ज्योति खतिवडा
बुधवार, आश्विन १५, २०७६
386

चाडपर्व आउँदै गर्दा उपभोग्य वस्तु, लत्ताकपडा तथा विलासिताका सामानको बिक्री वितरण अरू समयमा भन्दा धेरै हुने गर्छ, जसले गर्दा यो समय अर्थिक कारोबारका दृष्टिले महत्वपूर्ण मानिन्छ । चाडपर्वमा आफ्नो आयस्रोतले भ्याएसम्म तथा नभ्याए ऋण खोजेर भए पनि चाडपर्वमा मीठो–मसिनो खाने नेपालीहरूको पुरानो परम्परा अझै पनि रहिआएको छ । यसरी चाडपर्वको नाममा धेरै खर्च गर्ने परिपाटी दिनदिनै बढ्दै गइरहेको अवस्थामा चाडपर्व हाम्रो समाज परिवर्तनसँगै भड्किलो बन्दै गइरहेको छ । त्यस्तै अर्काको देखासिकी गरेर चाडपर्व मनाउने एउटा थितिजस्तै हुँदै आइरहेको छ ।
चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता ठगिने क्रम बढ्न थालेको छ । चाडपर्व लक्षित गरी खोलिने सुलभ तथा सस्ता पसलहरूमा गुणस्तरहीन सामान बिक्री–वितरण हुने गरेको पाइन्छ, जसले गर्दा उपभोक्ता पैसा बचाउने लोभमा गुणस्तरहीन सामान किन्न बाध्य हुन्छन् । यस्ता चाडपर्व लक्षित आउने अफरहरूमा उपभोक्ता सचेत हुन अति आवश्यक छ । जब चाडपर्व नजिकिँदै गर्छ तब हरेक क्षेत्रमा लुटतन्त्र सुरु हुने गर्छ । यसरी चाडपर्वमा हुने विकृति, विसंगति नियन्त्रणमा सरकार तथा सम्बन्धित निकायहरूले ध्यान दिनु अति आवश्यक देखिएको छ । हरेक वर्ष सरकारले चाडपर्वको समयमा नाम मात्रको अनुगमनले केवल उपभोक्ताको आँखामा छारो हाल्ने काम मात्र भएको देखिन्छ ।

अर्थतन्त्रको चलायमान यो समयमा उपभोग्य क्षेत्रदेखि लिएर सेवाप्रदायक क्षेत्रमा पनि आमजनमानस लुटिने गरेका छन् । दैनिक उपभोग्य वस्तु बेच्न सस्तो तथा सुलभ पसलहरूको नाममा खोलिने, ५–१० रुपैयाँको लोभ देखाएर गुणस्तरहीन सामान बिक्री गरिन्छ । यो समय बजारमा खुलेआम मिति सकिएका, मिसावट गरिएको खाद्यवस्तु तथा कम तौल भएका खाद्यपदार्थ स–साना पसलदेखि ठूला–ठूला डिपार्टमेन्टल स्टोर्सहरूमा समेत बिक्री भइरहेको हुन्छ । त्यस्तै विभिन्न किसिमका छुट तथा अफर देखाएर लत्ताकपडा बिक्री गर्ने व्यापारीहरूले पनि निर्धक्क कमसल मूल्यका सामान चर्को मूल्यमा बिक्री गरिरहेका छन् । यो समय उपभोक्ता ठग्ने सुनौलो अवसर पनि हो । चाडपर्वमा सबैलाई राम्रो लगाऊँ, मीठो–मसिनो खाऊँ लाग्ने भएकाले हामी ससानो कुरामा ख्याल नगरी वस्तु खरिद गर्छौं, जसले गर्दा हामी अप्रत्यक्ष रूपमा स्वास्थ्यमाथि ठूलो खेलबाड गरिरहेका छौं । अब हामी उपभोक्ता चनाखो हुन अति जरुरी छ । हचुवाको भरमा गुणस्तरहीन सामानहरूमा पैसा र समय खेर नफालौं ।
यति हुँदाहुँदै पनि कहींकतै ठगिएको थाहा पाउनासाथ विरोध र सचेत नागरिकका हैसियतले अरूलाई पनि ठगिने वातावरणबाट जोगाऊँ । आफूले खरिद गर्न लागेका सामानहरूको राम्ररी हेरेर किन्ने बानी आजैबाट सुरु गरौं । नाम र ब्रान्डको भरमा परी कहिल्यै सामान खरिद नगरौं । अहिलेको समय भनेको उपभोक्ता नै सजग र होसियारी हुनुपर्ने बेला आएको छ । अर्को कुरा, चाडपर्वमा अनावश्यक खर्च नगरौं । आफ्नो आम्दानीअनुसारको खर्च गर्ने बानी नै सचेत उपभोक्ताको खुबी हो । अरूको देखासिकीबाट टाढै बसेर आफूलाई अनुकूल हुने ठाउँमा अति आवश्यक सामान मात्र किनौं, कहिल्यै अनावश्यक ऋण लिएर पर्व मनाउने नगरौं ।
अन्त्यमा चाडपर्वमा हुने ठगी नियन्त्रणको लागि सरकारी क्षेत्रबाट छिटोभन्दा छिटो अनुगमन तथा निरीक्षण गर्नु अति आवश्यक छ । त्यस्तै जब उपभोक्ता आफैं जागरुक तथा सचेत भएर सामान खरिद गर्छौं तब ठग्ने नियत बोकेर व्यापार गर्ने व्यापारी पनि आफैं सजग हुन्छन् । यदि हामी सचेत भएनौं भने ठगिने क्रम अझै बढ्दै जान्छ र लुटिने क्रम सधैंभरि रहिरहनेछ ।