झलनाथ खतिवडा
बुधवार, भदौ २५, २०७६
412

हामीले हाम्रो वातावरण सुहाउँदो कार्य गर्नुपर्छ । हाम्रो आवश्यकताका लागि प्रकृतिलाई अचानो बनाउनु हुँदैन ।

प्रकृतिभन्दा ठूलो मानिस हुँदैन । प्रकृति न त मानिसको अधीनस्थ भएरै बस्न सक्छ, न त यसले धनी–गरिब नै छुट्ट्याउँछ । प्रकृतिलाई आफ्नो वशमा पारेर आफू राज गर्छु भन्नु आममानिसको ठूलो भूल हो र हामी फेरि पनि सचेत गराउन चाहन्छौं कि प्रकृति हाम्रो संसारमा पाइने अरू खुसीभन्दा करोडौं गुणा बढी खुसी हो । त्यसैले हामीले हाम्रो वातावरण सुहाउँदो कार्य गर्नु जरुरी छ । प्रकृतिलाई हाम्रो आवश्यकताका लागि अचानो बनाउनु हुँदैन, किनकि धर्तीमाताको मन, तन र वचनलाई अस्वीकार गर्दा गम्भीर दुर्घटनामा पर्न सकिन्छ ।
कुरा हो, अघिल्लो साताको प्रमुख समाचारका रूपमा प्रकाशन भएको भक्तपुर जिल्ला मध्यपुर न.पा. वडा नं. १ लोकन्थलीको घटना हो । हुन त दुःखमा साथ दिनु एक नेपालीको कर्तव्य हो, तर यो दुःख स्वयम् व्यक्ति आफैंले सिर्जना गरेकाले यस्तो अवस्था आयो । डाँडामा घर बनाइएको छ र भीरतिरबाट सडक र त्योभन्दा तल पानीट्याङ्की बनाउने आयोजना निर्माणका क्रममा जमिन भासियो र घर लड्न लागेको छ । उक्त भिरालो जमिनमाथि बनाइएका घरहरू प्रकृतिलाई विनाश गरी बनाइएका घर हुन्, किनकि उक्त भिरालो भूभागमा वृक्षारोपण गरिएको भए आज यस्तो विषम परिस्थितिको सिर्जना हुने थिएन होला ।

हामी नेपालको शिक्षा व्यावहारिक भएन भनेर प्रश्न–प्रतिप्रश्न त गरिरहन्छौं, तर हामी स–साना कुरामा व्यावहारिक किसिमले सोच–विचार गर्दैनौं । हुन त हामीले कक्षा ४–५ मै भूक्षय हुनबाट कसरी रोकथाम गर्ने, भूक्षय भनेको के हो, भिरालो जमिनको व्यवस्थापन कसरी गर्ने, अनि भवन, संरचनाहरू बनाउँदाका मापदण्ड के–के हुन सक्छन्, यी यावत् कुरा हाम्रो दैनिक व्यवहारमा उपयोगी शिक्षा हुन् । त्यसैले देशकै सुगम क्षेत्र, नेपालको राजधानी काठमाडौंमा यस्ता किसिमका कहालीलाग्दा घटना भएको सुन्दा दुःख लागेको छ । जब शिक्षित राजधानीवासीलाई अशिक्षाले घेर्छ भने दुर्गम क्षेत्र कसरी र कहिले सुरक्षित बन्ला ?
अर्को प्रसंग पनि जोड्न चाहन्छु, घडेरीका नाममा भिरालो जमिन समथर बनाई आवासीय घरहरू निर्माण गर्दाको परिणाम पनि उपत्यकामा देखिएको छ । काठमाडौंको मूलपानीमा यस्तै घटना घट्यो कि ग्रिनहिल सिटी हाउजिङ कम्पनीले प्रकृतिलाई मासेर छोटो समयमै अरबपति बन्ने दाउमा कम्पनी लाग्न खोज्दा अघिल्लो साता परेको भीषण पानीले त्यस क्षेत्र भएर बन्ने नदी बस्तीमा पस्यो र निर्माण सम्पन्न भएको घरको जगै निस्किने गरी घर भत्काइदियो । अब भनौं कि हामी आमसर्वसाधारणको जीवनमाथि खेलबाड गर्ने उक्त हाउजिङ कम्पनीलाई आगामी दिनमा निर्माणको काम गर्न दिने कि नदिने, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
अन्त्यमा, प्रकृति मासेर बस्ती बनाउनुभन्दा पनि प्रकृतिलाई बचाइराखेर युगौंयुग बाँच्न र यस प्रकृतिमा निर्भर मानिसलगायत अन्य प्राणीहरू संरक्षण र संवद्र्धन गरिएको खण्डमा पुर्पुरोमा हाल लगाएर बस्ने दिन आउँदैनथ्यो कि ? मापदण्ड मिचेर, भिरालो जमिनलाई समथर बनाई अवैध रूपमा प्लटिङ गरी जग्गा–जमिनको बिक्री गर्ने संघ–संस्थालाई आवश्यक कारबाही गर्ने र आम नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा वातावरण बचाउ शिक्षालाई व्यावहारिक ढङ्गले पढ्ने अनि बुझ्ने साथै उचित मनन गर्नसमेत अनुरोध गर्छु ।