कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
412

विश्वकै उच्च हिमालमा पदयात्रा गरिने मार्गको नाम हो– ‘शेर्पेनी कोल’ । सर्वेक्षण नै नगरे पनि सम्भवतः यो पदयात्रा मार्ग विश्वकै अग्लो हिमाली क्षेत्रमा गरिने पदयात्रा मार्ग पनि हो ।
हाल संखुवासभाको नुमसम्म गाडी चल्ने गरेको छ । त्यसैले पदयात्रीहरू पनि हिउँद याममा नुमसम्मै गाडीमा जान्छन् भने त्यहाँबाट पैदल यात्रा थाल्छन् । यसरी संखुवासभा जिल्लाको नुम, टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी–कोल पास गरेर सोलुखुम्बुको मेरा–ला, खारे, ठाङना, क्षेत्र–ला हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ, अथवा मेरा–लाबाट आम्फु लाप्चा हुँदै छुकुङ निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे हुँदै लुक्लामा आएर पदयात्रा समाप्त हुन्छ ।

तुम्लिङटार संसारकै होचो उपत्यका पनि हो । खास गरी यो मार्गमा पदयात्रा गर्न विदेशी पर्यटकहरू अधिकांश जहाजबाटै तुम्लिङटारसम्म जान्छन् । तुम्लिङटारबाट पैदलयात्रा सुरु हुन्छ । मानेभन्ज्याङ, चिचिला–नुम, टासी गाउँ, खोङ्मा डाँडा, तुम्बुक, याङले, हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल पास गरिन्छ । तुम्लिङटारका बारेमा सामान्य नागरिकलाई पनि थाहा हुनुपर्छ कि यसलाई अरुण उपत्यका भनेर पनि चिनिन्छ भने यो संसारकै होचो उपत्यका पनि हो । शभाया खोला र अरुण नदीको डीलमा अवस्थित तुम्लिङटारमा मिश्रित जातिको बसोबास छ । जस्तो किराती (राई !), लिम्बू, नेवार, गुरुङ, क्षेत्री, बाहुन, कामी, दमाई, माझी आदि । यो केवल संसारको होचो उपत्यका मात्र नभएर करिब ६ सय प्रजातिका चरा–चुरुङ्गीहरूको बासस्थान पनि हो । त्यस्तै कतिपय नेपालमा मात्रै पाइने रैथाने जातका चराहरू पनि पाइन्छन् । त्यसबाहेक कस्तूरी, मृग, थार, घोरल, चितुवा आदि जंगली जनावरहरू पनि बाटामा प्रशस्तै देख्न र भेट्न सकिन्छ ।
यो पदयात्रा मार्गमा पनि विभिन्न उपमार्ग पनि छन् तापनि मानेभन्ज्याङ, चिचिला, तुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, हिलारी बीच क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) मा क्याम्प गर्नुपर्छ भने यहाँ सीधा भिरालो पर्वतारोहण÷पदयात्राको भाषामा भन्नु पर्दा ‘स्टिभ’ छ । यहाँको बाटो पुरा हिउँ नै हिउँले ढाकेको छ, जहाँ नीलो जमेको ‘ब्ल्यू आइस’ हिउँको ढिक्काको बाटो हँुदै हिँडेर पास गर्नुपर्छ भने भोलिपल्ट ६ हजार २ सय मिटरको हाराहारीमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नुपर्छ । यो मार्गमा टासी गाउँसम्म मान्छेको बसोबास छ । यहाँ १५–२० घर भोटिया (शेर्पा) हरू छन् । यसपछि प्रायः सबै क्याम्प खर्क–चउरमा गरिन्छ भने हिलारी बेस क्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेस क्याम्प ४ हजार २ सय मिटर उचाइमा अवस्थित छ भने एक दिन नाक ठोक्किने गरी उकालो हिँड्नु पर्छ । जब शेर्पेनी कोल र बरुणसे–१ बीचको ६ हजार २ सय मिटरको सेरोफेरोमा पदयात्रीहरू यात्रा गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरूले खुबै सास्ती पनि खेपिरहेका हुन्छन्, किनभने उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ, त्यसमाथि हिउँमाथि यात्रा गरिरहेका हुन्छन् । थाकेको बेला बिसाउन र आराम गर्न पदयात्रीहरूका लागि सजिलोसँग बस्ने गरी ठाउँ हुँदैन । त्यसैले हिँड्दा–हिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास लिन्छन् । बिचराहरू ! त्यो बेला उनीहरूको हालत हेरी नसक्नुकै हुन्छ । प्रायः सबैको हालत त्यस्तै हुन्छ । तापनि भरियाहरूको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय पदयात्री तथा भरियाहरू उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थाई रोग (फोक्सो र दिमागमा पानी जम्ने) को कारणले गर्दा सिकिस्तै हुन्छन् भने केहीको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ । कोहीले डोरीबाट चिप्लिएर पनि सिलटिम्बुर खान्छन् । स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेस क्याम्प आउने दिन ५ सय मिटरजति डोरी टाँग्नु पर्छ । मान्छे, खाना, पाल, बेडिङ प्रायः सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कतिपय भरियाले भारी बोक्न नसकेर खानाको भारी बाटैमा (हिउँमै !) छाडेर हिँड्छन् । हुन पनि ज्यानभन्दा ठूलो त होइनन् ती खानेकुरा र सरसामानहरू ! त्यसरी छाडेको खाना यी बीचका हिम बाटामा प्रशस्तै देखिन्छ । कतैकतै मान्छेको लास पनि भेटिन्छ ।
–निनाम कुलुङ ‘मंगले’