रमेश भट्टराई
सोमवार, भदौ ३०, २०७६
448

 

बालबालिका सुन्दर राष्ट्रनिर्माता हुन् । राज्यको बागडोर सम्हाल्ने भोलिका होनहार समाज रूपान्तरणका हस्ती हुन् ।

हिजो मात्र यस वर्षको ‘सुनिश्चित बालअधिकार : समृद्ध नेपालको आधार’ भन्ने नारा बोकेर देशले बालदिवस मनायो । मीठा कुरा त भए, तर प्रतिबद्धता कार्यान्वयनको अभाव छ । सडक बालबालिकाको रोदनमा कारुणिक चित्कार खोलाको गीत बनिरहेको दृश्य आज एक्काइसौँ शताब्दीकै प्रताडना हो । आजको नेपालमा ६ लाख बालश्रमिक जोखिम मोलेर छाक टार्छन् । नेपालमा ५ वर्ष पहिलादेखि ७७ लाख ७० हजारमध्ये अझैं ४० प्रतिशत बालश्रमिकको दुर्दशा छिपेर बसेको छ । ४० प्रतिशत १६ वर्षमुनिका, ४४ प्रतिशत १८ वर्षमुनिका बालबालिकामध्ये करिब ६ प्रतिशत बालबालिका विद्यालय जान पाउँदैनन् । यौनहिंसा सिकार बन्ने, बेचबिखन, अपहरण, हत्याहिंसा, आफन्तबाटै प्रताडित, पारिवारिक बेमेलका कारण सिर्जित अनेकौँ समस्याको अचानोमा बाँचेका बालबालिका सिकार भइरहेका छन् । बालबालिकमा लगानी नै समृद्ध नेपालको आधार हो भन्ने ज्ञान सरकारलाई नभएको पनि होइन । नेपालको भविष्य यिनै बालबालिकाको हातमा छ तर सरकार बालबालिकामा न त प्रत्यक्ष लगानी नै गर्छ, न त निजी क्षेत्रलाई लगानी गर्न अवसर सिर्जना गरिदिन्छ ।
थोमस मुलर भन्छन्– ‘बाल्यकाल नै हरेक मानिसको सर्वाधिक महत्वपूर्ण समय हो ।’ बिहानीको प्रभाती किरणले पोखेको सौन्दर्य लाग्छ– बाल्यकालको अबोध भाव । भाँडाकुटी खेलेर गाउँको पाखामा रमाओस्, या सहरमा तोते लवजले गाडीको आवाजमा गुडिया गुडाओस्; भाषाको, जातको अनि औकातको प्रवाह छैन– निश्छल, निष्कपट बालहृदयलाई । हरेक मानिस सबैभन्दा पहिला बालक नै हुन्छन् । वास्तवमा बालकले जन्मेपछि बाँच्न, विकास गर्न र सुखी जीवन जिउनका लागि राज्य, समाज र परिवारबाट आवश्यक हुने सुविधाहरू प्राप्त गर्ने नैसर्गिक अधिकार नै बालअधिकार हो । नेपालको संविधानले भाग ३ धारा ३९ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनी बालबालिकाको हकलाई लिपिबद्ध गरेको छ । घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा कुनै पनि बालबालिकालाई शारीरिक, मानसिक, यौनजन्य शोषण वा बालविवाहजस्ता अनुचित व्यवहार गर्न नपाइने नियम संविधानमा उल्लेख छ ।
अलिकति समतल धारतिर हेर्दा– सडक पेटीमा दिनभरि कटौरा थाप्ने अनि रात्रि प्रहरमा मैलो र थकित शरीरको पेटलाई अलिकति पाएजति चारो दिएर निद्रा देवीलाई अर्पन मन्दिरका पेटीमा कुकुरको रौँको न्यानोसँगै भोलिको माग्ने थलोको सपना बुन्नेलाई कतिले नियालेका हौँला । सडक किनारामा धुलासँग मितेरी गाँस्दै लोहोरो र सिलौटो बेचेर गुजारा चलाउनेहरूका बर्सेनिका बच्चाहरूले नाङ्गो शरीरमा छेउको ढलसँगखेल्दै टाउको लुकाउने खुल्ला आकाशलाई सदैव प्रेम गरेका दृश्य देख्दा कस्तो लाग्छ ? महलमा, कोठामा या गाउँमा होस्, बाबाले भिœयाएकी नवप्रेमिकालाई रिझाउन नसकेर तिरस्कृत बनेका बालहृदयको जलनलाई कतिले सुनिदेलान् त । हामी एक्काइसौँ शताब्दीमा छौँ । धेरै असल बाबाआमालाई बालस्याहार तथा अधिकारको ज्ञान सञ्चारित छ– गौरवको विषय हो । अर्कातिर हेर्नोस्, भन्न गाह्रो लाग्छ, आज हरेक दु:खमा प्रत्येक आँसुका ढिक्कासँगै पुकारिएकी आमाले छोडेर अन्तै जाँदा या त अभिभावकत्व चुँडाएर जीवित बाबाआमाकै टुहुरो बनाइएका बालमस्तिष्कको रोदनको मूल्य कति छ ? घरको कलहले दु:खेको पीडामाथि विद्यालयका शिक्षकले गृहकार्यको उचाल्नै नसक्ने भारी बोकाएर दिइएका यातनालाई कतिले बुझेका हौँला ? प्रश्न गर्न मन लाग्छ ।
दुधे आन्द्रोलाई भर्न नसकेकी आमाले आदर्शको कथा पचाएर बारीको डिलमा कोदो रोप्दै गर्दा बच्चाको रोदन सुन्छिन् तर ‘गाई चराउनेलाई अपमान, कुकुर डुलाउनेलाई सम्मान गर्ने’ विकसित गृहपतिहरूले कोठा भाडामा बसेकी नवसुत्केरीको बच्चा रोएकै कारणले उनलाई कोठाबाट निकालिदिन्छन् । गरिबीले कुपोषित या विकलाङ्गहरूले गृहबोझको उपाधिको पगरी गुथेपछि लाचार भई जिएका बालमुटुको धड्कनलाई कसरी मानवतामा नापिएला र ? त्यहाँ झमककुमारीको जीवनीझैं आँसुले मानवतालाई खोज्छ । त्यहाँ कलकलाउँदा गालामा बलिन्द्र आँसुका धारा बग्दा हुनन् । भूकम्पले अभिभावकत्व गुमाउँदा जीवनभरि पराकम्पनको त्रासदी मनमा जिएका बालआवाज हुन् या त द्वन्द्वको रापले छत गुमाएका टुहुरा हुन्, मन त मनै हो । कलम समाउने हातलाई हतियार, उद्योगका औजार, होटलका जुठा थाल अनि साहु महाजनका गह्रौँ माल उठाउन लगाएर स्वार्थको पोको बोक्नेले भोलिका जिम्मेवार काँधलाई धुजाधुजा बनाउन पाइँदैन अब ।

तीतो यथार्थ
हो, बालबालिका सुन्दर राष्ट्रनिर्माता हुन् । राज्यको बागडोर सम्हाल्ने भोलिका होनहार समाज रूपान्तरणका हस्ती हुन् । देशको स्वर्णिम भविष्य रेखा कोर्ने स्वप्न र खुबी आजका कलिला मस्तिष्कमा हुन्छ । सङ्गत गुनको फल बालकले पाएका हुन्छन् । बाल सर्वाङ्गीण विकासका पक्षमा देश उभिए भोलिको सुन्दरतालाई हेर्ने अवसर पाइन्छ । ‘यदि स्वर्गमा पुग्ने इच्छा छ भने बालक बनेर हेर,’– एङ्गेलले भनेका छन् । जुन देशका बालओठमा मुस्कान र अनुहारमा खुसीका रङहरू झल्किन्छन् त्यहाँको आगतमा उन्नति निमोठिएको हुँदैन । तसर्थ बालमनोवैज्ञानिक शैक्षिक दमनरहित शिक्षाको वातावरणमा अब शिक्षक र शिक्षावेत्ता सजक बनून् । साथीले कक्षाकोठामा मनोवैज्ञानिक दमन नगरोस्, घर, टोल, समाज र विद्यालय क्षेत्र स्वतन्त्र बन्न सकून्— बालअधिकारका निम्ति ।
बालदिवसलाई प्रयोगात्मक नेपाली शब्दकोशमा ‘बालकहरूको विकास र उन्नतिको उद्देश्यले मनाइने राष्ट्रिय पर्व’ का रूपमा परिभाषित गरिएको छ । नेपाली बृहत् शब्दकोशले प्रतिवर्ष नेपालमा मनाइने राष्ट्रिय पर्वका रूपमा बालदिवसलाई अथ्र्याएको छ । अन्तर्राष्ट्रिय स्तरबाट हेर्दा बालअधिकार महासन्धि १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाले नेपाललगायत विश्वका १९२ देशद्वारा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धिलाई पारित ग-यो । नेपालले पनि ३ भाग ५४ धारा भएको उक्त बालअधिकार महासन्धिलाई सन् १९९० सेप्टेम्बर १४ (२९ भदौ २०४७) मा अनुमोदन ग-यो । उक्त महासन्धिमा विशेषत: १८ वर्षभन्दा कम उमेरका प्रत्येक मानव जातिलाई बालबालिकाका रूपमा मानिएको छ । जसले बालबालिकाको हकका विषयमा बालअधिकार महासन्धिले विशेष गरेर निम्न ४ अधिकारलाई यसरी खुलाएको छ :
(क) बाँच्न पाउने अधिकार-बालबचाउ : जिउने बालबालिकाको जन्मसिद्ध अधिकार हो । गाँस, बास र कपास सबैको जीवन आधार हो । बाँच्नका लागि बच्चालाई स्वास्थ्य उपचार, पोषणयुक्त खाद्यान्न, विभेदरहित वातावरणको खाँचो पर्छ, यद्यपि नेपालका ग्रामीण बस्तिका कुना कन्दराका लागि यी विषय गफ मात्र बन्छन् । शारीरिक, मानसिक, संवेगात्मक विकाससँगै आवश्यक पूर्वाधार नपाउँदा बालअधिकार नारामै खुम्चिन पुगेको अनुभूति हुन्छ ।
(ख) संरक्षण पाउने अधिकार-बालसंरक्षण : श्रम शोषण, यौन दुव्र्यवहार, जोखिमपूर्ण काममा लगाउनेजस्ता कार्य निन्दनीय हुन् । देह व्यापार, अपहरण, तिरस्कार, यातना, पारिवारिक विभेद कानुनी रूपमा दण्डित छन् । आज पनि कतिपय नेपाली समाजमा रहेका अन्धविश्वासी संस्कार र प्रथाले बालअधिकारमाथि प्रहार गरेका वीभत्स घटना घटिरहेका हुन्छन् भने अर्कातिर यस्ता आततायी घटनाहरू शोषणपश्चात् मात्र खबर बनेर समाजमा आइपुग्छन् । घरायशी किचलो र गरिबीको मारमा बच्चा साँच्चै कुण्ठित छन्, जुन नियालेर हेरिएका विषय नहोलान् सायद । अपाङ्ग, शरणार्थी, अल्पसङ्ख्यक, भूकम्प–पहिरोजस्ता प्राकृत विपद्मा परेका, द्वन्द्वपीडित, विस्थापित तथा परिवारविहीन बालबालिकालाई विशेष स्याहारको आवश्यकता पर्छ । आमाबाबाबाट छुट्टिए पनि जीवित हुन्जेल सम्पर्कमा रहनुपर्ने नियम छ ।
(ग) विकास गर्न पाउने अधिकार-बालविकास : विचार–अभिव्यक्ति, सांस्कृतिक कला र सहभागिता, शिक्षा सूचना, खेल तथा धर्मसम्बन्धी अधिकार बालबालिकामा हुन्छ । नेपालमा त्यस्तो नहोला, तर विकसित मुलुकहरू अमेरिका, अस्ट्रेलियामा बच्चाहरूले हक मागेका उदाहरण हामी पाउन सक्छौँ ।
(घ) सहभागिताको अधिकार-बालसहभागिता : बालबालिकाले पारिवारिक निर्णय कार्यमा, सामाजिक क्रियाकलापमा सहभागी हुन पाउनुपर्ने अधिकार छ । संघ–संस्था खोल्न तथा गोपनीयता, शान्तिपूर्ण भेला हुने बाल स्वतन्त्रतालाई सम्मान गरिने कुरा बालअधिकार महासन्धिमा उल्लेख छ । बालबालिका खोजतलास समन्वय केन्द्र स्थापना, सबैका लागि शिक्षा कार्यक्रम, बालकल्याण समिति गठनजस्ता दर्जनौँ राज्यका विशेष प्रयासले समयानुसार दौडिएका कार्य प्रशंसनीय छन् नै ।

सचेतनाको खाँचो
कानुनी हिसाबको गाँठो बलियो छ । यो त गर्वको विषय हो । तर कुरा उठ्छ– नारा र सिद्धान्तमाथि कति मानिसमा चेतना छ ? जसले कानुन बुझ्नुपर्ने हो, ऊ त अक्षम, लाचार र बाध्य हुन्छ । ऊ झिसमिसेमै होटलका जुठा भाँडा माझ्ने ध्याउन्नमा बाँधिन विवस छ । बालकलाई तनाव दिनु महापाप हो, बुझे शास्त्रीय मान्यताकै कानुन पर्याप्त छ । महाभारत, रामायणमा नि:शुल्क शिक्षादेखि बालक, वृद्ध र महिलाको आदर गर्न सिकाइएको छैन र ? तर आज पनि जागिरको लोभमा फसाएर कोठरीमा बेचिएका अनि बेपत्ता पारिएका समाचार पुराना लाग्दैनन् । साहुका भारी बोक्ने, खेत बारीमा घण्टौँ काममा पेल्ने अनि सहरका सडकमा बोतल, प्लास्टिक बटुल्ने, गाडीमा खलासी बन्ने बच्चाको अधिकारलाई चुँडिएको लाग्दैन र ! ग्रामीण समाजका कैयौँ बालबालिकाले अन्धपरम्परा, रुढीवादी परम्परा, प्रथा तथा अशिक्षाको सिकार बन्नुपरेका घटना अझैं छँदै छन् । यसर्थ बालमनले पीडामा पिल्सिनु हुँदैन अब । कुपोषणबाट या त पोलियो, टिटनास, दादुराबाट अकालमा मर्नु नपरोस् । पखेरीका सधैँ हँसिया समात्नेले कापी र कलम पनि बोकेर शिक्षा र संस्कार सिकोस् । बालकले आपूmमा अन्तर्निहित प्रतिभालाई रुचिअनुसार पोख्दा हजुरामाको चाउरिएको अनुहारलाई मुस्कुराउने मौका मिलोस्– तब साँच्चै बालबालिकाले अधिकार पाएको पुष्टि हुन्छ ।
बालसहभागितामा गुन्जिएका स्वर, अनाथ आश्रमले दिएका सहारा अनमोल छन् । अनाथालय, शिक्षालय, बालआश्रम, बालअपाङ्गमैत्री कार्य सराहनीय लाग्छन् । यौनशोषण, श्रमशोषण, लागूपदार्थ दुव्र्यसनीका विरुद्ध गरिएका सचेतनामूलक र सहभागितामूलक कार्यक्रम गरिने गरेको पाइन्छ । साहित्यिक वातावरण दिने, खेल, मनोरञ्जनमूलक वातावरण प्रदान गर्नेजस्ता नेपालको संविधानमा उल्लेख भएअनुसारका सर्वाङ्गीण व्यक्तित्व विकासमा लागिपरेका संघ–संस्थाले बालअधिकारलाई दिएको सम्मान कम मूल्यका छैनन् । बालअधिकारको संरक्षण सचेतना नै देश विकासको मजबुत द्वार हो, तसर्थ त महाकवि देवकोटाले भनेका छन्– ‘हे प्यारा शिशु फेरि बन्न म सके बन्ने थिएँ बालक ।’ बालबालिकासम्बन्धी ऐनले गरेको व्यवस्था र नियम वास्तवमै सान्दर्भिक लाग्छन् । ‘बालकको पहिलो पाठशाला घर हो,’– हिल्डा टावाले भनेका छन् । त्यसो त संवेदनशील क्षेत्रका सेना, प्रहरीजस्ता शारीरिक, मानसिक शोषण गर्न नपाइने पक्षदेखि संविधानका घर, विद्यालय तथा अन्य स्थानमा यातना दिन नपाइने नियमले धेरैलाई यसमा सचेत तुल्याउँछ नै ।
सबैले अधिकार माग्नुपर्छ, तर कर्तव्य र जिम्मेवारी बोधको सचेतना त्यत्तिकै मूल्यवान् हुन्छन् । बालविवाहका सन्दर्भमा हेर्दा सरकारले २० वर्षभन्दा कम उमेरको विवाहलाई कानुनी मान्यता दिएको छैन तर आजभोलि भागेर विवाह गर्ने बालबालिकाको संख्या तिव्रतम रुपमा बढेको बुझिन्छ । वर्तमान सन्दर्भमा १८ वर्षभन्दा कम उमेरमै विवाह गर्नु अनि फेसबुक, फिल्मी दुनियाँको प्रेमलाई सिको गरेर जीवन नबुझी हाम्फाल्ने बालमस्तिष्कलाई जनचेतनाको खाँचो छ । सानालाई माया र ठूलाको आदर गर्ने हाम्रो आत्मगौरवलाई भाइबहिनीहरूले बुझेर अघि बढ्नुपर्ने सचेतना र जनचेतनाको खाँचो खड्केको देखिन्छ ।