घनेन्द्रबहादुर श्रेष्ठ
शुक्रवार, आश्विन ३, २०७६
501

 

नेपाली समाजमा परापूर्वकालदेखि चलिआएका प्रथा–परम्पराहरूको विरुद्धमा जाने गरी पर्यटहरूलाई अभिव्यक्ति दिन लाउनु हुँदैन ।

नेपालका आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन व्यवसाय हो । यो व्यवसायमा संलग्न प्रत्यक्ष वा अप्रत्यक्ष व्यवसायीहरूले हरेक पर्यटकको आगमनबाट लाभ प्राप्त गरेका हुन्छन् ।
पर्यटन व्यवसायसँग प्रत्यक्ष रूपमा संलग्न हुने भनेको होटल, ट्राभल तथा टुर, ट्रेकिङ सञ्चालन गर्ने व्यक्तिहरू हुन्छन् । यी व्यवसायीहरूको प्राथमिक हिसाबले पर्यटकहरूसँग सम्पर्क भएपछि अन्य व्यवसायीहरू टुर गाइड, पदयात्रा पथप्रर्दशक, -याफ्टिङ, एयरलाइन्स, पर्यटकीय यातायातजस्ता व्यवसायीहरूले व्यवसाय प्राप्त गर्न सक्छन् । यसरी पर्यटकहरूको भ्रमणलाई सहजीकरण गर्न व्यवस्थापन गर्न तथा गुणस्तरीय राष्ट्रिय पहिचानलाई विश्वसामु पु-याउन हरेक व्यवसायीहरूको भूमिका हुन आवश्यक देखिन्छ ।
विशेष गरेर नेपालको पर्यटनको आधारलाई अध्ययन गर्ने हो भने बहुसंख्यक पर्यटक पदयात्रा तथा हिमाल आरोहणका लागि आउने गरेका छन् । त्यस कारण पदयात्रामा संलग्न हुने पदयात्रा गाईड वा सहयोगीहरूको भूमिकालाई अझ बढी व्यवस्थित, नियमित र निरन्तर गर्नलाई राज्यले कानुन बनाएर लागू गरेको हुन्छ । नेपालको पर्यटन ऐन, नियम तथा प्रचलित कानुनहरूले यस क्षेत्रको व्यवस्थापनका लागि कानुनहरू बनाएको छ । तर, कतिपय सन्दर्भमा पदयात्रामा जाने पथप्रदर्शक तथा सहयोगीहरूलाई त्यस्ता कानुनको ज्ञानको अभावमा पर्यटकहरूले गर्ने गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न सकिराखेका हुँदैनन्, जसले गर्दा एकातिर मुलुकको छविमा असर पर्ने हुन्छ भने अर्कातर्फ वातावरणमा प्रभाव तथा स्थानीय संस्कृतिमा समेत प्रभाव पर्ने गरेका उदाहरणहरू विद्यमान छन् ।
पदयात्राका क्रममा पदयात्रीहरूसँग जाने पथप्रदर्शक अविभावकका रुपमा रहनुपर्ने हुन्छ, किनभने विदेशीहरूलाई हाम्रो देशको रहनसहन, संस्कृति, भाषा तथा भोजनका विषयमा जानकारी नहुन सक्छ । एउटा पदयात्रीको मुलुकमा प्रचलनमा रहेको भाषा, संस्कृति तथा रहनसहनलाई उसले दुरुस्तै प्रयोग गर्दा हाम्रो कानुन तथा परम्परा र संस्कृतिलाई असर पर्न जाने हुँदा द्वन्द्व सिर्जना हुन सक्छ । यसकारण पनि नेपाली पथप्रदर्शकहरूमा हाम्रो समाजको प्रथा, परम्परा तथा कानुनका विषयमा समान्य जानकारी हुन आवश्यक देखिन्छ । नेपालीहरूमा भएको विविधता संसारमा विरलै पाइन्छ, चाहे त्यो संस्कृतिको पक्ष होस् वा प्राकृतिक होस् ।
हामीले पूर्वमा प्रयोग गरेका भाषा पश्चिममा फरक पर्न सक्छ, साथै हिमालमा बोलिने भाषा र व्यवहार तथा तराईमा हुने भाषा र व्यवहार फरक हुन सक्छ । यी विषयमा एउटा पथप्रदर्शक पर्यटकहरूलाई पदयात्रामा गइराख्दा ज्ञान हासिल गरेर गएमा राम्रो हुने देखिन्छ ।
पर्यटनक्षेत्रका पथप्रर्शकहरू वास्तवमै नेपाली पर्यटनक्षेत्रका दूतहरू हुन् ।
उनीहरूको मुस्कानयुक्त गुणस्तरीय सेवा, सम्बन्ध र व्यवहारले खुसी भएर निरन्तर नेपालको यात्रामा पर्यटकहरूको आगमन हुने परिस्थिति बनेमा नेपालमा पर्यटकहरूको घुइँचो नलाग्ला भन्न सकिन्न । त्यसकारण पथप्रर्शक भई वा पर्यटकहरूको सहयोगी भई जाने व्यवसायीहरूमा नेपालको पर्यटन, समाज, कानुनको विषयमा अध्ययन आवश्यक देखिन्छ । यस व्यवसायमा सामान्य व्यक्तिहरूको संलग्नता भएको भन्ने ठानिन्छ तर यो एउटा विशेषज्ञताको विषय हो जसमा अथाह ज्ञानको सम्भावना देखिन्छ र त्यत्तिकै संवेदनशीलतासमेत छ । पदयात्राका क्रममा नेपालको निकै अग्ला उचाइमा जानुपर्ने भएकाले यस क्षेत्रमा जाँदा व्यक्तिले आफ्नो जीउज्यानको समेत जोखिम मोलेर जानुपर्ने हुन्छ । यसकारण राज्यले पदयात्रीहरूको बिमाको उचित व्यवस्था गर्नुपर्ने गरी नियमहरू बनाएको छ । त्यसैगरी पदयात्रामा जाँदा पथप्रदर्शकले आफूले मात्र बिमा गरेर हुँदैन, पर्यटकका साथमा बिमा गरिएका प्रमाण छन् कि छैनन् जाँच गर्नुपर्ने हुन्छ । पर्यटकले पदयात्रामा जाँदा आवश्यक पर्ने स्थानको परमिट लिएको वा नलिएको हेर्नुपर्ने हुन्छ ।
पाहुनाको खानपान, स्वास्थ्य तथा सुरक्षाको प्रवद्र्धनका विषयमा चनाखो बन्न आवश्यक छ । पर्यटकहरूलाई व्यवस्थापन गरिएका खानपानको स्तरीयताको विषयमा ध्यान दिने तथा बासस्थानको उचित प्रबन्ध भए–नभएको रेखदेख गर्नुपर्ने हुन्छ । हाम्रा गाउँघरमा पर्यटकहरूलाई लिएर जाँदा गाउँको संस्कृतिलाई असर नपर्ने गरी पर्यटकहरूको व्यवहारलाई नियन्त्रण गर्नु जरुरी छ । नेपाली समाजमा परापूर्वकालदेखि चलिआएका प्रथा–परम्पराहरूको विरुद्धमा जाने गरी पर्यटहरूलाई अभिव्यक्ति दिन लाउनु हुँदैन, त्यसैगरी त्यस्ता क्षेत्रका संस्कृति झल्काउने नाचगानलगायतका विषयमा पर्यटकहरूलाई जानकारी दिएर पर्यटकहरूलाई आनन्दित बनाउने प्रयास गर्न जरुरी छ ।
पर्यटन क्षेत्रको पदयात्रामा लामो समय पर्यटकहरू पथप्रदर्शकहरूको निरीक्षण तथा निगरानीमा रहने भएको वास्तविक नेपालको सचरित्र तथा नेपाली व्यवहारहरू उनीहरूवाट पर्यटकहरूले प्राप्त गर्ने हुन्छ ।
ठूला सहरमा एक–दुई दिनको बसाइले पर्यटकहरूले केही सिक्न र अनुभव गर्न पाएका हुँदैनन्, तर लामो समय नेपालको पहाड तथा हिमालमा घुम्न जाने पर्यटकहरूले गाईडहरूसँगको सामीप्यतामा दिन बिताउने भएकाले नेपालको भाषा, भेष तथा संस्कृतिको जानकारी राख्न सक्ने वातावरण हुन्छ । यो हिसाबले एउटा कुशल पथप्रदर्शक बनाउन सकिएको खण्डमा वास्तवमा नेपाली पर्यटनको प्रवद्र्धनका लागि भूमिका निर्वाह गर्न सक्ने व्यक्तिहरू भनेका पर्यटन श्रमिक वा पथप्रदर्शकहरू हुन सक्छन् भन्ने लाग्छ ।
पथप्रदर्शकको कानुनी व्यवस्था ः नेपालको कानुनमा समयानुसार व्यवस्थित गरी पदयात्रा पथप्रदर्शकहरूको व्यवस्थापन नगरिए पनि पर्यटन ऐन–२०३५ को दफा २ को छ, ज, झ, ञ, ट, डमा पथप्रदर्शक तथा उचाइमा काम गर्ने कामदारहरूका बारेमा परिभाषित गर्ने कार्य गरिएको छ, जसमा सरदार भन्नाले स्थानीय कामदार बन्दोवस्त गर्ने पर्वतीय पथप्रदर्शकको काम गर्ने तथा उचाइमा जाने कामदार वा आधार शिविरमा काम गर्ने कामदारहरूको नियन्त्रण गर्ने नाइके सम्झनुपर्छ । पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) भन्नाले आधार शिविरभन्दा माथि पर्वतारोहीहरूलाई आरोहण कार्यमा सहयोग वा मद्दत गर्न जाने व्यक्ति सम्झनुपर्छ । उचाइमा जाने कामदार भन्नाले आधार शिविरभन्दा माथि आवश्यक माल सामान लैजाने ल्याउने कामदार सम्झनु पर्छ ।
स्थानीय कामदार भन्नाले आधार शिविरसम्म पर्वतारोही दलको समान लैजाने ल्याउने भरिया सम्झनुपर्छ । आधार शिविरका कामदार भन्नाले आधार शिविरमा पर्वतारोही दलका निम्ति खाना पकाउने, हुलाकी र यस्तै अन्य काम गर्ने व्यक्ति सम्झनुपर्छ । पथप्रदर्शक भन्नाले पारिश्रामिक लिई पर्यटकहरूको साथ गई पथ प्रदर्शनको काम गर्ने दफा ३९ बमोजिम इजाजतप्राप्त व्यक्ति सम्झनुपर्छ । यसरी पदयात्रा तथा पर्वतारोहणमा जाने कामदार तथा श्रमिकहरूको भिन्न–भिन्न परिभाषा गरिएको छ । यसरी हेर्दा भूगोल तथा स्थानीय बासिन्दाहरूलाई रोजगारीको अवसर प्रदान गर्नलाई स्थानीय स्तरमा कामको प्राथमिकता दिएको देखिन्छ भने पथप्रदर्शक भई कार्य गर्नलाई ऐनको दफा ३९ बमोजिमको योग्यता तोकिएको देखिन्छ ।
पथप्रदर्शक भई कार्य सम्पादन गर्नलाई तोकिएको अधिकारीसमक्ष दरखास्त दिई जसमा तोकिएबमोजिमको परीक्षामा सहभागिता जनाई तोकिएबमोजिमको दस्तुर बुझाई इजाजत प्राप्त गर्न सक्नेछ । पर्यटन ऐनले व्यवस्था गरेको यो व्यवस्थालाई होटल, लज, रेस्टुराँ, बार तथा पथप्रदर्शक नियमावली– २०३८ को नियम १० ले पथप्रदर्शकको इजाजत लिनलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान वा पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट पथप्रदर्शकको तालिम प्राप्त गरेको प्रमाणपत्र हुन आवश्यक छ । यसरी दरखास्त परेमा दरखास्तउपर जाँच गरी रु. १ हजार दस्तुर लिई पाँच वर्षका लागि पथप्रदर्शकको इजाजत दिन सक्ने व्यवस्था छ । इजाजत प्राप्त गरेका व्यक्तिहरूले इजाजतको म्याद समाप्त भएको मितिले ३५ दिनभित्रमा दरखास्त दिई ५ सय रुपैयाँ भुक्तान गरी नवीकरण गर्नुपर्नेछ ।
त्यसैगरी इजाजत प्राप्त व्यक्तिहरूले समयमा नवीकरण नगरेमा दुई महिनासम्मका लागि थप २ सय, चार महिनासम्मका लागि ३ सय, ६ महिनासम्मका लागि ५ सय र एक वर्षसम्मका लागि रु. १ हजार थप गरी नवीकरण गर्न सक्ने व्यवस्था नियमावलीले गरेको देखिन्छ । पथप्रदर्शकको नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भई कैदको सजाय पाएमा, कुनै मानसिक वा सरुवा रोग लागेमा वा पर्यटकहरूलाई गलत सूचना प्रवाह गरी हानि–नोक्सानी पु-याएमा तथा पर्यटकहरूलाई जबरजस्ती मालसमान खरिद गर्न लगाई व्यवसायीहरूसँग कमिसन मागेको प्रमाणित भएमा इजाजत खारेज गर्न सक्ने कानुनी व्यवस्था गरिएको छ । साथै इजाजत प्राप्त नगरी कसैले पथप्रदर्शकको काम गरेमा ४ हजार रुपैयाँसम्म जरिवाना वा नवीकरण नगरी पथप्रदर्शकको कार्य गरेमा २ हजारसम्म जरिवाना गर्न सकिनेछ ।

पथप्रदर्शकहरूको काम, कर्तव्य तथा अधिकार
(क) बिमासम्बन्धी ज्ञान
(ख) उपभोक्ता (पर्यटक) हरूको संरक्षण
(ग) वातावरण संरक्षण
(घ) संस्कृतिसम्बन्धी ज्ञान
(ङ) उचित ज्याला

अन्त्यमा, देशको पर्यटनक्षेत्रमा निरन्तर श्रम गरी एजेन्सीहरूको व्यवसायको अभिवृद्धि, मुलुकको साखलाई स्थायित्व तथा पर्यटकहरूलाई सन्तुष्टि दिलाउन सफल भएका पथप्रदर्शक तथा पदयात्रीहरूको सहयागीहरूको भूमिकालाई प्रश्रय गरिनु आवश्यक छ । मुलुकले निर्माण गरेका कानुनी व्यवस्थाको परिपालना गरी विदेशीहरूलाई समेत कानुनका विषयमा जानकार गराउने पर्यटन दूतका रूपमा कार्य गर्ने पथप्रदर्शक तथा सहयोगीहरूले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा समयसमयमा गरिने छलफल फलदायी हुनेमा विश्वास गर्न सकिन्छ ।
कतिपय विषयहरू जानी राखेको भए पनि हेलचेक्र्याइँ तथा लापरवाहीका कारणले वातावरण तथा संस्कृतिमा ठूलो नोक्सानी बेहोर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ, जसका कारण व्यक्ति तथा मुलुकले नोक्सानी बेहोर्नुपर्ने हुन्छ । पर्यटनजस्तो अत्यन्तै संवेदनशील विषयमा गरिने अनुशासनहीन कार्यले कसैलाई हित हुँदैन । त्यसकारण मुलुकको कानुन, प्रथा, परम्पराको उचित ज्ञान राखी दुर्घटनाबाट जोगिन हामी सबैको ध्यान जानु जरुरी छ । जसले हाम्रो जीवनमा समृद्धि प्राप्त हुने र नेपालीहरूको सकारात्मक व्यवहारको संसारमा सञ्चार हुने निश्चित छ ।
(लेखक टुरिजम लयर्स फोरम नेपालका अध्यक्ष हुन् ।)