार–प्रसारका सामग्रीहरू निर्माण गरेको छ ।
नाट्टाको बाइसौँ अधिवेशनमा वक्ता डा. उपेन्द्र महतोले भन्नुभयो : २० लाख पर्यटक लक्षित नेपाल भ्रमण अभियान बारे विकसित मुलुकहरूमा कुरा गर्दा त संकुचित हुनुपर्ने अवस्था छ । यस पंक्तिकारलाई पनि उक्त भनाइमा धेरै नै संवेदनशीलता छिपेको आभास भयो । ने.भ्र.व. सचिवालय २०२० को संयोजनमा इटालीको रोममा एउटा प्रवद्र्धनमूलक कार्यक्रम भयो । कार्यक्रमको अघिल्लो दीर्घामा नेपालीहरू नै भरिभराउ थिए र पछिल्लो दीर्घामा बोलाइएका विदेशी पाहुनाहरू बसेको देखियो । के यस्तै हो त अतिथि देवो: भवको अर्थ ? यस्ता त्रुटिपूर्ण प्रचार पद्धतिहरूले हामीलाई पछि नै पार्छन् र हामी पछुताउँछौँ ।
भ्रमण वर्ष २०२० को प्रचार–प्रसारमा विगतमा कति जना नेपाली टुर अपरेटरहरूलाई सामेल गराइयो ? कति जना सरकारी कर्मचारी र कति जना पर्यटन व्यवसायका अन्य विधाहरूबाट प्रतिनिधित्व गराइयो ? त्यो गलत प्रक्रिया नदोहोरियोस् । यसमा सुधार ल्याइनैपर्छ र व्यवसायीहरू (स्टेकहोल्डर्स) लाई प्राथमिकताका साथ सम्मिलित गरेर प्रवद्र्धन समूह गठन गरी बजारमा पठाइनु नितान्त जरुरी छ । अन्यथा, राज्यले मात्र ढुकुटी मास्ने काम गरेको ठहरिनेछ ।
प्रदेश र स्थानीय सरकारहरूले आ–आफ्नो क्षेत्रमा पर्यटकहरूका निम्ति आकर्षक, मनोरम र रमणीय ठाउँहरूको पहिचान गरी तिनको सौन्दर्यीकरण र ती ठाउँहरूमा पुग्ने पूर्वाधार निर्माण गर्दै पाहुनाहरूका लागि सेवा सुविधा सम्पन्न घर वास (होमस्टे) समेतको व्यवस्था गरिरहेका छन् । नेपालको पर्यटन उद्योगका लागि यो एउटा मौलिक र सकारात्मक संकेत हो ।
पर्यटकलाई गगनचुम्बी अट्टालिकाहरूले भन्दा मौलिक र सांस्कृतिक पहिचान अँगालेका उत्पादनहरूले बढी लालायित बनाउने अध्ययन–अनुसन्धानहरूले देखाएका छन् । प्राचीन ऐतिहासिक भवन र अवशेषहरूको अवलोकन गर्दै थाकेर चुर भएपछि कासाब्लाकाको मोरक्कोमा यो पंक्तिकार एउटा यस्तो झुपडीमा पुग्छ जहाँ ठूलो भाँडामा ताजा पुदिनाको चिया पाकिरहेको थियो । सिसाको एउटा गिलासमा त्यो चिया खाएपछि थकान त्यहीँ सकियो र पुन: हामी आफ्नो अवलोकन भ्रमणमा संलग्न भयौँ । त्यहाँ ब्ल्याक कफी, कपुचिनो, लाते वा अमेरिकानोको सम्झना पनि आएन । पर्यटनमा चाहिने मौलिकता हो । कृत्रिमताले पर्यटकलाई लोभ्याउँदैन ।