कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
418

थोरै भए पनि दुग्ध उत्पादक किसानलाई राहत भएको अवस्थामा कसैले पनि तुसारापात नगरौं ।

गएकोे दुई–चार दिनअगाडि सरकारले दुग्ध उत्पादक किसानको हितलाई मध्यनजर गर्दै किसानहरूले उत्पादन गर्ने दूधको मूल्य थारै भए पनि वृद्धि गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सुन्न र पढ्न पाउँदा खुसी लागेको छ । यो खुसीको खबरले केही हदसम्म जागरुक तथा उद्यमशील किसानहरूलाई थोरै भए पनि ऊर्जा थप्ने काम गरेको छ । समयसापेक्ष मूल्य समायोजन हुनु एउटा राम्रो पक्ष पनि हो, तर के बढेको मूल्यले दुग्ध उत्पादक किसानहरूको हातसम्म पुग्छ होला त ?
दिन–रात नभनी मेहनत गरेका, पसिना बगाएका ती उद्यमशील दुग्ध उत्पादक किसानहरूमा पक्कै पनि वृद्धि भएको मूल्य पुग्न सक्दैन जस्तो लाग्छ । कतै वृद्धि भएको मूल्य दुग्ध उत्पादक किसानलाई भन्दा बिचौलियाहरूलाई फाइदा भएको छैन । पहिलेका बूढापाकाहरूले भनेजस्तै ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तै भएको त छैन ? किनभने दुग्ध उत्पादन गर्ने किसानले पाउने मूल्य र उपभोग गर्ने उपभोक्ताले तिर्ने मूल्यमा आकाश–पातलको फरक पाइन्छ ।
यसरी विश्लेषण गर्दा एकातिर किसानहरू थोरै मूल्यमा गुणस्तरयुक्त दूध बेच्नुपर्दा धेरै मर्कामा परेका देखिन्छन् भने अर्कातिर उपभोग गर्ने उपभोक्ता पनि चर्को मूल्यमा गुणस्तरहीन दूध किनेर खान बाध्य छन् । यसबारे सम्बन्धित निकाय, साथै जागरुक, कर्मनिष्ठ तथा उद्यमशील किसानदेखि सचेत उपभोक्तालगायत हामी सबै मिलेर आ–आफ्नो बुद्धि–विवेकले भ्याएसम्म वृद्धि भएको मूल्यमा बिचौलिया मोटाउन कहींकतैबाट पनि नदिऊँ । यसमा आमनागरिक जागरुक हुन अति आवश्यक भइसकेको छ ।
किनभने अहिले हाम्रो देशमा भष्टचारले राम्रोसँग जरा गाडेको परिप्रेक्ष्यमा दुःख गर्ने भन्दा पनि अरूकै हालीमुहाली चल्दै आइरहेको छ । अर्को कुरा, यसरी सरकारले दुग्ध उत्पादनमा मूल्य वृद्धि गरेसँगै यसको प्रभावकारी रूपमा अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु पनि उत्तिकै आवश्यक महसुस भएको छ । यसरी अनुगमन गर्दा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यको पनि राम्रोसँग मूल्यांकन हुनु अति आवश्यक भइसकेको अवस्थामा यस कार्यमा उत्पादन, उपभोक्ता हामी सबै मिली सहयोग गर्नु अति जरुरी भइसकेको छ ।
त्यस्तै, किसानको हितमा खोलिएका विभिन्न दुग्ध संघ, संस्था, संगठनहरूले पनि किसानले पाउनुपर्ने मूल्य समायोजन मात्र नभई सम्पूर्ण दुग्ध उत्पादक किसानहरूको हरसमस्याको खोज, अनुसन्धान गरी अब आउने दिनहरूमा अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने देखिन्छ । अहिले दुग्ध क्षेत्र मात्र नभई हरेक क्षेत्रमा विकृति, विसंगतिको जालो फैलिएको अवस्थामा देशप्रेमी, जागरुक आमनागरिक भएर खबरदारी गर्नु अति आवश्यक भएको छ ।
किसानले पाउने मूल्यमा पनि कतै विश्वासघात हुने त होइन, यसमा पनि उत्पादक तथा उपभोक्ता सचेत हुनु आवश्यक देखिन्छ । त्यसैले अब हामी सचेत भएर अगाडि बढ्ने बेला आएको छ । अन्यमा बढेको मूल्यले बिचौलियाहरूलाई होइन, किसानको लगनशीलता, मेहेनत, पसिनाको कदर साथै उद्यम गर्ने सबै दुग्ध उद्यमीहरूमा आउने दिनहरूमा अझ ऊर्जा थप्न प्रेरणा मिलोस्, साथै यसको प्रभावकारी रूपमा कार्यान्वयन गराउन सम्बन्धित निकायले चासो देओस् र दुग्ध उत्पादनमा देश सधैंका लागि आत्मनिर्भर बनाउन सकियोस् । थोरै भए पनि दुग्ध उत्पादक किसानलाई राहत भएको अवस्थामा कसैले पनि तुसारापात नगरौं ।

ज्योति खतिवडा