गोविन्द चापागाईं
शुक्रवार, आश्विन ३, २०७६
592

काठमाडौं उपत्यकासहित देशका ४२ जिल्लामा प्रकोपका रूपमा फैलिएको डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । एडिस एजिप्टाई जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्र यो रोग सर्छ । यो लामखुट्टेलाई ‘टाइगर मस्किटो’ पनि भनिन्छ । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्छ ।
केही सावधानी अपनाए यो रोग लाग्नबाट बच्न सकिने चिकित्सकको सल्लाह छ । यो लामखुट्टेको आयु ३० दिनको हुन्छ र यसले एक दिनमा ५ सयदेखि १ हजारवटासम्म अन्डा पार्न सक्ने भएकाले पनि यसको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको हो । यो लामखुट्टेको अन्डा पानीबिना पनि केही महिनासम्म जीवितै रहन सक्छ । यो लामखुट्टे सामान्यतया उज्यालो समयमा टोक्ने गर्छ ।

विभिन्न लक्षणहरू देखिए डेंगु भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ, जस्तै : रिँगटा लाग्नु, कमजोरी हुनु, निद्रा नलाग्नु, ज्वरो आउनु, घाँटी रातो हुनु, हड्डी दुख्नु, भोक नलाग्नु, बान्ता हुनु, आँखा रातो हुनु, बिमिरा आउनु, नाडीको चाल बढ्नु, बढी गर्मी हुनुजस्ता लक्षणहरू देखा परेमा डेंगु लागेको हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
डेंगु लागेको शंका लागेमा तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ । यी त भए डेंगु रोगका लक्षहरू । यदि तपाईं–हामी आफैं सचेत रहे सरसफाइमा विशेष ध्यान दिए डेंगु रोगबाट बच्न सकिन्छ । डेंगुबाट बच्नका लागि घरवरपर पानी जम्ने ठाउँहरू नराख्ने, एक हप्ताभन्दा बढी बाल्टिनी तथा भाडामा पानी नराख्ने, पानी राख्दा सधै छोपेर राख्ने, घरवरपर झार नराख्ने, खाल्डाखुल्डी भए पुरिहाल्ने, सुत्ने बेलामा सधैं झुलको प्रयोग गर्ने, फूलदानीमा पानी जमाएर नराख्ने, यसले बढी दिउँसोको समय अर्थात् उज्यालोमा टोक्ने हुँदा सकभर पूरा बाहुला भएको लुगा वा शरीर पूरै ढाक्ने लुगा लगाउनुपर्छ, लामखुट्टे भगाउने ‘ओडोमस’ मल्हम लगाउनुपर्छ, लामखुट्टे छिर्न नदिन आआफ्नो घरको झ्यालढोकामा रहेको जाली बन्द गरिनुपर्छ ।
नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालयले पनि देशका सबै भागमा डेंगु रोगको विषयमा अभियान सञ्चालन गर्ने, घरदैलो कार्यक्रम सञ्चालन गर्ने, डेंगु नियन्त्रणमा सक्दो पहल गर्ने, सरसफाइ अभियान सञ्चालन गर्ने भनेको छ । आज राजधानीमा मात्र होइन, देशका धेरै ठाउँमा डेंगुप्रकोप बिरामीहरू दैनिकजसो अस्पताल धाउने गरेका छन् । पहल भने न्यून रहेको पीडित बिरामीहरूको भनाइ छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि डेंगु रोगसम्बन्धी जनचेतनामूलक सन्देशहरू आममानिसमाझ सक्दो सेयर पनि भैरहेको छ भने दुर्गम तथा सडक सञ्जाल कम भएका ठाउँहरूमा गई त्यस ठाउँमा जनचेतनामूलक कार्यक्रमहरू गर्नु जरुरी देखिन्छ । डेंगु आफैंमा प्राण घातक रोग भने होइन, यसले एडिस ‘एजिप्टालाई भाइरस’ नामक रोग एक व्यक्तिलाई टोकेर अर्को व्यक्तिमा गएर टोक्छ र यही भाइरसका कारण डेंगु लाग्ने चिकित्सकहरू बताउँछन् । यसको हेलचेक्य्राइँ गरे बिरामीको मृत्युसमेत हुने गरेको छ ।
डेंगु रोग दिनानुदिन राजधानीलगायत देशका मुख्य सहर विराटनगर, पोखरा, धनगढी, नेपालगन्ज, इटहरी, दमक, झापा, नारायगढलगायत आसपास जिल्लाहरूमा बढ्दो संक्रमणका रूपमा फैलिँदै गएको अवस्था छ । विशेष गरी तराईका मुख्य सहरहरूमा यसको प्रकोप बढी छ । रातिको समयमा सकभर झुलको प्रयोग गर्नुपर्छ । म्याट, धूप बालेर सुत्नु हुँदैन । यसले केटाकेटी तथा मानिसहरूलाई झन् बढी रोग ल्याउन मद्दत गर्छ । सकभर धूप र म्याटको सट्टामा झुल हालेर सुत्ने बानी बसाल्नुपर्ने देखिन्छ । सबै क्षेत्रबाट यसको न्यूनीकरण चाँडै होस् । तपाईं र हामी आफैं सचेत रहौं, रोग लाग्नुभन्दा अगावै सचेत रहे कुनै पनि हानिकारक जीवले आक्रमण गर्न सक्दैन ।