रिसव गौतम
आइतवार, भदौ २२, २०७६
328

सरकारका कतिपय कार्यक्रम र नीति प्रभावकारी हुन नसक्दा कृषि क्षेत्रबाट युवाहरू पलायन हुँदै गएका छन् । सरकारका कतिपय कार्यक्रम र नीति प्रभावकारी हुन नसक्दा कृषि क्षेत्रबाट युवाहरू पलायन हुँदै गएका छन् । 

विश्वव्यापीकरणबाट लाभ लिन नेपालमा उद्यमशीलताको विकास, विश्वस्तरको व्यावसायिक शिक्षा र चेतना अभिवृद्धि, आधुनिक सीप तथा तालिम अभिवृद्धि, व्यापार–व्यवसाय प्रवद्र्धनमा सरकारी प्राथमिकता र लगानी, प्रविधि प्रयोग, विदेशी मुलुकहरूसँग सबल कूटनीति, हवाई पहुँच विस्तारलगायत अन्य धेरै कुरामा सुधार गर्नु जरुरी छ । 

सन् १९३० को विश्व आर्थिक मन्दीको प्रभावस्वरूप अन्तर्राष्ट्रिय व्यापारमा उदारीकरणका कदमलाई अधिकांश मुलुकबाट आर्थिक रणनीतिका रूपमा स्वीकार गरिएको पाइन्छ । विश्वयुद्धले जर्जर बनाएको विश्व अर्थव्यवस्थालाई पुनर्जीवन दिने प्रयास सन् १९४४ बाट भएको पाइन्छ । सन् १९४४ भएको ब्रेटन उड सम्मेलनबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक अभिवृद्धि र मौद्रिक स्थिरताका लागि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय व्यापार संगठन लगायतको स्थापना गरिएको थियो । यो संस्था मध्ये विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष कार्यान्वयनमा आउन सफल रहे । अन्तर्राष्ट्रिय व्यापार संगठन भने कार्यान्वयनमा आउन सकेन । 
त्यसपछि सन्तुलित व्यापार आवश्यकताको महसुस गरेर व्यापारिक क्षेत्रमा बहु–पक्षीय अवधारणा विश्वव्यापी रूपमा आत्मसात् गर्न थालियो । अमेरिकाले रिसिप्रोकल टे«ड एग्रिमेन्ट ल्याई उदार व्यापार नीति अगाडि बढायो । सन् १९४७ मा व्यापार तथा भन्सार महसुलसम्बन्धी सामान्य सम्झौतामा ग्याट नामक संस्था गठन भयो । खासगरी ग्याटकै स्थापनापश्चात् व्यापार उदारीकरण अघि बढेको पाइन्छ । त्यसपश्चात् स्वतन्त्र बजारमुखी अर्थतन्त्र, खुल्लापन, उदारीकरण, सामाजिक तथा राजनीतिक संरचनागत परिवर्तन एवं विश्वव्यापीकरणको युग सुरुवात हुँदै गयो । हाल नेपाल पनि विश्वव्यापीकरण र उदारीकरणलाई पक्षपोषण गर्ने अनगिन्ती विश्वस्तरका व्यापारिक संघसंस्थाहरूमा आबद्ध भइसकेको छ । नेपालको अर्थतन्त्र विश्व अर्थतन्त्रसँग प्रत्यक्ष गाँसिन पुगेको छ । नेपालले हालका वर्षहरूमा झन्डै ६० वटा मुलुकमा वस्तु निर्यात व्यापार गर्दै आएको छ भने विश्वका कुनाकुनादेखि वस्तु आयात पनि गरिरहेको छ । पैसा हुँदा बजारमा हरेक चिजको उपलब्धता बढेको छ । नेपालमा ०४८-०४९ सालबाट लागू भएको उदारीकरण नीतिको प्रभावस्वरूप निजी क्षेत्र पनि क्रमशः अघि बढिरहेको छ ।
तर पनि सरकारका कतिपय ऐन, नियम र कानुन निजी क्षेत्रमैत्री, व्यवसायीमैत्री हुन नसक्दा र नीतिगत स्पष्टता नहुँदा, अनेकन करका बोझ थपिँदा समस्याहरू आइरहेका छन् । उपयुक्त नीति नियम, नियमन एवं प्रोत्साहन नहुँदा ठगी तथा भ्रष्टाचारजन्य विकृति बढ्नुका साथै वस्तु गुणस्तर कायम पनि हुन सकिरहेको छैन । सरकारका कतिपय कार्यक्रम र नीति प्रभावकारी हुन नसक्दा कृषि क्षेत्रबाट युवाहरू पलायन हुँदै गएका छन् । आधुनिक कृषि प्रणाली अझै लागू हुन सकेको छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम भनेर लागू गरिएको छ ।
तर, त्यस्ता कार्यक्रमबाट वास्तविक कृषकभन्दा नेता र प्रशासकहरूसँग पहुँच बढाएर लाभ लिने जमातले फाइदा उठाइरहेको छ । जसले गर्दा कृषिजन्य उद्योगहरूले आयात प्रतिस्थापन गर्न सकिरहेका छैनन् । कतिसम्म भने नेपालको निर्यात व्यापारको मेरुदण्ड कृषि क्षेत्रबाट युवा पलायन हुँदा तराईका हराभरा मलिला जमिनहरू समेत बाँझै बस्न थालेका छन् ।अझै पनि मुलुकमा बेरोजारी र शान्ति सुव्यवस्था खलबलिँदै पनि गएको अवस्था छ । आर्थिक क्रियाकलाप सहरी क्षेत्रमा मात्रै सीमित हुँदै गएका छन् । समग्रमा खुला विश्वव्यापी वातावरणबाट नेपालको व्यवसायिक वातावरणमा परेका सकारात्मक र नकारात्मक प्रभावहरू यस्ता छन् ।

सकारात्मक असरहरू 
१. उदारीकरण एवं विश्वव्यापीकरणका कारण नेपाली अर्थतन्त्र पनि प्रतिस्पर्धी हुँदै गएको छ ।
२. निजी क्षेत्रले स्वतन्त्र रूपमा व्यापार–व्यवसाय गर्ने अवसरहरू सिर्जना भएको छ । निजी क्षेत्रले प्रगति पनि गर्दै गएको छ । 
३. विप्रेषण आयका कारण गरिबी घट्दै गएको देखिन्छ । 
४. रोजगारीको क्षेत्र फराकिलो हुँदै गएको देखिन्छ । बेरोजगारी घट्दै पनि जान थालेको छ । सरकारले नै रोजगारीमूलक कार्यक्रमहरू घोषणा गरेर वेरोजगारी हटाउने पहलकदमी थालेको अवस्था छ । प्रत्यक्ष वैदेशिक लगानी बढेको छ । तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भने वैदेशिक लगानी घटेको छ । 
५. शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा निजी क्षेत्रले सेवा विस्तार गर्दै लगेको छ । ६. बैंक तथा वित्तीय संस्था बढेका छन् । त्यसले उद्यमशीलता बढाउन सहयोग गरेको छ ।
नकारात्मक प्रभावहरू :
१. उदारीकरण, निजीकरण एवं विश्वव्यापीकरणका कारण धनी–गरिबबीच असमानता ह्वात्तै बढेको छ । योग्यता क्षमता हुने र टाढा बाठा मात्रै मौलाउँदै गएका देखिन्छन् ।
२. स्वदेशी उत्पादन उपभोग गर्ने प्रवृत्तिमा पनि कमी आएको छ । 
३. व्यापारघाटा बर्सेनि चुलिँदै गएको अवस्था छ । 
४. सरकारकै मिलोमतोमा कालोबजारी एवं कृत्रिम अभाव बढ्दै गएको छ । 
५. अस्वस्थ प्रतिस्पर्धा मौलाउँदै गएको छ । 
६. निजी क्षेत्र बढी नाफामुखी हुँदै जाँदा महँगी बढेको छ । 
७. नाफामुखी र अनुत्पादक क्षेत्रहरूमा लगानी केन्द्रित भएको छ । 
यसरी नेपालको व्यावसायिक क्षेत्रमा विविध खालका चुनौतीहरू उदारीकरणकै कारण देखा पर्दै गएका छन् । धेरैजसो अस्थिर सरकारहरूको चेपुवामा रहेको नेपाली समाजले विश्वव्यापी व्यवसायिक वातावरणबाट अवसरभन्दा चुनौती नै धेरै सहिरहेको छ । विश्वव्यापीकरणबाट लाभ लिने ढंगबाट नेपाल अघि बढ्न सकेको छैन । प्रतिस्पर्धी क्षमता बढाएर विश्वव्यापी व्यापार गर्ने सुनौलो मौका पनि गुमाइरहेको छ । 

विश्वव्यापीकरणबाट लाभ
शान्तिको सुनिश्चितता, लगानीमैत्री वातावरण, स्थिर सरकार निर्माण नै विश्वव्यापीकरणबाट लाभ लिन सकिने पहिलो आधार हो । त्यसैगरी विश्वव्यापीकरणबाट लाभ लिन प्रतिस्पर्धी क्षमताका गुणस्तरीय वस्तु उत्पादनलाई जोड दिनुपर्छ । प्रविधि, ज्ञान, सीपको विकास एवं विस्तार हुनुपर्छ । उत्पादकत्व बढाउने विषयमा जोड दिनुपर्छ । नीतिगत अस्पष्टता, कमी–कमजोरी हटाउनेमा केन्द्रित हुनुपर्छ । वैदेशिक व्यापार बढाउन आर्थिक कूटनीतिको विकास गर्दै लैजानुपर्छ । लगानीको वातावरण बनाउँदै जानुपर्छ । बचत गर्ने शैलीको पनि विकास गर्दै लानुपर्छ । त्यसैगरी विश्वव्यापीकरणबाट लाभ लिन नेपालमा उद्यमशीलताको विकास, विश्वस्तरको व्यावसायिक शिक्षा र चेतना अभिवृद्धि, आधुनिक सीप तथा तालिम अभिवृद्धि, व्यापार–व्यवसाय प्रवद्र्धनमा सरकारी प्राथमिकता र लगानी, प्रविधि प्रयोग, विदेशी मुलुकहरूसँग सबल कूटनीति, हवाई पहुँच विस्तारलगायत अन्य धेरै कुरामा सुधार गर्नु जरुरी छ । अन्त्यमा, विश्वव्यापीकरण, प्रतिस्पर्धी व्यावसायिक वातावरणबाट अवसर तथा चुनौती दुवै प्रवाह भइरहेका हुन्छन् । चुनौतीलाई विभिन्न नीति तथा रणनीतिमार्फत पन्छाउन सक्दा र अवसरलाई सही रूपमा छोप्न सक्दामात्र नेपाली अर्थतन्त्रले राम्रो दिशा लिन सक्छ । त्यसका लागि आर्थिक उदारीकरण र विश्वव्यापीकरणको सही उपयोग हुने रणनीतिहरूको विकास गर्दै अगाडि बढ्नुपर्छ ।