गोविन्द चापागाईं
शुक्रवार, आश्विन १७, २०७६
295

चारैतिर हरियाली, रूखपातहरूमा नयाँ पात पलाउने, फूलहरूको बास्ना तथा आकाशमा देखिने चङ्गा र घमाइला दिनहरू अनि दसैंमा सुनिने मङ्गल धुनले गर्दा लाग्छ, दसैं आएछ । दसैं हिन्दूहरूको महान् चाड पनि हो । दसैंलाई मुख्य अनि महान् चाडका रूपमा मनाइन्छ । दसैं भन्नासाथ वर्षभरि काम गरेर सत्यको जितका रूपमा मनाउने तथा आत्मीय मेलमिलापसँगै स–परिवारमा बसेर एकआपसमा दुःखसुख सटासाट गरी विभिन्न तरिकाले रमाइलो गरी मनाउने चाड हो ।
घटस्थापनाको दिनदेखि सुरु भएर कोजागत पूर्णिमा अर्थात् १५ दिनसम्म मनाउने गरिन्छ । दसैंले धार्मिक, सांस्कृतिक तथा आत्ीमय मेलमिलापलाई मजबुत बनाउने काम गर्छ । भाइचाराको सम्बन्ध कायम गर्छ । दसैंमा नयाँ–नया कपडा लगाउने, मीठो–मीठो खाने तथा आफन्त र मान्यजनको हातबाट आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ । विदेशमा रहनुहुने लाखौं नेपाली दसैंको अवसर पारेर आफ्नो जन्मघर फर्कन्छन् भने अहिले राजधानीभित्र रहेका मानिसहरू पनि दसैंमा घर जान्छन् ।

यातायात व्यवस्थाका अनुसार राजधानीभित्र मात्रै अग्रिम टिकट बुकिङ गर्नेहरूको संख्या ६८ हजार रहेको उल्लेख छ । दसैंका बेला त घटस्थापनादेखि फूलपातीसम्म झन् मानिसहरू प्रायः आ–आफ्नो घर जाँदा राजधानी सुनसान नै रहन्छ । अत्यधिक सवारी जाम हुने क्षेत्र यो समय पूरै खाली रहन्छ । राजधानीको हरेक सपिङ मलमा दसैंको समयमा अत्यधिक भीडभाड हुन्छ । नयाँ नोटका लागि बैंकमा त्यस्तै भीड, लत्ताकपडाका लागि सपिङ मलमा त्यस्तै भीड, स–साना खाद्य पसलहरूमा त्यस्तै भीड, तरकारी पसलहरूमा त्यस्तै भीड, खसी बजारमा त्यस्तै भीड, गाउँ घरतिरको हाटबजारमा त्यस्तै भीड, जता गयो त्यतै भीड, हरेक नागरिकको अरू बेलाको तुलनामा दसैंमा आर्थिक चलयमान बढी हुन्छ ।
केटाकेटीको स्कुल तथा कलेज पनि लामो समयसम्म छुट्टी हुन्छ । नवदुर्गा भवानीको पूजा तथा विभिन्न शक्तिपीठको पूजाआजा गरी मनाउने चलन छ । दसैंका बेला हरेक निजी कम्पनीले विभिन्न छुटसहित सरसामानहरू बिक्री गर्छन् । लगाउनेमा छुट, खानेकुरामा छुट, सवारी साधनमा छुट, विभिन्न वित्तीय संस्थामा समेत सर्वसाधारणलाइ लक्षित गरी विभिन्न सामानमा अत्यधिक छुट दिइन्छ । विशेष गरी सवारी साधनमा कम्पनीहरूले छुट दिने हुनाले धेरै मानिसले दसैंमा अफर आउँछ अनि सवारी साधन किन्ने भन्ने सोच बनाएका हुन्छन् ।
केही कम खर्च गरे आवश्यकता पूरा हुने भएकाले पनि प्रायः सबै मानिस दशैं नै पर्खिरहेका हुन्छन् । दसैंलाई अत्यधिक अर्थको चलयमान हुने पर्वका रूपमा पनि लिइन्छ । किनकि हरेक सामानमा केही छुट पाइन्छ । आर्थिक हिसाबले यसपालिको दसैं महँगो दसैं हुने सबैको गुनासो छ, तर जतिसुकै महँगो भए पनि दसैंमा मानिसहरू सरसामान किन्न तत्पर रहन्छन् । आमसर्वसाधारण भन्छन्— आखिर जति नै रकम भए पनि सरसामान किन्नैप¥यो, जुटाउनैप¥यो । महँगो भएर के गर्नु ? महँगी नियन्त्रण हुने होइन । आखिर दसैं त मान्नैप¥यो । यो वर्ष मात्र होइन, गत वर्ष पनि महँगी अत्यधिक बढेको थियो ।
घरबाट बजार निस्केपछि जताततै जेमा पनि अत्यधिक पैसाको चलायमान हुन्छ, त्यो पनि बढ्दो रूपमा । हुनेलाई दसैं नहुनेलाइ दशा भन्छन् मानिसहरू । समग्रमा भन्दा बढ्दो आर्थिक चलयमानको पर्वका रूपमा विकसित हुँदैछ बडादसैं । बजारमा किनमेल गर्न जानेबित्तिकै अहिले अत्यधिक महँगो भएको अवस्थामा दोब्बर खर्च हुने देखिन्छ । तरकारीको मूल्य ह्वात्तै अकासिएको छ । बजार छोइ नसक्नु छ । जे–जस्तो भए पनि सबै नेपालीले दसैं हर्षोल्लासका साथ मनाउने गरौं । मादक पदार्थ खाएर सवारी नचलाऔं । अत्यधिक मात्रामा मद्यपान सेवन नगरौं । दसैंमा आत्मीयता तथा भाइचारा सम्बन्ध कायम राखौं । सम्पूर्ण नेपालीलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।