गोविन्द चापागाईं
शुक्रवार, भदौ २०, २०७६
409

राजधानीको उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा महामेला लागेको छ । भाद्र शुक्ल अष्टमी अर्थात् कागे अष्टमीका दिन बर्सेनि यहाँ मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ । यो महामेला ३ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने आयोजकले बताएको छ ।
भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका विषयमा कविगोष्ठी तथा साहित्यिक कार्यक्रम सञ्चालन गरिने भएको छ । तीन दिनसम्म चल्ने महामेलामा आन्तरिक तथा बाह्य क्षेत्रबाट १ लाख ५० हजारजति पर्यटक आउने अनुमान गरिएको छ । यस महामेलामा भदौ २० गते कागे अष्टमीका दिन मेलाको उद्घाटन गर्ने र २१ गते मन्दिरको सरसफाइ गरिने कार्य रहेको छ । किंवदन्तीअनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको हो ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल ल्याई कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छासमेत पूरा हुने जनविश्वास रहिआएको छ । यो ऐतिहासिक महत्व बोकेको धार्मिक स्थलका रूपमा पनि परिचित हुँदै गइरहेको अवस्था छ भने सत्ययुगमा सेती देवीको अङ्ग पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको हो भन्ने विभिन्न शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ । यस नगरपालिकाले विशेष गरी पर्यटकीय गन्तव्य (स्थल) वृद्धि गर्न यस मन्दिरमा कागेश्वरी महादेव मन्दिरको पहिचानका रूपमा २ सय २७ किलोको धातुको कागको मूर्ति बनाएको छ ।
नगरपालिकाले मन्दिरको भौतिक स्थल सुधार गर्नका लागिसमेत परियोजना विस्तार (डीपीआर) गरी मन्दिरवरपरको संरचना धमाधम निर्माण भइरहेको छ । यस कागेश्वरी महादेव मन्दिर पुग्दा जो–कोहीको पनि मन आनद हुने, पीर–चिन्ता हराएर जानेदेखि मन्दिरमुनि र माथिबाट बग्ने छागो, झरनाले झनै मन आनन्दित बनाउँछ । स्वच्छ, हराभरा कागेश्वरी महादेव मन्दिर यति शान्त वातावरण स्वर्गको टुक्राजस्तो भएकाले तपाईं–हामी सबै जना एकपटक घुम्नै जानुपर्ने हुन्छ भने आन्तरिक तथा बाह्य पर्यटक पनि विस्तार गर्दै जानुपर्ने देखिन्छ ।
अहिलेको परिवेशमा पनि दिनहुँजसो आन्तरिक तथा बाह्य पर्यटक आएर अवलोकन गर्ने हुनाले देश–विदेशमा समेत पहिचान बनाएको छ । अझ यसलाई कसरी सबल अनि अत्यधिक पर्यटक भिœयाउन सकिन्छ भन्ने विषयमा नगरपालिका दिनरात नभनी खटिरहेको अवस्था छ । यो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘महामेला’ ले एक आत्मीय सम्बन्ध कायम गर्नुका साथै भविष्यमा समेत आउने पुर्खाले यसको महिमा तथा पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउनसमेत राम्रो भूमिका निर्वाह गर्नेछ ।
कागेश्वरी महादेव एक भौतिक, सांस्कृतिक, धार्मिक पहिचान बोकेको एक धार्मिक स्थल हो । यसवरपरको वातावरण साँच्चै मनमोहक छ । धार्मिक देवीदेवता तथा स्वयं कागेश्वरी महादेव मन्दिर रहेर आज पर्यटन दिनानुदिन बढिरहेको अवस्था छ । जति धेरै पर्यटक आउँछन् त्यति धेरै नाम कमाइ हुन्छ । वरपरको व्यवसाय फस्टाउँछ । आर्थिक उन्नति हुन्छ भने रोजगारीको समेत अवसर प्राप्त हुन्छ । त्यसैले यस कागेश्वरी मन्दिरलाई तपाईं–हामी सबै मिली यसको जगेर्ना गर्नु, संरक्षण गर्नु उत्तिकै महत्व पनि छ ।
तीन दिनसम्म लाग्ने मेलालाई भव्यताका साथ सफल बनाउनुपर्छ । सफल बनाउन सबैले साथ पनि दिनुपर्ने हुन्छ । मेलाभरि विभिन्न प्रकारका मानिसको आवतजावत हुने भएकाले मेलालाई कसरी मर्यादित बनाउन सकिन्छ, स्थानीय, नगरपालिकालगायत सबैले आ–आफ्नो तर्फबाट सरसहयोग गरी दर्शनार्थीलाई दर्शन गर्ने सहज वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । व्यवस्थापन पक्ष मर्यादित तथा जिम्मेवार हुुनुपर्छ । मादक पदार्थ सेवन गर्ने तथा विभिन्न खराब आचारण भएका मानिसहरूलाई मन्दिर प्रवेशमा रोक लगाउनुपर्छ ताकि कुनै अप्रिय घटना नघटोस् । सुरक्षा निकायले पनि गम्भीर भएर सुरक्षा पालना गर्न सक्नुपर्छ ।