कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
436

हाम्रो देश नेपाल जैविक विविधता, भौगोलिक विविधता, हिमाल, पहाड, भित्री मधेस, तराई–मधेस, जातीय विविधता, भाषिक विविधता, धार्मिक विविधता सरिसृप, उभयचर, जलचर, झ्याऊ, लेउ, फुल फुल्ने वनस्पति, जडीबुटी, अन्नपातलगायतमा नेपाल विश्वमै धनी देशमा गनिन्छ । त्यस्तै यहाँ सर्वसाधारण र गाउँले भाषामा भांग्रे सिस्नो भनिने वनस्पतिबारे केही लेख्ने प्रयास गरिएको छ ।
नेपालको १२ सय मिटरदेखि ३ हजार–३१ सय मिटरको उचाइसम्म पाइने र अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भांग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जा–खिल्ल-जाखिल्मा’ भनिने भांग्रे सिस्नोलाई हालको प्रचलित भाषामा अल्लो भन्ने गरिएको छ । यसरी नेपालका जातजातिपिच्छे फरक नाम रहेको हुन सक्ने भांग्रे सिस्नो हालको प्रचलित भाषामा भने अल्लो नामले नै चिनिने गरिएको छ । नेपालको मेचीदेखि महाकालीसम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरूमा अल्लो पाइने गरेको छ ।

नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न स–साना घरेलु उद्योग र संघ–संस्थामध्ये एक ‘हिमालयन फाइबर फाउन्डेसन नेपाल’का तत्कालीन अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार यसरी विदेश निर्यात गरिने देशहरूमा बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि रहेका छन् ।कुलुङका अनुसार यसरी विदेश निर्यात हुने अल्लोजन्य सरसमानमा बढीजसो लत्ताकपडा हुने गरेको छ ।
अल्लोको प्रमुख स्रोत अर्थात् म्याटेरियल भनेको रेसा वा बोक्रा नै हो । यस कार्यका लागि नेपालमा हाल ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ र ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ लगायत दर्जनौं संस्था संस्थागत ढंगले नै संलग्न रहेका छन् । मुख्य गरेर ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ । यसरी नै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा मेडेप नामक गैरसरकारी संस्थाले पनि लामो समयदेखि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ । अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएका छन् । साना तथा घरेलु उद्योग र तत्काली जर्मन सरकार मातहत रहेको जर्मन सहयोग संस्था (जिटिजेट) को सहकार्यमा रुकुम र रोल्पा जिल्लामा अल्लो प्रवद्र्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनुहुन्छ, हिमालयन नेचुरल फाइबर फाउन्डेसनका तत्कालीन कार्यकारी निर्देशक इन्द्र होनित्ति कुलुङ । कुलुङका अनुसार अल्लोकोे रेसाबाट उत्पादित धागो तथा कपडाहरूबाट विभिन्न सामग्री उत्पादन तथा सप्लाई गर्ने संस्थाहरूमध्ये एक ‘निनाम रिदुम जैविक हस्तकला’ प्रमुख हो । उहाँका अनुसार यसबाहेक ‘होमनेट नेपाल’ले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला उत्पादन गर्ने र बेच्ने कार्य गर्छ ।
हन त समग्र आदिवासी जनजातिको जीवनशैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्ण रूपले परापूर्वकालदेख नै प्रकृतिसँग खेल्दै÷हुर्कंदै आएको जाति हो । अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ कुलुङ जातिको मातृभाषामा ‘जाखी–जाखिल्मा’ भनिने अल्लोसँग कुुलुङहरूको उत्पत्तिकालदेखि नै घनिष्ठ र विशेष सम्बन्ध रहेको देखिन्छ । कुलुङ जातिको धर्म र संस्कार संस्कृति भनेको बितेर गएका आफ्ना पिता–पुर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो । त्यसअन्तर्गत भूमि, अन्न–बाली, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, ताल, पोखरी आदिको पूजा गर्ने प्रचलनहरू पर्छ । यसरी बोटबिरुवाको कुरो गर्दा अल्लो वा भांग्रे सिस्नो र कुलुङ भाषामा ‘जाखी–जाखिल्मा’भनिन्छ । यसरी हेर्दा कुलुङ जातिमा ‘जाखी–जाखिल्मा’को महŒवपूर्ण र पवित्र स्थान रहेको देखिन्छ । किनकि कुलुङ जातिमा ‘जाखी–जाखिल्मा’ विभिन्न उत्सव, महोत्सव धार्मिक परम्परालगायत अन्य कार्यमा परम्परादेखि नै प्रयोग हुंँदै आएको छ । जस्तै कुलुङ जातिको लोककथामा वर्णन गरिएअनुसार कुलुङ जातिका पुर्खाहरूले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले यही अल्लोे अर्थात् ‘जाखी–जाखिल्मा’को बोट काटेर बोक्रालाई छुट्याएर धागो कातेर, लुगा बुनेर लगाउन सुरु गरेका थिए । अहिले पनि कुलुङ समुदायको धर्म, चाड, पर्व, संस्कार, संस्कृति आदिमा पनि अल्लो अर्थात् जाखी–जखिल्माको महŒव रहेको छ ।
–निनाम कुलुङ ‘मंगले’