सागर परियार
मंगलबार, आश्विन १४, २०७६
566

यतिबेला राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति राष्ट्रियसभाका एक दर्जन सांसद जुम्लामा सिंजा सभ्यताको अध्ययन–अनुसन्धानमा व्यस्त छन् । नेपालको उद्गम स्थलका रूपमा रहेको सिंजा सभ्यताको ऐतिहासिक महत्व र त्यसका भग्नावशेषका बारेमा बुझ्न केन्द्र सरकारका दर्जन सांसद जुम्ला पुगेका हुन् । राष्ट्रिय सम्पदासहित पिछडिएको क्षेत्र, समुदाय र संस्कृतिको अध्ययन गर्न जुम्लामा स्थलगत अवलोकनमा आएका छन् ।
कर्णालीमा रहेका संस्कृति परम्परा चालचलन र नेपालको गौरवसँग जोडिएको सिंजा सभ्यताको इतिहास बुझ्न टोली जुम्ला आएको जिल्ला समन्वय समितिका प्रमुख कार्मा बूढाले बताए । सिंजा सभ्यताका बारेमा छलफल गर्दै राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति राष्ट्रिय सभाका सदस्य डिलकुमारी रावल थापाले कर्णालीका घरघरमा कलाकार र कलाकारिता लुकेको बताइन् ।

राष्ट्रिय सम्पदाको अवस्था, सांस्कृतिक चालचलनको अवस्था बुझ्न सात जना सांसदसहित ११ जनाको टोली जुम्ला पुगेको हो । सभापति थापाले कर्णालीका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका विषयलाई लिपिबद्ध गरी सरकारसमक्ष पेस गर्ने बताइन् ।
सिंजाको विराट दरबार, लामाथाडा, कनकासुन्दरी मन्दिर, पाण्डवगुफालगायतका क्षेत्रमा केन्द्र सरकारकाले सांसदहरूले अवलोकन गरेका छन् ।
स्थानीय सिंजावासी तथा नेकपाका प्रदेश समिति सदस्य पूर्णप्रसाद धितालले सिंजा सभ्यताको समग्र विकासका लागि ‘सिंजा प्रतिष्ठान ऐन’ जारी गर्नुपर्ने बताए । अहिलेको अवस्थामा ऐन नै जारी भएमा त्यसभित्र सिंजा सभ्यता विश्वविद्यालय, संस्कृति, कृषिदेखि विभिन्न क्षेत्र हेर्ने विभाग भिन्नै हुने र यसको पूर्वाधारका लागि केन्द्र सरकारले नै जिम्मा लिनुपर्नेमा जोड दिए ।
धितालले राष्ट्रिय सरोकार समितिलाई प्रश्न गर्दै ०४२-४३ सालमा सिंजाको देयरपाटाको बारीमा पाइएका सुनका असर्फी अहिले कहाँ छन् भन्दै यसको उत्तर राज्यले दिनुपर्ने बताए ।
उनले, ‘अञ्चलाधीश जगदीश खड्का भएको समयमा पाइएका सुनका पैसा र विभिन्न गहना हामीले देख्न पाउँछौँ कि नाइँ ? नेपालको पहिलो मूर्ति विरुपाक्ष नभई सिंजाको सियूबागको मूर्ति रहेको दाबी गर्दै संरक्षण गर्न तर्क दिए ।
सिंजा ऐतिहासिक खस साम्राज्य अर्थात् राज्य भएको स्थानमा विभिन्न पुरातात्विक सम्पत्तिहरू रहेका छन् । यसको चर्चा पनि भइरहन्छ । लेखक तथा पत्रकार स्वर्गीय रत्नाकर देवकोटाको ‘बृहत् जुम्ला राज्यको इतिहास’ नामक पुस्तकमा सिंजामा सुनका सिक्का पाइएको इतिहास उल्लेख छ । सुनका सिक्का, माला, मूर्तिसहितको बाकस भेटिएको तर अञ्चलाधीश हुँदाखेरि हराएको हालसम्म पत्तो छैन ।
२०४३ सालमा पाण्डव गुफा गाउँको देयारपाटा वरपरको कुनै किसानको बारीमा स्थानीय जोखे भन्ने हलीले हल्लो जोत्दो एक ठाउँमा अड्ीकएको थियो । त्यही बारीमा सुनको असर्फी भरिएको गाग्री भेटिएको त्यस पुस्तकमा उल्लेख छ ।
यो विषय जग्गाधनी, सम्बन्धित हली र छिमेकीमा बाँड्ने विषयमा कुरा चलिरहेकै बेला कर्णालीका अञ्चलाधीश र जुम्लाका प्रमुख जिल्ला अधिकारीले थाहा पाए ।
त्यसपछि स्थानीय प्रशासन घटनास्थलमा पुगी अनुसन्धान गरेर भेटिएका असर्फी सुनका सिक्का तत्कालीन श्री ५ को सरकार पुरातŒव विभागबाट परीक्षण भई एक वर्षपछि सरकारको राजस्वमा जम्मा गरिएको बताइएको थियो । अहिले सिंजावासीले ती सिक्का कहाँ छ भन्दै प्रश्न गरिरहेका छन् । यस्तै शक्तिशाली राज्य भएकै हिसाबले पनि सिंजा सभ्यताको महत्व अहिले पनि उत्तिकै छ । तर, केन्द्र सरकारबाट चासोका साथ सिंजा सभ्यताको अध्ययन गर्न आएकोमा जुम्लीवासी खुसी छन् ।
सिंजा सभ्यताको अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न जुम्ला पुगेका सांसद तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापाले नेपालमा सिंजा सभ्यताको महत्व रहेको बताइन् । ‘विश्वमा ग्रिस सभ्यताको महत्वजत्तिकै नेपालमा सिंजा सभ्यताको महत्व छ । उनले पनि ग्रिस सभ्यताको प्रेरणाबाटै विश्वका मुलुकहरूले विकास गरिरहेका छन् ।
तर, नेपालले सिंजा सभ्यताबाटै जातजाति, भाषाभाषी, धर्मको रहनसहन, चालचलन, परम्परा सबै सिक्नुपर्ने अवस्था छ । नेपाली भाषाको उद्गम स्थान सिंजा सभ्यताको ऐतिहासिक कुरा लिपिबद्ध गरी सिंजा ऐन बनाउने विषयमा सरकारलाई मार्ग देखाउने उनको दाबी छ । कर्णालीका गाउँपिच्छे नै भिन्नै खालका कला संस्कृति तथा रहनसहन छन् ।
धान रोप्दा, बाली भित्र्याउँदा, वनपाखा जाँदा, गाई चराउन जाँदा, छोरा हुँदा, विवाह गर्दा, जात्रा लाग्दा, साउने संक्रान्ति आउँदा हरेक पर्व र अवसरहरूमा कर्णालीमा गाइने गीत, लगाउने पहिरन फरक छन् ।
करिब १७ लाख ७० जनसंख्या रहेको कर्णालीका घरघरमा आ–आफ्नै कला, संस्कृति छन् । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले यहाँको धार्मिक पर्यटन पनि महत्वपूर्ण रहेको बताइन् ।